प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक फड्को मार्न दुईटा खतरनाक अस्त्र चलाए । एउटा हो बन्दुक, अर्काे हो साम्प्रदायिकता । उनले जनयुद्धको नाममा ठाउँ कुठाउँ बन्दुक चलाए ।
युद्धसंग सरोकार नै नभएका हजारौं मानिस मारिए । बन्दुक बन्द भइसकेको छ तर बारुदको धुँवा अहिले पनि मडारिइरहेको छ, बारुदको दुर्गन्ध देशभरी फैलिएको छ । उनले चलाएको अर्काे हतियार साम्प्रदायिकताको असर चाहिं कहिलेसम्म रहन्छ भन्न सकिन्न । किनभने साम्प्रदायिक राजनीतिबाट उनी अहिलेसम्म मुक्त भएका छैनन् ।

प्रचण्डले बन्दुक छाडे पनि साम्प्रदायिक राजनीति छाडेनन् । भनिन्छ, बन्दुकले मानिस मार्छ तर साम्प्रदायिक राजनीतिले समाज र देशलाई नै मार्छ । प्रचण्डले नेपालका जातीय समुदायहरूलाई विभाजित गरे । एकता खोज्न होइन अनेकता खोज्न सिकाए । जनजनमा सद्भाव–मिलाप होइन विवाद र विभाजन सिकाए । जातीय समुदाय अनुसार बेग्लाबेग्लै संवैधानिक अधिकार हुन्छ भन्ने भ्रम फैलाए । जातीय मुक्ति हुनुपर्छ भने तर कसरी जातीय मुक्ति हुन्छ भनेर कहिले भन्न सकेनन् । स्वयं उनी ब्राम्हण जातिका र दाहाल थरका हुन् ।
ब्राम्हण जाति र दाहाल थरवालाहरू कसरी मुक्त हुन्छन् ? कोबाट कसरी उनीहरूले मुक्ति पाउने ? प्रचण्डले कहिले बताउन सकेनन् । तैपनि उनले जातीय मुक्ति भन्न छाडेका छैनन् ।
माओवादी नेताहरूले नेपालमा अर्काे विचित्रको चिज ल्याए– पहिचान † चितवनमा २०७३ पुस २ गते शनिबार प्रचण्डले पहिचान स्थापित गर्न विद्रोह गर्न तयार छु । प्रधानमन्त्री पदमै बसेर विद्रोह गर्न तयार छु भने उनले । के हो विद्रोह भनेको ? के गर्यो भने विद्रोह गरेको ठहरिन्छ ? आजसम्म बुझ्न सकिएन । हामीले बुझेको के हो भने प्रचण्डले बन्दुक बोकेर विद्रोह गरे । पद पाउनका लागि त्यो विद्रोह थियो भन्ने जनताले धेरै पछि मात्र बुझे । पदमै बसेर विद्रोह चाहिं के पाउन गर्ने ? पद त उनी स्वयंसंग छ । अरु नै कुनै प्रयोजनका लागि विद्रोह हो भने त्यो प्रयोजन के हो ? उद्देश्य के हो ? बुझिनसक्नु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको कुर्सीको आयु आउँदो २०७३ चैतसम्म मात्र हो–भित्री सहमति अनुसार । कुर्सी त्याग्ने समय नजिकियो भनेर उनले विद्रोह भनेका हुन् कि ? यो पक्षमा पनि ध्यान दिनुपर्ने भएको छ । २०७३ चैतभित्र स्थानीय चुनाव गराउने, त्यसपछि देउवालाई पद हस्तान्तरण गर्ने कार्ययोजनासाथ प्रचण्ड प्रधानमन्त्री बनेका थिए । अब यो २०७३ को चैतभित्र चुनाव हुनेवाला छैन ।
चुनावकै कुरा गर्ने हो भने अहिलेको भित्री चलखेल ठम्याउँदा दावीसाथ भन्न सकिन्छ–प्रचण्डको हातबाट स्थानीय चुनाव मात्र होइन कुनै पनि चुनाव हुनेवाला छैन । स्थानीय चुनावमात्र किन ? २०७४ माघ ७ गतेभित्र तीनवटै चुनाव नहुने र त्यसपछि मुलुक ठूलो संवैधानिक धरापमा पर्ने ठोकुवासाथ भन्न सकिन्छ । ठोकुवाकै कुरा गर्दा अहिले संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाभियोग प्रस्ताव अड्केर बसेको छ । त्यो प्रस्ताव कि असफल हुन्छ कि त्यो अर्काे वर्षसम्म त्यसरी नै लट्केर बस्ने पनि ठोकुवा गर्न सकिन्छ ।
यति बेलिविस्तार लगाउनुको प्रयोजन के हो भने मुलुक अप्ठेरो अवस्थामा छ । राजनीतिक अप्ठेरो दिनानुदिन बढ्दै गइरहेको छ । अरुले देश अप्ठेरोमा छ भन्नु अस्वाभाविक होइन तर स्वयं प्रधानमन्त्रीले देश अप्ठेरोमा फस्यो भन्नु चाहिं अस्वाभाविक हो । प्रधानमन्त्री प्रचण्डले यस्ता अस्वाभाविक कुरा बोल्न थालेका छन् । कतिसम्म भने– प्रधानमन्त्री पदमा बसेर विद्रोह गर्छु भनिरहेका छन् । विद्रोहको अनिवार्य सर्त अराजकता हो । प्रधानमन्त्रीले अराजकता ल्यादिन्छु भन्न मिल्छ ? त्यतिमात्र होइन, उनले बाहुनलाई जातीय गाली समेत दिएका छन् ।
केही बाहुन संघीयताको पक्षमा छैनन् भने । बाहुन मात्र संघीयताको पक्षमा छैनन् ? अरु समुदाय चाहिं संघीयताको विरोधमा छैनन् र ? प्रधानमन्त्री प्रचण्डले पदमै बसेर जातीय कित्ताकाट गरिरहेका छन्, जातीय विभाजन चर्काइरहेका छन् । उनको नियत र उद्देश्य के हो ? मुलुक अप्ठेरोमा परेको छ भनेर स्वीकारिसकेपछि सजिलो र सहज अवस्थामा पुर्याउने कि जातीय गाली बक्दै बस्ने ? मुलुकलाई झन अप्ठेरोमा फसाउने काम स्वयं प्रधानमन्त्री प्रचण्डले किन गरिरहेका छन् ? खोजीको विषय भएको छ ।
हो, मुलुक अप्ठेरोमा फसेको छ । दैनिक राजनीति मात्र नभएर मुलुकको सुदूर भविष्य समेत अप्ठेरोमा फसेको छ । आगामी दिन देशको दशा र दिशा झन खराब हुने अवस्था देखिन्छ । यसमा सबै पार्टी र पार्टीका नेताहरू जिम्मेवार छन् । एकजनाको मात्र त्रुटि या गल्तीले यो दुर्दिन आएको होइन । तर, यसमा सबैभन्दा धेरै दोषी कोही छ भने त्यो माओवादी हो र माओवादीको सदाबहादर अध्यक्षका नाताले प्रचण्ड हुन् ।
प्रचण्ड अहिले प्रधानमन्त्री छन्, उनी सुध्रिए भने देश सुध्रिन्छ, उनी यस्तै अतिवादी र जातीय बाटोमा जाने हो भने देशको दुरावस्था झनझन बढ्नेछ । समयमै चेतना खुलोस् ।
बुढाथोकी साँघु साप्ताहिकका सम्पादक हुन्







