जनतामाथि लुट, शोषण र थिचोमिचो गरी मोटाएको पुँजीवादी र सामन्ती परजीविहरूको निमित्त मजदुरवर्गबाट थालिएको महान् सामाजिक क्रान्ति कसरी सह्य हुन सक्थ्यो ? होटेल द भिलेमा नौलो समाजको प्रतीक बनेर शानदार रूपमा फरफहराइरहेको पेरिस कम्युनको रातो झण्डा भ्रष्ट, गन्दा र मरणोन्मुख पुरानो संसारको लागि आँखामा बिझेको काँडा थियो । उक्त रातो झण्डालाई देखेर पुरानो व्यवस्थाका गिद्ध, जुका र बौलाहा कुकुरहरू रिसले मुरमुरिएर डाहले छटपटाए । मजदुरहरूको पेरिसलाई ध्वस्त पार्न ती तत्वहरू स्वभावतः विभिन्न षड्यन्त्रमा पूरा शक्तिका साथ जुटे ।

राष्ट्रिय सुरक्षाको सरकारको स्थापनादेखि नै त्यसले मजदुरहरूलाई निःशस्त्र पार्ने आफ्नो कार्य बनाएको थियो तर त्यसका सारा प्रयत्नहरू असफल भए । मार्च १८ तारिखका दिन बिहान उक्त देशद्रोही सरकारका नेता थियर्सले राष्ट्रिय गार्डको नाउँमा बडो जोडदार अपिल गरे तर पुँजीपतिवर्गको छलकपट र विश्वासघातबाट अघाइसकेका मजदुरहरूले त्यसलाई कुकुरको पुच्छरमा झुण्ड्याइदिए र राष्ट्रिय गार्डका ४००,००० सदस्यहरूमा ३०० ले मात्र उसको कुरा सुने ।
त्यही दिन मजदुरहरूको विजयी विद्रोहपछि, पेरिसका सबै फोहोरहरूलाई बटुलेर सरकारका सदस्यहरू भर्साइलमा भागेर गए । त्यहाँबाट उनीहरूले पेरिसको विरुद्ध घृणित प्रयास र षड्यन्त्रहरू जारी राखे । देशद्रोही थियर्सले पेरिस कम्युनको विरुद्ध प्रतिक्रान्तिकारी द्वैत कार्यनीतिलाई प्रयोग गरयो । एकातिर, पेरिस कम्युनसित शान्ति वार्ताको ढोंग रचेर पेरिसको विरुद्ध आफ्नो अपराधी षड्यन्त्र लुकाउन ‘शान्ति’ को पर्दा राखियो भने अर्कोतिर पेरिसमा जनताको रगतको खोलो बगाउन भौतिक शक्ति जम्मा गर्ने प्रयास गरियो ।
प्रान्तहरूबाट भौतिक शक्ति प्राप्त गर्ने थियेर्सको कोसिस बेकार भयो । अनि थियर्सले फ्रान्सका ज्यानी शत्रु प्रशियाली सरकारसित अपमानजनक सन्धि गरयो, जुन सन्धिअनुसार विस्मार्कको प्रशाले पेरिसको दमन गर्न सहायता दिने भयो र पहिले प्रशाद्वारा बन्दी बनाइएका सिपाहीहरूलाई छाडिने भयो । मई महिनाको सुरुमा ती छाडिएका सिपाहीहरू आइपुग्न थालेपछि, जब थियेर्सले आफ्नो शक्ति बढेको देख्यो, तब उसले पेरिससित शान्ति–वार्ताको कुरालाई अस्वीकार गरयोध् । आफू कमजोर भएको बेलामा सम्झौताको स्वाँग रच्ने थियेर्स अब आएर हठ्ठी, क्रुर र पिशाच बन्यो ।
थियेर्सले पेरिस कम्युनको विरुद्ध आफ्नो प्रतिक्रान्तिकारी हमला अप्रिलको सुरुमा थाल्यो । पेरिसमाथि लगातार बम वर्षा गरियो । उत्तर र पूर्वी किल्लाहरूमा कब्जा गरिबसेका प्रशियाली सेनाले पेरिसका जनताको हत्याका लागि भर्साइलका सैनिकहरूलाई पेरिस पस्न बाटो छाडिदिए । मई २१ ताखिमा थियेर्सका भरौटे सैनिकहरू पेरिसभित्र पसे र मई २१ तारिखदेखि २८ तारिखसम्म थियेर्सको सेना र वीर कम्युन योद्धाहरूको माझमा संग्राम चल्यो । पेरिस कम्युनका योद्धाहरू बडो वीरताका साथ आफ्नो रगतको अन्तिम थोपासम्म पेरिस कम्युनको सुरक्षा गर्न लडे । मई २८ तारिखका दिन पेरे ला चायसे च्याहानका पर्खालहरूको सामु कम्युनका अन्तिम योद्धाहरू लड्दै मरे ।
कम्युनका बहादुर योद्धाहरूले, पेरिसका सुपुत्रसुपुत्रीहरूले शत्रुको सामु कहिल्यै शीर झुकाएनन्, तर ‘पेरिस कम्युन अमर रहोस् !’ को नारा गुन्जाउँदै र बन्दुक हातमा लिई लड्दै वीरगति प्राप्त गरे । पेरिस कम्युनको हारपछि पुरानो समाजका रक्तपिपासु पुँजीवादी पिशाचहरूले निःशस्त्र र निसहाय नरनारी र बालबालिकाहरूको आमहत्या गरी पेरिसमा रगतको खोलो बगाए । अन्तिम आम जनहत्या भएको ‘कम्युनार्डहरूको पर्खाल’ पुँजीवादी न्याय र सभ्यताको बर्बरता र पशुत्वको एउटा स्पष्ट प्रमाण बनेको छ ।
पेरिस कम्युनको हार भयो, तर हातमा बन्दुक लिई राजनीतिक सत्ता कब्जा गर्नमा, पुँजीवादी राज्ययन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकतन्त्र कायम गर्नमा र पेरिस कम्युनको सुरक्षा गर्नमा पेरिसका बहादुर मजदुरहरूले जुन ‘स्वर्गमा धावा बोल्ने’ वीरता र आत्मबलिदानी भावना देखाए, त्यो नौलो विश्वका निर्माता विश्व सर्वहारावर्गका लागि प्रेरणाको र उत्साहको कहिल्यै नसुक्ने स्रोत बनेको छ र सर्वहारा मुक्ति सङ्घर्षमा एउटा मार्गदर्शन ज्योति बनी चम्केको छ ।
पेरिस कम्युनको असफलताले विश्व सर्वहारावर्गका लागि अमूल्य ऐतिहासिक शिक्षा र अनुभवहरू प्रदान गरयो ।
विभिन्न वस्तुगत र मनोगत अवस्थाहरूले गर्दा पेरिस कम्युन असफल भयोध्र पेरिस कम्युनको समयमा सर्वहारा क्रान्तिका लागि आवश्यक अवस्थाहरूको विकास भइसकेको थिएन । त्यतिबेला फ्रान्समा पुँजीवादको त्यति विकास भएको थिएन र फ्रान्सेली मजदुर वर्ग त्यति बलियो, परिपक्व र राजनीतिकरूपले सजग भइसकेको थिएन । मजदुर वर्गको आन्दोलनमा माक्र्सवादी सिद्धान्तले व्यापक र दरो प्रभाव पारिसकेको थिएन । खासगरी उक्त आन्दोलनमा निम्न पुँजीवादी डफ्फाहरू, प्रुधोंवादी र ल्बैंक्वीवादी डफ्फाहरूको गहिरो प्रभाव थियो र पेरिस क्रान्तिको नेतृत्व पनि उनीहरूकै हातमा थियो । मूल कुरा त के भने मजदुर सङ्घर्षमा नेतृत्व गर्ने एउटा सच्चा सर्वहारा राजनीतिक पार्टी, माक्र्सवादी पार्टीको अभाव थियो ।
यही मूल कारण थियो, जसले गर्दा कम्युनको तर्फबाट कतिपय राजनीतिक, आर्थिक र कार्यनीतिक गल्तीहरू भए ।
कम्युनको एउटा सबभन्दा ठूलो र भयानक गल्ती कुन कुरामा रहन गयो भने मार्च १८ तारिखमा क्रान्तिको विजयपछि त्यसले भर्साइलमा भागेर गएको पुँजीवादी सरकारको प्रतिनिधि डफ्फालाई ध्वस्त गर्नेतर्फ आफ्नो हमलालाई बढाए । त्यसको उल्टो, उक्त देशद्रोही र खुङ्खार डफ्फालाई भर्साइलमा बसेर कम्युनको विरुद्ध विदेशी शत्रुसँग मिली विभिन्न षड्यन्त्र गर्ने र शक्ति बटुल्ने मौका दिइयो । यो एउटा साँच्चिकै ठूलो राजनीतिक गल्ती थियो ।
कम्युनको तर्फबाट भएको अर्को ठूलो गल्ती के थियो भने त्यसले क्रान्तिको एउटा ठूलो सहयोगीका रूपमा किसानहरूको भूमिकालाई र मजदुर किसान मेलको महत्वलाई बुझ्न सकेनध्र यसले गर्दा मजदुरवर्गबाट क्रान्तिको पक्षमा किसान आन्दोलनको सङ्गठन र नेतृत्व हुन सकेन, र फलस्वरूप, पुँजीवादी डफ्फाले किसान वर्गलाई क्रान्तिको विरुद्ध एउटा रिजर्भ शक्ति बनाउने अवसर पायो । कम्युनबाट हुन गएको अर्को गल्ती के भने त्यसले बैङ्क अफ फ्रान्सलाई आफ्नो हातमा लिएन ।
लुटाहाहरूको सम्पत्ति जफत गर्ने कार्यमा कम्युनले दराेसित जसरी अघि बढ्नुपर्ने थियो, त्यो गरिएन र बैङ्क अफ फ्रान्सलाई पुँजीपति वर्गकै हातमा रहन दिइयो । त्यो, एन्जेल्सको भनाइअनुसा, कम्युनको एउटा गम्भीर राजनीतिक गल्ती थियो । राजनीतिक सत्ता त कब्जा गरियो, तर पुँजीपतिहरूले बैङ्कबाट सुन, चाँदी र पैसा ओसार्न पाए र त्यसलाई कम्युनको विरुद्ध उपयोग गर्ने अवसर पाए ।
यसरी, क्रान्तिको सही नेतृत्व गर्ने, माक्र्सवादी सिद्धान्तअनुसार बनेको सच्चा सर्वहारा राजनीतिक पार्टीको अभावमा कम्युनबाट कतिपय गम्भीर गल्तीहरू भए । यस्ता गल्तीहरू भए तापनि पेरिस विद्रोह सर्वहारावर्गको एउटा निकै गौरवशाली कार्य थियो र कम्युनले नौलो, वर्गहीन समाजको अग्रणीको गौरवशाली स्थान ओगटेको छ ।
पेरिस कम्युन विश्वसर्वहारावर्गको मुक्ति सङ्घर्षको रक्तरंजित इतिहासमा एउटा सुनौलो पृष्ठ रहेको छ । पेरिस कम्युनको सर्वहारा क्रान्तिमा पेरिसका मजदुरहरूको क्रियाकलाप मजदुरवर्गमा रहेका लडाकु भावना, वीरतापूर्ण बलिदान, क्रान्तिकारिता, महान् ऐतिहासिक तत्परता र त्यसमा निहीत क्षमताको स्पष्ट अभिव्यक्ति थियो । संसारलाई फेरिनुपर्छ र फेर्न सकिन्छ र यस हेरफेर ल्याउने महान् ऐतिहासिक अभिभारालाई पूरा गर्नसक्ने एक मात्र वर्ग मजदुरवर्ग हो पेरिस कम्युनले दिएको मूल सन्देश यही हो ।
विश्व सर्वहारावर्गका महान् नेता र गुरु कार्ल माक्र्सले पेरिस कम्युनका योद्धाहरूको वीरतापूर्ण सङ्घर्ष तथा कार्य र बलिदानी भावनाको मुरीमुरी प्रशंसा गर्नुभएको छ । १८७१, अप्रिल १२ तारिखमा यल्. कुगेलमेनलाई लेख्नुभएको पत्रमा उहाँले भन्नुभएको छ –
‘मेरो अठारौं ब्रुम्योर’ को अन्तिम अध्यायमा तपाईंले मेरो कुन भनाइ पाउनुहुनेछ भने फ्रान्सेली क्रान्तिको अर्को प्रयत्न, पहिलेझैं, नोकरशाही सैनिक यन्त्रलाई एउटाबाट अर्कोमा हस्तान्तरण गर्नुहुने छैन तर त्यसलाई ध्वस्त गर्नु हुनेछ र यो नै महाद्वीपमा हुने प्रत्येक सच्चा जनक्रान्तिका लागि प्राथमिक सर्त रहन्छ ।
पेरिसका हाम्रा वीर पार्टी कामरेडहरू यही प्रयत्न गर्दै हुनुहुन्छ । यी पेरिसवादीहरूमा कत्रो लचिलोपन, कत्रो ऐतिहासिक तत्परता, कत्रो सामथ्र्य, बाहिरी शत्रुको कारणबाट भन्दा आन्तरिक विश्वासघातको कारणबाट भएको ६ महिनाको भोक र विनाशपछि, मानौ फ्रान्स र जर्मनीको माझमा युद्ध नै भएको होइन र शत्रु पेरिसको ढोकामा उभिइरहेकै छैन झैं गरेर, उनीहरूले प्रशियाली सङ्गीनको मुनि विद्रोह गरेका छन्ध्र इतिहासमा यस्तो महानताको यस्तो दृष्टान्त पाइँदैन ।’
माक्र्स पेरिस विद्रोहलाई विश्व ऐतिहासिक महत्वको कार्य ठान्नुहुन्थ्यो । सन् १८७१, अप्रिल १७ तारिखमा एल्. कुगेलमेनलाई लेख्नुभएको पत्रमा उहाँले भन्नुभएको छ –
‘प्रशियालीहरूले पेरिसवासीहरूको सामु यो विकल्प राखिदिए या त लड या सङ्घर्ष नगरीकन आत्मसमर्पण गर । समर्पण गर्दा हुने मजदुरवर्गको नैतिक पतन जतिसुकै ‘नेताहरू’ को मृत्युभन्दा पनि दुर्भाग्यको कुरा हुने थियो । पेरिसको सङ्घर्ष सँगसँगै पुँजीपतिवर्ग र त्यसको राज्यको विरुद्ध मजदुरवर्गको सङ्घर्षले एउटा नौलो चरणमा प्रवेश गरेको छ । तात्कालिक परिणाम जेसुकै होस्, विश्व ऐतिहासिक महत्वको नौलो प्रस्थान बिन्दु प्राप्त भएको छ ।’
विश्व सर्वहारा आन्दोलनमा विश्व ऐतिहासिक महत्वको देन छाडेर मजदुरवर्गको एउटा गौरवशाली सिर्जना, पेरिस कम्युनको अन्त्य भयो तर, त्यसका सिद्धान्तहरू अमर अजेय रहेका छन् । कम्युनका सिद्धान्तहरूको दराे समर्थन गर्दै विश्व सर्वहारावर्गले साम्राज्यवाद र प्रतिक्रियावादको विरुद्ध सङ्घर्षमा ठूलठूला विजयहरू हासिल गरिसकेका छन् र अहिले विश्व सर्वहारा क्रान्ति जोडदार रूपमा अघि बढ्दो छ ।
आज अमेरिकाली साम्राज्यवादीहरू, सोभियत सामाजिक साम्राज्यवादीहरू र तिनका पछिपछि लाग्ने कुकुरहरू विश्व क्रान्तिको विजयपूर्ण लम्काइलाई रोक्न नैराश्यपूर्वक प्रयास गर्दैछन् तर इतिहासको अघिल्तिरको लम्काइलाई कदापि रोक्न सकिँदैनध्र प्रतिगामी शक्तिहरूको जघन्य अपराध र पैशाचिक बर्बरताले क्रान्तिकारी वर्गसङ्घर्षलाई कहिल्यै खत्तम पार्न सकेको छैन र सक्दैन किनभने त्यसको अन्त्य गर्न त्यस जगलाई नै ध्वस्त पारिनुपर्छ, जसमाथि उक्त शक्तिहरूको अस्तित्व अडेको छध्र जहाँ थिचोमिचो हुन्छ, त्यहाँ क्रान्ति पनि हुन्छ, यो इतिहासको अकाट्य नियम हो । हामी यस संक्षिप्त विवरणलाई माक्र्सका तलका अमर शब्दहरूबाट टुङ्ग्याउँछौं –
‘पेरिस कम्युन असफल हुनसक्छ, तर त्यसले सुरु गरेको सामाजिक क्रान्तिको विजय हुनेछ, त्यसको जन्मथलो सर्वत्र छ ।’







