देशमा स्थानीय निकायको चुनावी माहोल तातिएको छ । नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेजी अभियानको घोषणासँगै धेरैले आँकलन गरेका थिए– अब देशमा रक्तपात हुनेछ । देश गृहयुद्धमा फस्न सक्नेछ । फेरी देशमा लासहरूका चाङ लाग्नेछन् । रगतको खोला बग्नेछ । हजारौ मानिस घाइते र बेपत्ता हुनेछन् तर यो सब भएन ।
केही प्रतिनिधिमूलक साङ्केतिक विरोध मात्रै भयो । यसैलाई जीवनमरणको लडाइँ बनाएन नेकपाले । गैरजिम्मेवार तरिकाले यदि नेकपाले गतिविधि गरेको हो भने केही दर्जन बमबाडी गर्नु, केही दर्जन मान्छे मार्नु, कैयाैँ मानिसका हात खुट्टा भाँच्नु, पाँच सात दर्जन सुरक्षाकर्मीलाई एम्बुसमा पार्नु ठूलो कुरो होइन । यस्ता त्रासदी दिनलाई नेपाली जनताले भोग्नु नपरोस्, सबैको कामना थियो । अचम्म त के भयो भने नेकपाको कारणले यो चुनावमा एक थोपा पनि रगत बगेन । बरु प्रशासनकै तर्फबाट नेकपाका कार्यकर्तालाई गिरफ्तारी र धडपकड गरयो ।
जेल, हिरासत र यातानासम्मका गतिविधि भए तर नेकपाले सांकेतिक विरोध मात्र गरयो । यसै सन्दर्भमा त्यसै पार्टीका महासचिव विप्लवको भनाइ थियो, ‘हाम्रो काधमा राष्ट्रिय दायित्व छ । देशलाई गृहयुद्धको चपेटाबाट बचाउनु छ । साम्राज्यवादको गिद्देनजरबाट देश जोगाउनु छ । घरेलु दलाल तथा भ्रष्टहरूका मुठ्ठीबाट देशलाई मुक्त गर्नु छ । देश र जनताको रक्षा गर्नु छ । जुनसुकै पार्टी, निकाय र सत्ताका भएपनि देशभक्त, न्यायप्रेमी, परिवर्तनप्रेमी नेपालीहरूको सुरक्षा गर्नु हाम्रो पार्टीले आफ्नो दायित्व सम्झन्छ । त्यसैले पनि हाम्रीले सशस्त्र प्रतिरोध गरेनौँ । पुरानो सत्ताको विकल्प वैज्ञानिक, व्यावहारिक तथा पुरानोसत्ताभन्दा समृद्धखालको नयाँसत्ता अझैसम्म दिनसकेका छैनौँ ।
सत्ताको घोषणा मात्रै गरेका छौँ, अभ्यास गरेका छैनौँ । नयाँ सत्ताको विकल्प नपाउन्जेल जनता पुरानै सत्तालाई स्वीकार गर्न बाध्य हुन्छन् । यसलाई हामीले स्वाभाविक रूपमा बुझेका थियौँ । नेपाली जनता धेरैपटक धोका, षड्यन्त्र र झुटा आश्वासनको सिकार भैसकेका छन् । नेपाली समाज झुटा राजनीति गर्ने पार्टीहरूको प्रयोगशाला र नेपाली जनता भ्रष्ट नेताहरूको निहित स्वार्थ पूरा गर्ने बलीका बोका बनिसकेका छन् धेरैपटक । नेपाली नजताको मनोभावनाको कदर गर्नु नेकपाले आफ्नो दायित्व सम्झियो ।’
साँच्चै वर्षौंदेखि राजनीतिक अन्यौताको सिकार भएका नेपाली जनताले नयाँ चीजको आशा राख्नु स्वभाविक पनि थियो । स्थानीय निकायको चुनावबाट देशमा शान्ति, समृद्धि र विकासको ढोका खुल्ने कुरामा कतिपय नेपालीहरू आशावादी थिएनै तर पनि हामीले दुःखका साथ भन्नुपर्ने हुन्छ । २०४७ सालमानै असफल भैसकेको यो संसदवादी बहुदलीय व्यवस्थाले न जनताको भलो गर्छ, न देशको विकास र समृद्धि नै ।
यो व्यवस्था त एकाध भ्रष्ट मान्छे र त्यसका आसेपासेहरूको लुटिखाने भाँडो मात्र हो । यो भ्रमबाट जनतालाई मुक्त गर्नु र नयाँ सत्ताको विश्वसनीय उदाहरण दिनु यतिबेला हाम्रो पार्टीको दायित्व तथा चुनौती दुवै हो । संसदीय व्यवस्था असफल भैसकेको व्यवस्था हो भनेर जनताले राम्रोसँग महसुस गरिसकेका छन् तर पनि हामीले पुरानो सत्ताको विकल्पको रूपमा नयाँ सत्ता दिन नसकुन्जेल पुरानो सत्तालाई स्वीकार्न बाध्य भएको यथार्थ हामीले राम्रैसँग बुझेका छौँ । अब पनि केही समय स्थानीय चुनावको धङ्धङी बाँकी रहला तर चाँडै भ्रमको पर्दा च्यातिनेछ । यो पञ्चायती कालो नित्कृष्ट व्यवस्थाभन्दा पनि तल्लोस्तरको व्यस्था हो । यसले जनताको शोषणसिवाय केही गर्दैन ।
यसो भन्दैमा, पुरानो सत्तालाई गाली र आलोचना गर्दैमा अब हाम्रो पार्टीले पनि सुख पाउनेवाला छैन । पुरानो सत्ता असफल हो भनेर सिद्ध गर्नको लागि हामीले सफल नयाँसत्ता चलाएर देखाउने साहस गर्नुपर्छ । यस्तो नयाँ सत्ताको अभ्यास गर्नुपर्छ जुन पुरानौ सत्ताभन्दा कैयाँैगुणा समृद्धशाली होस् । स्रोत, साधनको निस्पक्ष बाडफाँड । कलम चलाउनेदेखि कुचो चलाउनेसम्मका कर्मप्रेमीहरूको वराबर सम्मान होस् । प्लेन चलाउनेदेखि रिक्सा चलाउनेसम्मका चालकहरूको बराबर महत्व र सम्मान पाऊन् ।
कोदाली चलाउने र कम्युटर चलाउनेको जीवनशैली र सुविधा एकैखालको होस् । राष्ट्रप्रमुख र मजदुरले एकैखालको आत्मसम्मान पाओस् । कोही बेरोजगार बस्न नपरोस् । कोही भोकै नपरून् । कसैको पनि उपचार नपाएर अकालमा ज्यान नजाओस् । समान शिक्षा पद्धति । समान अवसर । सबै नेपालीले दायित्व र समान अधिकार पाऊन् । अब हामी यस्तोखालको जनसत्ताको अभ्यास गरेर देखाउनेछौँ ।
त्यहाँ भ्रष्टाचार र अनियमिततारहित समाज र सत्ता हुनेछ । हामी अहिल्यै धेरै भौतिक विकासका ठूला ठूला सपनाहरू त बाड्दैनौँ किनकि हामी विद्रोही पार्टी हौँ । हामीसँग केही समयसम्म सीमित बजेट र सीमित स्रोत साधन मात्र हुन सक्छ तर यी सीमित स्रोत साधनको उच्चतम् प्रयोग गर्छौँ । हाम्रो सत्तामा कोही ठूलो कोही सानो हुँदैन । कसैले मोजमस्ती र विलासिताको जीवन बिताउने कसैले चौबिसै घण्टा काम गर्नुपर्ने हुँदैन ।
सबैले क्षमताअनुसारको काम पाउँछ । आराम र मनोरञ्जन गर्ने समय बराबर पाउँछ । नयाँ सत्तामा सबैले काम गर्नुपर्छ । कसैले पनि बसी खान पाउँदैन । सबैले खाने खाना स्वस्थकर र लगाउने कपडा सुरक्षित हुनेछन् । सबैले बराबर अवसर र बराबर क्षमताको प्रयोग गर्न पाउनेछन् । जब केही वर्षमानै हामीले नयाँसत्ताको अभ्यास गरेका नमुना गाउँहरू उच्च र समृद्धशाली विकसित गाउँमा परिणत हुनेछन् त्यतिबेला मात्र सबैले विश्वास गर्नेछन् हामीलाई । सबैभन्दा राम्रो पढाइ हुने नमुना विद्यालय, बैंकहरू, वित्तीय संस्थाहरू, सहकारी, सुरक्षाकर्मी, न्यायलयहरू, कलखारखाना जस्ता सत्तासञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधारहरू हामीले सञ्चालन गर्नेछौँ । कोरा कल्पनामा मात्र होइन, हाम्रो पार्टी यस्तो सत्ता सञ्चालनको तयारीमा निकट भविष्यमै लाग्नेछ ।
नेपाल कम्युनिस्ट पार्टी परम्परागत रुढीवादी पार्टीभन्दा उच्च विचार भएको विद्रोही पार्टी हो । पन्ध्र हजार नेपाली जनताको खोलो बगेर पनि मुक्तिको सपना पुरा हुन नसकेको दुःखदायी यथार्थ प्रतिछायाँ बनेर हामीलाई पछ्याइरहेको छ । हामी कम क्षतिमा धेरै उपलब्धि हासिल गर्न चाहन्छाैँ । एक थोपा पनि रगत नबगाई क्रान्ति सम्पन्न गर्न चाहन्छौँ तर यो सत्ता कठोर बनेर आउँदैछ । हामी कठोर हुनैपर्छ । माओले भनेजस्तै क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी, लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धत्तिअनुसार बनेको होस् । पार्टीबिना, साम्राज्यवाद, तथा त्यसका दलालहरूलाई पराजित गर्न सकिन्न । युद्धबिना समाज रूपान्तरणको कल्पना गर्नु भनेको कोरा आदर्श मात्र हो ।
प्रगतिमा तगारो हाल्ने युद्ध अन्यायपूर्ण युद्ध हुन् । हामी कम्युनिस्टहरू त्यस्ता युद्धमा सक्रिय भएर भाग नै लिन्छौँ जुन युद्ध न्यायपूर्ण होस् । त्यो युद्ध यस्तो विष नासक औषधी होस् जसले सत्रुको विषलाई मात्र होइन । हामीभित्र रहेका फोहोरमैलालाई समेत पखालेर पार्टी र समाजलाई निरोगी पारोस् । मुक्ति र स्वतन्त्रतासहितको नयाँ नेपाल निर्माणमा हात मिलाऊँ । करोडौँ नेपाली जनताको सुन्दर जीवनको व्यवस्था मिलाऊँ । संसार आफैँ बदलिँदैन हामले बदल्नुपर्छ । सत्रु आफुखुसी नास भएर जाँदैन हामीले जित्नुपर्छ । त्यसैले सम्पूर्ण नेपाली जनतालाई नेपाल कम्युनिस्ट पार्टीले फेरि आग्रह गर्छ कि प्रतिक्रियावादीहरूको उधारो भ्रममा नपर्नोस् । आउनोस्– जनसत्ताको अभ्यास गरौँ ।







