सत्ता अनुदार हुन्छ । क्रुर र निर्दयी हुन्छ संसारको इतिहासमा त्यस्तै देखिएको छ । जे.एस. मीलले भनेजस्तो व्यक्तिको स्वतन्त्रता हो– ‘जतिसक्छौ आफ्नो वरिपरि लठ्ठी फन्काऊ । कसैलाई लागोस् केही मतलब छैन ।’ तर स्वतन्त्रता त्यस्तो हुँदैन ।

कर्तब्यको पनि ख्याल गर्नुपर्छ । तर सत्ता कसरी टिकाउने भन्ने सवालमा भने सत्तावालाको यही धारणा हुन्छ । हिटलर र मुसोलिनी अलि उग्र थिए । क्रुर तानाशाह थिए । व्यक्ति विशेषमा पनि स्वभाव फरक फरक हुन्छ । नेपालकै इतिहासमा हेर्ने हो भने राष्ट्रियताको सवालमा पूर्व राजा महेन्द्र केही कठोर देखिएपनि उनले तानाशाही शासन चलाएका थिए । उनीपछि वीरेन्द्र केही उदार देखिएपनि पूर्व राजा ज्ञानेन्द्र पछिल्लोपटक अनुदार देखिए । स्वतन्त्रताको घाँटी निमोठ्दै लगेर सबै राज्यशक्ति आफ्नै पोल्टामा हाले । परिणामस्वरुप जनताले शैनिक शासन खप्न सकेनन् ।
माओवादी १० वर्षे युद्ध तथा माओवादीसँगको १२ बुँदे संझौताको आधारमा जनआन्दोलनको तुफानी ब्यापक रुपमा फैलियो । परिणामतः राजा ज्ञानेन्द्र सत्ताच्यूत हुन पुगे तर राजतन्त्रको संस्कार पखालिन सकेन । दण्ड सजाय दिने कुरा त परै छाडौ उनलाई तुल बिछाएर सुरक्षाका साथ नागार्जुन दरबारमा स्थानान्तरण गरियो । भत्ता दिएर राखियो । अहिले भावनात्मक रुपमा चलखेल गर्दैछन् । ८० प्रसेन्ट भूभाग ढाकेको र १६ सय नेपालीको क्षति भएको अवस्थामा माओवादीका शीर्ष नेताले स्वदेशी तथा विदेशी प्रतिक्रयाबादीको चलखेलमा हतियार बुभाएर आत्मसमर्पण गरे । सामन्तवाद, दलाल पुँजीवाद, विस्तारवाद र सम्राज्यवादीहरुले स्वागत गरे । जनमुक्ति सेना र आधारइलाकाहरु विघटन गरिए । पढदा पढ्दै बीचैमा विद्यालय छोडेर १० वर्षे जनयुद्धमा सामेल भएका सेना तथा कार्यकर्ताहरु अहिले बिना इलम र बेरोजगारीले यत्रतत्र भएका छन् । कतिपय अरबको खाडीमा गएर दुःखपाई रहेका छन् । सहीद परिवारको मूल्यमान्यता र सहयोग छैन ।
सत्तामा बसेको झण्डै १० वर्ष पुगिसक्दा पनि बेपत्ता भएकाहरुको खोजी छैन । मुद्दाहरु यथावत छन् । अपाङ्गहरुलाई सहयोग छैन । जसले टाउकाको मोल तोकेको थियो उसैसँग माकेले सत्ता र चुनावमा घाँटी जोड्यो विदेशी आड भरोसामा । यसैको परिणम हो माकेको जनसमर्थन खस्किदै गएको छ । बिच्किदै गएको छ । परिणामस्वरुप सत्तामा रहेर चलखेल गरेपनि अहिलेको स्थानीय तहको चुनावमा धेरै मतसंख्याको अन्तरले तेस्रो आएको छ । यसको कारण क्रान्तिकारी बिचार र कार्यदिशामा स्खलन र विदेशी शक्तिसामु आत्मसमर्पण हो । छर्लङ्ग छ । कुनै पूर्वाग्रहले भनिएको होइन ।

लेखक वैद्य
अहिले माओवादी केन्द्र भीडको कुम्भ मेला बनेको छ । मालेमाको सिद्धान्त, विचार र कार्यदिशाबाट च्यूत छ माओवादी केन्द्र । कतिपय कार्यकर्ता निर्दोष र इमानदार भएपनि मूल नेतृत्वले विदेशीको दलाली गरेको छ । विस्तारवाद र साम्राज्यवादको जयजयकार पाएको छ । अब अरु पार्टीभन्दा खास फरक छैन माओवादी केन्द्र । यसले प्रतिक्रियावादको एजेण्डा बोकेर हिडेको मात्र होइन आफै प्रतिक्रियावादमा अवतरण गरिसकेको छ । जसले शान्तिपूर्ण बैठक गरिरहेका जनयुद्धका सहयात्री नेकपाका बहिस्कारवादीहरुलाई गिरफ्तार गरेर कायरता देखाएको छ । मानवअधिकारकर्मी, पत्रकारहरुलाई पक्राउ गरेर, प्रेस स्वतन्त्रतालाई ठाडै चुनौती दिएको छ । मध्यरातमा घर खानतलासी गरी पञ्चायती कालरात्रीभन्दा एक कदम अगाडि बढेको छ । झूठा मुद्दा लगाएको छ । पूर्वाग्रहले ग्रस्त छ सरकारमा प्रमुख सहभागी माओवादी केन्द्र । हिजोमात्र लाजिम्पाटबाट सामाना परिवारका कलाकारहरुलाई गिरफ्तार गरेको सुनिन्छ । यस्तो अवस्थामा निम्न पुँजीवादी चिन्तन बोकेका ब्यक्तिहरुले ताण्डव नृत्यको आगोमा घिउ थप्ने दुष्प्रयास नगरेका होइनन् ।
एउटा लेखकले यथार्थ र निष्पक्ष कुराहरु पस्कनुपर्छ । भ्रमको खेती गरे आखिर संशोधनवादी र प्रतिक्रियावादीले फाइदा उठाउने हुन् । अहिले विस्तारवाद र साम्राज्यवादले सच्चा कम्युनिष्टप्रति हमला गरिरहेको अवस्था छ । अहिले नेपाली समाज दुई ध्रुवमा बाँडिएको छ । यथास्थितिवादी र अग्रगामी धार । प्रतिक्रियावादी र क्रन्तिकारी धार । अथवा पुँजीवाद र सर्वहारावादी धार । कार्यनीति र कार्यशैली माक्र्सवादी पार्टी वा मालेमावादी पार्टीहरुमा फरक फरक हुन सक्छन् । संघीयता एउटा कार्यनीतिको सवाल हो । तर सबै कम्युनिष्ट पार्टीहरुमा आधारभूत सिद्धान्त एउटै हुन्छ । त्यो हो वर्गसंघर्ष र बलप्रयोगको सिद्धान्त । जनयुद्ध वा जनविद्रोह । बदलिदो परिस्थितिमा जडसूत्रीय वा कर्मकाण्डी भएर पनि हँुदैन । सिर्जनशील भन्दैमा सर्वहारावर्गको अग्रदस्तालाई परित्याग गरेर यो र त्योको नाममा संशोधनवादी बनेर पनि हुँदैन । म संशोधनवादी हुँ भनेर कसैले भन्दैन । उसको वर्गीय चरित्र, प्रतिक्रियावादीसँगको साँठगाँठ, सुधारवादी चिन्तन आदिले बताउँछ । संसदवादी भासमा जाकिदै जाँदा कम्युनिस्ट पार्टी विसर्जनवादमा पुगिसकेको हुन्छ ।
संशोधनवाद बाजा बजाउँदै आउँदैन । क्रान्तिको एउटा सिन्को नभाँच्नु पनि संशोधनवादको स्लो प्वाइजन हो । एउटा सच्चा कम्युनिष्ट पार्टीले उत्पीडित, उपेक्षित वर्गको पक्षमा अनवरत संघर्ष गर्दै अगाडि बढ्नु पर्छ । त्यसो भन्दैमा उग्रपन्थी भएर होइन । उग्रवादीहरु पनि दक्षिणपन्थी संशोधनवादी हुन पुग्छन् । यो कुरा माआवादी शीर्ष नेताहरुले प्रमाणित गरिसकेका छन् । ठोस परिस्थितिको ठोंस विश्लेषण गर्नु पर्छ । आइसब्रेक गर्नसक्नु पर्छ । क्रान्तिको सरल रेखा हुँदैन । बाङ्ग्गो टिङ्ग्गो हुन्छ । सर्वहारावर्गको पक्षमा साम, दाम, दण्ड–भेद हुन्छ । एकता, संघर्ष र रुपान्तरण । नयाँ आधारमा नयाँ एकता हुन्छ । मिलिटेन्ट पार्टी, सेना र मोर्चाहरु हुन्छन् । यसमा सबै सच्चा कम्युनिष्ट पाटीहरु कार्यगत एकतामा गएर खारिदै अन्तिममा पार्टी एकीकरण गर्नुपर्छ ।
नेपालको सन्दर्भमा दीन दुःखी श्रमिक, साना किसान, सुकुम्बासी र केही संख्यामा मजदूर र साथै निम्न मध्यमवर्गहरु धेरै भएको हुँदा कम्युनिष्ट पार्टीको बिजय निकट छ । धेरै कुुर्नु पर्दैन । प्रतिक्रियाबादीहरुले महान् जनयुद्धको थालनीलाई यो ६ महिनाभन्दा धेरै टिक्दैन भनेका थिए। तर यो चैत वैशाखको डढेलो जस्तै फैलिदै गयो । झागिदै गयो । आखिरमा सामुहिक नेतृत्व नभएका कारण शीर्ष नेताको स्वार्थको कारण महान् जनयुद्धले धक्का खान पुग्यो । यसले जनतामा भ्रम दिएको छ । सबभन्दा पहिले यसलाई चिर्न सक्नुपर्छ । यसका लागि आफ्ना वर्र्गीय मित्रको खुट्टा काट्ने पवृति त्यान्नु पर्छ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माकेको फसिवादी चरित्रको भण्डाफोर गरेर प्रेस विज्ञप्ती निकालेको कुरा धेरै सह्रानीय छ । गिरफ्तार गरिएकाहरुलाई रिहाइ गर्ने माग गरिएको छ । यस पंक्तिकारको स्वार्थ भनेको क्रान्ति हो । जुनसुकै पार्टीमा दुई लाइन संषर्ष हुनुपर्छ । दुई लाइन संंघर्ष भनेको पार्टीको आत्मा हो । अपितु यो स्वस्थ र पारदर्शी हुनुपर्छ । क्रान्तिमा बिश्वास राख्ने कम्युनिष्टहरु क्रान्ति र परिवर्तनको लागि अगाडि बढ्दै जानुपर्छ ।
वास्तबमा क्रान्ति नै सौंदर्यबोध हो । देश र जनताको उन्मुक्तिका लागि, राष्ट्रियता र स्वाधिनताको लागि आत्मविश्वासका साथ सुन्दर सपना बोकेर अगाडि बढ्न सक्नुपर्छ । वामपन्थी लेखक, सर्जक र साहित्यकारहरुले देशी विदेशी प्रतिक्रियाबादविरुद्ध संझौताहीन संघर्ष गर्नुपर्छ । अहिले देश जटिल मोडमा छ । क्रान्ति कि प्रतिक्रान्ति, पराधीनता वा स्वतन्त्रता, आत्मसमर्पण वा देशप्रति स्वाभिमान ? यही प्रश्न हाम्रो सामु खडा भएको छ । चुनौतीका पहाडहरु छन् । वीर बलभद्र, अमर सिंह, भक्ति थापा आदिले देखाएको बाटोमा अवश्य पनि सबै मुक्ति योद्धा नेपालीहरु लागेर चुनौतीका पहाडहरु भत्काउने छन् । संसारलाई सवल र समुन्नत राष्ट्रको परिचय दिनेछन् ।
यो वर्गीय समाजमा सामन्त, दलाल पुँजीवाद र सभ्रान्त वर्गले सर्वहारा वर्गको अग्रदस्तामा गरिएको क्रन्तिलाई सकेसम्म दमन गर्छन् । खसीको टाउको देखाएर कुकुरको टाउको देखाउँछन् । यो संसदीय ब्यवस्थाको वर्ग चरित्र हो । सत्तावालाले गर्न त गर हाम्रै राजनीति गर भनेका हुन्छन् । बोल्न त बोल तर हाम्रै कुरा बोल, लेख्न त लेख हाम्रै कुरा लेख भन्छन् । कम्युनिस्टको शासनमा पनि यस्तै हो । फरक यत्ति हो कि कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । साम्यवाद केही टाढाको विषय हो । तर समाजवाद भने धेरै नजिकको विषय छ । योग्यताअनुसार काम र कामअनुसारको माम समाजवादमा हुन्छ । श्रमिकवर्गको १० प्रतिशत भ्रष्ट पुँजीवादीप्रति तानाशाही हुन्छ । जनतामा स्वतन्त्रता हुन्छ । जनजीविकाको ग्यारेण्टी हुन्छ भने पुँजीवादी ब्यवस्थामा मुठीभर पुँजीवादी दलालहरुको तानाशाही हुन्छ । संसदीय ब्यवस्था गफडाको अखडा बन्छ । प्रधानमन्त्रीमा कार्यकारी अधिकार हुन्छ । यसको परिणम ६।६ महिनामा सरकार परिवर्तन हुनसक्छ । एनसेलजस्तो कमिसनको खेल हुन्छ । भ्रष्टाचार हुन्छ । बेरोजगारी, महंगी, अन्याय, अत्याचार र दण्डहिनता हुन्छ । अपरकर्णाली, अरुण ३ जस्ता उद्योगहरु विदेशी कम्पनीको हातमा सञ्चालन हुन्छन् । देशको भूगोल लुछेर छिया छिया पारिएको हुन्छ । अहिले नेपालमा विस्तारवादी हस्तक्षेप भएजस्तै राष्ट्रियतामा खतरा हुन्छ ।
कम्युनिष्ट आन्दोलनमा मुक्तिको खातिर ब्यापक जनसमर्थन हुन्छ । आखिरमा जनतन्त्र स्थापना हुन्छ । जनतन्त्र, राष्ट्रियता र जनजीविकाको लागि क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुनुको विकल्प छैन । राष्ट्रियताको सवालमा सबै देशभक्त, साम्राज्यवाद, विस्तारवाद विरोधी शक्ति कार्यगत एकताको रुपमा आउन सक्छ । देश रहे नेपाल रहन्छ । नेपाल सबै नेपालीहरुको साझा फूलवारी हो ।







