प्रधानमन्त्री पुष्पकमल दाहाल केही दिनपछि नै चीन भ्रमणमा जाँदैंछन् । पहिलो पटक प्रधानमन्त्री हुँदा उनले पहिलो विदेश भ्रमण चीनबाटै शुरु गरेका थिए । तर चीनवाट फर्कंदै गर्दा विमानस्थल मै उनले चीन भ्रमणलाई अनौपचारिक स्तरमा झारेर राजकिय भ्रमण भने भारतबाटै गर्ने भन्दै विवादास्पद मन्तव्य दिएका थिए ।

यसपल्ट प्रधानमन्त्री हुँदा दाहालले दुई पटक भारतको भ्रमण गरिसकेका छन् । तर चीन भ्रमण भने अहिले आएर मात्र गर्न लागेका छन् । चीन भ्रमणको लागि चीन सरकारले वोआओमा हुन लागेको एक सम्मेलनमा विशेष वक्ताको रुपमा दाहाललाई निम्तो दिएको छ । यसै बहानामा प्रधानमन्त्री दाहालले चिनियाँ उच्च नेतृत्वसंग पनि वार्ता गर्ने अवसर जुटाउन खोजेको समाचार सार्वजनिक भैरहेको छ । यस्तो उच्च स्तरीय वार्ताका लागि दाहालले अहिले मरिहत्ते गरिरहनुको कारण के होला ? उनले प्रधानमन्त्रीको कुर्सी देउवालाई हस्तान्तरण गर्न दुई महिना मात्र बाकी छँदा किन चिनियाँ उच्च नेतृत्वसंग दर्शनभेटको लागि बिन्तिभाउ गरिरहेका छन् ?
दाहालले किन चीन भ्रमणका लागि प्रधानमन्त्री भए लगत्तै प्रयास गरेनन् र अहिले आएर मात्र किन हतारमा चीन यात्राको तयारी गर्दैछन् ? प्रधानमन्त्री दाहाल अहिले जीवनको सवैभन्दा गम्भीर संकटमा छन् । दोश्रो संविधानसभावाट शर्मनाक पराजित भएर तेश्रो दलमा झरेपछि भारतीय आशिर्वादवाट बल्लतल्ल प्रधानमन्त्री भएका दाहाल सामु एकातिर स्थानिय निर्वाचन गराउन पर्ने बाध्यता छ भने अर्को तिर मधेशी मोर्चाको बहिष्कार तथा चुनाव हुन नदिने घोषणाको कसरी सामना गर्ने भन्ने चिन्ता पनि छ । दाहाल अहिले मधेसी मोर्चाको बहिष्कार आन्दोलन, एमालेको चुनाव गराउने दवाव र कांग्रेसको प्रधानमन्त्री पद हस्तान्तरण गर्ने दवावको त्रिकोणिय आन्तरिक दवावमा पिल्सिएका छन् । दाहालको लागि आफैले पेश गरेको संविधान संशोधन प्रस्ताव आफ्नै लागि एम्बुस बन्न लागेको अनुभूति भैरहेको छ ।
भारतको केही महत्वपूर्ण प्रान्तहरुमा भएको चुनावमा मोदीको दलले प्राप्त गरेको विजय तथा उत्तर प्रदेशमा कट्टर हिन्दूवादी योगीलाई मुख्यमन्त्री बनाइएको घटनाले मोदी थप शक्तिशाली बनेको र उनको कट्टर हिन्दूवादी राजनीति अझ अगाडि वढ्ने तथा त्यसको प्रभाव स्वरुप नेपालको राजनीतिमा पनि मोदीको हस्तक्षेप अझ वढ्ने तथ्य दाहालले राम्रैसंग बुझेका छन् । चीनतर्फ ढल्केको ओली सरकार ढाल्न मोदी र देउवाको शिखण्डिको रुपमा प्रयोग भएका दाहालले अहिले आएर मोदी र देउवाले आफुलाई अप्ठेरो पार्दै लगेको अनुभूति गर्न थालेको देखिन्छ । आफुले पेश गरेको संविधान संशोधनको प्रस्तावमा दुई तिहाइ पु¥याउन मोदी र देउवाले सक्रिय सहयोग नगरेको दाहालको गुनासो छ । साथै आफ्नो मध्यमार्गी प्रस्तावको पक्षमा मधेशी मोर्चाको समर्थन सम्म पनि नजुटाइ उल्टै मधेशी मोर्चालाई आफ्नो विरुद्ध भारतीय सत्तापक्षले उचालेको आरोप पनि दाहालले आफु निकट नेताहरुलाई सुनाउन थालेका छन् ।
यति मात्र नभई दाहालले भारतलाई प्रयोग गरेर प्रधानमन्त्री बन्न सफल भइसकेको स्थितिमा अब परिस्थिति बदलिन थालेको आफु निकटहरुलाई बताउन थालेका छन् । उनले भारतीय कार्डको म्याद सकिन लागेको र अब चिनियाँ कार्ड खेल्न शुरु गर्न पर्ने बेला आएको बताउन थालेका छन् । उनको यही परिस्थिति बदलिएको मूल्यांकनको परिणाम स्वरुप नै अब दाहालले चिनियाँ कार्ड खेल्ने कोशिस गर्न थालेका हुन् । दाहालको लागि चुनाव गराउने घोषणा अग्नि परिक्षा बनेको छ । यसमा मोदीले दोहोरो भूमिका खेल्ने उनको आसंका छ । अर्थात एकातिर मोदीले मधेशी मोर्चालाई आन्दोलनका लागि प्रेरित गर्ने र मधेशमा चुनाव हुन नदिने तथा अर्कोतिर देउवालाई छिटो सत्ता हस्तान्तरण गर्न दवाव दिने नीति अपनाइ रहेको मूल्यांकन दाहालको छ ।
एकपटक बजेट पेश गरेपछि देउवालाई सत्ता हस्तान्तरण गर्छु भन्दा पनि देउवाले र मोदीले नमानेको कुराले दाहाललाई मुटु मै बिझिरहेको छ । दाहाल कुर्सी छोड्न चाहँदैनन् । तर यसका लागि अब भारतीय कठपुतली बनेर मात्र सम्भव छैन भन्ने उनलाई लागेको छ । दाहाल अब चिनियाँ कार्ड खेलेर प्रधानमन्त्रीको कुर्सी लम्व्याई कम्तिमा एकपटक वजेट पेश गर्ने र स्थानीय चुनाव गर्ने रणनीति बनाउन लागेका छन् । उनको चीन भ्रमणको समाचार आउने वित्तिकै ओलीले शुरुवात गरेको पारवहन सन्धीको बाँकी काम दाहालले पुरा गरोस र केरुङ काठमाण्डौं पोखरा लुम्बिनी रेल परियोजनाबारे ठोस सम्झौता होस् भन्ने चाहना सहितका विचारहरु प्रसस्त बाहिर आएका छन् । भारतीय नाकावन्दीको मार खपेका नेपालीहरुवाट यस्तो चाहना व्यक्त हुनु स्वाभाविक हो । तर दाहालको नियत भने आफ्नो कुसी लम्ब्याउन चिनियाँ सहयोग पाइन्छ कि भन्नेमा अड्किएको छ अरु कुरामा उनको चासो कुर्सीको सहयोगी स्तरमा मात्र रहेको छ ।
यदि चीनले उनको कुर्सी लम्ब्याउन सहयोग गर्ने भएमा जस्तो सुकै सम्झौता पनि गर्न तयार हुनेछन् नभए उनले केवल राजनैतिक प्रचारवाजीका लागि मात्र वर्तमान चीन भ्रमणको प्रयोग गर्नेछन् । भनिन्छ कि आर्यघाट पुगेपछि मात्र कयौं मानिसहरुको होस खुल्ने गर्दछ र आफ्नो गल्तीहरु महसुस गर्न थाल्ने हुन्छ । दाहालको हालत पनि यस्तै रहेको छ । प्रधानमन्त्रीको कुर्सी गुम्न लागेपछि मात्र बल्ल दाहाललाई भारतीय संस्थापन पक्षले उचालेर पछार्न लागेको थाहा पाउन लागेका छन् । दाहाललाई ओलीले त्यही बेला नै चीनका राष्ट्रपतिको नेपाल भ्रमणको समय सम्म आफैलाई(ओलीलार्इ ) नै प्रधानमन्त्रीमा सहयोग गर्न तथा चीनका राष्ट्रपतिको नेपाल भ्रमण पछि दाहाललाई नै प्रधानमन्त्री बन्न ओलीले सहयोग गर्ने प्रस्ताव राखेका थिए । चीनका राष्ट्रपतिको नेपाल भ्रमण त्यसबेला हुन पाएको भए पारवहन सन्धीले अन्तिम टुंगो पाउने थियो र केरुङ काठमाण्डौं पोखरा लुम्बिनी रेलवे सम्झौताले पनि ठोस रुप लिने थियो र नेपाल चीन भारतको सम्वन्ध र नेपालको भू-राजनीति नै अर्को उचाइमा पुग्ने थियो । तर भारतीय संस्थापन पक्षको उक्साहटमा दाहालले ओली ढाल्न शिखण्डीको भूमिका खेले । यसले गर्दा नेपालको राजनैतिक अस्थिरता र संकट वढेको छ र अहिले पनि न यताका न उताका बनेका छन् र नेपाली जनताले दाहाललाई भारतीय दलाल तथा लम्पसारवादको नमूनाको उपमा दिएका छन् ।
दाहालले अहिले चीनको समर्थन खोज्न हतारमा प्रयासहरु तीब्र वनाएतापनि चीनले भने उनलाई शंका कै नजरले हेरिरहेको देखिन्छ । चीनले बरु सबै दलहरुसँग सम्वन्ध र सम्पर्क बढाइरहेको देखिन्छ र नेपाली सेना र प्रशासनसँग पनि रणनैतिक सम्वन्ध विस्तार गर्न प्रयास गरिरहेको देखिन्छ । साथै नेपालको मामिलामा भारतसंग पनि सहकार्य गर्न उच्च स्तरिय संवादमा पनि रहेको देखिन्छ । चीनले भारतसंगको सम्वन्ध पनि नयाँ स्तरमा लैजान प्रयास गरिरहेको स्थितिमा नेपालको कारणले भारतसंगको सम्वन्ध नविग्रियोस् भन्नेमा पनि सतर्क रहेको देखिन्छ । अमेरिकामा नयाँ राष्ट्रपति आएपछिको अप्ठेरो समयलाई ख्याल गर्दै चीनले भारतलाई पनि सन्तुलनमा राख्न चाहिरहेको देखिन्छ । यस्तो स्थितिमा चीनले दाहाललाई देखाउनका लागि रातो कार्पेट विछाएपनि मन खोलेर सबै कुरा गर्ने र जस्तो सुकै परेपनि दाहाललाई काँध थापेर कुर्सी लम्ब्याउन सहयोग गर्ने सम्भावन कमै देखिन्छ ।
दाहालले पटक पटक चिनियाँ नेतृत्वको विश्वासमाघात गरेको कारणले पनि चिनियाँ नेतृत्व दाहालदेखि सतर्क रहेको देखिन्छ । दाहालले चीनमा गएर एउटा कुरा गर्ने र भारत गएर चीन विरुद्धको योजनामा सामेल हुने गरेको यथार्थता हो । साथै जनयुद्धको बेलामा चीनले साथ नदिएको र बरु भारतले नै केही सहयोग गरेको गुनासो पनि दाहालको रहने गरेको भनिन्छ । यस्तो जटिल चीन-दाहाल सम्वन्ध अहिलेको अझ जटिल बन्दै गैरहेको नेपालको राजनैतिक अस्थीरताको समयमा सुध्रने आशा कमै मात्र गर्न सकिन्छ ।
तर पनि राजनीति सम्भावनाको खेल भने झैं दाहालले चिनियाँ नेतृत्वलाई विश्वास दिन सके तथा चिनियाँ नेतृत्वले पनि दाहाललाई एक हदसम्म विश्वास गरेर नयाँ रणनीति बनाए भने नेपाली राजनीतिले कोल्टे फेर्न पनि सक्नेछ ।
श्रेष्ठ दृष्टी साप्ताहिकका नियमित स्तम्भकार हुन् ।







