यसपालि दशै अगाडि राेल्पा पुगियाे । रोल्पा सदरमुकाम लिवाङमा जिल्ला पार्टीद्धारा आयोजित भेला सकेर म आफ्नै गाउँ नपुगी राजधानी फर्किए ।

यसपटक सदरमुकाममा पार्टीले जिल्ला र जिल्ला बाहिर कार्यरत नेता–कार्यकर्ताहरुको उपस्थिति रहने गरी अन्तक्रियात्मक कार्यक्रम राखेको थियो । सो कार्यक्रममा सहभागी हुन हामी काठमाडौंबाट पार्टीका नेता सन्तोष बुढासँगै असोज १८ गते रोल्पाको यात्रा तय गरेका थियाैं।

एक वर्षपछि आयोजित जिल्ला पार्टीको भेला एंव अन्तक्रियात्मक कार्यक्रममा पार्टीका निकै चर्चित नेता र कार्यकर्ताहरुको सहभागिता थियो ।
दुई दिने कार्यक्रम राखिएको सो भेलामा जिल्ला बाहिर कार्यरत केन्द्रीय नेताहरुमा पार्टीका स्थायी समिति सदस्य कमरेड सन्तोष बुढामगर, केन्द्रीय सदस्यहरु वीरजंग, संजीवकुमार, आदर्श, सन्तोषी विक र अरु आधा दर्जन बढी व्युरो सदस्यहरु अनि जिल्ला सदस्यदेखि अरु कयौं नेता–कार्यकर्ताको उपस्थिति थियो ।

rolpa1

जिल्लामा कार्यरत नेताहरुमा केन्द्रीय सदस्य कमरेड नन्दबहादुर बुढा विजय, जिल्ला सेक्रेटरी जागृति, जिल्लाका चर्चित र पूराना माओवादी नेताहरु थवाङका कमरेड प्रताप, पश्चिम रोल्पाका पूराना नेता कमरेड सुन्दर ओलीलगायत नेता–कार्यकर्ताहरुको सहभागिता थियो ।

सो भेलामा थबाङका पूराना नेता एव सबैको सम्मानीय नेताको रुपमा परिचित गोरे दाईको सहभागिता अर्को निकै रोचक र उत्साहमूलक थियो । उमेरले ७० वर्ष पूरा गरेका थबाङका गोरे दाईको सक्रियता नयाँ कार्यकर्ताहरुका लागि निकै प्रेरणादायक थियो । त्यसैगरी सो भेलामा रोल्पाको पूर्वी भाग उवाका पूराना नेता कमरेड सहासलगायत अरु पूराना र नयाँ कमरेडहरुको सहभागिता पनि उत्साहपूर्ण थियो ।

असोज १९ र २० गते राखिएको सो रोल्पा–लिवाङ भेलामा सुरुमा जिल्ला पार्टीको तर्फबाट सेक्रेटरी कमरेड जागृतिले समग्र रिपोटिङ राख्नु भयो । रिपोटिङमा कमरेड जागृतिले रोल्पा अहिले सुतेको जस्तो देखिए पनि अब उठ्न थालेको बताउनु भयो । रोल्पा जब उठ्न थाल्छ फेरि यो कहिल्यै नसुत्नेगरी उठ्ने जागृति कमरेडको अनुभूतिमुलक रिपोटिङ थियो ।

प्रचण्ड–बाबरामको धोका र गद्दारीले रोल्पाली जनतालाई ठूलो धोका भएको कारण जनतामा अझै पनि निराशा र अन्योलता कायम रहेको भन्दै थबाङका पूराना नेता कमरेड प्रतापको अनुभूति थियो । त्यसैगरी प्रचण्ड–बाबुरामको गद्दारीले पैदा भएको निराशालाई चिर्न जिल्लामा आफ्नो पार्टीले धेरै हदसम्म आशाको किरण छरेको अनुभूति अर्का जिल्ला नेता सुन्दर ओलीको भनाई रहेको थियो ।

पहिलो दिन भेलामा सहभागी सबै नेता कार्यकर्ताको सामान्य परिचयात्मक कार्यक्रम राखियो । परिचयात्मक कार्यक्रममा जिल्लाका पूराना नेता र कार्यकर्ताहरुले शान्तिप्रक्रियामा आइसकेपछि प्रचण्ड बाबुरामको गद्दारीले आफ्नो इतिहास नै समाप्त गरिदिएको र अब विप्लव कमरेडले जनयुद्धको इतिहासलाई जोगाइराख्न नयाँ र भिन्न ढंगले क्रान्तिको नेतृत्व गर्न थालेकोले आफुहरुलाई उत्साहित बनाएको अनुभूति राखेका थिए ।

अनि दोस्रो सेसनमा स्थायी समिति सदस्य सन्तोष बुढा र केन्द्रीय सदस्यहरुले पार्टीको कुरा र आफ्ना व्यक्तिगत अनुभूति राख्ने काम भयो । सो भेलाका प्रमुख अतिथि एवं पार्टी स्थायी समिति सदस्य सन्तोष बुढा मगरले दश वर्षे जनयुद्धलाई प्रचण्डले विकास गरेर अघि बढाउन नसक्दा माओवादी आन्दोलनले ठूलो क्षति व्यहोरेको र अहिले आफ्नो पार्टी खासगरी महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नयाँ र मौलिक ढंगले क्रान्ति गर्न थालेको भनाई राख्नु भयो ।

केन्द्रीय सदस्यहरु वीरजंज, सन्जीव कुमार, आदर्श र सन्तोषी विकहरुले आफ्नो अनुभूति राख्दै आफ्नो पार्टीले मौलिक र भिन्न ढंगले एकीकृत जनक्रान्तिको मोडलबाट नयाँ क्रान्ति गर्न थालेको अनुभूतिमुलक भनाई राख्नु भएको थियो । अर्को दिन व्युरोका सदस्यहरुले पनि आफ्ना व्यक्तिगत अनुभूति राख्ने काम भयो ।

दश वर्षे जनयुद्धमा मेस संचालन गरेर खाना खाने संस्कृतिलाई निरन्तरता दिदै दुई दिनसम्म चलेको पार्टीको सो जिल्ला भेलामा उमेरले पनि पूराना कमरेडहरु मेसमा खटिनु भएको थियो । मलाई यो जमघट जनयुद्धकालजस्तैको अनुभूति भयो ।

कार्यक्रममा सहभागीहरु नेता–कार्यकर्ताहरु अनुशासित भएर दुई दिनसम्म बस्नु अहिलेको सन्दर्भमा हाम्रो क्रान्तिकारी माओवादी आन्दोलनमा निकै आशावादी र प्रेरणादायी कुरा हो । जहाँ अहिलेको स्वार्थी दुनियाँ र उपभोक्तावादले गाँजिरहेको बेला विचारमा अडिग र निख्खर कार्यकर्ताहरु पाउनु माओवादी आन्दोलनमा हाम्रो लागि रोल्पा जमघट निकै उत्साहपूर्ण रह्यो ।

समग्रमा यसपालिको विप्लव नेतृत्वको रोल्पा माओवादीको जमघट नयाँ र भिन्न रहयो । वास्तवमा रोल्पामा विप्लव माओवादी नेता–कार्यकर्ताको जमघट क्रान्तिकारी विचार र राजनीतिबाट खारिएकाहरुको सहभागिता थियो । दश वर्षे जनयुद्ध उचाइँमा पुग्दै गर्दा प्रचण्डले गरेको गद्धारीका कारण क्रान्तिकारी नेता–कार्यकर्ता र जनताले ठूलो पीडा भोग्नु प¥यो ।

rolpa-2

राेल्पाकाे जमघटमा बाेल्दै नेता सन्ताेष बुढामगर

यसलाई यसो पनि भन्न सकिन्छ । पहाडको चुचुरोमा पुग्नै आँटेका मान्छेहरुलाई त्यही चुचुरोबाट मुख्य मान्छेले पछाडि धकेलिदिदा ती मान्छेहरुले कस्तो पीडा भोग्छन् होला भन्ने कुरा तिनै मान्छेहरुलाई सोधे मात्र थाहाँ हुन्छ । माओवादी जनयुद्धमा भएको कुरा त्यही हो ।
जनयुद्धमा जहाँ दशौं हजार नेता कार्यकर्ता, जनसेना र जनताहरु प्रत्यक्ष रुपमा सहभागी भएका थिए । जुन जनयुद्धमा हजारौंले बलिदान दिए । हजारौं नेता–कार्यकर्ता घाइते र बेपत्ता भए । यसरी जनयुद्धलाई प्रचण्ड–बाबुरामद्धारा वुर्जुवा संसदीय प्रतिक्रियावादी व्यवस्थामा छिराएपछि हजारौं माओवादी नेता–कार्यकर्ताहरुले थप दुख र कहर भोग्नु पर्यो । यसकारण पनि रोल्पा जनयुद्ध हाँक्ने मुख्य नेतृत्वको धोका र गद्दारीका कारण घाइते बन्न विवश भयो । तर अब घाइते रोल्पा जुर्मुराउन थालेको छ ।

यसपटकको रोल्पा भेलामा तिनै घाइते माओवादी नेता र कार्यकर्ताहरुको जमघट थियो । जसले माओवादी आन्दोलनमा ठूलो योगदान गरे तर त्यसबाट कुनै व्यक्तिगत लाभ र फाइदा हासिल गरेनन् । नेताकै कुरा गर्ने हो भने सन्तोष बुढामगर वास्तवमा रोल्पामा कृष्णबहादुर महरापछिको सिनियर नेताका रुपमा चिनिन्छन् । उनले एकपटक सभासद लिनु बाहेक अरु कुनै व्यक्तिगत लाभ हासिल गरेनन् ।
त्यसैगरी कमरेड वीरजंग, कमरेड सन्जीव कुमार, कमरेड आर्दश र कमरेड सन्तोषी बिकलगायत नेताहरुले पनि पछिल्ला दिनमा कुनै लाभ लिएनन् । विचार छोडेर प्रचण्डको बाटो समाएको भए यी सबै नेताहरुले व्यक्तिगत लाभ र सुविधा हासिल गर्न सक्थे । तर लिएनन् ।

अर्कोतिर माओवादी जनयुद्धको बलबाट शान्तिप्रक्रियामा आइसकेपछि रोल्पाका माओवादी नेता भनेर चिनिएका कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, ओनसरी घर्ति र जयपुरी घर्तिलगायत अरु कयौं नेताहरु उपराष्ट्रदेखि सभामुखहुँदै सांसद बन्ने अवसर पाएका छन् । यी माओवादी नेता भनिएकाहरुले कतिसम्म व्यक्तिगत लाभ हासिल गरेका छन् भन्ने कुरा महाभारतजत्रै कहानी बन्न सक्छ ।

त्यही भएर त माओवादी विभाजन भयो । एउटा माओवादी संसदीय माओवादी र अर्को क्रान्तिकारी माओवादी निर्माण हुन पुग्यो । संसदीय माओवादीको नेतृत्व प्रचण्डले गरेका छन् भने क्रान्तिकारी माओवादीको नेतृत्व नेत्र विक्रम चन्द विप्लवले गरेका छन् । प्रचण्ड माओवादी संसदीय माओवादीहुँदै एमालेको बाटोमा छ भने विप्लव नेतृत्वको माओवादी जनयुद्धको धारामा रहेर भिन्न र मौलिक ढंगले क्रान्ति गर्दैछ ।

rolpa3

जमघटमा सहभागी नेता र कार्यकर्ताहरू

यसकारण पनि यसपालि रोल्पाको हाम्रो विप्लव माओवादीको जमघट निकै नयाँ र भिन्न रह्यो । रोल्पामा अहिले पनि पूराना, इमान्दार र क्रान्तिकारी नेता–कार्यकर्ताहरु विप्लव माओवादीमा रहेर काम गर्नु माओवादी आन्दोलनका नयाँ र उपलव्धिमुलक कदम हो ।
रोचक र प्रेरणादायी कुरा के छ भने माओवादी जनयुद्धको केन्द्रभाग र ऐतिहासिक जिल्ला रोल्पामा जन्मिएका नेत्र विक्रम चन्द विप्लवले पछिल्लो क्रान्तिकारी माओवादी आन्दोलनलाई हाँक्र्दै हुनुहुन्छ । यो महान् अवसर पनि हो ।

यसपालिको रोल्पा जमघटमा रोल्पाका क्रान्तिकारी माओवादी नेता र कार्यकर्ताहरु अब फेरि जनयुद्धका कार्यभार पूरा गर्न हाम्रो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा तयार रहेको प्रष्ट देखियो । केहीहदसम्म संशय र आशंका रहेपनि यो बेला सबैको आशा र भरोसा विप्लव माओवादीप्रति रहेको प्रष्ट देखियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार