निकै नै टाढा पुग्नु छ राता सिपाहीहरुले
गाह्रो र साह्रो मान्दैनन् आँटी छोराछोरीले ।

डाँडा र काँडा पर्वत माला पानीका जलौरा
विरका निम्ति हिमाल बन्छन् माटाका फुरौला ।

हजार नही हजार पहाड अगाडि तेर्सियुन
लडाई खेल्न मान्छेका ती केही होइनन् ।

तातुको साङ्लो फलामे पुल जति नै तातो होस्
यी राताराता मान्छेले छुदा त्यसको उठ्छ होस् ।

मिङशानमाथि फैलिएको त्यो हिउमा कुल्चिदै
पौरेखीहरु अगाडि बढ्छन् आनन्द छर्कदै ।

बेरोकटोक अगाडि बढ्छन् यी राता मानिस
लक्ष्यमा आफ्नो पुगेरै छोड्छन् यी राता मानिस ।
– माओ त्सेतुङ
चुनई, यनान, अक्टुबर, १९३५

यो कविता कमरेड माओले ८० हजार लाल सेनाको नेतृत्व गर्दै अगाडि बढेको एक वर्षे लम्बे अभियान सकेर यनान प्रान्तको चुनइमा पुग्दा जम्मा ३००० लालसेना मात्र जीवित रहेका थिए र ठूलो निराशा छाएको थियो । त्यस निराशालाई चिर्दै अगाडि बढ्न र क्रान्तिलाई विजयसम्म पु¥याउने उद्देश्यले लेखिएको थियो ।

नेपालमा पनि नेतृत्वको गद्धारीले गर्दा क्रान्तिले धोका खाएको र जनयुद्ध सेट ब्याकमा परेर व्यापक निराशा छाएको र त्यसलाई नयाँ सोचका साथ पुर्नगठित भएर क्रान्तिलाई अगाडि बढाउने क्रान्तिकारी माओवादीहरु नयाँ प्रतिबद्धताका साथ अगाडि बढिरहेको वर्तमान अवस्थामा सान्दर्भिक ठानेर नै कमरेड माओद्वारा रचित यो ऐतिहासिक कविता यहाँ राख्ने प्रयत्न गरिएको हो ।

आज आउँदा नेपाली जनयुद्ध २१ वर्ष पुरा गरेर २२ वर्षमा प्रवेश गरेको छ । आजैका दिन अर्थात् २०५२ साल फाल्गुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपालमा सशस्त्र जनयुद्धको थालनी गरिएको थियो । आजैका दिन माओवादीले “साम्राज्यवाद र विस्तारवादका आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यव्यवस्था स्थापना गरौं ।” भन्ने मूल नाराका साथ सशस्त्र जनयुद्धको थालनी गरेको थियो । रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सुन्धलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान बैंकको कार्यालयमा राती एउटै समयमा हतियार सहित सशस्त्र आक्रमण गरी जनयुद्धको थालनी गरेको थियो ।

नेकपा (माओवादी) को मुख्य नेतृत्वले ‘जनताको राज्यसत्ता प्राप्त नगरेसम्म बन्दुक नबिसाउने सात राजनीतिक प्रतिबद्धता’ सहित सशस्त्र जनयुद्धको थालनी गरेको थियो र नेपालमा यस प्रकारको सशस्त्र जनयुद्ध दश वर्षसम्म चल्यो ।

तर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाट सशस्त्र जनयुद्धको कार्यदिशा, कार्यक्रम र कार्ययोजना समेत स्थगित गरी ‘लोकतान्त्रिकक गणतन्त्र’ को कार्यदिशा तय गरेर शान्ति प्रक्रियामा आएपछि २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाबाट संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन पुग्यो पनि । त्यही बेलादेखि नै तत्कालिन नेकपा (माओवादी) को जनयुद्धको मुख्य नेतृत्व साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गर्न पुग्यो । अन्तर्राष्ट्रिय रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गर्न पुगेकाले पार्टीको मुख्य नेतृत्व मुख्यगरी पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो वर्ग (सर्वहारावर्ग) लाई छोडेर प्रतिक्रियावादी वर्गसँग घाँटी जोडन पुगे ।

साम्राज्यवादी मूलतः भारतीय विस्तारवादीहरुकै इच्छा र निर्देशन तथा योजनामा प्रचण्ड–बाबुरामले पार्टी भित्रका क्रान्तिकारीहरुलाई पाखा लगाउदै महान् दश वर्षे जनयुद्धको प्रक्रिया अन्तर्गत निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत र जनकम्युन तथा जनसरकारहरुको खारेज गर्न पुग्यो ।

२०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गर्न पुगे । यसै क्रममा जनमुक्ति सेना, नेपालको विघटन गर्ने सहमति गरियो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र, २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्यदिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत् महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढी संख्या रहेको संविधानसभालाई रातारात भारतीय विस्तारवादको निर्देशनमा विघटन गराइयो र कथित दोस्रो संविधानसभा निर्वाचनमा सहभागी बन्न पुग्यो । र, त्यस कथित दोस्रो संविधान सभामा एमाओवादीले लज्जास्पद तरिकाले हारखान पुग्यो र संविधान सभालाई जनताको हातबाट छुटाएर देशी विदेशी प्रतिक्रियावादीहरुको हातमा बुझाउन महत्वपूर्ण भूमिका खेल्यो ।

लेखक केसी

त्यति मात्र होइन, दश वर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वले प्रतिगामी संविधान निर्माण गर्न, त्यसको घोषणा गर्ने कार्यमा मुख्य भूमिका खेल्यो । र अहिले माओवादी केन्द्रको नामबाट प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेको छ र प्रतिगामी संविधानको कार्यान्वयन गर्नका लागि न्वारानदेखिको बल लगाइरहेको छ ।

दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुराममा आएको वैचारिक पतन र प्रतिक्रियावादीहरुसँग घाँटी जोडन पुगेपछि पार्टी फुटेर ती टुक्रामा विभाजित हुन पुग्यो र अहिले पनि विभाजित अवस्थामै छ । मोह वैद्य किरणको नेतृत्वमा निर्मित र संचालित नेकपा (क्रान्तिकारी माओवादी) ले प्रचण्ड–बाबुरामद्वारा बीच बाटोमै फ्याकिएको नेपाली क्रान्तिको महान् झण्डालाई माथि उठाउदै क्रान्तिको रक्षा र विकास गर्ने योजनाका साथ क्रान्ति प्रति धोका नदिने प्रतिबद्धताका साथ अगाडि बढेको छ भने नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) ले पनि नेपाली क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ तय गरेर आठौं महाधिवेशन गर्दैछ । उसले महाधिवेशनबाट के कस्तो नीति, कार्यक्रम पारित गर्दैछ त्यसलाई भने हेर्न बाँकी नै छ ।

आज एकातिर माओवादी आन्दोलन विभाजित भएको, अर्कोतिर माओवादी केन्द्रका नाममा एउटा हिस्सा प्रतिक्रियावादी सत्ताको नेतृत्वमा पुगेर भारतीय विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्दै अनगिन्ती राष्ट्रघात र जनघातका सृंखलाहरु बढाइरहेको छ । यी कारणहरुले आज दशौं हजार महान सहिदहरुका सुन्दर सपनाहरु चक्नाचुर हुन पुगेका छन् । हजारौं अपाङ्ग, घाइतेहरु अत्यन्तै निराशा भएको अवस्था छ र आम नेपाली जनताको बीचमा व्यापक निरासा र कुण्ठा छाएको छ ।

माथि उल्लेखित कारणहरुले गर्दा आज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत नेपाली जनयुद्धले फेरी कहिल्यै पनि उठ्न नसक्ने गरी हारेको, अब नेपालबाट जनयुद्ध सदाको लागि समाप्त भयो । र, अब नेपालमा पुनः जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिको सम्भव छैन भन्ने व्यापक हल्लाह मच्याइएको छ । स्यालको हुइयाँमा हुइयाँ थप्ने काम भइरहेको छ ।

तर वास्तविकता यस्तो होइन, हामी माक्र्सवादीहरुले कुनै पनि घटना घट्नुका पछाडि निश्चित वैज्ञानिक कारणहरु हुन्छन् भन्ने कुरालाई स्वीकार गर्दछौं । नेपालमा सशस्त्र जनयुद्धले हारेको होइन, जनयुद्ध पराजित भएको होइन । माथि पनि भनियो कि दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले बोकेको विचारले हारेको हो । प्रचण्ड–बाबुरामले हारेर क्रान्तिलाई छोडेर भागेका हुन् । प्रचण्ड–बाबुरामले आत्मसात गरेको नक्कली मालेमावादको सिद्धान्तले हारेको हो । त्यसैले जनयुद्धले हारेको नभई विचारले हारेको हो ।

यो भनिरहँदा जनयुद्धको संचालन गर्ने वैज्ञानिक विचार मालेमावादले हारेको हो कि भन्ने भान पर्न सक्छ । मालेमावाद त वैज्ञानिक सिद्धान्त हो । यो कसैका कारणले जित र हार हुन्न भन्न मिल्दैन, तर यहाँ स्पष्ट पार्न खोजेको के हो भने मालेमावादको, महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै सम्यवाद पुग्ने योजना र लक्ष्यका साथ संचालन गरिएको जनयुद्धको विचारले हारेको हो भन्ने भनाई पनि होइन । यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी बहान गर्ने तहमा पुगेका प्रचण्ड–बाबुरामले बोेके नक्कली मालेमावाद र जनयुद्धको विचारले हारेको हो भन्ने नै हो ।

पार्टी भित्रका गद्धारहरुलाई नफ्याकेर क्रान्ति सम्पन्न गर्न सकिन्न भन्ने पछिल्लो उदाहरण र शिक्षा चिनियाँ कम्युनिष्ट पार्टीबाट लिन सकिन्छ । त्यहाँ छन् तु स्यु जस्ता दक्षिणपन्थीमा भासिएको, लिलिशान जस्ता उग्रवामपन्थी भड्काउमा परेको र वाङमिङ जस्ता वाम विचलनवादी पार्टीको समग्र तहबाट फ्याकेर कमरेड माओ त्सेतुङको नेतृत्वमा अगाडि बढेर मात्र चीनमा महान् जनवादी क्रान्ति सफल भएको थियो । नेपालमा पनि यो सिद्धान्त लागु हुन्छ । प्रक्रिया पनि शुरु भइसकेको छ ।

क्रान्तिकारीहरु कहिल्यै पनि निराश हुदैनन् । यो कुरा यस लेखको शुरुमा राखिएको माओको त्यस ऐतिहासिक कविताले नै बोलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार