शुक्रबार अर्थात् २० जनवरीबाट अमेरिकाका ४५औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दै छन् ।
बीचैमा महाभियोग लागेर हट्नुपरेमा बाहेक कमसेकम आगामी चार वर्ष उनले अमेरिकामा शासनसत्ताको नेतृत्व गर्ने निश्चित भएको छ । तर, यसअघिका राष्ट्रपतिहरू ह्वाइटहाउस प्रवेश गर्दाको माहोल र डोनाल्ड ट्रम्पले शपथ लिनेवेलाको माहोल बिल्कुल भिन्न छ ।

उनी अहिलेसम्म सबैभन्दा अलोकप्रिय राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् । केही चर्चित व्यक्तित्वसहितका दर्जनौँ डेमोक्र्याट्स सांसद र सिनेटरले कार्यक्रम बहिष्कार गर्नेछन् । २१ जनवरीमा ट्रम्पविरुद्ध देशव्यापी रूपमा महिलाहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । विश्वमा उदारवादी व्यवस्थाको पतन यहीँबाट थालिने चिन्ता जाहेर भएका छन् । विश्व बिरादरीमा पनि उनको कार्यकाल र नीतिहरूलाई लिएर चिन्ता थपिएको छ ।
१८ जनवरीको न्युयोर्क टाइम्समा लन्डनबाट स्टेभन एर्लंगरले आफ्नो टिप्पणीमा लेखेका छन्– ‘जर्मनहरू रिसाइरहेका छन् । चिनियाँहरू आक्रोशित छन् । नेटोका नेताहरू नर्भस भएका छन्, युरोपियन युनियनका तिनका समकक्षी सशंकित छन् ।’ अर्थात् यस्तो देखिँदै छ कि ट्रम्पको कार्यकाल अमेरिकी पुँजीवादका लागि मात्र नभएर विश्व अर्थव्यवस्था र सामरिक सन्तुलनका लागि पनि अनिश्चितता र भयको सञ्चार गर्दै सुरु हुनेछ ।
भर्खरै मात्र एउटा स्वतन्त्र बेलायती गुप्तचर संस्थाले ट्रम्पका बारेमा तयार पारेको विशेष प्रतिवेदनमा उनी कति निर्घिणी, परनिन्दक, यौनलम्पट तथा विकृत मानसिकता भएका मानिस हुन् भन्ने तथ्य देखाउँछ । मस्कोमा दुई वर्षअघि एउटा होटलमा बस्न जाँदा उनले त्यही कोठा रोजेका थिए, जहाँ पहिले राष्ट्रपति ओबामा मस्को भ्रमणमा जाँदा बसेका थिए । ओबामाप्रति घृणा देखाउन उनले केही यौनकर्मी युवतीलाई ल्याएर ती ओछ्यानमा पिसाब फेर्न लगाएको अर्थात् गोल्डेन सावर गराएको पुष्टि त्यो प्रतिवेदनमा छ भनेर पत्रिकाहरूले लेखेका छन् । यसबारे केही दिन पहिले गुप्तचर निकायले ओबामा र ट्रम्पलाई ब्रिफिङ गरेका थिए । यत्तिको लम्पट मान्छे सम्भवतः विश्व शक्तिको प्रमुख बन्न पुगेको थिएन ।
उनको चरित्रले उहिलेको रोमन सम्राट् क्यालिगुलाको सम्झना गराउँछ, जसले आफ्नो मनपरेको घोडालाई मन्त्री बनाएका थिए भन्ने इतिहास पाइन्छ । ००० आन्तरिक रूपमा उनको नीतिमा केही अनर्थले जन्म लिने पक्का देखिन्छ । महिलामाथिको ज्यादती र हिंसालाई प्रोत्साहन मिल्ने, आप्रवासीमाथि ज्यादती बढ्ने तथा एंग्लो स्याक्सन नश्लवादको प्रभाव बढ्ने सम्भावना छ । अमेरिकामा अहिले पनि त्यहाँ बस्ने अधिकार पाउन पर्खेर बसिरहेकाहरूलाई धपाउने लक्ष्य राखेका ट्रम्पको समयमा धेरैले अमेरिका छाड्नुपर्ने सम्भावना छ ।
मेक्सिकोसँगको सिमानामा अग्लो पर्खाल लगाउने र त्यसको खर्चचाहिँ मेक्सिकोले तिर्नुपर्ने धम्की उनले दोहो¥याएर दिइरहेका छन् । उनको नेतृत्वमा रिपब्लिकनहरूले ओबामाले लिएको स्वास्थ्य उपचारमा सबैलाई समेट्ने नीति ‘ओबामा केयर’ उल्टाउने तयारी गरिसकेका छन् । करसम्बन्धी नीतिमा आउने परिवर्तनले अहिले चुलिएको आर्थिक असमानता छचल्किएर पोखिनेछ । डोनाल्ड ट्रम्पको नेतृत्व अहिलेसम्म हेर्दा रुस र बेलायतबाहेक सबै देश र क्षेत्रमा खैलाबैला ल्याउने ढंगले विदेश सम्बन्ध कायम गर्नेतर्फ लक्षित देखिन्छ । उनले रुसले क्रिमियामाथि गरेको नियन्त्रण र उक्राइनमाथि गरेको हस्तक्षेपविरुद्ध नेटोसम्बद्ध राष्ट्रले लगाएको नाकाबन्दी फुकाउने संकेत गरिसकेका छन् ।
अनौठो के छ भने अमेरिकी रक्षासम्बद्ध संयन्त्र र सिआइए तथा एफबिआई रुसले अमेरिकी राजनीतिमा गरेको हस्तक्षेपले हैरान छन् र तिनीहरू रुसलाई चुनौती दिने नेतृत्वको खोजीमा छन् । दुई साताअघि मात्र रुसलाई सन्तुलनमा राख्न तथा नेटो राष्ट्रको सुरक्षा गर्न भन्दै अमेरिकी सैनिकहरूको एउटा ठूलै टुकडी पोल्यान्डमा तैनाथ भएको छ । यसैगरी ट्रम्पले हालै युरोपेली युनियनबाट अलग्गिने निर्णय गरेको बेलायतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने संकेत गरेका छन् । यसबाहेक उनले अहिलेसम्म गरेका विदेश नीतिसँग सम्बन्धित घोषणा विवादास्पद छन्, विश्वव्यापीकरणका विपक्षमा छन्, तथा संरक्षणवादी नीतिको पक्षमा छन् ।
‘अमेरिका फस्ट’को नारा दिएर निर्वाचनमा लोकप्रिय बनेका डोनाल्ड ट्रम्प चीन, युरोपेली युनियन, जर्मनी, मेक्सिको तथा ट्रान्स एटलान्टिक स्वतन्त्र व्यापार सम्झौताका विपक्षमा उग्र कुरा गरिरहेका छन् । उनले आफ्नो कार्यकालको पहिलो दिन नै प्यासिफिक वारपार व्यापार (टिपिपी) सम्झौता खारेज गर्ने निर्णयबाट थालनी गर्ने बताइसकेका छन् । चिनियाँ सामान आयातमा ४५ प्रतिशत कर लगाउने तथा एक चीन नीतिलाई चीनसँग व्यापारिक सहुलियतका लागि बार्गेनिङ चिप्स बनाउन एक चीन नीति मान्न नसकिने सार्वजनिक घोषणा गरेका छन् ।
यसैक्रममा डाभोस पुगेका ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार स्कारामुचीले चीनसँग व्यापार युद्ध भए पनि अमेरिकाले जित्छ भन्ने धम्की दिएका छन् । यसको अर्थ उनको कार्यकालको थालनीदेखि नै चीनसँग द्वन्द्व बढ्नेछ । यसबाट चिनियाँहरू रिसाएका मात्र छैनन्, उनीहरू दुईवटा मोर्चामा लड्ने तयारीमा लागेका छन् । पहिलो हो, ताइवानलाई सकेसम्म तटस्थ राख्ने, नभए बल प्रयोग गरेर भए पनि एकीकरण गर्ने । दोस्रो अमेरिकासँगको व्यापार युद्ध हुँदा आयात–निर्यात व्यापार, रोजगारी र वैदेशिक लगानीमा पर्नसक्ने घाटा हटाउन विकल्प खोज्ने ।
कतिसम्म भने चिनियाँ पत्रिका ग्लोबल टाइम्सको १८ जनवरीको अंकमा अमेरिकासँग सम्भावित व्यापार युद्धका नाफा–नोक्सानको हिसाब सार्वजनिक गरिएको छ । डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चको सम्मेलनमा चिनियाँ राष्ट्रपतिले विश्व नेतृत्वको दाबी अधिकारपूर्वक पेस गरेका छन् । ट्रम्पको नेतृत्वमा संरक्षणवादतिर लम्किन लागेको अमेरिकालाई उनले घुमाउरो पारामा चुनौती दिएका छन् र विश्वकीकरणको बचाउ गरेका छन् ।
नयाँ प्रशासनको प्रतिनिधिका रूपमा ह्वाइटहाउस प्रवेश गर्दै गरेका स्कारामुचीको अभिव्यक्तिले दोस्रो विश्वयुद्धपछि अमेरिकी नेतृत्वमा बनेको विश्व व्यवस्था खल्बलिन थालेको स्पष्ट संकेत गर्छ । केही टिप्पणीकारले यसले युरोपेली मुलुकमा भय र अविश्वासको वातावरण निम्त्याएको बताएका छन् । धेरैको आशंका के छ भने सन् १९८० मा लोकप्रिय रूपमा अमेरिकी मध्यमवर्गको मत लिएर जितेका रोनाल्ड रेगनले विस्तारित गरेको नवउदारवाद र विश्वकीकरणको हत्या अर्का रिपब्लिकन डोनाल्ड ट्रम्पको नेतृत्वमा हुनेछ ।
सन् १९९० बाट अघि बढेको एकल धु्रवीय विश्वको घोषित–अघोषित मान्यता अब खण्डित हुनेछ । अनुदारवादी दक्षिणपन्थले बढावा पाउनेछ । युरोपेली समाजवादले धक्का खाने सम्भावना छ । यसको विकल्पमा उभिनुपर्ने सकारात्मक लोकप्रियतावाद अर्थात् वामपन्थी पपुलिजम हो । वामपन्थी पपुलिजमले श्रमिक वर्ग, महिला, अल्पसंख्यक, आप्रवासी सबैको हितको रक्षा गर्ने र न्यायपूर्ण समाजको परिकल्पना गर्छ । यसका लागि माक्र्स र उनीपछिका अनेक माक्र्सवादी आन्दोलनबाट शिक्षा लिन र प्रतिरोध आन्दोलन चलाउन सम्भव छ । सोभियत खेमाको पतनको चोट सहँदै उठेको दक्षिण अमेरिकी वामपन्थ चाभेज मोडलको पतनबाट खुम्चिएको छ ।
२००८ पछि उदाएको युरोपेली पपुलर वामपन्थ अझै पनि वैकल्पिक शक्ति बनेको छैन । एसियामा चिनियाँ मोडलले सबैलाई लतार्दै गएको छ । लोकप्रिय वामपन्थी विकल्पहरू नभएसम्म लोकप्रिय बनेको अति दक्षिणपन्थसँग जुध्न सम्भव छैन । तर, आगामी वर्षहरू फेरि वर्गीय ध्रुवीकरण र दक्षिण तथा वाम खेमाका विचारधारात्मक संघर्षका वर्ष हुने निश्चित छ ।







