भर्खरै जस्तो लाग्छ २०५२ फागुन १ गते । नेपालमा नेकपा माओवादीले जनयुद्ध शुरु गरेको दिन । २१ वर्ष बिति सकेछ ।

रोल्पाको होलेरी, रुकुमको राडीज्यूला र सिन्धुलीगढी स्थित प्रहरीचौकी माथि सशस्त्र आक्रमण, गोर्खा च्याङलीस्थित साना किसान बैंक कब्जा र काठ्माण्डौंको कोकाकोला फेक्ट्रीमाथि बम बिस्फोट गरी २०५२ फागुन १ गते फागुन गते ‘नयाँ जनबादी राज्य सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नारा सहित नेकपा (माओबादी)ले देशैभर एकैचोटी एकैदिन सांकेतिक आक्रमण गरी शुरु गरेको महान् जनयुद्ध साँच्चै नै नेपालको क्रान्तिकारी इतिहासमा महान् उथलपुथलकारी तथा कहिल्यै नमर्ने अजम्बरी इतिहास कोरेर गएको छ ।

अहिले भने त्यो दश वर्षको महान् जनयुद्धले कोल्टे फेरेको छ । विभिन्न उतार–चढावका बीच हामी आज यो स्थितिमा आइपुगेका छौं । आज जनयुद्ध इतिहासको एउटा कथा बनेको छ । आज म त्यही जनयुद्धलाई स्मरण गर्न चाहन्छु । आज कयौं सँगैका साथीहरु हामीसँग हुनु हुन्न । वहाँहरुले इतिहासमा स्वर्णिम अक्षरले इतिहासमा कहिल्यै नमर्ने नाम लेखेर जानु भएको छ ।

त्यस बेलाका हाम्रा नेता भनाउँदाहरु आज क्रान्ति, सहिद, जनता र हजारौं कार्यकर्ताको सपनाहरु चकनाचुर पारेर आलिसान महलमा मस्ती गरिरहेका छन् । आफ्नै टाउकाको मूल्य तोक्ने हत्याराहरुसँग विदेशी रक्सीका गिलासहरु चेयर्स गर्दै क्रान्तिकारीहरुको दमन गर्ने, क्रान्ति असफल पार्ने षड्यन्त्र गरिरहेका छन् । म ती जनता र क्रान्तिप्रति गद्दारी गर्नेहरुप्रति घृणा गर्दछु । जनयुद्धको २२ औं वर्ष प्रबेशको अवसरमा ती महान् सहिदहरु, सहिदका परिवारहरु, बेपत्ता, घाइते योद्धाहरुलाई विशेष स्मरण गर्दै लालसलाम गर्न चाहन्छु । साथै वहाँहरुका परिवारजनहरुप्रति हार्दिक सम्मान भाव प्रकट गर्दै वहाँहरुले छाडेका अधुरो कार्य पूरा गर्ने प्र्रण गर्दछु ।

आज अलि अलि भावुक, थोरै आक्रोश र घृणा मिश्रित भाव ओकलीरहेको छु । किन कि जनयुद्धसँग हाम्रा विचार मात्र होइन, हाम्रा भावना र मुटुका टुक्राहरु जेडिएका छन् । हाम्रा रगत र पसिना मिसिएको छ । परिवारका सदस्य गुमाएका छौं, आफन्त गुमाएका छौं, सँगैका असल साथीहरु गुमाएका छौं । हाम्रा यौवन, इच्छा आकांक्षा, त्याग बलिदान, सारा भविष्यका सपनाहरु यसैमा खर्चेका छौं । सारा ब्यक्तिगत स्वार्थहरुलाई त्यागेर क्रान्तिमा होमिएका हामी कयौं अझै जनयुद्धदेखि निरन्तर क्रान्ति मै छौं । त्यसैले मैले र म जस्तै कयौं साथीहरुले जनयुद्धलाई बिर्सन र भुल्न सक्दैनौ.र यसलाई पूर्णता दिन प्रतिबद्ध छौं । तर के गुमाए ती नेताहरुले ? तिनले आज सहिदहरुप्रति गोहीको आँशु चुहाउँदै सहिद, बेपत्ता परिवारलाई भ्रम दिने कोशिस गरिरहेका छन् ।

जनयुद्धले २१ औं वर्ष पार गर्दै २२ औं वर्ष प्रवेश गर्दै गर्दा कयौं साथीहरु क्रान्तिबाट भागे । कयौं जीवनसँग हार खाए । कोही थाके । कोहीले छाला बचाउन आफ्नो आत्मा बेचे, विचार बेचे, क्रान्ति बेचे, सहिदको रगत बेचे र आत्मसमर्पण गर्न पुगे । कयौं साथीहरु अझै तिनैका पुच्छरमा टंगिरहेका छन् । कोही त सहिदको रगतको टीका लगाएर आज प्रतिक्रियावादी सत्ताको कुर्चीमा आसिन छन्, कति साथीहरु तिनैसँग भीख माग्न पुगेका छन् । यो दुखको कुरा हो । उनीहरु आज प्रतिक्रियाबादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरुलाई जेल हाल्दैछन् । क्रान्ति रोक्ने धृष्टता गर्दैछन् । भित्ते लेखन र महाधिवेशन सफल पार्न स्वइच्छिक चन्दा–सहयोग समेत उठाउन समेत दिएका छैनन् ।

विप्लव माओवादीका कार्यकर्ताको नाम लिष्ट उठाउने जस्ता हिजोका राजा, कांग्रेस, एमालेले गरेका काम र कार्यहरुलाई उछिन्दै बढी खरानी घसी रहेका छन् । यो के का लागि यस्तो गरिरहेका छन् ? मालिकलाई रिझाउन होइन र ? जनयुद्धका सारा उपलब्धीहरु त बेची खाए, खाए अब देशै बेच्दैछन् । आफैले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्ने कस्ता अपराधी ? गाउँघरमा ‘आफैले काढेको अण्डा खाने माउलाई अलक्षिणा भन्दै धुरी कटाएर चौबाटोमा लगेर काट्छन् । प्रचण्डले त्यसै गरे । यी र यस्तै जति कुुरा गरे पनि थोरै नै हुन्छ ।

लेखक बुढा

यसरी शुरु भएको जनयुद्ध १० वर्षसम्म आउँदा विभिन्न उतार–चढाव र हार–जितसँगै ठूल–ठूला उपलब्धीहरु पनि हासिल गर्दै विजयको सन्निकट पुगेको बेला नेतृत्वले आफै त्योे महान् जनयुद्धको समापनको घोषणा गर्न पुग्यो । यो असाध्यै दुखद घटना थियो । त्यसलाई रोक्न हामीले कोशिस ग¥यौं तर सकेनौ । साथै हामीले सबै माओवादीलाई सिद्धिन पनि दिएनौं । हामी प्रचण्ड बाबुरामहरुको कर्तुतहरुको भण्डाफोर गर्दै निस्क्यौं । कतिपय कमरेडहरु क. बादल, क. देव गुरुङ लगायतका नेताहरुले अलि वर बरपिपलको चौतारासम्म पु¥याउन आउनु भयो र वहाँहरु त्यही चौताराबाट फर्किनु भयो । किरण दाई र गौरव दाईहरु त्यहीँ पलेटी कस्नु भयो । हामी बाई भनेर हिंड्यौं र अहिले हामी आठौ महाधिबेशन गर्ने ठाउँसम्म पुगेका छौं । आज हामी एउटा उन्मुक्त ठाउँमा आएर स्वतन्त्र रुपले नयाँ सोच्ने र नयाँ संसार निर्माणको बहस उठाउने ठाउँमा आईपुगेका छौं । यो क्रान्तिकारीहरुका लागि खुशीको कुरा हो ।

अब म जनयुद्धमा प्रचण्डले के भनेथे, के गरे ? एक नजर इतिहासतिर फर्काउन चाहन्छु ।

जनयुद्धको थालनीको दस्ताबेजको शुरुमै प्रचण्डद्धारा लेखिएका कोटेशनहरु यस्ता थिए –

“हामी मजदुरहरूलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन आफैलाई राजनैतिक सत्ता सञ्चालनयोग्य बनाउन समेत तपाईंहरू १५, २० र ५० वर्षका गृहयुद्ध एवम् अन्तर्राष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ ।”
— कार्ल माक्र्स
“गृहयुद्धविना आजसम्म इतिहासमा कुनै पनि महान् क्रान्ति सम्पन्न हुनसकेको छैन र त्यसविना प“ुजीवादबाट समाजवादमा संक्रमण कुनै पनि गम्भीर माक्र्सवादीले सोच्न सक्दैन ।”
— भि.आई. लेनिन
“हरेक कम्युनिस्टले यो सच्चाइलाई आत्मसाथ गर्नै पर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले बन्दुक चलाउ“छ र कुनै हालतमा बन्दुकले पार्टी चलाउ“न दिइने छैन । – माओत्सेतुङ्ग

उक्त दस्ताबेजमा ब्यक्त गरिएको ७ बूँदे प्रतिबद्धता यस्तो थियो –

प्रचण्डद्धारा लिखित ‘जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू’

(१) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउ“बाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

(२) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

(३) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नया“ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सा“स्कृतिक क्रान्तिहरू चलाउ“दै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्नप“ुजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।

(४) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नया“ अन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

(५) हाम्रो योजना नया“ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतास“ग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

(६) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनससमुदाय मुख्यतः गरीव किसाहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।

(७) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको “क्रान्ति आफैले आफ्नो विकासक्रममा सधै“ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महŒवलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।

यस योजनाका प्रमुख, सहायक र विशिष्ट नाराहरू यस्ता थिए :

(१) मुख्य नारा ः
‘नया“ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’
(२) सहायक नाराहरू ः
— राजतन्त्रात्मक संसदीय व्यवस्था मुर्दावाद !
— पञ्चकांग्रेस गठबन्धन सरकार मुर्दावाद !
— जमिन कस्को ? जोत्नेको !
— विद्रोह जनताको अधिकार हो !
— नया“ जनवादी क्रान्ति जिन्दावाद !
— जनयुद्ध जिन्दावाद !
— सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद मुर्दावाद !
— संशोधनवाद, नवसंशोधनवाद मुर्दावाद !
— माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिन्दावाद !

अन्तमा उपसंहारमा यस्तो उल्लेख थियो ः

प्रिय कमरेडहरू,

आज हामीले नेपाली समाज र पार्टीको जीवनमा आमूल परिवर्तन गर्ने प्रमुख साधनका रूपमा जनयुद्धको पहल गर्ने महान् व्यवहारिक फड्को हान्दैछौं । यो कठीन तर सम्भव र महान् निर्णय पार्टीले कसरी लिन सक्यो ? यसका पछाडि पहिलो, मानव समाजकै वर्गसङ्घर्षको विकास प्रक्रियाले काम गरेको छ । दोस्रो, लामो समयदेखि नेपाली जनताले चलाउ“दै आएका विविध रूपका सङ्घर्षहरू तथा ती सङ्घर्षहरूमा हाम्रो पार्टीका नेता एवम् कार्यकर्तादेखि अनगिन्ती नेपाली जनताका छोराछोरीहरूले प्राप्त गरेको शहादत र उनीहरूको रगतले काम गरेको छ । तेस्रो, नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारावर्गको अपराजेय वैज्ञानिक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका लागि विभिन्न रूपका अवसरवाद मुख्यतः दक्षिणपन्थी संसोधनवादका विरुद्ध पार्टीको लामो र कष्टसाध्य वैचारिक सङ्घर्षले काम गरेको छ ।

चौथो, जनताको मुक्तिका निमित्त पार्टीको क्रान्तिकारी राजनैतिक कार्यदिशा अनुसार वर्गसङ्घर्षका विभिन्न मोर्चामा सर्वहारा वर्गीय स्पिरिडका साथ डटिरहेका नेता र कार्यकर्ताहरूको त्याग, लगन र साहसले काम गरेको छ । पा“चौ, विश्व कम्युनिष्ट आन्दोलनका विगत र वर्तमानका प्रचुर सकारात्मक एवम् नकारात्मक अनुभवहरूले काम गरेको छ । छैठौं, नेपाली समाजलाई आज चौतर्फी सङ्कटको स्थितिमा पु¥याउने सामन्त, नोकरशाह र दलाल पु“जीपति वर्गप्रतिको हाम्रो सचेत घृणा र नेपाली जनताको मुक्तिका निमित्त जस्तोसुकै बलिदान गर्न तयार रहने हाम्रो प्रतिबद्धताले काम गरेको छ । त्यसकारण आज यो निर्णय हुन सामान्यतः विश्व सर्वहारावर्ग र जनसमुदायको, मुख्यतः नेपाली सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको एउटा महŒवपूर्ण विजय हो ।

आज प्रत्येक पार्टी सदस्यले त्यो महान् गौरव र जिम्मेवारीलाई व्यवहारमा चरितार्थ पार्न मुक्ति वा मृत्युको स्पिरिटमा दिलोज्यानले मोर्चामा डट्नुभन्दा ठूलो अर्को कर्तव्य छैन । हामीस“ग माक्र्सवाद–लेनिनवाद–माओवादको सर्वशक्तिमान वैचारिक हतियार छ, सही राजनैतिक एवम् सैनिक कार्यदिशा छ, त्यसअनुसारको योजना छ, त्यसैले अब हाम्रा लागि साहस, साहस र फेरि साहसको परिचय दिनु आवश्यक छ । बाटो कठिन छ तर भविष्य उज्ज्वल छ । जीत सुनिश्चित छ ।
–(जनयुद्धको थालनीको दस्ताबेजबाट जस्ता तस्तै उदृत)

यसरी जनयुद्धलाई एक नजर मात्र लगायौं भने पनि माथिका सैद्धान्तिक प्रतिबद्धताहरुबाट के स्पष्ट हुन्छ भने नेतृत्व आफ्नो प्रतिबद्धताबाट पूराका पूरा पछि हटेको देखिन्छ । माक्र्सका कोटेशनमा केवल परिबर्तनले मात्र पुग्दैन २०÷५० वर्ष पनि गृहयुद्धबाट गुज्रनु पर्ने भन्ने भनाई, लेनिनको गृहयुद्ध बिना पूँजीबादबाट समाजबादमा संक्रमण गर्ने कुरा कुनै गंभीर माक्र्सबादीले सोच्नै नसक्ने कुरा, आफ्नै प्रतिबद्धतामा सार्बभौम र अपराजय सैन्य सिद्धान्तप्रति अबिचललित रहने, राजनैतिक सत्ता कब्जा गर्न सशस्त्र संघर्षको अनिबार्यता, अर्थबाद, सुधारबाद र अराजकतावाद लगायतका विचलनवादी चिन्तन प्रवृत्ति विरुद्ध निरन्तर संघर्षरत रहने कुरा, सामन्तवाद र साम्राज्यवादलाई पूर्ण ध्वंश गरी जनवादी क्रान्ति पूरा गर्ने, सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने, निरन्तर सांस्कृतिक क्रान्ति जारी राख्ने, हतियार उठाएपछि अन्तसम्म लैजाने नत्र सर्वहारा वर्ग र जनताप्रति अपराध हुने, क्रान्तिलाई लक्ष्यमा नपु¥याउँदै बीचमा संझौतामा नटुँग्याउने, आंशिक सुधारमा लैजाने कुरा जनतामा अपराध हुने, सर्वहारा अन्तराष्ट्रवादमा विश्व क्रान्तिको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध राख्न जनदिशाको सिद्धान्तमा अविचल रहने, पार्टी कुनै हालतमा देशी–विदेशी प्रतिक्रियावादको दबाव, धम्की र प्रलोभनमा नपर्ने, अन्रविरोधमा रुपान्तरणको नियम अबलम्बन गर्ने, नारामा नयाँ जनबादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढ्ने कुरा, जमीन कसको जोत्नेको र अन्तमा साहस, साहस फेरी साहसको परिचय दिने भनी दस्ताबेज टुँग्याइएको छ ।

उपरोक्त प्रतिबद्धताहरु कुनै पनि बुँदा पालना गरिएको छैन । आफै सशस्त्र क्रान्ति असंभव देख्ने, जनमुक्तिसेनाको विघटन गर्ने, संझौता गर्ने, आफै सुधारवादको सपना बाँड्ने, आफै आर्थिक विचलन र अराजकताको श्रोत हुने, देशी–विदेशी प्रतिक्रियाबादीहरुका सामु लम्पसार पर्ने कांग्रेस–एमालेले नगरेको राष्ट्रघात, जनघात, क्रान्तिघात, अन्तरघात गर्ने, विश्व क्रान्तिमा गंभीर आघात पु¥याउने, जमिन जोत्नेलाई होइन कब्जा गरिएको जमिन पनि जमिन्दारलाई फिर्ता गर्ने, जमिन्दारसँग मिलेर बेचेर खाने, सुकुम्बासीहरुमाथि लाठी–बुट र डोजर, ट्रयाक्टर लगाउने, छाप्राहरुमा आगो लगाई चिल्ली बिचल्ली पार्ने, जनवादी राज्यसत्ता स्थापना गर्नु सट्टा दलाल सत्ता स्थापना गर्ने, क्रान्ति पूरा गर्नुको सट्टा क्रान्तिकारीहरुलाई धरपकड गर्ने, थुन्ने मुद्दामा फसाउने, साहसको सट्टा कायर–कायर फेरी कायरताको प्रदर्शन गर्ने अझ देशी–विदेशी प्रतिक्रियाबादीहरुसँग मिली अहिले ठूला–ठूला नरसंहार र नेतृत्वमाथि हमला गर्ने षडयन्त्र र योजना बुन्ने काममा हिजोको जनयुद्धका नायक तल्लीन छन् । यस्तो बेला पार्टीको् आठौं महाधिवेशन गर्न गरहेका छौं । यो अर्को खुशीको कुरा हो ।

यस अवसरमा म पार्टीलाई यो ठाउँमा ल्याउन आँट गर्ने वर्तमान नेतृत्वलाई हृदयदेखि सलाम गर्न चाहन्छु र यो हामीलाई साथ र सहयोग गर्ने महान् जनता, विभिन्न तप्काका सहयोगी मित्रहरु सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनका कार्यभारहरु सँगै मिलीजुली पार गर्ने अपेक्षा सहित २२ औं जनयुद्ध दिवसको अवसरमा आम देशवासी दाजुभाई सहयोगी मित्रहरुमा एकता, सदभाव र सफलताको शुभकामनासहित उत्तरोत्तर प्रग्रतिको कामना गर्दछु धन्यवाद ।

महान जनयुद्ध जिन्दावाद । एकीकृत जनक्रान्ति जिन्दावाद । वीर सहिद लाल सलाम ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार