वर्तमान विश्वमा ३ अर्ब ६० करोड नागरिक बराबरको सम्पति ८ जना महाधनीको हातमा रहेको एक रिपोर्टले देखाएको छ ।

चित्रमा हेर्नुस्, आधा विश्वको जनता एकातिर र ८ जना धनीहरु एकातिर ।
गरिबीसँग संघर्ष गर्दै आइरहेको अक्सफाम इन्टरनेशनलले सोमबार प्रकाशित गरेको आफ्नो वार्षिक प्रतिवेदनमार्फत यस्तो रिपोर्ट निकालेको हो । यो विश्वको आधा जनसंख्या बराबरको सम्पति हो । अहिलेको विश्वको जनसंख्या ७ अर्ब रहेको छ ।
विश्वका ती ८ महाधनीहरु अमेरिकामा ६ जना, स्पेन र मेक्सिकोका एक एक जना रहेका छन् ।
यी आठ महाधनीहरुले विश्वका ३ अर्ब ६० करोड जनताको सम्पति हात परेका छन् । ती ८ धनीहरुमा विल गेट्स, अमानसिओ ओर्टेगा, वारेन बफेट, कार्लोस स्लिम, जेफ बिजोस, मार्क जुगरवर्गलगायत महाधनीहरु रहेका छन् ।
यो प्रतिवेदनले धनी र गरिबबीच कतिसम्म असमानता छ भन्ने प्रष्ट रुपमा देखाएको छ ।
धनी र गरिबबीच बढ्दो असमानताबारे अक्फामले जारी गरेको अर्को महत्वूर्ण रिपोर्टमा एक प्रतिशत भन्दा कम मान्छेको हातमा ९९ प्रतिशत मान्छेको सम्पति रहेको पनि देखाएको छ ।
यो रिपोर्ट केही वर्ष अगाडिदेखि अक्सफामले निरन्तर जारी गर्दै आइरहेको छ । तर मुठ्ठीभर केही मान्छेको हातमा विश्वको आधा जनसंख्याको सम्पति आउनु भनेको धनी र गरिबबीच निकै ठूलो र भयावह अन्तर रहेको देखिएको छ ।

यी ८ महाधनीहरु हुन्, जसले विश्वको आधा जनसंख्या बराबरको सम्पति हडपेका छन् ।
अघिल्लो वर्ष ६२ जना मान्छेको हातमा विश्वको आधा मान्छे बराबरको सम्पति रहेको रिपोर्ट यही अक्सफामले देखाएको थियो । अझ अघिल्लो वर्षभन्दा पनि अघिल्लो वर्षमा ८२ जना मान्छेको हातमा आधा विश्वको मान्छेको सम्पति रहेको पनि अक्सफामकै रिपोर्टमा देखाइएको थियो ।
यसरी प्रत्येक वर्ष केही मुठ्ठीभर मान्छेको हातमा यसरी विश्वका बहुसंख्यक मान्छे बराबरको सम्पति रहनु भनेको धनी र गरिबबीच निकै डरलाग्दो असमानता हो ।
धनी र गरिबबीचको बढ्दो खाडल कम गर्न लडिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफाम इन्टरनेशनलकी डाइरेक्टर विन्नि व्यानिमियाले धनी देशकका शासकहरुलाई बढ्दो असमानता अन्त्य गर्न अनुरोध गरिरहेकी छिन् ।
उनले धनीहरुको सम्पतिमा राज्यले बढीभन्दा बढी ट्याक्स लिनु पर्ने र बढ्दो गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएकी छिन् । उनले एक दशकदेखि महाशक्ति राष्ट्रका नेताहरुलाई खबरदारी पनि गरिरहेकी छिन् ।
विश्वमा धनी र गरिबीबीचको बढ्दो असमानताबारे स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमले पनि वर्षको जनवरीमा छलफल गर्ने गर्छ । अबको केही दिनभित्र हुने डाभोसमा पनि यही विषयमा छलफल हुने छ ।
तर जति छलफल भएपनि धनी र गरिबबीचको दुरी कम हुन नसक्नुमा विश्वको वर्तमान विश्व व्यवस्था जिम्मेबार रहेको कुरा अर्थशास्त्री अमत्र्य सेनले वताउने गरेका छन् ।
सेन अमेरिकामा रहेर विश्व आर्थिक व्यवस्थाबारे अध्यनन र कलम चलाउने विज्ञको रुपमा पर्छन् । उनले अहिलेको पुँजीवादी व्यवस्थाले नै धनी र गरिबबीच यस्तो भयावह अन्तर ल्याएको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै सेनले आजको विश्वको लडाइँ यही असमानता भएको बताएका छन् ।







