साथीहरु, म त्यो गाउँको परिचय दिइरहेको छु
हुन त जुन कुराहरु पूर्णरुपमा भन्न पनि सक्दिन
हुन त जुन कुराहरु सम्पूर्ण रुपमा लेख्न पनि सक्दिन
तैपनि शब्दहरु बिनी–बिनी
साथीहरु, म त्यो ठाउँको परिचय दिइरहेको छु ।
–(त्यो प्यारो–प्यारो पहाडी गाउँको नाम थबाङ हो)

कवि कृष्णसेन इच्छुकले भनेजस्तै जहाँका जनताहरु वर्गीय उत्पीडन, शोषण र वर्गवैरीहरुका अपराध विरुद्ध आजीवन क्रान्तिको पक्षमा दृढतापूर्वक उभियो, जो दुश्मनका निर्मम यातना र बम गोलीका पर्राहरु छातीमा थापेर निर्मल स्फटिक हिमालजस्तै सतिसाल उभिइरह्यो ।
हो, त्यही प्यारो–प्यारो अजम्बरी गाउँको ऐतिहासिक नाम हो– थबाङ । जसको परिचय शब्द वा अक्षरहरुमा मात्रै सीमित हुन सक्दैनन् । जसको क्रान्तिकारी गौरवगाथा निश्चित भूगोलको पर्खालभित्र मात्रै सीमित रहन सक्दैनन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आठौं महाधिवेशनमा भाग लिन क्रान्तिको अजम्बरी गाउँ थबाङ पुग्ने अवसर मिल्यो । रोल्पाको सदरमुकाम लिबाङदेखि सहिद मार्गमा धूलो उडाउँदै झण्डै ७ घण्टा लामो गाडी चढेर उत्तरतिर हुँइकिएपछि पुगियो थबाङ गाउँ । तलतिर अविरल बगिरहेको रिखोला । डाँडाकाँडा पाखाभित्ताभरि रक्ताम्मै लाली गुँरास । हिउँले सेताम्मे फूलिरहेको जलजलाको कोखमा ढुङ्गैढुङ्गैले बनेका घरहरुको सुन्दर घनाबस्ती । जलजलाको कोखबाट ओरालो छिचोल्दै गर्दा छेऊमा बसिरहेका पत्रकार प्रकाश डुम्रेले देखाउँदै थिए, ‘ऊ त्यो हो–जनयुद्धको ऐतिहासिक उद्गम थलो थबाङ ।’

सेताम्मे हिउँ फूलिरहेको जलजला चुलीको फेंदीमा थपक्क बसिरहेको राताम्मे थबाङ गाउँ देखेर हामी उद्देलित र उत्साहित भयौं । हाम्रो मानसपटलमा वर्षौदेखि बसेको काल्पनिक थबाङको यथार्थ स्पर्श ग¥यौं । नेपाली क्रान्तिले जन्माएका क.लली रोका मगरलगायत हजारौं सहिदहरुको बलिदानमा उभिएको थबाङले केन्द्रीय सामन्ती सत्तासँग आजीवन संघर्ष गरिरह्यो । म सोचिरहेछु, थबाङ क्रान्तिकारीहरुका लागि प्रेरणाभूमि हो, आस्था÷बलिदानको प्रतीक हो र नेपाली क्रान्तिको येनान हो ।

हामी रिखोला तरेर बस्तीतर्फ उक्लिदै गर्दा तत्कालीन शाही सेनाले जलाएको माओवादीको स्वागतद्धारमा ‘चुनाव प्रचार निषेधित क्षेत्र’ भनि लेखिएको थियो । सय मिटर अगाडि बढेपछि घरछेऊको भित्तामा ठूलो आकारमा माक्र्स, एङ्गेल्स, स्टालिन, लेनिन र माओको रङ्गीन चित्र कोरिएका थिए । चित्रमाथि हँसिया हथौडा अङ्कित रातो झण्डा छ । त्यहाँका प्रत्येक घर, बिजुलीका पोल र रुखका टुप्पाहरुमा रातो झण्डा नाँचिरहेको छ । घरका भित्ताहरुमा जताततै एकीकृत जनक्रान्तिका नाराहरु कोरिएका छन् । थबाङ बस्तीभित्र छिर्दै जाँदा ढुङ्गैढुङ्गाका खेपद्धारा निर्मित सुन्दर र सफा घरहरु यतिखेर झकिझकाऊ र सिङ्गारिएका छन् । लाग्थ्यो, यी घरबस्तीहरु क्रान्ति बिजयको उत्सव हर्षोल्लासका साथ मनाइरहेछन् ।

थबाङले उठाएको क्रान्तिको झण्डा

खाम मगर भाषामा ‘थ’ को अर्थ ‘थपक्क’ र ‘बाङ’ भनेको ‘चौर’ रहेछ । त्यही थपक्क बसेको चौरभरीका बस्तीमा काला ढुङ्गा र काठले छाएका गुजुमुज्ज घर, प्रत्येक घरसम्म पुग्नका लागि ढुङ्गा छापिएका सफा बाटोहरु छन् । राता झण्डा नभएका घरगोठका धुरी नै छैनन् । थबाङ प्रवेश गर्ने ठाउँ–ठाउँमा ठूला र आकर्षक गेटहरु बनाइएको छ । गाउँको दक्षिण पश्चिमतिर भर्खरै माओवादीले निर्माण गरेको एक हजारभन्दा बढी अटाउने आकर्षक सहिद स्मृति गृह छ । भवनको धुरीमा माक्र्सदेखि माओसम्मका रङ्गीन फोटोसंगै आठवटा हँसिया हथौडा अंकित झण्डाहरु हावाको लयमा फरफराइरहेका छन् ।

लेखक

स्मृति गृहको गेट अगाडि हजारौं मान्छेहरु कमिलाको ताँतीजस्तै अनुशासित लाईनमा उभिएर क्रमशः भित्र प्रवेश गरिरहेका छन् । प्रवेश गेटमा जनमुक्ति सेनाको कडा चेकजाँच छ । मोबाइल, क्यामरा वा अडियो÷भिडियो रेकर्डिङ डिभाइसहरुलाई प्रवेश निषेध गरिएको छ । बन्दसत्रमा सहभागी हुन देशविदेशबाट हजारौं प्रतिनिधि पर्यवेक्षक, नेता–कार्यकर्ता, अन्तर्राष्ट्रिय भाइचारा पार्टी प्रतिनिधिहरुको भीडभाड चलिरहेको छ । बन्दसत्रमा महासचिब क. विप्लबद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधि पर्यवेक्षकहरु बीच सघन वैचारिक बहस एवं छलफल चलिरहेको छ । पार्टीका केन्द्रीय नेताहरुले प्रतिवेदन केन्द्रीत गम्भीर र विचारोत्तेजक धारणाहरु राखिरहेका छन् । छलफलमा प्रस्तुत गरिएका विचारहरुलाई ग्रुप लिडरहरुले क्रमशः सुझाबका रुपमा राखिरहेका छन् । सिङ्गो हल घरि विचार गहिराईको महासागरमा चुर्लुम्म डुब्छ, घरि वर्गवैरीहरु विरुद्ध आक्रोशको सगरमाथा चढ्छ । घरि सामना परिवारको सांस्कृतिक प्रस्तुति देउडा, कौरा सालैजो, सेलोको मौलिक लयमा झुल्छ, कहिले “निस्क न निस्क कमरेड, बन्दुक बोकी निस्क” भन्दै क्रान्तिकारी आदर्शभावले शिखर चढ्छ । लाग्छ, थबाङ विचार÷बहसको घनिभूत घर्षणले तातिरहेको छ ।

तत्कालीन नेकपा (माओवादी) ले फागुन १ गते काठमाडौं खुलामञ्चमा उद्घाटन र ३ देखि १० गतेसम्म रोल्पाको थबाङमा गरेको आठौं महाधिवेशन क्रान्तिकारी जनताका लागि ठूलो उत्सव भएको छ । देशभर एकीकृत जनक्रान्तिका नाराहरु घन्किरहेका छन् । दलाल भ्रष्टाचारी, कमिसनखोर र देशघातीहरु विरुद्ध जनकारबाही चलिरहेका छन् । प्रचण्ड÷बाबुरामले कथित ‘शान्ति–सम्झौता’ को नाममा जनयुद्धका महान आदर्श, क्रान्तिकारी त्याग र बलिदानको सपनाहरुमाथि प्रतिक्रान्तिको बर्बर बुलडोजर लगाएका छन् तर थबाङ कहिल्यै विचलित भएन । थबाङको क्रान्तिकारी आदर्श र बलिदानको गौरवगाथा अविचल रह्यो । प्रचण्ड÷बाबुरामको धोका र आत्मसमर्पणले नझुकेको क्रान्तिको झण्डालाई निकै उत्साहका साथ फेरि थबाङले उठाएको छ ।

बम र गोलीले नगलेको थबाङ

२०१५ सालको पहिलो संसदीय निर्बाचनमा एकमुष्ट कम्युनिस्टलाई मत दिनु, २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सबै भोट खसालेर निर्दलको मतपेटिका रित्तै फर्काइदिनु, २०३८ सालको राष्ट्रिय पञ्चायत चुनाव बहिष्कार गर्नु, महान जनयुद्धको केन्द्रभूमी हुनु आदि कारणले थबाङ सधै राज्यको ‘आँखामा तारो’ बन्यो । राज्यले कैयौंपटक थबाङ विरुद्ध सैनिक अप्रेशन चलायो । थबाङमा जनयुद्धको समयमा मात्रै १३ पटकसम्म सेनाले बर्बर सैन्य अप्रेशन ग¥यो । दुईपटक आकाशबाट बमबार्ड ग¥यो । थबाङमा थुप्रै मानवीय र भौतिक क्षति हुनपुग्यो । कैयौं पटक थबाङमाथि उडिरहेको हेलिकप्टरमा जनमुक्ति सेनाले गोली प्रहार गरि क्षतविक्षत बनाईदियो ।

२०५३ माघ ५ गते लली रोका मगर र दिलमान रोका मगरको हत्यादेखि २०६२ सम्म आइपुग्दा थबाङमा ३४ जना होनहार क्रान्तिकारी योद्धाहरुको सहादत भयो । स्थानीय भक्तबहादुर रोका मगरलाई घरबाटै गिरफ्तार गरी ‘केही नबताएको’ आरोपमा सेनाले मुखमा गोली हानी क्रुरतापूर्वक हत्या ग¥यो । तर थबाङले दुश्मनका विरुद्ध प्रतिरोध गरिरह्यो । सेनाको ठूला अप्रेशनहरुमा गाउँ नै छोडी सबै थबाङबासी नाबालक छोराछोरी, बृद्धपाकाहरु घरमा पालेका कुखुरा, बाख्रा र पोकोपन्तराहरु बोकेर जलजलाको जंगलमा गएर बास बस्न बाध्य भए । हिउँ–तुषारोका चिसो कहरहरुमा खुल्ला आकाशमुनि बमका गोलाबारीसंग लुकामारी खेले । महिनौंसम्म जलजलाको जंगलमा कुखुराको भाले भासे, बाख्राहरु कराए, पाँचजना भन्दा बढी महिलाहरु जंगलमै सुत्केरी भए ।

थबाङका रित्ता घरहरुमा सेनाले क्रुरतापूर्वक गोली बर्षायो, आगो लगाइदियो र अन्तिममा खरानीमा दिसा गरेर फर्कियो । कवि कृष्ण सेन इच्छुक लगायत क्रान्तिकारी कमरेडहरुलाई थबाङबाटै गिरफ्तार गरी जेल कोच्यो । बर्मन बुढा मगर, सन्तोष बुढा मगर, कमान झाक्री मगर, तेजमान घर्ती मगर, ताराप्रसाद रोका मगर, पूर्णबहादुर रोका मगर लगायत क्रान्तिकारी योद्धाहरुले थबाङको वर्गसंघर्षको नेतृत्व गरिरहे । पटक–पटकको सैनिक अपरेशन र बर्बर हत्याले थबाङबासी क्रान्तिकारी जनतालाई पटक्कै गलाएन, बरु झन् स्पातिलो बनायो ।

जनकम्युनमा सहिद परिवारसंग भेट

कम्यूनको अवधारणा माक्र्स र एङ्गेल्सले गर्नुभएको थियो । कम्यून सिङ्गो मानव समाजलाई कम्युनिस्ट समाज निर्माण गर्ने विश्वव्यापी अवधारणा हो । कम्युनका बारेमा लेनिनले भनेका छन्–“ल्याटिन भाषामा कम्युनिस्टको अर्थ सामूहिकता हो, कम्युनिस्ट समाज भनेको त्यस्तो समाज हो, जहाँ जग्गा जमिन, कलकारखाना सबै सामुहिक हुन्छ र यो नै साम्यवाद हो ।” सन् १८७१ मा स्थापना भएको पहिलो पेरिस कम्यून कम्युनिस्टहरुको महान आदर्श थियो । नेपालमा जनयुद्धकालमा माओवादीले जुनी जनकम्यून, जलजला जनकम्यून, अजम्बरी जनकम्यून र बलिदान जनकम्यून गरि चारवटा जनकम्युन निर्माण ग¥यो । त्यो कम्युनिष्ट समाजको एउटा भ्रुण थियो । नेपाली क्रान्तिलाई प्रतिक्रान्तिबाट बचाउनका लागि र जनयुद्धबाटै निर्मित आधार इलाका स्तरिय जनसत्ताहरुलाई सुदृढ गर्दै सिङ्गो आधार इलाकाहरुलाई मजबुत बनाउने उद्देश्य सहित जनकम्यूनको स्थापना गरियो ।

हामी महाधिवेशनको अवसरमा केही पत्रकार र बुद्धिजीविहरुका साथ झुल्केघाममा नै जनकम्युन प्रवेश ग¥यौं । घर अगाडी रङ्गीचङ्गी स्याउहरु फूलिरहेका थिए । हामीलाई कम्युनमा प्रवेशसंगै ५५ बर्षीय सूर्यबहादुर रोका मगर लगायत कम्युन परिवारले सामूहिक रुपमा निकै हार्दिकतापूर्वक दरिलो लालसलामले स्वागत गर्नुभयो । हामी कम्यून परिवारसंग लामो भलाकुसारी ग¥यौं । हामीले कम्यून परिवारबाट प्रचण्ड÷बाबुरामले गरेको गद्दारीप्रतिको आक्रोश र नयाँ क्रान्तिप्रतिको आशा एवं उत्साहका मिश्रित स्वरहरु सुन्यौं । उनीहरु भन्दै थिए, “हामीले आफ्नो परिवारका सदस्य गुमायौं । जनयुद्धकालमा ६ वटा परिवारबाट सुरु भएको जनकम्युन ३३ परिवारसम्म पुगेको थियो । हामीले सामूहिक श्रम र उत्पादन ग¥यौं । यहाँ प्रचण्ड आएर बास पनि बसे । शान्तिप्रक्रियापछि प्रचण्डले धोका दिए । हामी अझैसम्म क्रान्तिप्रति प्रतिबद्ध छौं” । एकैछिनमा कम्युन परिवारका झण्डै ७० बर्षीय आमाले मकैभटमास र उसिनेको आलु खुवाउनु भयो र “विप्लवलाई पनि दिनु है !” भन्दै एक पोका उपहार स्वरुप मकैभटमास थमाईदिएपछि हामी सहिद स्मृति गृहतिर फर्कियौं ।

प्रहरी चौकीमा रातो झण्डा

थबाङमा ‘क’ श्रेणीको प्रहरी चौकी रहेको छ । थबाङको वर्गसंघर्षलाई कमजोर बनाउन २०३५ सालमा नै प्रहरी चौकी स्थापना गरिएको रहेछ । पञ्चायत र जनयुद्धकालमा धेरैपटक प्रहरी चौकी लखेटिएर सदरमुकाम भागेछ । शान्तिप्रक्रियापछि पुनः बस्न थालेको त छ तर चौकी चौकिल्लामा खुम्चिएर बसेको छ । २०५९ सालमा शाही सेना आएर ब्यारेक बसालेपनि करिब अढाई महिनाभित्रै गाम कब्जा भएपछि त्यो पनि उठेर भागेछ । अहिले थबाङ गाउँमा प्रहरी चौकी त रहेको छ तर चौकीको धुरीमा हँसिया हथौडा अंकित रातो झण्डा नाँचिरहेको छ र स्थानीय जनता र जनसत्ताको निगरानी एवं नियन्त्रणमा रहेको छ ।

थबाङ क्रान्तिकारीहरुको अभेद्य किल्ला

२०१५ सालको चुनावमा एकमुष्ट भोट कम्युनिष्टलाई दिएका थबाङबासीहरु त्यसपछिका राष्ट्रिय पञ्चायत, स्थानीय र संसदीय चुनावहरु बहिष्कार गर्दै आएका छन् । २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावमा मतपेटिका शून्य बनाई सदरमुकाम पठायो । २०५१ सालको संसदीय चुनाव र २०५४ को स्थानीय चुनाव बहिष्कार ग¥यो । २०५६ सालको संसदीय चुनावमा राज्यले सदरमुकाम लिबाङदेखि १ जना मतदातालाई हेलिकप्टरमा लिएर भोट हाल्न लगाएको थियो । २०७० को कथित दोस्रो संविधान सभाको चुनावमा पनि शून्य मत बनाई खाली मतपेटिका सदरमुकाम पठायो ।

२०५७ देखि थबाङले स्थानीय जनसत्ताको अभ्यास सुरु ग¥यो र २०६० पौष २५ गते २० औं हजार जनताको उपस्थितिमा पहिलो पटक मगरात स्वायत्त जनसरकारको घोषणा गरि सन्तोष बुढा मगरलाई पहिलो जनसरकारको प्रमुख बनायो । राजनीतिक रुपमा निकै सचेत र क्रान्तिकारी इतिहास बोकेको थबाङ न त पञ्चायती फटाहाहरुसंग डरायो, न त संसदीय बर्बरता र षड्यन्त्रका अनेक अस्त्रहरुसंग लड्न डरायो । थबाङ नौटङ्की चुनाब र षडयन्त्रका सबैखाले अस्त्रहरु विरुद्ध जलजलाको फलामे पहाडजस्तै क्रान्तिको पर्याय बनेर उभियो । संसारभरका क्रान्तिकारीहरुको अभेद्य किल्ला बनेर चिनियो ।

बिसौनी,

९९ प्रतिशत मगर जाति र बाँकी दलित समुदायको बसोबास रहेको ऐतिहासिक गाउँ थबाङले सबैखाले साम्राज्यवादी उत्पीडन, नवसंशोधनवाद र दलाल संसदीय पूँजीवादका विरुद्ध मालेमावादको आलोकमा एकीकृत जनक्रान्तिको उद्दात्त आदर्शभाव मार्फत वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने विश्वदृष्टिकोणको संश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीेको ऐतिहासिक महाधिवेशन सम्पन्न ग¥यो । थबाङलाई अझै क्रान्तिको चिन्ता मात्रै छैन, गहिरो उद्देलनसंगै बैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि बलिदानको उदात्त साहस र सौर्य छ । थबाङको सपना क्रान्तिको उद्दाम आकांक्षाले डोरिएको छ ।

थबाङले फेरिपनि क्रान्तिको प्रमिथस जन्माएको छ र ती प्रमिथसहरु तुफान बनेर चम्किरहने छन् । हाम्रा सपनाहरु अझै मरेका छैनन् । सपनाहरु नमरुन्जेल तुफान कसरी रोकिन्छ ? हामी यही आन्दोलित मनहरु र सपनाको सौन्दर्य बोकेर थबाङबाट फर्कियौं र कवि एवं समालोचक दिल साहनीका ‘रोल्पा’ कविताका यी पंक्तिहरु सम्झियौं–

रोल्पा मरेको छैन
रोल्पा मर्दा पनि मर्दैन
जङ्गेहरुका जङ्गी धावाहरुले
मात्र अलिकति घाइते भएको छ रोल्पा
गोली लागेको बाघ भएको छ रोल्पा ।
०००

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार