१ अक्टोबर, सन् १९९९ मा बीबीसीले ‘मार्क्स दी मिलेनियम्स ग्रेटेस्ट थिङ्कर’ अर्थात् ‘सहस्राव्दीका महान् विचारक  मार्क्स’ भन्ने शीर्षक दिएर समाचार लेख्यो । यो बीबीसीले मन्थली अनलाइनबाट गरेको भोटिङ निचोडका आधारमा थियो ।

सहस्राव्दी अर्थात् हजार वर्षको सबैभन्दा महान् चिन्तक वा विचारक कार्ल  मार्क्स बीबीसीको अनलाइन पोलमा पहिलो नम्बरमा परे । जुन यो आफैमा  मार्क्स र माक्र्सवादीहरुको लागि निकै ठूलो उपलव्धी थियो । दोस्रो नम्बरमा महान् भौतिकवादी वैज्ञानिक अल्बर्ट आइन्सटाइन छन् । उनी पनि समाजवादी थिए ।

बीबीसीको अनलाइन भोटिङमा तेस्रो नम्वरमा आइजयक न्युटन, चौथोमा चाल्र्स डार्विन, त्यसपछि क्रमश स्टेफन हकिङजस्ता महान् भौतिकवादी वैज्ञानिकहरु परेका छन् । तर ती सबै महान् मान्छे र वैज्ञानिकहरुलाई जितेर  मार्क्स सबैभन्दा महान् मान्छेको रुपमा दर्ज भएका छन् ।

वास्तवमा कार्ल  मार्क्स (सन् १८१८–१८८३) हजार वर्षको महानतम चिन्तक कसरी बन्न सके ? के थियो उनीमा त्यस्तो विलक्षण क्षमत्ता ? यो विश्वका आम मान्छेका लागि निकै अहं रहस्य र जिज्ञासा रहने सवाल हो । जुन धेरैलाई अहिलेसम्म पनि रहस्यकै विषय लाग्ने गर्छ ।

मार्क्स महान् विचारक बन्नुमा उनको मूल योगदान थियो– ‘यो विश्वलाई बुझ्नु र व्याख्या गर्नु मात्र ठूलो कुरा होइन, मुख्य कुरा बदल्नु हो ।’ त्यसबाहेक  मार्क्सले समाज विज्ञान, भौतिक विज्ञान, अर्थ विज्ञानलगायत अरु कयौं क्षेत्रमा मसिनोगरी अध्ययन र सही विश्लेषण गरे । विश्लेषण मात्र गरेनन् माक्र्सले वैज्ञानिक संश्लेषण गरेर विश्वका मानवजातीलाई उन्मुक्तिको वैज्ञानिक बाटो समेत प्रदान गरे ।

कसरी विश्व ब्रमाण्डको उत्पति भयो ? त्यसपछि पृथ्वीको निर्माण कसरी भयो ? अनि मान्छेको जन्म र मृत्यु कसरी हुन्छ ? समाजमा एउटै मान्छे मान्छेबीच किन धनी र गरिब हुन्छन् ? मान्छेबीच समानताको आधार कसरी तयार पार्ने ? यीलगायत कयौं विषयमा माक्र्सले गहन अध्ययन र खोज आफ्नो जीवनरहेसम्म गरे । यस्तो गहन अध्ययन र खोज कुनै पनि मान्छेले गर्न सकेनन् ।

आजभन्दा १९९ वर्षअघि ५ मर्इ सन् १८१८ मा जर्मनमा जन्मेका कार्ल माक्र्स नै त्यस्तो महान् मान्छे भएर जन्मे कि उनलाई टक्कर दिने मान्छे एक हजार वर्षको इतिहासमा कोही पनि जन्मन सकेन । जुन अहिलेसम्म पनि । माक्र्स जम्मा ६५ वर्ष बाँचे । ती वर्षमा माक्र्सले विश्व मानवजातीका लागि निकै ठूला योगदानहरु गरे । जुन योगदानले आधुनिक मान्छेलाई मुक्ति र स्वतन्त्रताको वैज्ञानिक बाटो दिएको छ ।

३० वर्षका माक्र्स र २८ वर्षका एंगेल्सले सन् १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’मार्फत् विश्वमा रहेको पुँजीवादको दबदबालाई जबर्जस्त चिरेर वैज्ञानिक विकल्पसहितको वैज्ञानिक बाटो प्रदान गरे । यही समयबाट माक्र्स र एंगेल्सको वैचारिक स्पष्टता र क्षमता अभिवृद्धि भएको देखिन्छ ।

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा  मार्क्सले गरेको ठूलो योगदान नै पछि त्यो माक्र्सवादी सिद्धान्तको रुपमा विकसित हुन पुग्यो । दर्शनमा द्धन्द्धात्मक भौतिकवाद, राजनीतिक अर्थशास्त्रमा अतिरिक्त मुख्यको सिद्धान्त, वैज्ञानिक समाजवादमा वर्गसंघर्षको सिद्धान्तलगायत कयौं महत्वपूर्ण विचार प्रतिपादन गरेर माक्र्सले आधुनिक विश्व मानवजातीका लागि निकै ठूलो योगदान गरेका छन् ।

सन् १८८३ मा माक्र्सको निधनपछि आज आउँदा १३४ वर्ष भएछ । माक्र्स र एंगेल्सले सन् १८४८ मा प्रक्षेपण गरेको कम्युनिस्ट मेनिफेस्टोको समय आज आउँदा १६९ वर्ष पुग्छ । यो १६९ वर्षमा विश्वमा निकै ठुल्ठूला अजंगका फेरबदलहरु भएका छन् । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशन भएको २३ वर्षपछि सन् १८७१ मा फ्रान्सको पेरिसमा मजदुरहरुले पहिलोपटक राज्यसत्ता आफ्नो हातमा लिए । तर त्यो सत्ता ७२ दिन मात्र टिक्यो । जे भएतापनि त्यो विश्व इतिहासमा मजदुहरुको पहिलो सत्ता संचालनको अभ्यास थियो ।

पेरिस कम्युनबाट पाठ सिकेर लेनिनको नेतृत्वमा सन् १९१७ मा रुसमा मजदुरहरुको सहभागतिामा अक्टोबर समाजवादी क्रान्ति गरियो । कम्युनिस्ट घोषणापत्र प्रकाशन भएको ६९ वर्षपछि रुसमा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति आफैमा निकै व्यवस्थित क्रान्ति थियो । त्यही क्रान्तिको लहरबाट पछि पूर्वी युरोपमा समेत समाजवादी क्रान्तिहरु हुन पुगे ।

बीबीसीले सन् १९९९ को अक्टोबरमा निकालेको सहस्राव्दी लिस्ट

त्यसैगरी चीनमा सन् १९४९ मा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति गरियो । यो रुसमा भएको क्रान्तिपछि निकै ठूलो र व्यवस्थित क्रान्ति थियो । रुस र चीनसम्म क्रान्ति सम्पन्न हुँदा विश्वको झण्डै दुई तिहाई भुभागमा कम्युनिस्ट सत्ता संचालन भयो । यसले विश्वमा जर्बजस्त वैज्ञानिक समाजवादी सत्ताको प्रभाव विस्तार गर्यो ।

सन् १९५३ मा स्टालिनको निधन, सन् १९७६ मा माओको निधन र ९० को दशकमा सोभियत सत्ताको विघटनसँगै पूर्वी युरोपमा समाजवादी सत्ताको विघटनले माक्र्सवादीहरुलाई ठूलो चोट परेपनि आजको पछिल्लो विश्वमा माक्र्स र माक्र्सवादको सान्दर्भिकता पछि परेको छैन । अझ झ्न बढेर गएको छ ।

मार्क्सले भन्ने गरेको धनी र गरिबबीचको खाडल झन् गहिरिएर गएको छ । यसले वर्गसंघर्षको अनिवार्यतालाई झन् थप पुर्नपुष्टी गर्दछ । मार्क्सको द्धन्द्धात्मक भौतिकवादलाई त बुर्जुवा पुँजीवादीहरुले समेत नकार्न सक्दैनन् । यसकारण पनि मार्क्स र मार्क्सवादको सान्दर्भिकता अझै हजार वर्षसम्म रहने कुरालाई नकार्न सकिदैन ।

कार्ल मार्क्सको १९९ औं जन्मजयन्तीको अवसरमा आजका मार्क्सवादीहरुले मार्क्सवादको रक्षा र विकास गरेर अझै मार्क्सवादलाई समृद्ध गर्ने जिम्मेबारी छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार