पार्टी नाम परिवर्तनबारे धेरैलाई जिज्ञासा छ । केहीलाई सकारात्मक र केहीलाई नकारात्मक जिज्ञासा छ । पार्टीभित्र पनि केही साथीहरुलाई पार्टी नाम परिवर्तनबारे असहज जस्तो लागिरहेको छ । यो स्वभाविक पनि हो । पार्टी बाहिर केही शुभचिन्तकहरु प्नि यसरी नै चिन्तित र आशंकित छन् । तर, यसबाट आशंकित हुनु पर्ने जरुरी छैन ।

केहीले विप्लवले माओवादी नामै छाड्यो, विचार छाड्यो, कार्यदिशा छाड्यो, माओवादी छाड्यो जस्ता मनगढन्ते हल्ला पनि गरिरहेका छन् । यो ‘मनको लड्डु घ्यूसँग खाए’ जस्तो मात्र हो । यसको कुनै तुक छैन । उनीहरु दुई दिन मात्र भए पनि भ्रम छरेर आत्मरति लिन चाहन्छन् । केही समय, केही क्षण भए पनि क्रान्तिकारीहरुलाई अलमल्याएर ‘मूतको न्यानो’ मा रमाउन चाहन्छन् तर यो सभव छैन । एक दिन यसले साक्षत रुप लिने छ । त्यसैले नाम परिवर्तनबारे धेरै चिन्ता गर्नु पर्ने छैन । किनकि पार्टीको असली नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै हो ।
जस्तै, प्रचण्डको खास नाम ‘पुष्प कमल दहाल’ हो । ‘प्रचण्ड’ नाम त कम्युनिस्ट बन्न खोज्दाखेरी उपनाम मात्रै हो । यदि असली कम्युनिस्ट हुने हो भने ‘पुष्पकमल दाहाल’ नाम रहँदैन । केवल ‘प्रचण्ड’ मात्रै रहन्छ । कम्युनिस्ट बन्न नसक्दा खेरीको सन्दर्भमा अलि अलि बाहुन जाति जनाउने निजी परिवारको पहिचान जनाउने पुष्पकमल दहाल नाम र अलि अलि कम्युनिस्ट पनि हुँ भनी भ्रम दिने नाम ‘प्रचण्ड’ जोडेर पुष्पकमल दहाद (प्रचण्ड) नाम बन्न पुगेको हो । ठीक यस्तै पार्टी नाम पनि असली नाम नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । माओवादी त त्यसभित्रको एउटा सानो परिवार जनाउने नाम मात्र हो । त्यसैले नेपाल कम्युनिस्ट पाटी भए नेकपा (माओवादी) भनिरहन जरुरी छैन भन्ने हाम्रो निष्कर्ष हो ।
हुनलाई नेकपा (माओवादी) नाम हिजो हामीले नै राखेका थियौं । माओवाद कि माओविचारधारा ? दीर्घकालीन जनयुद्ध कि अल्पकालीन जनविद्रोह भनी पार्टीभित्र दुई लाइन संघर्ष चलिरहेको बेलामा माओवाद र दीर्घकालीन जनयुद्धको लाइन पास गरेर पार्टी र वर्गसंघर्षलाई स्थापित गर्न २०५१ सालमा चितवनमा एक राष्ट्रिय सम्मेलन गरी पार्टी नाम नेकपा (माओवादी) नामाकरण गर्ने हामी नै हौं । त्यति बेला सिद्धान्तमा माओवाद स्थापना गर्नु थियो र वर्गसंघर्षमा जनयुद्धको कार्यदिशालाई लागु र स्थापित गर्नु थियो । यस हिसावले पार्टी नाममा यो पदावलीको प्रयोग तत्कालिक सन्दर्भमा आवश्यक र अनिवार्य पनि थियो । दश वर्षको महान जनयुद्ध यसैको परिणाम थियो । तर आज परिस्थिति बदलिएको छ । अबको सन्दर्भ माओवादीलाई स्थापित गर्ने र वर्गसंघर्षलाई जनयुद्धमा स्थापित गर्ने अवस्था होइन कि कम्युनिस्ट पार्टीलाई विश्वव्यापी स्थापित गर्नु पर्नेछ । माओवादी त स्थापित मात्र होइन विश्वव्यापी स्थापित र चर्चित भैसक्यो । बरु कम्युनिस्ट पार्टी ओझेल पर्न थालेको छ । यो टुक्रा टुक्रा भएर बदनाम भैरहेको छ । यसको रक्षा र विकासबारे कसैले सोच्नसम्म सकेका छैनन् । अहिले परिस्थितिसँगै जनयुद्धको कार्यदिशा पनि बदलिएको छ । विचार, दर्शन र राजनीतिले अर्को ठाउँमा फड्को मारेको छ । कार्यदिशाले एकीकृत जनक्रान्ति रुप लिन पुगेको छ । माओवादी नाम दलाल भ्रष्टहरुको एउटा विज्ञापन जस्तो बन्न पुगेको छ । यो पदावली पछिल्लो चरणमा आउँदा प्रतिक्रियावादी सत्तामा पुग्ने भ¥याङ र बार्गेनिङको साधनको रुप बदनाम र भ्रष्टीकरण गरिएको छ । बदलिएको प्रचण्डले माओवादी नाम भजाएर आज माओवादीलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाएको छ ।
आजभोली ‘माओवादी’ नाम प्रचण्ड मण्डलीको कमाई खाने ‘भाँडो’ वा ‘लोगो’ बनेको छ । यस्तो अवस्थामा पार्टी नाम पछाडिको विश्लेषण ‘माओवादी‘ राख्नु आजको सन्दर्भमा असान्दर्भिक त नभनौं तर बदल्नु पर्ने आबश्यकता देखियो । समय सन्दर्भले माओवादी नाम थोरै साँगुरो, संकुचित र समुह बाचक मात्र बन्न जाने र समस्त कम्युनिष्टहरुलाई समेटेर लानु पर्ने आजको आवश्यकतालाई महसुस गरी नाम बदल्ने ठहर ग¥यौं । त्यसो त २०१९ सालपछि पार्टी नामपछि यस्ता कति नामहरु बदलिदै आए । नयाँ नयाँ विशेषणहरु थप्दै नयाँ नयाँ समुुह र गुट उपगुटहरु बन्दै आए । हामी आफैले चौथो महाधिवेशन, मशाल, मसाल, चौम, एकताकेन्द्र, जस्ता नामहरु बदल्दै छाड्दै आएका छौं । त्यो प्रक्रियामा यो पछिल्लो कडी मात्र हो । यो भनेको पार्टी छाड्ने, विचार–सिद्धान्त छाड्ने भन्ने हुँदैन । यो वस्तु, परिस्थिति अनुसार बदलिने र एक अर्कामा रुपान्तरण हुँदै जाने प्रक्रिया हो । यसो नगर्ने हो भने परिवर्तित समाजको धार र गतिलाई पकड्न सकिदैन । धर्म यसकारणले पछि परेको हो । कुनै जमानामा धर्म पनि प्रगतिशील थियो । समाजको गतिलाई पकड्न नसक्दा यसले पनि एक प्रकारको धर्मको रुप लिन पुग्दछ र यसको चरित्र पश्चागामी र प्रतिक्रियावादी बन्न पुग्दछ । एउटा उदाहारण सर्पलाई नै हेरौं – सर्पले एउटा समयमा ‘काँचुली’ फेर्छ, सबैलाई थाहा छ । हाम्रो पार्टीले पनि काँचुली फेरेको मात्र हो । प्रचण्ड त्यो माओवादीको काँचुली मात्र हो । सर्प होइन । सर्प निस्केर पर पुगी सक्यो । मान्छेहरु त्यो माओवादीको काँचुली हेरेर सर्पको भ्रममा बसेका छन् । त्यो भ्रममा नपर्न पनि यो नाम परिवर्तनले सहयोग पु¥याउने छ ।
विश्व कम्युनिष्ट आन्दोलनमा कमरेड माओत्सेतुङको काल एउटा हराभरा र उभारको समय थियो । यसै वर–पर विश्वभर कम्युनिस्ट पार्टीहरुको स्थापना हुने लहरै चल्यो । त्यस ताका नेपालमा राणा शासन थियो । विश्व सर्वहारा वर्गका महान् नेता क. लेनिनको जन्मदिनको अवसर पारेर १९४९, अप्रिल २२ (वि.स. २००६ साल वैशाख १०) का दिन क. पुष्पलाल, क. नारायण विलास जोशी, क. निरञ्जन गोविन्द वैद्य र क. नरबहादुर कर्माचार्य ४ जनाले भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । तेस्रो महाधिवेशन पश्चात पार्टी विभिन्न गुट–उपगुटमा विभाजित भई कम्युनिस्ट पार्टी अनेक समुहमा टुक्रिन पुग्यो । यसपछि समुह नाम जनाउने पहिचानको रुपमा पार्टी नाम पछाडि कोष्ठमा विशेषण झुण्ड्याउने चलन आयो । त्यसैको एउटा समुह वा घटक थियो – नेकपा (माओवादी) । पछिल्लो चरणमा खास गरी नेकपा (माओवादी)का अध्यक्ष भनिएको ‘कमरेड’ प्रचण्डको वैचारिक विचलन र वर्गदुश्मन सामु आत्मसमर्पण पछि नेकपा (माओवादी)मा आएको विभाजनले माओवादी पार्टी मात्र भण्डै आधा दर्जन समुहमा विभक्त हुन पुग्यो । यसले माओवादी पंक्तिमा मात्र होइन आम कम्युनिस्ट आन्दोलनमा नै नकारात्मक प्रभाव पर्न गयो । यो सत्य हो कि प्रचण्डको विचलन पछि पार्टी एक ठाउँमा रहँदैन थियो । किनकि माओवादी भित्रका सबै नेता कार्यकर्तामा विचलन आएको थिएन ।

विचलन केवल मूल नेतृत्व र त्यसका आसेपासे, भाते चाटुकार र केही भ्रममा परेकाहरु बाहेक अरु विचार र वर्ग दृष्टिकोणमा स्पष्टै थिए र तर प्रचण्डको विचलनको बारेमा पनि चुनबाङ बैठकदेखि निरन्तर कुरा उठ्दै आयो । नेतृत्वलाई सुधार्ने प्रक्रियामा लामो समय पार्टीभित्र अन्तरसंघर्ष र दुईलाइन संघर्ष गर्दै आए । यो पनि सत्य थियो कि क्रान्तिकारी नेता तथा कार्यकर्ताहरु सबै प्रचण्डसंगै सति जान तयार थिएनन् । यसकारण प्रचण्डको विचलन र आत्मसमर्पणका कारण माओवादीमा विभाजन आउनु स्वभाविक र अनिवार्य थियो । यसलाई कसैले रोक्नै सक्दैनथे । जो हुनु थियो भयो । त्यसपछिका दिनहरुमा समग्र कम्युनिस्ट राजनीति र माओवादी आन्दोलनमा आएको निराशा चानचुने थिएन । यसलाई सही ट्रयाकमा ल्याउन पनि चानचुने थिएन । यो जिम्मा लिने नेताहरुमा पनि चानचुने हिम्मतले पुग्दैनथ्यो । त्यसैले त किरण दाईहरुले हिम्मत गर्न सकेनन् । अझ बादल, गुरुङ दाईहरु त निर्लज्ज ढंगले थुकेकै खकार चाट्दै प्रचण्डको पुच्छरमा टंगिन पुगे र प्रतिक्रान्तिलाई साथ दिन पुगे । एउटा क्रान्तिकारी नेता भनिएका र कुनै बेला श्रद्धाका पात्र भनिएका नेताहरु कसरी घृणाको पात्रमा बदलिन पुग्दा रहेछन् । यो नेपाली क्रान्तिकारी आन्दोलनमा देखिएको हाम्रा अगाडिका जीवित उदाहारण हुन् । यसरी समुद्रको लहर झैं तैरिदै आएको नेपाली क्रान्तिको लहर उतार र चढावको बीचबाट आज नेपाल कम्युनिस्ट पार्टीको पुनःस्थापना हुन पुगेको छ र यसले आठौं महाधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ ।
शुरुमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी घुम्दै फिर्दै दश घुम्ती पार गरेर फेरी नेकपामा आई पुगेको छ । भनिन्छ १२ वर्षमा त बगिरहेको खोला पनि फर्कन्छ रे । एउटा निश्चित युग वा अवस्था पार गरेपछि हरेक चीजको नयाँ विकाससँगै वैज्ञानिक तर पुरानो स्वरुप र चरित्रमा आईपुग्छ रे । बूढा पुरानाहरु भन्थे– सत्य युगले त्रेता युग, द्वापर युग, कली युग पार गरेपछि फेरी सत्य युगमा फर्कन्छ । कार्ल माक्र्स लेख्छन्– आदिम साम्यबाद दास युग, सामन्ती युग, पँुजीवादी युग हुँदै वैज्ञानिक समाजवाद पुग्दछ र वैज्ञानिक समाजवादले विश्वव्यापी रुप लिएपछि वैज्ञानिक साम्यवादमा पुग्दछ । द्वन्दवादी दर्शन भन्छ –एउटा मकैको गेडा माटो र घाम, पानी पाएपछि अर्थात निश्चित वातावरण पाएपछि विरुवामा परिणत हुन्छ । बिरुवा क्रमशः हरेक पछिल्ला पातहरुमा रुपान्तरित हुँदै आफूलाई ठूलो बिरुवामा विकसित गर्दछ । समग्र बिरुवाको सार त्यसको फल अर्थात् गेडामा गएर रुपान्तरित हुन्छ । गेडाबाट गेडामा, हेर्दा पुरानैमा जस्तो देखिन्छ तर त्यो संख्या र गुण दुबैमा नयाँ बनेको हुन्छ । एउटा बच्चा जन्मन्छ हुर्कन्छ बढ्छ र फेरि आफू जस्तै तर नयाँ मानवको जन्म दिएर आफ्नो प्रक्रिया पूरा गर्दछ । पार्टी पनि यही प्रक्रियाको एउटा अभिन्न अङ्ग हो ।
२००६ सालमा जन्मेको नेकपा पनि यस्तै हण्डर ठक्कर खाएर अहिले बयस्क भएको छ र बल्ल आफ्नो वंश–नालीबेली खुट्याउने भएको छ । बीचमा आफ्नो नामको पछाडि अरुले झुण्ड्याउन बाध्यकारी अवस्थाको पहिचान गर्दै अहिले आफैले आफ्नो वास्तविक नाम खुट्याउन सफल भएको छ । अब भने यसले नेपाली नागरिकता लिए फरक पर्ने छैन । किनकि नेकपा अब आफ्नो जन्मने बेलामा राखिएको वास्तविक नाममा आइपुगेको छ । अबको यसको मुख्य चुनौती भनेको यति हो, अहिलेसम्म बन्न नसकेको कम्युनिस्ट पार्टी कसरी निर्माण गर्ने ? किनकि अहिलेसम्मका नेताहरु न कम्युनिष्ट बने न कम्युनिष्ट पार्टी नै बनाए । बनाए त केबल कमाई खाने भाँडो र सत्तामा पुग्ने बार्गेनिङको साधन । वास्तवमा कम्युनिस्ट भनेको जाति, वर्ग, लिङ्ग, धर्म–संस्कृति, क्षेत्र, दल तथा हरेक व्यक्तिगत स्वार्थभन्दा माथि उठेको वैज्ञानिक चेतनाले लैश भएको उच्चतम मानव सभ्याताको मानव चेतना भएको मानव जाति हो । जो केवल मानव जातिभन्दा उसमा केही हुँदैन । यही नै कम्युनिस्ट हो । नेताहरु बन्न नसकेको यही हो र उनीहरु धोका दिइरहने र बिग्रीरहने, बिकीरहने, डरपोक, कायर, आत्मसमर्पण गरिरहने कारण पनि यही हो । यही कुरालाई आठौं महाधिवेशनले सच्याउन खोजेको छ ।
महाधिवेशनले पार्टी नाम परिवर्तनको सन्दर्भमा ४ वटा पक्षहरुलाई अगाडि सारेको छ – पहिलो कम्युनिस्ट पार्टी भनेको माओवादीहरुको मात्र पार्टी होइन । यो कम्युनिस्टहरुको पार्टी हो । अवको आवश्यकता माओवादी पार्टी बनाउने होइन कि कम्युनिस्ट पार्टी बनाउने हो । यो विश्व कम्युनिस्ट पार्टीको एक हिस्सा भएकोेले यसलाई नेपालको कम्युनिस्ट पार्टीको रुपमा स्थापित गर्नु पर्छ । दोस्रो अहिले सबै कम्युनिस्टहरुलाई एउटै कम्युनिस्ट पार्टीमा एकीकृत गर्नु पर्ने अहिलेको वस्तुगत आवश्यकता हो । यसैले नेकपाको सार्वभौमिक नाम नेपाल कम्युनिस्ट पार्टी नै अहिलेको उचित नाम हुन आउँछ । तेस्रो माओवादी नाम नभएर विशेषण हो । एउटै गाउँमा धेरै रामबहादुर भएपछि कुन रामवहादुर हो भनी छुट्याउन काले, गोरे, नेप्टे, चेप्टे भनी चिनाउने विशेषण मात्र हो माओवादी । त्यसैले यो नाम फेरेको नभएर विशेषण हटाएको मात्र हो । यो विशेषण रहिरहँदासम्म यसले हामीलाई एउटा समुहको रुपमा मात्र चिनाई राख्ने र सीमित माओवादी घेरामा मात्र कैद गरी राख्ने भएकोले यसले आन्दोलनलाई संकुचित र साँगुरो घेरामा राखेर बन्ध्याकरण गर्दछ । चौथो कुरा माओवादीको एउटा हिस्सा राष्ट्रियता र जनतन्त्रबाट विचलित भई पछिल्लो चरणमा माओवादी नाम बदनाम र भ्रष्टीकरण पनि भएको छ । यो अवस्थामा यसैमा नै टंगिरहनु र माओवादी नाममै खोसाखोस गरी झगडा गरिहनु औचित्यपूर्ण नभएकोले पनि महाधिवेशनले आजका परिस्थितिको आवश्यकता र मर्म अनुरुप सार र रुप ब्यक्ति गर्न नाम परिवर्तन गरिएको हो । यसबाट क्रान्तिकारीहरु आत्तिनु पर्ने छैन ।
निश्चय पनि मानव स्वभाव के हुन्छ भने पुरानो नाम, संस्कृति, आनीबानी छाड्न झट्टै सक्दैन र नयाँमा जाँदा अफ्ठ्यारो र असजिलो महसुस गर्दछ । अहिलेको आठौं महाधिवेशन आफै छलाङ र क्रमभङ्गको महाधिवेशन हो । यसले नाम मात्र होइन । वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक लगायत सबै क्षेत्रमा क्रमभंग गरेको छ र नाम पनि यसको एक महत्वपूर्ण पक्ष हो । यसकारण यसलाई नयाँ सोच र उचाईबाट बुझ्ने प्रयास सबैले गरौं । यो नयाँ युग निर्माणको यात्रा हो । माओवादी नामलाई हामी ससम्मान हाम्रो ऐतिहासिक गाउँ थबाङको सहिद स्मृति संग्राहालयमा छाडेर आएका छौं । छाडेको वा फालेको होइन । यति बुझौं धन्यवाद ।







