जब ट्रम्पले अमेरिकी सत्तामा पाइला टेके । धेरैले अमेरिका र विश्व उदार पुँजीवादको पतनको दिन शुरु भयो भनेर विश्लेषण गर्न थालेका छन् । हुन पनि त्यस्तै देखिदैछ ।

९० को दशकमा सुरु भएको उदार पुँजीवादको पतन उदार पुँजीवादी ट्रम्पको पालामा हुने विश्लेषकहरुको भनाईलाई पुष्टि गर्नेगरी अहिले पछिल्लो घटनाले देखाइरहेका छन् । पछिल्लो सिरिया आक्रमणको घटना होस् या कोरियाली प्रायदीपमा अमेरिकी सेनाको तैनाथ । जसले पैदा गरेको संभावित युद्धको तनाव । यही तनावले ठूलो युद्धको रुप लिने र त्यो तेस्रो विश्वयुद्धको स्वरुपमा जान सक्ने आकलनहरु पनि छन् ।

जे भएपनि ट्रम्प आफ्नो संकटलाई निरर्थक रुपमा टार्न सिरियामा मिसाइल आक्रमण गर्दै कोरियाली प्रायदीपमा आफ्ना नौसैनिक उतारेर उनी थप समस्या र युद्ध निम्ताउन उद्यत छन् ।

सिरिया घटनामा अमेरिकाले गरेको निर्लज्ज आक्रमणलाई रुस, इरान, उत्तर कोरिया अनि चीनले विरोध र भत्र्सना गरेका छन् । रुसले अमेरिकी मिसाइल आक्रमणलाई सार्वभौम मुलुकमाथिको ठाडो हस्तक्षेप भन्दै तीव्र रुपमा भत्र्सना गरेको छ । रुसले सिरिया आक्रमणलाई इराक आक्रमणको संज्ञा समेत दिएको छ ।

यता इरानले पनि सिरिया आक्रमणलाई अमेरिकाको एकपक्षीय सैन्य आक्रमण भन्दै घोर निन्दा गरेको छ । यस्तो आक्रमणले ‘खराब परिस्थिति’ मात्र पैदा गरेको भन्दै इरानले कडा रुपमा अमेरिकी आक्रमणको विरोध गरेको छ । अमेरिकासँग ७० वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष युद्धमा रहेको उत्तर कोरियाले सिरिया आक्रमण एउटा ‘सार्वभौम र स्वतन्त्र मुलुकमाथि अचाक्ली र असैह्य’ कदम भन्दै निन्दा गरेको छ । कोरियाले सिरियामा अमेरिकी आक्रमणले ऊ कतिसम्म आणविक हतियार निर्माणमा लाखौं गुणा अगाडि छ भन्ने कुरा पुष्टि भएको बताएको छ ।

सिरियामा अमेरिकाले ७ अप्रिलमा मिसाइल आक्रमण गरेको तीन दिनपछि चीनले पनि त्यसको जोडदार रुपमा विरोध गरेको छ । अमेरिकाले सिरियामा आक्रमण गरेको अर्को दिन चिनियाँ राष्ट्रपति सि जिन पिङ अमेरिका भ्रमणमा रहेका कारण सि चीन फर्के लगत्तै चीनले सिरिया आक्रमणको विरोध गरेको हो । १० अप्रिलमा चिनियाँ विदेश मन्त्रालयले एक विज्ञेप्ती जारी गर्दै सिरियाको सार्वभौमसत्तामाथि आक्रमण बेठीक भन्दै नरम भाषामा कडा आपत्ति जनाएको छ । चीन सधै ‘सैनिक बलबाट नभई राजनीतिक तवरले हल गर्न चाहन्छ’ भन्दै उसले सिरियाको भविष्य सिरियाली जनताले मात्र हल गर्न सक्ने बताएको छ ।

त्यसो त युरोपेली गठबन्धनको मुख्य पार्टनर एवं अमेरिकी निकट रहेको जर्मनले समेत सिरियामा अमेरिकी आक्रमणलाई घुमाउरो ढंगबाट विरोध गरेको छ । अमेरिकाले सिरियामा आक्रमण गरेलगत्तै जर्मन चान्सलर एन्जेला मर्केलले सिरियाली राष्ट्रपति बसर असादलाई सैन्य बलबाट भन्दा राजनीतिक तबरले मिल्काउन सकिने बताएकी छिन् । उनले अमेरिकाले हठातमा सैन्य आक्रमण गर्नु बेठीक रहेको तर्क कुटनीतिक तबरबाट व्यक्त गरेकी छिन् ।

साम्राज्यवादीहरु राजनीतिक संकटलाई हल गर्न सैन्य बलको सहारा लिन्छन् भन्ने घटना सिरियामा अमेरिकी आक्रमण हो । राजनीतिक र आर्थिक रुपले संकटमा रहेको अमेरिका त्यसको हल सैन्य ढंगले हुन्छ कि भनेर सिरियामा मिसाइल आक्रमण गर्न पुगेको छ ।

पुँजीवादमा जब संकटहरु आउन थाल्छन्, पुँजीवादी शासकहरु त्यसको हल युद्धको बाटो अबलम्बन गर्न पुँग्छन् । त्यसको ज्वलन्त उदाहरण पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) र दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) लाई हेरे पुग्छ । १९ औं शताव्दीको उत्तराद्र्धतिर पुँजीवादमा संकट आएपछि त्यसको निरर्थक हल गर्न २० औं शताव्दीको पूवाद्र्धतिर पुँजीवादीहरुले निम्ताएको पहिलो विश्वयुद्ध हो । जसबाट पुँजीवादीहरुले मानवजातीलाई ध्वंश र अध्यारो सुरुङतिर जर्बजस्त धकेल्ने काम गरे ।

दोस्रो विश्वयुद्ध पनि त्यसैको परिणाम थियो । सन् १९३० र ४० को दशकमा पुँजीवादमा आएको आर्थिक संकटलाई हल गर्न पुँजीवादीहरुले सन् १९३९ मा पुगेर विश्वयुद्धमा विश्व मानवजातीलाई धकेले । जुन युद्धमा करोडौं मान्छेको निरर्थक बलिदान हुन पुग्यो । खर्बौ डलर नष्ट भयो । ती सबै ट्रम्पजस्तै बहुलठ्ठीपूर्ण पुँजीवादी अन्धो शासक भएका कारण त्यस्तो घटना घट्न पुग्यो ।

इतिहासको पुनरावृति हुँदैन विकास हुन्छ भनेजस्तै ट्रम्पले पनि इतिहासमा नयाँ ट्रेन्डको विकास गरेर उही युद्धको बाटो अपनाउन पुगेका छन् । सिरिया आक्रमणपछि कोरियाली प्रायदीपमा आफ्ना सेनाहरुलाई तैनाथ गरेको अमेरिका त्यहीबाट अर्को विश्वयुद्ध त चाँहिरेका छैनन् भन्ने परिदृश्यहरु देखा परेको छ । कथंकदाचित ट्रम्पकै कारण निकट भविष्यमा तेस्रो विश्वयुद्ध हुन भयो भने त्यसलाई कुनै अचम्म नमाने हुन्छ ।
इतिहासमा यस्तै त भएका छन् । पहिलो विश्वयुद्धका कैसर ह्विेलम हुन् या दोस्रो विश्वयुद्धका हिटलर । ती दुवै स्वाँठ र बहुलठ्ठीखालका शासकहरुको कारण इतिहासमा दुईपटक विश्वयुद्ध हुन पुगे । अहिले पनि ट्रम्पजस्ता मुर्ख र स्वाँठ अमेरिकी शासक हुन आइपुग्नुका कारण पनि विश्व क्रमश त्यतैतिर जाने त होइन भन्ने प्रश्नहरु उठ्न थाल्नु कुनै अस्वभाविक छैन ।

पहिलो र दोस्रो विश्वयुद्धमा जर्मन शासक ह्विेलम होस् या हिटलर, ती दुवै अन्धराष्ट्रवाद र तानाशाही शासकका कारण उनीहरुको पतन जसरी भयो अहिले अमेरिकी शासक ट्रम्पले त्यही बाटो पछ्याइरहेका छन् । आफ्नो पतनलाई रोक्न युद्ध रोज्नु पुँजीवादी शासकहरुको अन्तिम अस्त्र रहेको देखिन्छ । अहिले त्यही भइरहेको छ ।

अमेरिकामा पैदा भएको राजनीतिक र आर्थिक संकट हल गर्न ट्रम्पले ‘पहिलो अमेरिका’को नारा दिएर अन्धराष्ट्रवादी हिटलरको मार्ग समाइरहेका छन् । ठ्याक्कै हिटलरजस्तै स्वाँठ र मुर्ख अनि बहुलठ्ठी चरित्र बोकेका ट्रम्पको बाटो अन्तत पतनको बाटो हो भन्ने कुरा विश्वका राजनीतिक विश्लेषकहरुले उनी सत्तामा आइसकेलगत्तै निचोड निकाली सकेका हुन् ।

ट्रम्प अमेरिकी सत्तामा आइसकेपछि उनले विश्वमा कतै पनि राम्रो मित्रता कायम गर्न सकिरहेका छैनन् । आफ्ना गठबन्धन मुलुक भनिएका युरोप हुन् या ल्याटिन अमेरिकी मुलक । चाहे त्यो मध्यपूर्व होस् या अफ्रिकी मुलुक । अनि यता आएर एशियामा पनि कतै राम्रो सम्वन्ध रहेको देखिदैन । कतै पनि ट्रम्पले आफ्नो शासकीय छवी देखाउन सकेका छैनन् ।

पश्चिमी मुलुकका आफ्ना सहकर्मीहरुलाई विश्वासमा लिन नसकेका ट्रम्प राष्ट्रपति निर्वाचन बेला र पछि पनि रुससँग सम्वन्ध सुधार्न आफु इच्छुक रहेको बताएका थिए । राष्ट्रपति निर्वाचनमा ट्रम्पको जितमा रुसको सहयोग कतै न कतै देखा पर्छ । तर ट्रम्प यति कृतघ्न होलान् भनेर संभवत रुसले चिताएकै थिएन होला । यस्तो बेला ट्रम्पको ठाडो आदेशमा सिरियामा मिसाइल आक्रमण हुनु, कोरियाली प्रायदीपमा सेना तैनाथ गर्नु । यी परिदृश्यहरुले ट्रम्प विश्वमा मित्रता होइन शत्रुता बढाएर युद्ध चाहन्छन् भन्ने देखा परेको छ ।

ट्रम्पले विश्वमा शत्रुता बढाइरहेको बेला यता रुस, चीन, इरान र उत्तर कोरियाजस्ता विश्वका शक्तिशाली मानिने देशहरु फेरि एक ठाउँमा आइपुगेका छन् । साँच्चिकै अमेरिकाले युद्ध नै चाहने हो भने त्यसको जस्तोसुकै जबाफ दिन यो गठबन्धन आफै सक्षम र तयार भएको शक्ति हो ।
चीनसँग अथाह पैसा र सैन्य शक्ति छ । रुससँग निकै अत्याधुनिक फौजी शक्ति छ । इरान र उत्तर कोरियाले आफै एक्लैले अमेरिकालाई ठाडो चुनौती दिइसकेका शक्ति हुन् । सैन्य विज्ञहरुले भन्ने गरेका छन्, रुसँग यति बलियो सैन्य शक्ति छ कि त्यसले युद्ध नै गर्ने हो भने युरोपका सबै मुलुकलाई आफै एक्लैले पराजित गर्न सक्छ । त्यसो त उत्तर कोरिया र इरानले आवश्यक परे युद्धमा अमेरिकालाई पराजित गर्न आफुहरु सक्षम रहेको कुरा बताइसकेका छन् ।

चीनको त के कुरा गर्नु । आर्थिक र सैन्य क्षेत्र दुवैबाट निकै ठूलो शक्ति आर्जन गरेको चीन विश्वका शक्तिशाली साम्राज्यका रुपमा चिनिएका अमेरिका, युरुपेली मुलुक, रुस र सबैलाई मिलाएर जान सक्ने क्षमता देखाइरहेको छ । तर पहिले युद्धको बाटो भन्दा राजनीतिक र आर्थिक क्षेत्रबाट पश्चिमाहरुदाई पराजित गर्ने चीनको प्राथमिकता रहेको देखिन्छ । जुन उसले त्यही बाटो अपनाएर शक्ति आर्जन गरिरहेको पनि छ ।
पछिल्लो अमेरिकी कदमले ऊ विश्वबाट एक्लिदै छ नै, सँगै युद्धको बाटो अपनाएर आफ्नो संकट टार्न खोजिरहेको छ । तर यसको परिणाम अन्ततः पतन बाहेक अर्को विकल्प छदै छैन । जुन पतनले उदार पुँजीवादको अन्त्यसँग त्यसले विश्वमा फेरि कम्युनिस्ट समाजवादको उदय गराउने संभावना प्रबल बनेर गएको छ ।

पुँजीवादी अन्धराष्ट्रवादीहरुका कारण पहिलो विश्वयुद्धले रुसमा अक्टोबर क्रान्तिबाट सन् १९१७ मा कम्युनिस्ट सत्ताको उदय भयो । दोस्रो विश्वयुद्धका कारण चीनमा सन् १९४९ मा जनवादी क्रान्ति हुन पुग्यो । अहिले ट्रम्पले युद्धको जुन बाटो अपनाउन खोजिरहेका छन्, यसले अन्ततः झन् क्रान्तिकारी कम्युनिस्टहरुलाई नै फाइदा पुग्ने संभावना छ । ट्रम्पकै कारण युद्ध भइहाले त्यसले विश्वभरि फेरि कम्युनिस्ट समाजवादको लहर फेरि नयाँ शिराबाट जाने पक्का छ ।

किनकि अब पुँजीवादको आयु धेरै छैन । पुँजीवादले साम्राज्यवादहुँदै उत्तर साम्राज्यवादको रुप धारण गरेको यो अन्तिम प्रहर हो । अब यो भन्दा माथि जाने पुँजीवाद र साम्राज्यवादको अर्को बाटो नै छैन । अबको बाटो भनेकै कम्युनिस्ट समाजवाद अर्थात् वैज्ञानिक समाजवादको मात्र हो ।

अहिले पछिल्ला ट्रम्पको उत्ताउलो कदमले विश्व क्रमश विभाजित भनेर युद्धतिर जाने संकेत देखिएका छन् । परिदृश्यहरुले त्यस्तै देखाइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार