बाबु मन चिन्ताएर फुकिढल कमरेड केशवको सावँलो अनुहारले भन्यो, ‘फत्रक्कै गलायो छोराछोरीको भविष्य चिन्ताले।’

कमरेड केशव अर्थात् मोहनवीर विश्वकर्मा

रोल्पाको राङ्कोटस्थित गोरीचौरमा अनुहारको कुरामा सही थाप्दै उनको भालुकोटे बोली पनि झर्‍यो, ‘आजसम्म त गाउँमा जसोतसो पढाएँ। अब कसरी हो? केइ मेलोमेसो पाया छैन।’
जिन्दगीको सिरीखुरी धरेको माओवादी के भयो? थाहै नपाई कसरी भत्क्यो दुःखी–गरिब पनि हाँस्न पाउने नयाँ संसारको सुन्दर सपना?
…….
यस्ता जपनाबाट थाहै नपाई उछिट्टिएका केशव यसपालि झन् असहज थिए। उनको अनुहारमा असहजताका रेखा दौडँदै तलमाथि गरिरहेका थिए।
केशवका १७ वर्षीय जेठा छोरा महेन्द्र ९ कक्षामा छन्। ९ वर्षीय कान्छो सुरेन्द्र र १५ वर्षीया छोरी तिर्मिला पाँच कक्षामा। राङ्कोटमा रहेको स्कूल पुग्न उनीहरुले आफ्नो गाउँ भालुकोटदेखि अढाई घण्टा हिँड्नुपर्छ।
छोराछोरीको पढाइ अब सहर पसे कसरी धान्ने होला?
यसकै उत्तर खोज्दाखोज्दै केशव र उनकी पत्नी गनमाया थकित छन्।
कक्षा ५ पढेका केशव, ३७ वर्षका पुगे भने गनमाया ३६ ।
घरमै दुई-चारवटा खसी पाल्छन्। हाजिरामा मजदुरी गर्छन्। कहिलेकाहीँ आरन लाउँछन्। र, हँसिया, कुटो र कोदालो अर्जाप्छन्। यसै गरेर अहिलेसम्म फारुफारु गरी घरखर्च र छोराछोरीको पढाइ धानेका छन् केशवले। प्रत्येक वर्ष १५–१६ हजारको दरले ऋणको भारी खापिँदै छ।
माओवादीले दलितलाई पनि अरुसरह हक दिलाउँछ भन्ने सुनेकाले उनी भारतको चमोली गढवालबाट मजदुरी गर्दागर्दै घर फर्केका थिए।
भारतका पौडी र टिहरी गढवाल तथा हिमाचल प्रदेशका कुनाकुन्दरामा मजदुरी गर्नु रोल्पालीको चलन थियो। त्यै चलन तन्केर अहिले मलेसिया र अरब पुगेको हो।
जनयुद्ध नथाल्दै ‘मोहवीर विश्वकर्मा’ कमरेड केशव भए। २०५४ देखि जिन्दगी पार्टीलाई चढाएर पूर्णकालीन माओवादी भए उनी। माओवादी बनाउन हिँड्ने संगठक भए। त्यसपछि जनमुक्ति सेनाको प्लाटुन भाइस कमान्डर। माओवादी अध्यक्ष प्रचण्डको भान्से।
व्यक्तिगत जिन्दगीका खुसी भर्पाइ दिएर बाटो लागेका केशवलाई उही घुम्तीमा फर्की ‘सांसारिक मायाजाल’का काम ‘जिरो’बाट थाल्दा बज्नु १२ बजेको छ। कहिलीकसो सम्झेर हुक्क हुन्छन्।
मन बुझ्छ कि भनी दराजमा राखेका डायरी हेर्छन्। जो उनको मनसित बाजी लाग्दै पुरानिँदै फाटेका छन्। तिनै डायरीको बाटो समाएर बेलाबेलामा आँधीसित खेलेका आफ्नै विगततिर फर्कन्छन् केशव। कहाँ हिँडेको कहाँ पुगियो?
आफैँलाई सोधेर उकुसमुकुस हुन्छन्।
‘कुनै बेलाका तपार्इंकै सुप्रिम कमान्डर अनि तपाईंले नै पकाएर खुवाएका मान्छे प्रधानमन्त्री छन् त तपाईंलाई के हर्जा? यस्तो बेलामा पनि चिन्ताएर बस्ने?’
सुनेर फिस्स हाँसे। त्यसपछि उनका आँखा गोरीचौरबाट पारि जिलाधुरीमा टल्किरहेको टावरमा पुगे।
त्यै टावर रुङ्न बसेको सेनासित माओवादी सेना लडेको थियो।

जनयुद्धकालमा भर्खरका देखिने मोहनवीर विश्वकर्मा (केशव)

सेनालाई लडाइँको निम्तो दिन घोराही ब्यारेक आक्रमण गरेर जोसिएको माओवादीले एक दिनको अन्तरालमा रोल्पाको जिलाधुरीस्थित रातामाटा टावरमा २०५८ मंसिर २२ गते र सल्यानको कपुरकोटस्थित रिपिटर टावरमा मंसिर २३ गते हानेको थियो।
अनुहारबाट झरेको फिस्स हाँसो नसकिँदै उनले सुक्खायामको खेतजस्तै कुर्कुच्चा मसारे। ‘अब मलाई विदा दे’ भनिरहेको चप्पल फुकाले। एकपालि हेरे। त्यसपछि उही चप्पल ओछ्याएर बसे।
बर्खामास गोठालाहरु लेकतिर उकालिँदा रमझम बढ्ने गोरीचौर भदौ महिनामा पनि सुनसान थियो। रोल्पाली किसान बर्खामा बस्तुभाउ लिएर लेकका बर्खेगोठतिर उकालिन छाडेपछि गोरीचौर सुनसान हुनु नौलो थिएन। त्यसमाथि गोरीचौरमा रहेका राङ्कोट गाविस कार्यालय र स्वास्थ्यचौकी पनि बन्द थिए।
रोल्पाली र रुकुमेली किसान बर्खा लागेपछि बर्खेझरीको तालमा बस्तुभाउ लिएर लेकतिर उकालिन्थे। खोर्रेमा आलु फलाउँथे। बढी भए बेच्थे। तर, माओवादी आन्दोलन हल्केपछि सरकारी आँखाले तिनै बर्खे गोठलाई ‘आतंककारी’ देख्यो। माओवादीको नाउँमा गोठाला मारिए। त्यसपछि लेकका गोठ जान छाडेका रोल्पाली किसान अचेल त चटक्कै भुलेजस्तै छन्।
घरिघरि जिस्काउने ससाना सपनाकै पछि लाग्दालाग्दै केशव हायलकायल थिए। उता, उनकै केही थान ‘सर’ र ‘मेडम’ जिल्लाका सहर र काठमाडौंमै घरघडेरी जोडेर सिंहदरवार र बालुवाटारको साइत गर्दैथिए।
सुन्न त सुनेका थिए कि उनैले खुवाएका मान्छे प्रधानमन्त्री छन्। तर, उनले अनुभूत गरेको छनक उनको अनुहारमा कतै पनि झल्कदैन थियो ।
प्रचण्डको भान्छामा मोहवीर

जनयुद्धकालमा रोल्पामा प्रचन्डको भान्सामा खट्ने मोहनवीर विश्वकर्मा (केशव) र भान्सा घर

संगठनबाट सेनामा सरुवा भएको केही समयपछि एक दिन भनियो, ‘कमरेड केशव, तपाईंलाई ‘एचक्यू’को व्यवस्थापन विभागमा सरुवा गरिएको छ। बधाइ।’
त्यसबेला माओवादीभित्र अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्न ‘हेडक्वाटर’ अर्थात् त्यसको छोटकरी एचक्यू र चेयरम्यानको छोटकरी रुप सीएम चल्ती भइसकेको थियो।
प्रचण्ड ‘भारतविरुद्ध सुरुङयुद्ध’को नारा दिई भर्खरै भारतबाट रोल्पा पसेका थिए। र, टाकुरा र अग्ला डाँडामा सुरुङ खन्ने काम तीव्र थियो।
‘एक घर, एक छापामार’ नारा जवान थियो। ‘संगठनका कमरेड सेनामा जाने’ पार्टी निर्देशनले माओवादीभित्र खैलाबैला मच्चाएको थियो।
पार्टीले ‘जहाँ खटाउँछ त्यही खट्ने’, ‘दुश्मनले जहाँ टेक्छ त्यही पड्कने’ कुरा व्यवहारमै बोकेका केशवलाई यस्तो सरुवा नौलो थिएन।
‘सरुवा भएर गएपछि प्रचण्डलाई देखेँ,’ प्रचण्ड नेपाल फर्केलगत्तै असोज या कात्तिक महिना सम्झँदै उनले भने।
दुई शब्द लेख्नपरे या बोल्नपरे माओवादी नेता–कार्यकर्ताले ‘देउता’ बनाएका प्रचण्डको भनाइ उद्धृत गर्नुपर्ने याममा केशव सीएमको व्यवस्थापन विभागमा सरुवा भए। विभागमा थिए, कमान्डर कमरेड विजय। र, भान्सा हेर्ने बाँकी पाँचजना।
विभागमा रोल्पा तेबाङका कमरेड दीलिप थिए। जेलबाङका कमरेड ढुंगाना, कुरेलीका कमरेड साभार र कोटगाउँका कमरेड दिनेश।
नाम व्यवस्थापन विभाग थियो। तर, काम भने सञ्चारदेखि सुरक्षा पनि सम्हाल्नुपर्ने।
कहिलेकाहीँ कम्ब्याट ड्रेस लगाएरै पकाउँथे।
सरुवा हुँदा केशव सेक्सन कमान्डर थिए। बढुवा मिलेर प्लाटुन सहकमान्डर भए।

जनयुद्धकालपछि हालसालैका मोहनवीर विश्वकर्मा (केशव)

केशव आफ्नो नयाँ जिम्मेवारी बहन गर्न गए। त्यसबेला प्रचण्डले सेल्टर लिएको डाँडागाउँ (पूर्वमन्त्री जयपुरी घर्ती मगरको गाउँ)को घर (पछि शाही सेनाले हवाइ आक्रमण गरेको देखि अलि परको एउटा घर) छानिएको थियो, प्रचण्डका लागि खाना पकाउन। पाक्थ्यो, एचक्यू सुरक्षाका लागि खटेको तुलसी डाँगी अर्थात् कमरेड मिलनको सेक्सनसहित सीएम, मेडम (सीता दाहाल), प्रकाश र पासाङको लागि खाना।
डाँडागाउँको त्यस घरमा प्रचण्ड एक डेढ महिना बसे।
प्रचण्ड टोली रुकुमको लाबाङ लाग्यो। २०६१ माघ १९ मा सम्पन्न लाबाङको पोलिट्ब्युरो बैठकले बाबुराम भट्टराईलाई कारबाही गरेको थियो।
प्रचण्ड रोल्पा तालाबाङको दाबाङतिर दुई-तीन महिना बसे। राङ्कोटको निमाङमा एकाध महिना बसे भने राङ्कोटकै कोरलमा पनि बसे।
रुकुमको भेरिडाँडा गए जहाँबाट माओवादी संसदीय बाटो लाग्यो। २०६२ असोज १८–२२ गते सम्पन्न उक्त बैठक ‘चुनबाङ बैठक’को नामले परिचित छ। रुकुम भेरिडाँडाबाट फर्केर प्रचण्ड रोल्पा राङ्कोटको पनेरामा बसे।
दुईतीन हप्ता बसेपछि प्रचण्ड रोल्पाकै तालाबाङतिर लागे।
रोल्पामा विभिन्न ठाउँमा ‘सेल्टर’ फेर्दै बसेका प्रचण्डसँगै केशवको विभागले पनि भान्साका सामान कुम्लो पार्दै बिरालोले बच्चा सारेजस्तै सारिरह्यो।
नुन बोक्न उनका बा र बाजेहरु कोइलाबास ‘हाट’ गएको उनले स्मरण गरे। र, यसैगरी त ‘हटारु’ले आफ्नो बास र खाना तयार पारे होलान् भन्ने सम्झिए। तर, प्रचण्डको हिँडाइ हटारुको जस्तो थिएन। हटारु त एक रातको लागि बास र एक छाकको लागि भान्सा गर्थे बाटोमा।
प्रचण्ड त एक ठाउँमा त्यसभन्दा धेरै बस्थे, बसाइ व्यवस्थित थियो।
१२ बुँदे तुइनमा दिल्ली हुँदै प्रचण्ड काठमाडौंमा
प्रचण्डको ‘सहज’ सहर–यात्राको साइतसँगै ‘संकटकाले’ भान्से कमरेड केशव रोल्पामै छुटे। कमरेड प्रचण्ड दिल्ली पुगे।
२०६२ मंसिर ७ गते माओवादी र कांग्रेस–एमालेसहित सात संसदवादी दलबीच १२ बुँदे सहमति भयो। त्यै १२ बुँदेको बाटोहुँदै प्रचण्ड काठमाडौं पुगे।
नयाँ बजारहुँदै लाजिम्पाट बसे। र, दुई पटक बालुवाटार पसे।
केशव भने प्रचण्डले छाडेको रोल्पाको एचक्यू रुँगेर एक वर्षसम्म बसे। रुँगेका सामान सरकारलाई बुझाएपछि बल्ल आफ्नो गाउँ भालुकोट गए।
‘प्रचण्ड तालाबाङको दाबाङबाट सहरतिर लाग्नुभयो। प्रचण्डका लागि खाना पकाउने सामानदेखि ओढ्ने ओछ्याउने, प्राविधिक सामान, कागजात, प्रमाणिकरण नगरेका हतियारसम्म रुँगेर कार्यालयमै एक वर्ष बस्यौँ।’
अचेल केशव भालुकोटमै ‘साँझ खाए बिहान के खाने र बिहान खाए साँझ के खाने’को गर्जो टार्न र छोराछोरीलाई कसरी पढाउने तनावमै ‘तलमाथि’ गर्छन्।
प्रचण्ड पुष्पकमल दाहाल भए भने कमरेड केशव मोहवीर विश्वकर्मा।
त्यसपछि जनयुद्धकालमा एउटै भान्सामा पुगेका प्रचण्ड र केशव क्रमशः ‘परम्परागत’ बाहुन र कामी भए।
कमरेड केशवले खुवाएका कमरेड प्रचण्ड ‘प्रधानमन्त्री पुष्पकमल दाहाल’ भए। एकपालि होइन, दुईपालि।
प्रधानमन्त्री दाहाललाई मोहवीरले देखे। भेटे। लालसलाम पनि गरे। तर, दाहाल निवासमा (नयाँ बजारमा हुँदा या लाजिम्पाटमा हुँदा या दुईपालि बालुवाटारमा हुँदा) उनले पाइला टेकेनन्।
अहिलेसम्म एकपालि सीएमलाई भेटौँ न भन्ने तिर्खा पनि लागेको छैन।
‘प्रचण्डप्रतिको श्रद्धा पुष्पकमल दाहालमा नसरेर हो कि किन?’ उनी आफैँ अचम्मित छन्।
‘हुन त हामी भेट भइरहन्छम् कार्यक्रमहरुमा। तर, कुराकानी हुन्न। अहिले त चिन्नुहुन्न जस्तो लाग्छ। कार्यक्रममा आउनु हुन्छ। मन्चमा बस्नु हुन्छ। जानुहन्छ,’ उनले भने।
रोल्पाबाट छुटेको प्रचण्ड र केशव कुनै दिन फेरि एउटै भान्सामा पुग्लान्?
केशवले गोरीचौरबाट प्रचण्डसित बसेको डाँडागाउँ हेरे। निमाङ, कोरल र पनेरा हेर्न खोजे। देखिएन। ती ठाउँका अनुहार उस्तै थिए जस्तो उनको थियो।
त्यसपछि उनले सिएमलाई पकाएर खुवाउने सम्भावना झल्याकझुलुक पनि देखेनन्। भलै उनी अहिले पनि दाहाल माओवादीमै थिए,छन्।
‘शान्ति भएपछि त एचक्यूमा सिएमसित सँगै बस्न पाउने कुरै भएन। …लिबाङमा भेट हुँदा मेडम (सीता दाहाल) सँग हल्का कुराकानी भएको थियो। कहाँ हुनुहुन्छ? के गर्दैहुनुहुन्छ? भन्नुभयो। उहाँको छोरा (प्रकाश)सँग राङ्कोटको साङ्रा खोलामा सिएम विद्युतको उद्घाटन गर्न आउँदा कुराकानी भयो। उहाँले कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ, काठमाडौं आउँदा भेट्नुहोला भनी फोन नम्बर दिनुभयो। त्यसपछि पनि धेरैपालि काठमाडौं गएँ। तर, उहाँहरु ‘धेरै बिजी हुनुहुन्छ’ भनी भेट्ने प्रयास गरिनँ।’
पुत्र प्रकाशसित कहिलीकसो हुने फोन सम्पर्क पनि अचेल बन्द छ।
‘कमरेड (प्रकाश) ले सगरमाथा चढेयता सम्पर्क छैन। गाईफर्म खोलेको सुन्छु,’ उनले भने।
प्रचण्डलाई खुवाउँदाका तीतामीठा कुरा उनले भुल्न लागिसके। खानेले नै भुलेपछि खुवाउनेको के कुरा! तैपनि एउटा घटनाचाहिँ उनले अहिले नि सम्झन्छन्। त्यो हो, दहबाङमा प्रचण्डदम्पतीले हिउँ खेलेको।
रोल्पाको थबाङ र रुकुमको लाबाङ गाउँको बीचमा अवस्थित दहबाङमा प्रचण्ड टोली बास बसेको थियो। राति हिउँ पर्‍यो।
‘साँझ सुँगुर काटेर खाइम्। राति त हिउँ परिहाल्यो। बिहान सिएमले आफ्नो जहान (सीता) सँग हिउँ खेल्नुभयो। त्यो रमाइलो लाग्यो। अरु त केही पनि छैन सम्झने कुरा,’ उनले भने।
हटारु ब्लगस्पटको सम्पादितअंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार