
सन् १९५३ मा अमेरिकासँगको लामो युद्ध सकिनु र अमेरिकाले लज्जासपद पराजय भोगेपछि उत्तर कोरियाले खरानीको थुप्रोमा टेकेर व्यवस्थित समाजवादको अभ्यास गर्न थालेको हो ।
आज आउँदा ६ दशकको बीचमा उत्तर कोरियाले आफ्नै मौलिकतामा समाजवादी अभ्यासद्धारा प्रत्येक उत्तर कोरियाली नागरिकलाई साम्राज्यवादबाट मुक्त पारेर सुखी र सम्पन्न बनाउने कार्यक्रमसहित अगाडि बढेको छ । जसले विश्व श्रमजीवि जनतालाई निकै ठूलो आशा र विश्वास दिलाएको छ ।
विभिन्न तथ्यांकलाई हेर्दा आज उत्तर कोरियाले गरेको समाजवादी अभ्यासद्धारा त्यहाँका जनतालाई आफ्नै स्रोत र साधनद्धारा सुखी र समृद्ध बनाउनेतिर अनवरत लागि परेको छ । पछिल्ला तथ्यांकले दिएको आँकडाअनुसार सन् १९८७ देखि १९९३ सम्म चलाइएको तेस्रो सप्तवर्षीय योजनापछि उत्तर कोरिया व्यवस्थित समाजवादको अभ्यासमा गएको देखिन्छ ।
कोरियाली समाजवादको बाटोबाट अहिले कोरियाले जनताका सम्पूर्ण खेतीयोग्य भूमिमा सिंचाई सुविधा दिएको छ । ८० प्रतिशत भू–भागमा पहाडै पहाडले ढाकिएको कोरियामा यो अत्यन्त कठिन कार्य हो । सरकारी तथ्यांकअनुसार कोरियाले ४० हजार किलोमिटरभन्दा बेसी नहर खनेर र २ हजारभन्दा बेसी पानीका रिजर्व वायर बनाएर पहाडी टुप्पाहरुमा समेत सिंचाइ पु¥याएको छ ।
अहिले कोरियाको सम्पूर्ण खेतीपाती मेसिनद्धारा गरिन थालिएको छ । बाली रोप्नु, गोडमेल गर्न, थन्क्याउनुजस्ता सबैजसो खेतीपातीको काम अब मेशिनद्धारा नै गरिन थालिएको छ । अब समतल क्षेत्रमा प्रत्येक १०० हेक्टर जमिनमा ७ वटा ट्याक्टर र पहाडमा ६ वटा ट्याक्टरको व्यवस्थापन गर्न भएको छ । यसबाट किसानहरु ढाड भाँच्चिनेगरी श्रम गर्नबाट मुक्त भएका छन् ।
आज कोरियामा सम्पूर्ण गाउँले क्षेत्रमा समेत बिजुलीको सुविधा प्रदान गरिएको छ । त्यस्तो कुनै क्षेत्र बाँकी छैन, जहाँ विद्युत सुविधा नहोस् । खेतीपातीमा प्रत्येक एक हेक्टर (करिब डेढ बिगाहा वा २० रोपनी बराबर जमिन) जमिनमा २ टन रासायनिक मल प्रयोग गर्ने हैसियतमा अब कोरिया पुगेको छ । हानिकारक किरा र झारहरुलाई पनि रायायनिक पदार्थद्धारा नै मार्ने प्रविधि कोरियाली सरकारले किसानलाई उपलव्ध गरिदिएको छ ।
यसरी आज कोरिया आत्मनिर्भर बन्दै आफ्ना जनतालाई आर्थिक रुपले सम्पन्न बनाउदै अगाडि बढिरहेको छ । त्यसैको फलस्वरुप उत्तर कोरियाले आज प्रत्येक नागरिकलाई प्रत्येक दिन प्रयाप्त खाद्यान्नको अलावा १७५ ग्राम मासु, ४०० ग्राम माछा, एउटा अण्डा, ३०० ग्राम फलफूल र १०० ग्राम मिठाई भाग लगाएर व्यवस्थापन गर्न सक्ने स्थितिमा पुगेको छ । अहिले आएर त उत्तर कोरिया खाद्यान्न र माछामा निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।
खेतीपातीमा विश्वको अत्याधुनिक वैज्ञानिक उपलव्धि पु¥याउन सबै क्षेत्रमा विज्ञान, प्रविधि र अनुसन्धान संस्थानहरु स्थापना गरिएका छन् । यी सबैको फलस्वरुप सन् १९८२ मै प्रत्येक हेक्टरमा धान उत्पादन ८ टन र मकैको उत्पादन ७.५ टन पुगेको छ । यो विश्वकै सबैभन्दा बेसी उत्पादकत्वको रकेर्डमध्ये एक मानिन्छ ।
जुछे विचारधारामा आधारित समाजवादबाट कोरिया चार दशकमै आधारभूत रुपमा आत्मनिर्भर बन्नतिर गएको छ । पेट्रोलियम पदार्थ बाहेक सबै आधारभूत आवश्यकता अब कोरियाले आफ्नै औद्योगिक उत्पादनबाट धान्न सक्छ । टेक्सटाइल, कोइला, मेसिनहरु, सिमेन्ट, स्टिल, रसायन र धातुहरु त अब उसले प्रशस्त मात्रामा निर्यात समेत गर्न सक्ने भएको छ ।
खनिज पदार्थको उत्खननबाट के पत्ता लागेको छ भने कोरियामा कोइला, फलाम, शिक्षा, जस्ता, टिन, चाँदी, र युरोनियमलगायत स्रोत साधनको निकै राम्रो भण्डार छ । विश्वको म्याग्नेसाइटको भण्डारमध्ये ४० देखि ५० प्रतिशत भण्डार उत्तर कोरियामा मात्र छ । विद्युत उत्पादनमा पनि उसले काफी प्रगति गरेको देखिन्छ । सन् १९९० मा उसले २७ अर्ब ८९ करोड किलोवाट प्रतिघण्टा विद्युत उत्पादन गरिसकेको बताइन्छ । यो परिणाम कोरियाको बिजुलीको सम्पूर्ण आवश्यकता धान्नका लागि काफी हुने कोरियनहरुको दाबी छ ।

पेट्रोलियम पदार्थमा कोरियाले अहिले चीन र इरानबाट आयात गरिरहेको भएपनि त्यसमाथि आफ्नो निर्भरता घटाउन कोरियाले कोइलालाई अत्याधुनिक मात्रामा प्रयोग गर्ने प्रविधि विकास गरेको छ । अहिले उसले आफ्नो सम्पूर्ण उर्जा आवश्यकताको तीन चौथाई भाग कोइलाबाटै धान्छ ।
शिक्षाको क्षेत्रमा पनि किम इल सुङको नेतृत्वमा कोरियाले हासिल गरेको प्रगति उदाहरणीय छ । सन् १९८४ मै उसले देशबाट निरक्षरता उन्मूलन गरिसकेको तथ्यांक त पुँजीवादी संचार माध्यमहरुले नै दिएका थिए । अहिले औसत कोरियन किसानहरुको योग्यता आईएससीसरह हुनु र, औसत किसानहरुको योग्यता उच्च निम्न माध्यमिक उतीर्ण सरह भएकोले पूरै श्रमिकवर्ग त्यहाँ बुद्धिजीविकरण भइरहेको छ । यो उपलव्धि पूरै श्रमिक समुदायलाई बुद्धिजीविकरण गर्ने र किसान अनि मजदुरबीचको भेद अन्त्य गर्ने किम इल सुङको समाजवादी योजनाअन्तर्गत हासिल भएको हो ।
यसरी उत्तर कोरियाले जापानी साम्राज्यवाद र अमेरिकी साम्राज्यवादसँगको लामो लडाइँपछि तहसनहस भएको मुलुकलाई चौतर्फी नाकाबन्दीको बाबजुद पनि आज समृद्धि र विकासको चरणमा पुर्याएको छ । यो सबै काम कोरियामा क्रान्तिकारी र सक्षम नेतृत्वका कारण संभव भएको हो । खासगरी यो मुलुकलाई यो स्थानमा पुर्याउन कोरियाली महान् नेता किम इल सुङ, किम जुङ इल र किम जुङ उनको नेतृत्वमा भएको हो । आज अमेरिकी साम्राज्यवादलाई ठूलो चुनौती दिदै उत्तर कोरियाले गरेको यो कार्य निकै साहसिक र असाधारण छ । जसलाई विश्वका प्रत्येक नागरिकले सम्मान गर्दछन् ।
उत्तर कोरिया लामो युद्धबाट गुजे्रको र अहिले पनि फरक ढंगको युद्धमा रहँदा नेपालमा भने दश वर्षे लामो युद्धमा रहेको माओवादी आन्दोलनले सेटब्याक खान पुग्यो । त्यसमा खासगरी दश वर्षे जनयुद्ध हाँकेको मूल नेतृत्व पुष्पकमल दाहाल प्रचण्डको विचलन र धोकाले यस्तो स्थिति व्यहोर्नु पर्यो । तर आज माओवादी आन्दोलन नयाँ शिराबाट उठ्दैछ । आज माओवादी आन्दोलन नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ ढंगबाट उठ्दैछ । यो नेपालका क्रान्तिकारी जनताका लागि खुशी र आशाको संचार बन्न पुगेको छ ।
वास्तवमा क्रान्तिकारी विचार र नेतृत्वको प्रश्न कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उत्तर कोरिया र नेपालको माओवादी जनयुद्धको मुल नेतृत्वलाई हेरे पुग्छ । कोरियाका महान् नेता किम इल सुङ र किम इल जुङको सफल नेतृत्वले ६३ वर्षदेखि कोरिया विश्वको राजनीतिक रंगमंचमा शक्तिशाली बनेर उदाएको छ । तर नेपालको माओवादी जनयुद्ध हाँकेको प्रचण्डले लिएको गलत र विचलनको बाटोका कारण देशको ८० प्रतिशत भु–भाग कब्जा गरेको माओवादी जनयुद्धले ठूलो धक्का खानु पर्यो ।
यसका बाबजदु नेपालमा क्रान्तिकारी माओवादी आन्दोलन वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित नयाँ शिराबाट उठ्दैछ । उता कोरियामा कोरियाली श्रमिक पार्टीको नेतृत्वमा कोरियाली जनता कोरियाली विशेषताको समाजवाद निर्माण गर्दै अगाडि बढिरहेका छन् भने यता नेपालमा नेकपा माओवादीको नेतृत्वमा नेपाली जनता एकीकृत जनक्रान्तिको बाटोबाट समाजवादमा पुग्ने लक्ष्यमा अगाडि बढदै छन् ।







