यतिबेला कति राजावादी बुद्धिजीवीहरू पृथ्वीनारायण शाहको मुद्दा उठाएर कुर्लिंरहेका छन् । जब कि यतिबेला कुर्ली कुर्ली बहस गर्नु पर्ने कुरा हो भारतीय विस्तारवादको दबाबमा संसदमा दर्ता तथा टेबल भएको राष्ट्रघाती चार बुँदे विधेयकबारे ।
पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिनमा सरकाले छुट्टी नदिंदैमा नेपालमा फिजीकरण भुटानीकिरण वा सिक्किमीकरणको खतरा हुने होइन । यदि पृथ्वीनारायण शाहको जन्म जयन्तीमा छृुट्टी दिएमा नेपालको फिजीकरण भुटानीकरण वा सिक्किमीकरणको खतरा टथ्र्यो भने एक दिन होइन पुरै एक महिना नै छुट्टी दिए पनि हुन्थ्यो । यद्पी कसैको पनि जन्म जयन्ती एक दिन मात्र पर्दछ ।

निश्चित रुपमा नेपालको फिजीकरण भुटानीकरण वा सिक्किमीकरणको खतरा छ, संसदमा चोरबाटोबाट पेश गरिएको चार बुँदै संविधान संसोधनको प्रस्ताव पारित भएमा । संसदबाट राष्ट्रघाती चार बुँदै संसोधन विधेयक पास भयो भने भारतीय विस्तारवादलाई नेपालमाथि आफ्नो हस्तक्षेपकारी भूमिका खेल्न सजिलो हुने छ । नेपालमा फिजीकरण भुटानीकरण वा सिक्किमीकरण गर्न धेरै सजिलो हुने छ । कुनै पनि देशभक्त नेपालीले सोंच्नु पर्ने कुरा यही हो । कुनै पनि राष्ट्रवादी शक्तिले अहिले सोच्नु पर्ने कुरा यही हो ।
चार बुँदे संशोधन प्रस्ताव मधेसी मोर्चाको माग होइन । यो पाँच नम्बरका जनताको पनि माग होइन । यस सम्बन्धमा जनताबाट आवाज उठेको पनि थिएन । छापामार शैलीमा रातारात प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई संंसदमा प्रवेश गराए । चोर बाटोबाट यसलाई संसदमा टेबल पनि गरियो । हाल आएर भारतका राजदूतको सल्लाहमा मधेसी मोर्चाले पनि केही संशोधनसहित यस प्रस्तावलाई समर्थन गर्ने निर्णय लिएको छ । भारतकै दबाबमा मधेसी मोर्चा पनि यस राष्ट्रघाती प्रस्तावलाई समर्थन गर्ने भएको छ । मतदान भएमा यसले बिना संशोधन पनि यसमा भाग लिने कुृरा निश्चित छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र होइन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यस संशोधन विधेयकलाई जसरी भए पनि पास गराउने पक्षमा खडा भएका छन् । उनले त निर्लज्ज तरिकाले भनिरहेका छन्, महाकाली सन्धि त पास गराए भने यो चार बुँदै संसोधन प्रस्ताव पास गराउनु उनको लागि कुनै गाह्रो कुृरा होइन । हुन पनि देउवाको राजनैतिक छवि नकारात्मक तथा नैतिकता कमजोर छ । यिनले हिजो प्रजातन्त्रलाई दरबारमा बुझाएका थिए । महाकाली सन्धिमा राष्ट्रघात गर्ने नायके त उनी आफै हुन् भन्ने कुरा उनकै अभिव्यक्तिबाट प्रष्ट हुन्छ । यतिबेला भारतले मधेसी मोर्चा बाहेक सबभन्दा बढी भर पर्ने भनेकै नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल नै हुन् । मधेसी मोर्चालाई मात्र अघि सारेको भए यस्तो राष्ट्रघाती प्रस्ताव अघि बढाउन संभव थिएन । यसैले भारतले शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई आलो पालो प्रधानमन्त्री बनाइदिने शर्तमा भारतीय विस्तारवादको हितमा चारबुँदै संशोधन प्रस्ताव पारित गर्न चाहिरहेको छ ।
के पी ओलीले नेतृत्व गरेको पार्टी एमालेले हिजो राष्ट्रघात गरेकै भए पनि आज उसले प्रचण्ड र देउवाको राष्ट्रघातको विरुद्धमा संघर्ष गरिरहेको छ । उसको यस संघर्षलाई स्वागत नै गर्नु पर्दछ । यतिबेला राष्ट्रघात विरुद्धको संघर्षमा एमाले लगायत साना दलहरू पनि सामेल भएको हुनाले उनीहरूको बलमा राष्ट्रघात रोक्न सकिएला भन्ने आशा राख्न सकिन्छ । राष्ट्रघात रोक्ने सबभन्दा ठुलो शक्ति त जनता कै शक्ति हो ।
नेपाली जनता राष्ट्रियताको पक्षमा हिमाल जस्तै खडा भएका छन् । यसैले नेपाली जनताको राष्ट्रियताको लडाइँ कमजोर छैन । फेरि पनि नेपाली लेन्डुपेहरू राष्ट्रघात गर्न छापामार शैली पनि अपनाउन सक्दछन् । चोरबाटो पनि समात्न सक्दछन् । सांंसदहरू रातारात भेडा बाख्रा जस्तै बिक्री पनि हुृन सक्दछन् । नेपालको संसद राष्ट्रघात गर्ने थलो हुन सक्दछ । यो खतरा टरेको छैन । बरु बढेको छ ।
कांग्रेस र माओवादी केन्द्र राष्ट्रघाटको बाटोमा लागे पनि ती पार्टीका जिम्वेवार नेता र कार्यकता राष्ट्रघातको विरोधमा उभिएका छन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझी खुलेर राष्ट्रघातको विरुद्धमा उभिएको कुरा जग जाहेर छ । नेपाली कांग्रेसभित्र थुप्रै चन्द्र भण्डारी हुन सक्दछन् । माओवादी केन्द्रमा थुप्रै टोपबहादुर रायमाझी हुन सक्दछन् । यसैले पनि नेपाली लेन्डुपेहरूलाई राष्ट्रघाती विधेयक पास गराउन सजिलो छैन ।
लुम्बिनीका जनताले संसदमा दर्ता भएको भारतीय विस्तारवादको स्वार्थको संशोधन प्रस्तावको तीब्र विरोध गरेका छन् । यो कुरा सरकारको आँखामा पनि पुगेको छ । यो कुरा सरकारको कानमा पनि पुगेको छ । जनतो यति चर्को विरोध देखे पछि वा सुने पछि सरकारले त्यस्तो राष्ट्रघाती बिरोध फिर्ता लएर जनमतको कदर गर्नु पर्ने । तर विदेशको इशारामा चल्ने कठपुतली सरकार आँखा भएर पनि अन्धो हुँदो रहेछ । कान भएर पनि बहिरो हुँदो रहेछ ।
प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवासित मिलेर संसदमा पेश गरेको संसोधन प्रस्ताव पास भएमा भारतले सजिलैसित नेपाललाई फिजी पनि बनाउन सक्ने छ । भूटान पनि बनाउन सक्ने छ । सिक्किम पनि बनाउन सक्ने छ । यस्तो नेपाल राष्ट्रकै हित विपरीतको संसोधन प्रस्तावलाई पारित गर्ने कसरत गर्नु कांग्रेस र माओवादी केन्द्रको नेतृत्वमा बनेको संयुृक्त सरकारको सबभन्दा बढी लज्जाजनक काम हो । यस्तो काम लेन्डुपे बाहेक अरु कसैले पनि गर्न सक्दैन ।
हिजो माओवादीले अर्घाखाची कब्जा गरेको थियो । तर आज त्यही माओवादीका नेता अझ जनमुक्ति सेनाका ठूला कमाण्डर जनार्दन शर्मालाई समेत त्यहाँका जनताले गरेको ढृंगा मुढाको प्रहार झेल्नु पर्यो । सभाबीचमा नै छोडेर कुलेलम ठोक्नु पर्यो । किन ? यस कारण कि उनी पनि सामेल भएको सरकारले राष्ट्रघाती संसोधन प्रस्तावलाई जबरजस्ती संसदबाट पास गर्न खोज्ने षडयन्त्र रच्न थाल्यो । यसबाट सरकारको राष्ट्रघाती कदमबाट जनता कति रुष्ट रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । यो कुरा पक्कै हो जनार्दन शर्माले लोडसेडिङ घटाउनमा महत्वपूर्ण भूमिका खेलेको भए पनि शेरबहादुर देउवा र पुष्पकमल दाहालले संसदबाट भारतको हितमा संसोधन प्रस्ताव जबरजस्ती पास गराउने षडयन्त्र रचिरहेको अवस्थामा उनी उनका पछि सती जान तयार भएको कुरा प्रष्ट भएर नै आक्रोशित जनता उनीमाथि ढृुंगा मुढा गर्ने बिन्दुमा पुगेका हुन् । अर्घाखाचीका जनताको ढुंगा मुढाको परिभाषा बुझेर जनादर्न शर्माले सकारात्मक काम गरेमा त्यहाँका जनताले भोलि फूलको मालाले स्वागत पनि गर्न सक्दछन् ।
पृथ्वीनारायण शाहको जन्म दिनमा सरकारले सार्वजनिक विदा दिएन भनेर आक्रोशित हुने राजावादी बुद्धिजीवीहरूले त्यस्तो आक्रोश यो मुलुकलाई फिजी भुटान वा सिक्किम बनाउन खोज्ने लेन्डुपप्रति प्रदर्शित गर्न सकेकामा मात्र उनीहरूले भन्ने गरेको “ राष्ट्र निर्माता ” को “राष्ट्रिय एकीकरण” को केही अर्थ रहला । होइन भने यता राजावादी बुद्धिजीवीहरू नेपालको “ राष्ट्रिय एकीकरण ” पृथ्वी नारायण शाहले गरे भन्दै उनको स्तुतिगान गर्दै बस्ने छन् उता भारत नेपालमा आफ्ना हनुमान मार्फत नेपालको सार्वभौमसत्ता भूअखण्डता र स्वाधीनताको जरो खन्ने काममा बाजी मार्दै जाने छ ।
वर्तमान कठपुतली सरकारले पनि पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउनमा कसैमाथि प्रतिबन्ध लगाएको छैन । जसले जहाँ पनि स्वतन्त्रतापूर्वक पृथ्वी जयन्ती मनाउन पाइरहेकै छन् । बरु हिजो यिनै पृथ्वी नारायण शाहका अनुयायीहरूका सरकारले यो मुलुकमा पुष्पलालको लाश त के खरानी समत ल्याउन पनि दिएको होइन । यो कुरा राजावादी बुद्धिजीवीहरूले बिर्से पनि इतिहासले बिर्सेको छैन । इतिहासले बिर्सन सक्दा पनि सक्दैन ।
कम्युनिष्टहरू माक्र्स, एंगेल्स लेनिन स्तालिन र माओलाई मान्दछन् । उनीहरूका जन्म दिनमा विभिन्न कार्यक्रमको योजना पनि गर्दछन् । नेपालमा गैर कम्युनिष्टहरूको सरकारको त कुरै नगरौं राजावादी बुद्धिजीवीहरूले भन्ने गरेको कम्युनिष्टकै सरकार बने पनि उसले माक्र्स लेनिन स्तालिन वा माओको जन्म दिनमा छुट्टी दिने कुरै गरेको छै्रन । सर्वहारावर्गका लागि माक्र्स एंगेल्स, लेनिन, स्तालिन र माओ जर्मन, रुस वा चीनका मात्र नेता होइनन् । उनीहरू त विश्वभरिका सर्वहारावर्गका नेता हुन् । सर्वहारा क्रान्ति मार्गदर्शक नेता हुन् । यसैले त विश्वभरिका कम्युनिष्टहरू आ आफ्नो देशमा उनीहरूका जन्म दिन ठूलो उत्साहका साथमा मनाउँछन् । त्यसको लागि उनीहरूलाई कुनै सरकार छुट्टी आवश्यक पर्दैन । त्यसको आशा पनि गर्दैनन् । माग पनि गर्दैनन् । तर यिनै कम्युनिष्टका गुरुहरूले घोषित गरेको मई दिवसमा दिनमा छुट्टी दिन हिजोका राजावादी सरकार पनि वाध्य भएको हो । जे होस्, संसार बदल्ने महान् व्यक्तित्व कसैका पेवा हुँदैनन् । व्यक्तिगत सम्पति हुँदैनन् । बुद्ध नेपालका हुन् । तर बुद्ध नेपालका मात्र पेवा हुन सक्दैनन् । बुद्ध धर्म मात्र होइन बुद्ध दर्शनको विश्वले कदर गर्दछ ।
कस्तो विडम्ब्ना नेपालमा यस्ता कम्युनिष्ट बुद्धिजीवीहरू पनि छन्, जो विश्व कम्युनिष्ट आन्दोलनका महान् गुरुहरूको जन्म जयन्ती मनाउने कुरा त परै जाओस् उनीहरूको नाम पनि उच्चाहरण गर्न समेत छोडेका छन् । यिनै कम्युनिष्ट बुद्धिजीवी प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक छुट्टी दिएन भनेर आँसु चुहाउँछन् ।
यतिबेला नेपालका कति नेता तथा बुद्धिजीवी राजावादीहरूभन्दा पनि अझ बढी राजावादी भएका छन् । कमल थापाभन्दा पनि बढी राजावादी भएका छन् ।







