थबाङ महाधिवेशन सम्पन्न भएको एक महिना पूरा भएको छ । फागुन ५ देखि १० सम्म चलेको कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनले लिएका कयौं दुरगामी निर्णयले देश र विदेश सबैतिर नयाँ तरंग पैदा गरेको छ ।

‘मालेमावादको विकास गरौं’ भन्ने मुल नाराकासाथ सम्पन्न महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनमा त ठूलो तरंग ल्याउने नै भयो, त्योसँगै विश्व कम्युनिस्ट आन्दोलनमा पनि नयाँ तरंग पैदा गरेको छ । चीनमा माओको निधन (सन् १९७६) पछि विश्व कम्युनिस्ट आन्दोलनमा पैदा भएका वैचारिक तथा राजनीतिक एवं कयौं संकटलाई एकैचोटी प्रश्न र उत्तर दिनेगरी नेपाल कम्युनिस्ट पार्टीले महान् बहसको आरम्भ गरेको छ । यो आफैमा निकै दुरगामी र ऐतिहासिक छ ।
अर्को महत्ववपूर्ण के छ भने यो महाधिवेशनले बहस मात्र गरेन, नेपालमा प्रचण्ड–बाबुरामद्धारा दशवर्षे जनयुद्धलाई दिएको धोका र गद्धारीका विरुद्ध निर्मम रुपले संघर्ष गर्ने र जनयुद्धका बाँकी कार्यभारलाई एकीकृत जनक्रान्तिको कार्यदिशाबाट पूरा गर्ने दाङ सम्मेलनको निर्णयलाई निरन्तरता दिएको छ । यसबारे धेरै चर्चा गर्न जरुरी छैन, किनकि पार्टीले यथेष्ट बहस र चर्चा गरिसकेको छ ।
थबाङ महाधिवेशनले यसपटक कयौं विषयमा बहस गर्यो । त्यसमा मुलत तीन–चारवटा विषयमा गंभीर बहसको ढोका खोेलेको छ । त्यसमा पहिलो, लेनिन र माओपछिको उत्तर साम्राज्यवादले पैदा गरेको चुनौतीलाई कसरी सामना गर्ने ? दोस्रो, बीसौं शताव्दीको अन्त्यतिर खासगरी ९० को दशकमा सोभियत रुसको समाजवादी सत्ता कसरी विघटन हुन पुग्यो ? तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा नेपालको दश वर्षे जनयुद्ध जित नजिक पुगेर पनि शान्तिप्रक्रियामा आएर किन धक्का खान पुग्यो ? यसबाहेक आजको नेपालको सन्दर्भमा क्रान्तिकारी पार्टीको न्युनतम कार्यक्रम नौलो जनवाद या समाजवाद के हुन्छ ? अनि एकीकृत जननक्रान्तिको कार्यदिशालाई कसरी ठोस गरेर जाने लगायत विषयमा थबाङ महाविधेशनले विहंगम बहस गरेको छ ।
१९ औं शताव्दीको मध्यतिर खासगरी सन् १८४८ मा ‘कम्युनिस्ट मेनिफेष्टो’मार्फत् कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले यो विश्वलाई बुझ्न र बदल्न सकिन्छ भन्ने महान् विचारको प्रक्षेपण गरे । माक्र्सले भने– ‘यो विश्वलाई दार्शनिकहरुले विभिन्न किसिमले व्याख्या र विश्लेषण गरेका छन् तर मुख्य कुरा बदल्नु हो ।’ १७ औ र १८ औं शताव्दीमा पुँजीवादी क्रान्तिले ल्याएको राजनीतिक क्रान्तिभन्दा माक्र्सले लिएको विचार सामाजिक विज्ञानमा ठूलो क्रान्ति नै थियो । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा सिद्धान्तको विकास गरेर माक्र्सले विश्व मानवजातीलाई मुक्तिको बलियो हतियार प्रदान गरिदिए । यो विचार नै मानवजातीको इतिहासमा सबैभन्दा युगान्तकारी थियो । यही विचार पछि माक्र्सवादमा अनुवाद हुन पुग्यो ।
माक्र्सको यही विचारमा टेकेर फ्रान्सको पेरिसमा सन् १८७१ मा मजदुरहरुले पुँजीवादी सत्तामाथि धावा बोलेर सत्ता कब्जा गरे र त्यो ७२ दिनमात्र टिक्न सक्यो । त्यसबाट पाठ सिकेर क्रान्तिकारी कम्युनिस्टहरुले रुसमा सन् १९१७ मा लेनिनको नेतृत्वमा सबैभन्दा व्यवस्थित र बलियो क्रान्ति गरे । क्रान्तिपछि रुसको कम्युनिस्ट सत्ताले विश्वमा पुँजीवादीहरुले चार सय वर्षमा गर्न नसकेको विकास र चमत्कार चार दशकमा गरेर विश्वमा उथलपुथल ल्याइदियो । त्यसैगरी यता एशियाको जनसंख्यामा निकै ठूलो तर राजनीतिक र आर्थिक रुपले निकै पछि परेको चीनले सन् १९४९ मा नयाँ जनवादी क्रान्ति गरेर सिंगो एशियालाई आमुल परिवर्तनको बाटो देखाइदियो । रुस र चीनका यी दुबै क्रान्ति २० औं शताव्दीको प्रारम्भ र मध्यतिर भएका थिए । यीबाहेक दोस्रो विश्वयुद्धको आरम्भ र अन्त्यसँगै भियतनाम (सन् १९४५) र उत्तर कोरिया (सन् १९४७) मा पनि निकै मौलिक ढंगले क्रान्ति भयो । दोस्रो विश्वयुद्धको अन्त्यको एक दशकपछि क्युवामा सन् १९५९ मा भएको क्रान्ति पनि निकै रोचक र अद्भुत खालको छ ।
यी सबै क्रान्तिहरु २० औं शताव्दीको प्रारम्भहुँदै मध्य र उत्तराद्र्धतिर भएका थिए । रुसमा सन् १९१७ मा क्रान्ति भएको थियो भने क्युवामा सन् १९५९ मा । जुन बेलासम्म माओ ज्युँदै थिए । तर चिनियाँ क्रान्ति तथा माओको निधन (सन् १९७६) पछि संसारमा दर्जनौ संख्यामा भएका क्रान्तिहरु किन सफल हुन सकेनन् ? खासगरी, बर्मा, मलाया, फिलिपिन्स, कोलम्बिया, टर्की, पेरुलगायतका देशमा संचालन भएका जनयुद्धहरुले किन धक्का खाए ? यसबारे नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि गहिरो र गंभीर ढंगले बहस चलाउँदै आएको छ । माओपछि आजको विश्वमा कतै पनि सर्वहारा क्रान्तिले सफलता प्राप्त नगर्नुमा विचारको विकासमा अभाव रह्यो भन्ने थबाङ महाधिवेशनको बहसको मुख्य केन्द्रविन्दु रह्यो । त्यसैले महाधिवेशनले मालेमावादी विचारमा विकास गरौं भनेर महान् बहसको ढोका खोलेको छ ।
महाधिवेशनले विचारको विकास गरौं भन्ने मुल मर्मभित्र रहेर मुख्यतः तीन प्रश्नमा बहस केन्द्रीत गर्यो । पहिलो– के हामी उत्तर साम्राज्यवादले थोपरेको चुनौतीबारे । विश्वमा पुँजीवादको उत्थान १५ औं र १६ औं शताव्दीदेखि भएको मानिन्छ । आधुनिक पुँजीवाद या व्यापारिक पुँजीवादको विकास १६ औं शताव्दीदेखि १८ औं शताव्दीहुँदै १९ औं शताव्दीसम्म कायम भएको देखिन्छ । यही समयमा कार्ल माक्र्सले पुँजीवादको गहन अध्ययन गरेर वैज्ञानिक समाजवादको सिद्धान्त विकास गरे । पछि २० औं शताव्दीको आरम्भमा खासगरी सन् १९१६ मा पुगेर लेनिनले पुँजीवादको विकास चरमत्कर्ष साम्राज्यवाद भनेर नयाँ संश्लेषण गरे । उनले साम्राज्यवादलाई ‘पुँजीवादको उच्चतम अवस्था’ भनेर किताबै लेखे ।
तर आज आउँदा लेनिनले साम्राज्यवादलाई पुँजीवादको अन्तिम अवस्था भनेर विश्लेषण गरेको एक सय वर्षसम्म पनि किन र कसरी टिकिरहेको छ ? किन मरणसान्न साम्राज्यवाद बाँचरिहेको छ ? यसलाई नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव विप्लवले उत्तर साम्राज्यवाद भनेर विश्लेषण गरेका छन् । उत्तर साम्राज्यवादले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र सुचना प्रविधिमा ठूलो परिवर्तन ल्याइदिएको छ । खासगरी ८० को दशकपछि नयाँ राजनीतिक र आर्थिक सम्वन्धको विकास, नयाँ वर्ग र समाजको विकास, विज्ञान र प्रविधिको उच्च विकास, नयाँ संस्कृति र उच्च सूचना प्रविधिको विकासमा साम्राज्यवादले आफुलाई विकसित र परिवर्तन गर्यो । जुन परिवर्तनले साम्राज्यवाद बाँचिरहेको छ । यसलाई चिन्न नसक्दा आजका केही कम्युनिस्ट (माओवादी)हरु रणभुल्लमा छन् । उत्तर साम्राज्यवादको चरित्रलाई पार्टीले थबाङ महाधिवेशनबाट अझ ठोस ढंगले चिरेर जाने मर्म बोकेको छ ।
२० औं शताव्दीको पूवाद्र्धमा कम्युनिस्ट समाजावादी सत्ताको उदय भएदेखि त्यसले झण्डै आधा शताव्दी (४० वर्षको बीच) मा विश्व रंगमंचमा उथलपुथल ल्यायो । विकास, समृद्धि र विज्ञान–प्रविधिमा अमेरिका र बेलायतजस्ता मुलुकले चार सय वर्षमा गर्न नसकेको काम कम्युनिस्ट मुलुक सोभियत रुस (सन् १९१७–१९५३) ले चार दशकमा विकास गरेर चमत्कार गर्यो । यो कम चानचुने थिएन । तर यत्रो चमत्कार गरेको सत्ता पछि ९० को दशकमा पुगेर किन विघटन भयो ? यो प्रश्नले आजका क्रान्तिकारी कम्युनिस्टहरुलाई झस्काईरहन्छ । यसबारे थबाङ महाधिवेशनले सोभियत सत्ता ढल्नुका केही कारणहरु यसरी उल्लेख गरेको छ । त्यसमा मुलतः रुसमा समाजवादी सत्ता सृदृढ नहुँदै लेनिनको गोली लागेर निधन हुनु, लेनिनपछि स्टालिनलगायतका क्रान्तिकारीहरुमा समाजवाद सत्ता संचालनको अनुभव नहुनु, पार्टीमा पैदा भएको संशोधनवादी प्रवृतिसँग सही ढंगले संघर्ष संचालन गर्न नसक्नु, दोस्रो विश्वयुद्धको आरम्भसँगै पार्टी र सिंगो देश जर्मन साम्राज्यवादसँग भीषण विश्वयुद्धमा सहभागी हुनु, जुन युद्धमा रुसका अढाई करोड मान्छेले बलिदान गरे । यसरी बाह्य र आन्तरिक संघर्षलाई कम्युनिस्ट पार्टीले सही ढंगले संचालन गर्नमा अपुगता देखिनु । त्यसलाई अझ मूर्तकृत गर्दा वैज्ञानिक समाजावादी सत्ता संचालनको विधि र पद्धतिको विकासमा कमजोरी रहन देखियो ।
खासगरी कम्युनिस्ट सत्ताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा परिवर्तन गरेर जान नसकेको देखियो । यसलाई महासचिव विप्लवले सोभियत सत्ता ढल्नुका कमजोरीबारे औल्याएका छन्– पहिलो, वैचारिक र राजनीतिक कमजोरी, दोस्रो आर्थिक प्रणालीमा रहेको कमजोरी, तेस्रो, अन्तराष्ट्रिय नीति र सम्वन्धमा त्रुटी र चौथो, सांस्कृतिक प्रणालीमा रहेको कमजोरी । यसबाहेक विचार कार्यान्वयनको समस्या, समाजावादी सत्ता संचालनको पद्धतिमा रहेको समस्या र सत्ता संचालनमा प्रणाली र पद्धतिको अभावलगायत कमजोरी रहेको कुरा महासचिव विप्लवले खोट्याएका छन् । यी कमजोरीहरु खोट्याएर पार्टीले अबको समाजवादी सत्तामा राजनीतिक, सांगठनिक (नेतृत्व), आर्थिक र संस्कृतिमा थप विकास गरेर जानु पर्नेमा जोड दिएको छ । राजनीतिमा सत्ताको सैद्धान्तिक प्रश्नमा विकास गर्ने, सत्तामा जनप्रतिनिधिको विकास, प्रतिनिधिसभामा समानुपातिक र समावेशी सहभागिता र प्रतिआव्हानको सुनिश्चितताको विकास गर्नुपर्नेमा पार्टीले गंभीरतापूर्वक लिएको छ । आर्थिक क्षेत्रमा पुँजीको उत्पादनसम्वन्धी धारणालाई नयाँ ढंगले व्याख्या गर्नुपर्ने, नीजि पुँजी र सार्वजनिक पुँजीको स्वतन्त्रतालाई ग्यारेन्टी गर्ने, पुँजीको पारदर्शिता र प्रतिस्प्रधालाई सही ढंगले संमायोजन गरेर जान सकेमात्र समाजवादलाई टिकाउन सकिने महाधिवेशनको जोड छ । नेतृत्व (संगठन) को सवालमा समाजवादी सत्तामा नेतृत्वको छनोट, निर्माण र विकासलाई नयाँ ढंगले लैजानुपर्नेमा पार्टीले गंभीरतापूर्वक लिएको छ । त्यसका लागि नेतृत्वमा संस्थागत प्रणालीको विकास र प्रतिस्प्रधात्मक पद्धतिलाई सँगसँगै लैजानु पर्नेमा पार्टीको जोड रहेको छ ।
सबैभन्दा महत्वपूर्ण सवाल नेपालको दश वर्षे माओवादी जनयुद्धले किन धक्का खायो भन्नेबारे पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस गरेर यसलाई अझ विकास गरेर जानेमा जोड दिएको छ । माओको निधनपछि संसारमा कुनैपनि कम्युनिस्ट पार्टीहरुले विचारको विकास गरेर जानेबारे सोच्नै सकेनन् । या त कि माओकै दीर्घकालनी जनयुद्ध (सन् १९३८)को बाटो समाउने या नयाँ र मौलिक बन्ने नाममा दक्षिणपन्थी बाटो अपनाउने समस्या रह्यो । यो विचारणीय पक्ष छ कि चिनियाँ क्रान्ति (सन् १९४९) पछि क्युबा (सन् १९५९) बाहेक विश्वमा कतैपनि क्रान्ति हुन सकेनन् । खासगरी ५०, ६० र ७० को दशकमा बर्मा (सन् १९४८–१९५०), मलाया (सन् १९६०–१९६८), फिलिपिन्स (सन् १९७०–२०१७), टर्की (सन् १९८०), कोलम्बिया (सन् १९६४–२०१६) पेरु (सन् १९८०–९२), भारत (सन् १९६७–२०१७) लगायतका मुलुकमा भएका जनयुद्धहरुले धक्का खान पुगे ।
त्यसमा मुलतः दीर्घकालीन जनयुद्धको हुबहु नक्कल गर्न खोज्नुले धक्का खानु परेको देखिन्छ । नेपाल (सन् १९९६) मा संचालन भएको जनयुद्धलाई बदलिएको विश्वको अर्थ–राजनीतिक परिवर्तनसँगै कार्यदिशामा विकास गर्नै पर्ने थियो । चुनबाङबाट थोरै प्रयत्न गरेपनि पछि आएर प्रचण्ड–बाबुरामले विचलनको बाटो रोजे । यसमा प्रचण्ड–बाबुरामले नयाँ गर्ने नाममा दक्षिणपन्थी बाटो समाते र मोहन वैद्य किरणले उही पूरानो सिद्धान्तको रटान लगाए । यही क्रममा प्रचण्ड–बाबुरामको आत्मसमर्पणवादका कारण जनसेना, जनसत्ता र आधारइलाकाहरु गुम्न पुगे । यस्तो बेला क्रान्तिकारी युवा नेता विप्लवको नेतृत्वमा रहेको पार्टीले कार्यदिशामा सिफ्ट ग¥यो । यसो गर्न नसकेको भए विप्लव नेतृत्वको पार्टी पनि वैद्यको बाटोहुँदै प्रचण्ड–बाबुरामको विचलनको बाटो समाउनु पर्दथ्यो । अझ बाँकी रहेका क्रान्तिकारी उपलव्धिहरु पनि गुम्न जान्थे ।
यसरी नेपाल कम्युनिस्ट पार्टीले थबाङ महाधिवेशनबाट निकै दूरगामी निर्णयहरु गरेर नेपालको माओवादी आन्दोलनलाई नयाँ सन्देश दिएको छ ।
sudarshanmangol@gmail.com







