संविधानको अन्तर्वस्तुका सम्बन्धमा बहस र विवाद गर्ने थुप्रै ठाउँहरू छन्, यो संविधान जनसंविधान होइन । नेपाली समाजमा विद्यमान उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीचको अन्तर्विरोधलाई हल गर्ने प्रावधानहरू यसमा छैनन् ।

संविधानका सन्दर्भमा जुन विषयलाई लिएर विमति जनाउनु पर्ने थियो, त्यो विषय उठेन । उठ्नेबित्तिकै नयाँपुराना ठालुहरूलाई मार पर्थ्यो, डलर र भारुमा रमाएर जातीय वितण्डा र राष्ट्रिय विखण्डनका लागि डलर र भारु कुम्ल्याउनेहरूलाई मार पर्थ्यो, त्यसैले यो नारा उठेन । तर राष्ट्र विखण्डन गराउन सहयोग पुग्ने संविधान भएन भनेर नेपाल नै नरहने,  पहाडियालाई सिध्याउने र चुच्चा नाकहरू बाटेर रगतको टीका लगाउने नारा यो मुलकका सडकहरूमा लागे, निकै दिनसम्म लागिरहे र लागिरहेका छन् ।बेठीक भन्नेहरूलाई सडकमा निस्मन गारो भयो, पार्टीमा टिक्न गारो भयो ।

यी सबै कामहरू जातीय पहिचान, मधेसको समस्या, आत्मनिर्णयको अधिकारका नाममा भए  । यसै नाराअन्तर्गत उपेन्द्र यादव, राजेन्द्र महतो र किसन शर्माहरूले गौरमा सामान्य नागरिकदेखि तीन दर्जन माआवादीहरूको हत्या गरे । त्यतिबेर माओवादीले तयार पारेको पार्टी प्रतिवेदन अहिलेसम्म बाहिर ल्याइएको छैन, पहाडियालाई सिध्याउन  माओवादीका नाममा मस्ती गर्ने प्रभुसाह जस्ता दलालको समेत नाम त्यसमा मुछिएको थियो ।  मधेसी फोरमका रामकुमार  शर्मा त अहिले पनि माओवादी केन्द्रको नेता भएर सत्ता र शक्ति भोग गरिरहेका छन् । उनलाई किरण-प्रचण्ड–बाबुरामले फूलमाला लगाएर पार्टी प्रवेश गराएको कुरा सबैलाई थाहा छ ।

त्यतिबेर माओवादी पार्टीलाई वैचारिक तथा भौतिक रूपमा सिध्याउन, बदनाम गर्न साम्राज्यवादी–विस्तारवादी शक्तिका साथै नेपालभित्रका नेपाली काङ्ग्रेस र एमाले पनि लागेका थिए । एकहिसाबले माओवादी विरुद्ध घोषित–अघोषित मोर्चा बनेको थियो । त्यो घटना बाह्य प्रतिक्रियावादी शक्तिहरू खासथगरेर भारतीय विस्तारवाद र त्यसबाट निर्देशित कथित मधेसवादी दलका नेताहरूको संयुक्त साँठगाँठको उपज थियो ।

त्यो घटनालाई बिर्सेर, मूल मुद्दा वर्गीय प्रश्नलाई बिर्सेर, क्रान्तिकारी पार्टीको पहिचान चाहिँ टुकुचामा फ्यालेर क्रान्तिकारी भनिएका कमरेडहरू पनि पहिचानवादी संविधान बनाउन,  आत्मनिर्णयको मुलुकलाई टुक्राटुक्रा पारेर आत्मनिर्णयको अधिकार उपभोग गर्न  उपेन्द्र यादवसित कार्यगत एकता गरेर उपेन्द्र यादब, राजेन्द्र महतो र अमरेस सिंहजस्ता तत्वहरूको नारा बोकेर ठाउँठाउँ नाराजुलुस गर्दै हिंडे ।

“न्यायपूर्ण र आवश्यक माग” लाई समर्थन गर्ने भन्दै क्रान्तिकारी भनौंदाहरू पनि उपेन्द्र यादवलाई अघि लाएर जुलुसमान मिसिए । यसै नाराजुलुस र कार्यक्रमभित्रकै एउटा कार्यक्रम थियो टीकापुरको  कार्यक्रम  घटना । पूवैदेखि पश्चिमसम्मको चुरे दक्षिणको क्षेत्र आत्मनिर्णयको  अधिकारका नाममा भारतमा मिसाउने, पहाडिया तराईवासीहरूबीच मारामार गराउने योजनाकै उपज थियो टीकापुर घटना ।  टीकापुर घटनापछि क्रान्तिकारी कमरेडहरूले मन्तव्यमार्फत स्वीकारेका छन् सबै कुरा । अहिले देव गुरुङको नाम त्यसै जोडिएको छैन l  देव गुरुङ त्यही कार्यगत  एकताका उपज थिए भनने कुरा बिसेनु हुन्न ।

उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश कुमारहरू टीकापुर घटनाका दोषी हुनु स्वावाभाविक छ . उनीहरूका भाषाणका टेपहरू सुरक्षित छन् l तर त्यतिबेला सो घटनामा आफ्ना कार्यकर्ताहरू पनि समावेश भएको भनेर गर्व गर्नेहरूमा ‘बुढा’ र ‘युवा’ नेता र कार्यकर्ताहरू पनि थिए भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

माओवादी पार्टीमा सबैभन्दा बढी जातीयत पहिचानवादको कुरा गर्ने देव गुरुङ पार्टीभित्र सबैभन्दा बढी सम्पतिवान, सुविधाभोगी र जसरी पनि सरकारमा जान मरिहत्ते गर्ने पात्रका रूपमा चिनिन्छन् ।मधेसीसितको चारबुँदेलाई ‘ऐतिहासिक’ भनेको र  भनेजस्तो मन्त्री नपाएपछि पार्टी फुटाएर भए पनि मन्त्री हुन खोज्ने अवसरवादी पात्रका साथै सातौं महाधिवेशनको समयमा  उठेको २५ लाखले आफ्ना लागि गाडी किन्ने व्यक्तिवादी पात्रका रूपमा पनि उनको नाम लिइन्छ ।

मोहन बैद्यको नेतृत्वमा नयाँ पार्टी बनेपछि सुशील कोइरालाको नेतृत्वमा सरकार बनाएर त्यसमा सामेल हुन देव गुरुङले पार्टीमा केकस्ता बखेडा निकाले भन्ने कुरा विप्लव समूहले आफ्नो दसताबेजमा उल्लेख गरेको छ । अहिलेको संविधान घोषणा हुनु अघिल्लो दिनसम्म पनिउनी राष्ट्रिय सहमतिको कुरा गरेर सरकारमा जान लालायित भएको कुरा पार्टी कार्यकर्ता सबैलाई थाहा छ । टीकापुर घटनाजस्तै थुप्रै घटना घटाएर मुलुकमा भद्रगोल उत्पनन गर्ने र बाह्य शक्तिको  स्वार्थअनुसार मुलुक चलाउने गुरु योजनामा सरिक हुन् चाहने गुरुङ मार्काका मान्छेहरू माओवादी पार्टीमा त्यतिबेला पनि थिए र अहिले पनि छन् ।

अहिले देव गुरुङहरू माओवादी केन्द्रका नेता बनेका छन्  । पार्टी फुटाएर भए पनि सरकारमा जाने मत राख्ने भनेर चिनिएका गुरुङ, महाराझें  यो प्रतिवेदनपछि मदारीले बाँदर नचाएझैँ प्रचण्डको बाँदर नचाइमा पर्नेछन् भन्ने कुरा प्रस्ट छ ।

वास्तवमा देव गुरुङहरूले  माओवादी पार्टीभित्र जुन वितण्डा मच्चाए, त्यो ‘ऐतिहासिक’ छ । पार्टीभित्र कमरेड किरणका दाहिने हात भनेर चिनिने देव गुरुङले कमरेड किरणलाई जसरी नचाए, त्यो झन् ‘ऐतिहासिक’ छ । पार्टीले गति लिन नसक्नु, विप्लवहरू फुटेर जानु र बरालहरू पार्टीमा बस्न नसक्ने स्थिति उत्पन्न हुनुमा केही हदसम्म गुरुङ प्रवृत्ति र त्यसै प्रवृत्तिलाई प्रोत्साहित गर्ने किरण-बादल प्रवृत्तिले पनि काम गरेको छ ।

जातीय होइन, वर्गीय प्रश्नलाई जोड दिनुपर्छ, नेपालको सन्दर्भमा जातीय पहिचान र आत्मनिर्णयको अधिकार ठीक छैन भन्ने पार्टीका कार्यकर्ताहरूमाथि कारबाही गर्न जोड दिने,  विखण्डनकारीहरूसित कार्यगत एकता गर्न सबैभन्दा बढी दबाब दिने, वर्गीय प्रश्नभन्दा जातीय प्रश्नलाई जोड दिएर माओवादी आन्दोलनलाई विखण्डन र विसर्जनमा पुर्याउने, सरकारमा जान पाइन्छ भने जुनसुकै सर्त र जोसित पनि सहमत हुने पात्र हुन् देव गुरुङ । उनले पहिचानको राजनीतिमार्फत किरणलाई पनि युरोप घुमाएको कुरा पार्टीभित्र टिप्पणीको विषय बनेको हो l पहिचानवादीहरू, आत्मनिर्णयको अधिकारवादीहरूसित सहकार्य गर्न बलपूर्वक पार्टीको नीति बनाइएको थियो भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

सारमा गौर हत्या र टीकापुर हत्या एउटै प्रवृत्तिका घटनाहरूको शृङ्खला हुन् । यसको केन्द्रीय सार भनेको  राष्ट्रिय स्वाधीनताप्रति प्रहार, त्यसका पक्षधरहरूप्रति प्रहार हो । दूधेवालकदेखि निहत्था प्रहरी मारिनुको मानवीय पक्ष त छ नै, त्योभन्दा पनि महत्वपूर्ण विषय के सन्दर्भमा तिनको हत्या भएको थियो भन्ने हो ।  भारतीय विस्तारवादका दलालहरू विरुद्ध लडेका सिपाहीहरू, विखण्डनकारी तत्वहरूका विरद्ध लड्दा ज्यान गुमाएका मान्छेहरू जुनसुकै पार्टी, स्थान र समुदायका किन नहोऊनन्, ती श्रद्धाका पात्र छन् । यस अर्थमा त्यो नरसंहारको अगुवाइ गर्नेहरूमाथि कारबाही हुनु भनेको राष्ट्रिय स्वाधीनताको पक्षमा लड्नेहरूप्रति सम्मान हो ।

आफू कुर्सीमा बसिरहन पाइन्छ भने  मुलुकलाई भारतको एउटा प्रान्त बनाउन पति तयार हुने प्रचण्डको कुरा नगरौँ । उनले सक्नेजति सबै गरिसके र अझै गर्ने बाटो खोजिरहेका छन् । विडम्बनाको विषय के छ भने कमरेड किरणजस्ता पाका र अनुभवी भनिएका नेताले समेत यसको वैज्ञानिक अध्ययन–विश्लेषण र संश्लेषण गर्न खोजेको र चाहेको देखिएन । अहिले पनि “मधेसका नेताहरूलाई जस्तै हामीलाई पनि सहयोग गर्नुपर्यो”  भनेर भारतीय राजदूतका सामु लम्पसार पर्ने संस्थाका प्रवक्ता, ”पृथ्वीनारायण शाह हत्यारा हुन्” भनेर ब्यानर टाँसेर भाषण गर्ने सस्थाका नेता कमरेड किरणको प्रमुख सल्लाहकार छन् भन्ने कुरा सबैलाई थाहा छ ।

गजब छ, सबैभन्दा गरिबी र विभेद, जातजातिगत र वर्गीय विभेद तराईमा छ, त्यसमा पनि मधेस भन्ने गरिएको ठाउँमा बढी छ । जातीय–क्षेत्रीय पहिचानको कुरा गर्नेले यो विभेदको कुरा कहिल्यै उठाएनन् र उठाउदैनन् पनि ।  आवेग र आक्रोसको राजनीति गरेर मधेस र तराईका असली मुद्दा ओझेलमा पारिएको छ । चुरे उतै मिलाउने भारतीय योजनामा सारा कामहरू भइरहेका छन् । उपेन्द्र, महतो, ठाकुर र अमरेशकुमारले नपुगेर अर्को प्यादा राउत खडा गरेर नेपालमा वितण्डा मच्चाइँदेछ ।

भ्रष्टाचारी अपराधीलाई कालो मोसो दल्दा महिनौं जेल हाल्ने सरकार मुलुक विखण्डन गर्छु भन्ने सिके राउतलाई  फूल मालाले स्वागत गर्छ ।अनि हाम्रा कमरेडहरू “मधेसवादी पार्टीहरूले उठाएका न्यायपूर्ण मागहरूलाई समर्थन गर्ने” भनेर दस्ताबेजीकरण गर्दछन् । यो भन्दा विडम्बनाको विषय अरू के हुन् सक्छ ! । कस्तो किसिमको क्रान्तिकारिता हो, बुझ्न गारो भयो ।
गौर नरसंहारदेखि टीकापुर घटनासम्मको समग्र विश्लेषण र संष्लेषण आवश्यक छ । यो काम मार्क्सवादको जगमा उभिएर मात्र सम्भव छ । नेपालको राष्ट्रिय स्वाधीनता  र जनतन्त्रको प्रश्नलाई अगाडि राखेर मात्र सम्भव छ । गौर घटनाबाट हामीले सिकेनौँ, कुर्सीमा पुग्नका लागि विस्तारवादका सामु आत्मसमर्पण गर्यौं  । टीकापुर घटनामा गर्व गर्यौं ।

हामी मार्क्सवादी हौँ भने, यो मुलुकप्रति हामीलाई अलिकति पनि माया छ भने हामीले आत्मालोचना गर्ने बेला आएको छ । कामरेडहरूबाट यो जिम्मेवारी पूरा  होला ?

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार