लामो समय बीबीसी नेपाली सेवामा पत्रकारिता गरेका रवीन्द्र मिश्रले नेपाल आएर चलनचल्तीको एक उद्योग खोलेका छन् ।

कम्पनी रजिष्टारको कार्यालयमा नभइ निर्वाचन आयोगमा दर्ता गरिने यस्ता उद्योगको संख्या सयौं छ नेपालमा । नेपालका ब्रान्डेड राजनीतिक उद्योगहरु समेत घिसेपिठे शैलीमा चल्न बाध्य छन् । सबै राजनीतिक उद्योगको उत्पादन प्रजातन्त्र, विधिको शासन, मानवअधिकार, वाक स्वतन्त्रता हो । विकासका सन्दर्भमा भने उनीहरुले कुनै उत्पादन गर्न सकेका छैनन् ।
विकासमा सपनाको डिजाइन बनाएर चुनावका बेला बिक्री गर्ने चलन छ यहाँ । बाँकी समय राजश्व पचाउने बाहेक अरु कुनै काम हुँदैन ।
यहाँको डेमोक्रेसीको विशेषता क्रोनी क्यापिटालिज्म (भाइभतिजावादी पुँजीवाद) हो । त्यसैमा सबै राजनीतिक उद्योगका सञ्चालकहरुले आफुलाई व्यस्त र अभ्यस्त बनाएका छन् ।
स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा सपनाहरुको व्यापार गर्न राजनीतिक उद्योग मार्फत थपिएका छन् सेलिब्रेट रवीन्द्र मिश्र ।
बेकरी आइटमको फुटकर व्यापार झैं सपनाहरुको व्यापार गरी रातारात सत्तासिन बन्न सक्ने उनको कल्पनाले कुन आकार ग्रहण गर्ला त्यो समयकै गर्भमा छ । तर उनले जुन बाटो रोजे त्यसले ठगहरुको पंक्तिमा उनी पनि थपिए भन्ने बुझाइ बनेको छ । नेपालमा भोको पेट्लाई प्रजातन्त्र र स्वतन्त्रताको सपना धेरैले बेचिसके । आधारभुत आवश्यकताको रिंगमा आई नपुगेका लाखौं मानिसहरुलाई स्वतन्त्रता र प्रजातन्त्रका वेलुन सपनाहरुसँग कुनै लेनदेन छैन ।
राजनीतिक प्रणाली प्रजातान्त्रिक होस वा एकतन्त्रीय, बहुदलीय होस वा एक दलीय, अहिले आम नेपालीले विकास चाहेका छन् । उनीहरुले राज्यबाट डेलिभर सर्भिस मागेका छन् । भ्रष्ट प्रजातान्त्रिक व्यवस्थाको कुरुप अनुहार गएका ३ दशकले देखाइसक्यो ।
भारतीय एजेण्डा बाेकेर राजनीति गर्नेहरु हुन् वा अमेरिकन र युरोपियन एजेण्डा बाेकेर राजनीति गर्नेहरु हुन् । उनीहरुले नेपाललाई आफ्नो र नेपाली जनताका पीडालाई आफ्ना नागरिकहरुको पीडाका रुपमा लिएका छैनन् । जनताको जनजीविका भयावह छ । दलाल र नोकरशाहसँग कमिसन र भ्रष्टाचारमा साझेदारी गर्ने राजनीतिक पार्टी र सरकारले साधारण नागरिकलाई विस्मित तुल्याएको छ ।
जनताको यही निराशाका बीच अझै सपनाको व्यापार गर्दै लोकतन्त्र र विधिको शासनका पुराना तर्कहरुमा रंगरोगन गर्दै सरकारी गाडीमा झण्डा हल्लाएर रातारात करोडपति बन्ने सपना देख्नु मुर्खता हो । जनताको सेवामा समर्पित राजनीति गर्ने हो भने अहिलेको सत्ता र शासन व्यवस्था कुँडा कर्कटमा मिल्काएर करोडौ जनताको हस्ताक्षरमा एक राष्ट्रिय स्वेतपत्र र स्वघोषणा जारी गर्दै तदनुरुपको काम सुरु गर्नुपर्छ ।
वर्तमान राजनीतिक प्रणाली,न्याय, कानुन, कर्मचारीतन्त्र, पुलिस प्रशासन सवै क्षेत्र माफियाहरुको औजार भन्दा केही होइन यसै शासन व्यवस्थाभित्रबाट मैले जनपक्षीय शासन सञ्चालन गर्छु भन्ने कुरा जनतामाथिको गंभीर धोकाधडी हो र यो राजनीतिक ठगीको अर्को श्रृंखला मात्रै हो ।
पश्चिमा प्रजातन्त्र आफै संकटमा छ । जर्मनमा हरेक दिन १० जना शरणार्थीमाथि सांघातिक आक्रमण भएको छ । फ्रान्समा अफ्रिकाबाट मुलुक निर्माणका लागि लिइएका ज्यामी मजदुरहरुलाई सभ्यताको नगरी भनिने पेरिसको एउटा कुनामा संसारकै नर्क र विभेदको झुपडपट्टी बनाइएको छ । जहाँ गोराहरुसँग कालाहरु अहिलेपनि खेल्न पाउँदैनन् । एउटै स्कुलमा पढ्न पाउदैनन् । एकप्रकारको छुवाछुतपूर्ण भेदभाव छ त्यहाँ । अमेरिकामा आप्रवासीहरुमाथि राष्ट्रपतिले नै नीतिगत आक्रमण गरेपछि नागरिकहरुले त्यसको फलो गर्दै व्यवहारिक रुपमा टर्चर दिन शुरु गरेका छन् ।
आप्रवासी र मुस्लिम जगतमाथि खरो आक्रमणका लागि अमेरिकी जनताले ट्रम्पलाई राष्ट्रपति चुने । विभेदको व्यवस्थापनमा सापेक्षिक रुपमा बेलायत उत्तम मानिन्छ होला । यद्यपि दिनभरी कचौरामा भिख माग्ने गोरेले साँझ क्लव र वारहरुमा काला र गहुँगोराहरुलाई धक्का मार्दै आई एम अ इंगलिश भन्दै आफ्नो अंग्रेज जातिमाथि गर्व गर्छ र अरुलाई दोस्रो दर्जाका मानव ठान्छ । स्पेनमा ३० प्रतिशत नागरिकहरु बेरोजगार छन् र उनीहरुको कन्तविजोग छ ।
संकटमा परेको त्यही प्रजातन्त्रको दुहाइ दिएर नेपाली समाजको कल्याण हुन सक्दैन । मक्किदै गएको पश्चिमा प्रजातन्त्र पुँजीवादको अर्थ ढाँचामा टिकेको हो । संभवतः त्यो पनि अब धेरै लामो समय रहने छैन । त्यसकारण नेपाललाई नयाँ राजनीतिक उद्योग, सेलिव्रेटहरुले बाँड्ने पश्चिमा सपना र प्रजातन्त्रका रंगीन र हावादारी गफहरु होइन ।
जीविकोपार्जनको वातावरण दिनसक्ने, नेपाली माटो र हावापानी बुझेको, भौतिक र बाैद्धिक श्रमिकहरुको श्रमको महत्वलाई वुझेर आम नागरिकलाई राष्ट्र निर्माणमा झोक्न सक्ने जनताको नेता चाहिएको हो ।
एशियन समाचारबाट ।







