एक दिन कुरै कुरामा एक जना प्राध्यापकले कड्केर भने– ‘भारतीयहरूलाई नेपाली नागरिकता दिनमा कुनै खतरा हुँदैन । किन भने कुनै पनि भारतीय नागरिकले नेपाली नागरिकता लिंदैन । त्यति विशाल देश भारतको एकजना भारतीय नागरिकले यो जावो नेपालमा के पो छ र नेपाली नागरिकता लिओस् ।’

यसको उदाहरण दिंदै उनले तराईको एउटा कलेजमा अंग्रेजीका प्राध्यापकलाई तिमीले किन नेपाली नागरिकता लिंदैनौं भन्दा उसले जबाव दिएछ – नेपालमा के पो छ र उसले नेपाली नागरिकता लिने । उसलाई त विशाल देश भारतकै नागरिक हुुनुमा गर्व छ । उनले अझ थप कुरा गर्दै भने – भारतमा एकजना प्राध्यापकले एक लाख रुपियाँ भारु तलब पाउँछ । नेपालले के प्राध्यापकलाई त्यति धेरै तलब दिन सक्दछ ?

मलाई नेपाली प्राध्यापकको विद्धता र चिन्तनको दरिद्रताप्रति दया लाग्यो । टिठ लाग्यो । यदि कुनै भारतीय नागरिकले महिनाको एक लाख रुपिया भारु तलब पाउँथ्यो भने ऊ किन नेपाल पस्दथ्यो । आफ्नो घर परिवारसित बसेर महिनाको एक लाख भारु तलब बुझ्दै कुृनै कलेजमा अध्यापन गर्न थाल्थ्यो । भारतमा जागीर नपाएर एमए, पीएचडी गरेका युवकहरूले रिक्सा चलाएको कुृरा हामीले देखेकै छौं । सुनेकै छौं । पढेकै छौं । हो, कुनै कलेजमा जागिर पाएको प्राध्यापकले महिनाको एक लाख तबल पाउँदो हो । तर सबै डिग्री होल्डरले के भारतका कलेजमा जागिर पाएका छन् ? प्रश्न यो हो ।

नेपाली नागरिकताको कुनै महत्व नभएको भए भारतको एउटा जिल्लामा मात्र २५ सय भारतीय नागरिकहरूले नेपाली नागरिकता लिएको तथ्य भारतकै नेताले व्यक्त गरेको कुरा किन सुन्न जान्न पाइन्थ्यो ? किन भारतकै पत्र पत्रिकाले त्यस्तो समाचार प्रकाशित गर्दथे ? नेपाली नागरिकताको महत्व नहुने भए सीमापारिका कयौं भारतीय नागरिकहरूले नेपाली नागरिकता लिंदै दुई देशकै नागरिकता भएर बस्दथे । उनीहरूलाई त भारतकै नागरिकता प्रयाप्त हुन्थ्यो । नेपाली नागरिकताको खासै महत्व नभए भारतले किन संविधानमा नागरिकता सम्बन्धमा संसोधन गर्न नेपाल सरकारलाई त्यति धेरै दबाव दिन्थ्यो ।

नागरिकताको महत्व नभएको भए मधेसी मोर्चा कुनै भारतीय नागरिक महिलासित विवाह गरेर नेपालमा भित्राएपछि तुरुन्त उसले नेपाली नागरिकता पाउनु पर्दछ भन्ने आवाज उठाउँथ्यो । जबकि खुदै कुनै नेपाली नागरिक चेलीलाई विवाह गरेर भारत भित्राएमा सात वर्षसम्म पनि भारत सरकारले भारतीय नागरिकता दिएको हुँदैन । नेपाली नागरिकताको कुनै महत्व नहुने भए ०६२–०६३ को परिवर्तनपछि चालिस लाख भारतीयहरूले नेपाली नागरिकता प्राप्त गरे भन्ने कुरा चल्ने थिएन ।

को मान्छे कुन देशको नागरिक हुने भन्ने कुरा उसको आफ्नो चाहना र रोजाइको कुरा पनि हो । तेनजिङ शेर्पाले भारतीय नागरिकता लिन चाहे । अमर गुरुङ र लैनसिंंह बाग्देलले नेपाली नागरिकता लिन चाहे । भारत जति धनी र विशाल देश भएपनि उनीहरूले नेपाललाई नै रोजे । यो एउटा कुरा हो । तर नागरिकता सम्बन्धमा हरेक देशको आफ्नै नीति हुन्छ । कुनै देशले विदेशी नागरिकलाई बोलाएर आफ्नो देशको नागरिकता दिन्छन् । त्यस्ता मुलुकको नागरिकता सम्बन्धी नीति उदार हुन्छ । तर कति देशले आफ्नै देशमा जन्मेका हुर्केका र दुई चार पुस्ता बिताएका नागरिकलाई पनि विदेशीको आरोप लगाएर त्यहाँबाट लखेट्दछ । वर्मामा त्यस्तै भएको हो । आसाम मेघालयमा त्यस्तै भएको हो । भूटानमा त्यस्तै भएको हो । भुटानी नागरिक नेपालीलाई भुटानको नागरिक बनाउन चाहेन । त्यसैले उनीहरू त्यहाँबाट विस्थापित भए । अहिले उनीहरू विश्वभरि छरिएर बस्न बाध्य भएका छन् । उनीहरूले भुटान फर्किन चाहे पनि भुटान फर्कन पाएनन् ।

फिजीमा भारतीय मूलका मान्छेहरूको संख्या बढी भयो । यसैले त्यहाँका निर्वाचनका उच्च पदमा भारतीय मूलका मान्छेहरू नै चुनिन थाले । उनीहरूले सरकार बनाउन र चलाउन थाले । नागरिकताको महत्व नहुने भए फिजीमा भारतीय मूलका मान्छेहरू सरकार चलाउन सक्ने बिन्दुमा पुग्न सक्ने थिएनन् ।

नेपाल एउटा सानो देश हो । नेपालको जनसंख्यता त भारतको कुनै एउटा सानो राज्यको बराबर पनि छैन भन्दा हुन्छ । नेपालको जति जनसंख्या त भारतको एउटै ठूलो शहरमा पनि पाउन सकिन्छ । नेपालको पुरै जनसंख्या भारतमा जाने हो भने त्यो चामलमा बियाँ हराएजस्तै हराउँछ । तर भारतको कुनै एउटा शहरको जनसंख्या नेपाल आउने हो भने नेपाल सजिलै फिजी हुन सक्दछ । यसैले विदेशीलाई नागरिकता दिने सवालमा नेपाल त्यति उदार हुन सक्दैन । अर्को कुरा भारत र नेपालको सीमा खुला भएको हुनाले पनि नेपालको नागरिकता नीति नेपालको हितमा नै हुन आवश्यक छ ।

प्राध्यापक मित्रले नेपालमा केही भएको देखेनन् । नेपालमा केही नभएको भए भारत नेपालका नदी कव्जा गर्न ०७ सालदेखि गिद्दे दृष्टि लगाएर बस्ने थिएन । नेपालका नदीमाथि कब्जा जमाउन अनेक षडयन्त्र गर्ने थिएन । विश्वमा नै जलश्रोतको दोस्रो धनी देश नेपाल के छ भन्नु जस्तो अरु मुर्खता के हुन सक्दछ ? नेपाल त नेपालको पानी बोत्तलमा बेचेर पनि बाँच्न सक्दछ । भनिन्छ ५० वर्षपछि भारतमा पिउने पानीको हाहाकार हुन्छ । भारतलाई सिंचाइ गर्नलाई मात्र होइन पिउनको लागि पनि नेपालको पानीको अत्यन्त ठूलो महत्व छ । नेपालका ढुंगा र बालुवाका कति महत्व छ भन्ने कुरा हाम्रा प्राध्यापक मित्रहरूले पनि नबुझे पनि भारतले राम्ररी बुझेको छ ।

भारतीय तस्करहरूले बलजझ्ती नेपालको बालुवा गिट्टी लुटेर लगेको कुरा हामी समाचारपत्रमा पढ्दछौं । नेपालका जडीबुटीमाथि भारतले आँखा गाढेको छ । जडीबुटीको लागि पनि नेपाल विश्व प्रसिद्ध छ । नेपालमा भूगर्व भएका खानीको त अझ हामीले खोजी नै गरेका छैनौं । उत्खनन गरेकै छैनौं । हामी अथाह सम्पतिका मालिक हौ भन्ने कुरा हामीलाई समेत जानकारी हुृन सकेको छैन । हाम्रो अवस्था त आफ्नै नाभीमा कस्तुरी भएर पनि बाहिर बाहिर खोज्न हिंड्ने मृगको जस्तो छ ।

समरमाथा नेपाल छ । विश्वका दशवटा अग्ला पहाडमध्ये छ वटा हिमशिखर नेपालमा नै छन् । विश्वमा पाइने चरामध्ये १० प्रतिशत चरा नेपालमा नै पाइन्छन् । साइबेरिकायका चराहरू जाडो कटाउन नेपालमा नै धाउँछन् । जाडाको याममा नेपाल उनीहरूको आश्रय स्थल बनेको छ । पुतलीको लागि नेपाल विश्व प्रसिद्ध छ । जरुवा पानीको लागि नेपाल धनी छ । संसारको सबभन्दा गहिरो खोंच नेपालमा नै छ । बुद्ध जन्मेको लुम्बिनी नेपालमा छ । शुद्धोधनको राजाधानी तिलौराकोट नेपालमा छ । तिलौराकोटले ईशापूर्व ११ औं १२ औं शताब्दीको सभ्यता बोकेको छ । सीताको माइती देश जनकपुर नेपालमा छ । हिन्दुहरूका दुई प्रसिद्ध तीर्थ स्थल पशुपति नाथ र मुक्तिनाथ नेपालमा नै छन् । हिमालको सुन्दरता नेपालमा छ ।

तराई नेपालको खाद्य भण्डार मानिन्छ । पहाडमा फलफूल र साग सब्जीको खेती गरेर अरबौं रुपियाँ कमाउन सकिन्छ । पशुपालनमा लागे पनि नेपाल एउटा धनी देश बन्न सक्दछ । मत्स पालनको लागि पनि नेपाल उपयृुक्त ठाउँ मानिन्छ । चियापत्तीको खेती नेपालमा राम्रो हुन्छ । अलैंचीको खेती नेपालमा प्रशस्त मात्रामा हुन्छ । कफीको खेती नेपालमा हुन्छ । नेपालमा रातो च्याउ पाइन्छ । यो ओषधीको लागि महंगो मूल्यमा बिकी्र हुन्छ । नेपाली कागजको जापानमा ठूलो माग छ । सिस्नु पनि निकै धेरै माग छ ।

पर्यटन उद्योगको लागि नेपाल विश्व प्रसिद्ध ठाउँ हो । विश्वका दश प्रमुख पर्यटकीय सूचिमा नेपालको नाम पनि पर्दछ । हामी पर्यटकलाई हिमाल देखाएर मात्र अरबौं पैसा कमाउन सक्दछौं । नेपाल जलवायुका विविधता भएको हुनाले यहाँ हर प्रकारका प्राणी बसोवास गर्न सक्दछन् । हर प्रकारका बनस्पति र अन्न बाली उब्जन सक्दछन् । नेपालमा पानीबाट मात्र होइन मुस्ताङमा हावाबाट पनि विजुली उत्पादन गर्न सकिन्छ । नेपालमा अति गर्मी हुने ठाउँ पनि छ । नेपालमा अति जाडो हुने ठाउँ पनि छ । नेपालमा न धेरै जाडो हुने न धेरै गर्मी हुने ठाउँ पनि छ । नेपालमा जस्तो जलवायु खोज्यो उस्तै जलवायु पाइन्छ ।

मलाई पनि के पनि लागेको छ भने ती प्राध्यापक मित्रले माधव घिमिरेको ‘गाउँ छ गीत नेपाली’, लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ वा बालकृृृष्ण समको ‘मुकुन्द इन्दिरा’सम्मको स्मरण गरेको भए पनि यो नेपालमा के छ भन्ने अभिव्यक्ति दिने थिएनन् होला । वास्तवमा देशको माया सम्पति र सम्पन्नताले हुने होइन । आफ्नो देश भनेको आफ्नै देश हो । मैले पनि जानेका दुई जना भारतका प्राध्यापकमध्ये एक जना नेपाली नागरिकता लिएर नेपालमा नै बसे ।

एकजना जिन्दगीभरि नेपालमा अध्यापन गरेर निवृत्ति भए पछि भारत मै फर्के । को कहाँ बस्ने भन्ने व्यक्ति विशेषको रोजाइको कुरा पनि हो । को कहाँको नागरिक बन्ने भन्ने कुरा पनि व्यक्ति विशेषको रोजाइको कुरा हो । कोही मुलुक धनी छ भनेर मानिसहरू त्यस मुलुकको नागरिक हुन खोज्ने । कोही मुलुक गरीब छ भनेर मानिस त्यस मुलुकको नागरिक हुन नखोज्ने कुरा पनि होइन । पाताल प्रवासका लेखक डा तारानाथ शर्माले चाहेको भए उनी “इस साले पहाडमा क्या रखा है’ भनेर अमेरिकाकै नागरिक भएर उतै बस्दथे । नेपाल फर्किने थिएनन् ।

जे होस्, हाम्रा मुलुकमा मैले चर्चा गर्न खोजेका जस्ता धेरै बुद्धिजीवी छन् । यस्ता बुद्धिजीवीले मुलुकलाई कस्तो बौद्धिक नेतृत्व देलान् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार