यतिबेला अविरल वर्षाको कारण नेपालको तराई क्षेत्र डुवानमा परेको छ । हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीको कारण अर्वाैंको क्षति भएको छ ।काठमाडौं । यतिबेला अविरल वर्षाको कारण नेपालको तराई क्षेत्र डुवानमा परेको छ । हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीको कारण अर्वाैंको क्षति भएको छ ।

भारतले नेपालसँग सम्झौता गरी बनाएका ४ वटा वैध र १६ वटा अवैध बाँधको कारण यसरी वर्षैपिच्छे तराई डुब्ने गरेको छ । तराईका हरेक जिल्ला छुने गरी भारतले बनाएका ती बाँधहरू कहिले कसरी बनाइए ?

कोसी ब्यारेज

सन् १९५४ अप्रिल २४ का दिन नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर गरिएको थियोे । त्यसबेला नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो भारतमा जवाहरलाल नेहरूको हातमा राज्य सञ्चालन भइरहेको थियो । सन् १९६५ अप्रिल २४ का दिन उद्घाटन भएको सो ब्यारेजको ५६ वटा ढोका छन् । कोसीको पूर्वी नहरले भारतको विहारको ६१२५०० हेक्टर र  पश्चिम कोसी नहरले ३५६६१० हेक्टर भूमि सिंचाइ गर्दै आएको छ । कोसीको पश्चिम नहरबाट नेपालको ११३०० हेक्टर जमिनमा सिंचाइ हुने भनिए पनि नेपालको भूभाग सिंचाइ हुन सकेको छैन । भारतले नेपालभित्र सप्तरीमा १२ किमि लामो एफ्लक्स बण्ड र सुनसरीमा ब्यारेजदेखि उत्तर ४० किमि लामो तटबन्ध निर्माण गरेको छ ।

सम्झौताअनुसार भारतलाई सप्तरीको हनुमाननगरदेखि ३ माइल माथि ब्यारेज, तटबन्ध, नहरहरू तथा सञ्चार सुविधा प्रदान गरिने भनी उल्लेख गरिएको छ । यसमा भएको सम्झौता अनुसार कहिल्यै पनि भारतले पानी दिएन । वर्षाको समयमा नेपालको नहरमा पानी पठाउने र हिउँदमा एक थोपा पनि पानी नराखी भारतीय नहरमा लैजाने गर्दछ । जलस्रोतविद् रतन भण्डारीका अनुसार नहरमा पानी कति राख्ने भन्ने सम्झौताअनुसार भारतले नदिएको मात्र होइन पानी कति दिने लिने भन्ने सबैतिरको बाँधको साँचो नै उसको हातमा छ । त्यसैले हरेक वर्षामा नेपालको तराई भूभाग डुवानमा पर्छ ।

बर्षामा बाढी आउँदा कोसीका ५६ ढोकाहरूमा ३७ वटाभन्दा बढी ढोका अहिलेसम्म भारतले खोल्न मान्दैन । यसले गर्दा बाढीले ल्याएको बालुवा थुप्रिएर नदी माथि र गाउँहरू तल भएका छन् । जसले गर्दा सानो पानीको बाहावमा पनि पानीले बाँध फुटाएर गाउँ पस्न सक्ने खतरा हुन्छ । त्यसैले वर्षा लाग्न थाल्दा नै चारवटा जिल्लाकै जनता त्राहिमाम हुँदै रात बिताउँछन् । कोसी ब्यारेजको छेउछेउका रामपुरा, योगनियाँ गोवरगाढा, हनुमाननगर, लागायतका गाउँहरू वर्षामा सुनसान नै रहन्छन् ।

शारदा ब्यारेज

सन् १९२० मा चन्द्रशमशेरका पालामा नेपाल र ब्रिटिश इण्डियाबीच सम्झौता भई महाकाली नदीमा शारदा बाँध निर्माण सुरु भएको थियो । नेपालले ब्रिटिश इण्डियालाई सट्टाभर्ना पाउने सर्तमा ४०९३.८८ एकड भूमि प्रदान गर्ने सम्झौता थियो । तर नेपालले अहिलेसम्म सट्टा भर्ना पाएको छैन । आठ वर्षपछि सन् १९२८ मा शारदा बाँध निर्माण कार्य पूरा भयो । पछि भारतको तर्फबाट गुलजारीलाल नन्दा र नेपालको तर्फबाट महावीरशमशेरद्वारा हस्ताक्षर गरिएको थियो ।

यसको उद्घाटन भने संयुक्त रुपमा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले गरेका थिए । सम्झौताअनुसार नेपालले शारदा बाँधबाट हिउँदमा १ सय ५० क्युसेक र वर्षायाममा ४ सय ६० क्युसेक तथा पानी बढी भएको बेला १ हजार क्युसेक पानी पाउने व्यवस्था । शारदाबाँध बाट नेपालले सन् १९८० पछिमात्र पानी पाएको । शारदा बाँधको तलतिर एसएसबी क्याम्पबाट आधा किमिमात्र भारतले आंशिक बाँध बनाई नेपालको  भुजेला साइडमा  छोड्दा नेपालतर्फ नदीको प्रवाह फर्केर २०७० सालमा भीमदत्त नपामा  ठूलो धनजनको क्षति भएको थियो ।

गण्डक नहर

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा सन् १९५९ मा गण्डक सम्झौता भएको हो । नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्ण शमशेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । गण्डक सम्झौतामा गण्डक नहरमा आउने कुनै पनि खोलाको पानी नेपालले चलाउन नपाउने गरी सम्झौता गरिएको थियो । अर्को दुर्भाग्य यो सम्झौता कति वर्षसम्मको लागि भनेर उल्लेख नै गरिएको छैन । यदि नेपालले खोला प्रयोग गर्नुपरे भारतसँग अनुमति लिनुपर्ने सम्झौतामा उल्लेख थियो । पछि महेन्द्रले १९६६ मा यो बुँदा हटाउन लगाए । त्यही सम्झौतलाई आधार बनाएर अहिले पनि भारतले नेपालका अन्य नदीनाला प्रयोग गर्दा भारतकै अनुमति लिनुपर्ने बनाएको छ ।

अन्तर्राष्ट्रिय प्रावधानअनुसार जस्तोसुकै सम्झौता भए पनि नदीमा पाँच प्रतिशत पानी जीवजन्तुका लागि छोड्नुपर्छ । तर, यसविपरीत भारतले बाबियो र परालको बुझो लगाएर सम्पूर्ण पानी लैजाने गरेको छ । हिउँदमा यसरी अन्तर्राष्ट्रिय नियमविपरीत सम्पूर्ण पानी लैजाने र वर्षाको समयमा सबै पानी नेपालको नहरतिर मोडिदिने गरेको छ । यसले गर्दा बर्सेनि महाकालीपारिका चाँदनी दोधारा, हलिजा, भीमदत्त नगरपालिका डुवानमा पर्छन् । अहिलेसम्म कति गाउँ नै बगाइसक्यो तर न नेपालले भारतलाई यस्तो नगर्न दबाब दिनसक्छ न पीडितलाई डुवानबाट बचाउन सक्छ ।

टनकपुर बाँध  

सन् १९८० को दसकमा भारतले शारदा बाँधको विकल्पमा एकतर्फी रुपमा टनकपुर बाँध निर्माण गर्यो । भारतले एकतर्फी रुपमा बनाएको टनकपुर बाँधलाई सन् १९९१ डिसेम्बरमा भारत भ्रमण जाँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्झौतामा हस्ताक्षर गरेर वैधानिकता दिए । टनकपुर बाँधको पूर्वी एफ्लक्स वण्डका लागि ९२९ हेक्टर जमीन उपलब्ध गराउने गरी सम्झौता गरे । जुन नेपालको हितविपरीत थियो । टनकपुर बाँध बनाउने बेला अस्थायी तटबन्ध निर्माण गरी महाकालीको पानी नेपालतिर छोड्दा कञ्चनपुरका विस्थापित भएका १०० परिवार अहिले पनि विस्थापित नै छन् । त्यसले बर्सेनि झनै ठूलो क्षति गर्दै लगेको छ ।

यहाँबाट गएको पानीले भारतले उत्तर प्रदेशका जमीनमा सिंचाइ गरेको छ । जुन क्षेत्रमा भारतका पूर्वप्रधानमन्त्रीहरू र ठूला नेताहरू जावहरलाल नेहरू, अटलबिहारी बाजपेयी, विश्वनाथ प्रताप सिंह, राजीव गान्धी, सोनिया गान्धीको चुनाव क्षेत्र पर्छ । त्यसैकारण पनि नेपालले यसका विरुद्ध सजिलै आवाज उठाउन सकेको छैन । महाकालीमा नहरको छेउबाट खोलाहरू बग्छन् । सम्झौताअनुसार नहरमुनि र छेउमा रहेका खोलामा भारतले मर्मत र सफाइ गर्नुपर्नेछ । तर ती खोलामा भारतीय पक्षले अहिलेसम्म सम्झौताअनुसार मर्मत गरेको छैन । जसको कारण खोला पुरिएर सबै पानी थुनिने र त्यसले गाउँ डुवानमा पर्छन् । त्रिबेणी रुपैलिया, कुरीया, प्रतापपुर, सरजपूरा, गुठी आदि गाउँपालिकाहरू हरेक वर्ष डुवानमा पर्छन् र हजारौ विस्थापित हुन्छन् ।

अवैध बाँधहरू 

यी माथिका बाँध भारतको स्वार्थअनुरुप एकपक्षीय रुपमा भए पनि नेपालका तर्फबाट हस्ताक्षर भएका बाँध हुन् । तर, भारतले दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डविपरीत यति धेरै बाँध बनाएको छ, ती बाँधहरू पूर्ण रुपमा अवैध छन् । जसले नेपालको तराई क्षेत्र हरेक वर्षायाममा डुवानमा पर्छ । हरेक वर्ष यसैगरी भारतले बाँध बनाउँदै जाँदा नेपालका स्थानीय जनताले प्रतिवाद गरेका छन् । कञ्चनपुरमा गोविन्द गौतमलाई गत फागुनमा भारतीय सीमा सुरक्षा बलले गोली हानेर मारेको थियो । यस्तै गत वर्ष साउनमा सप्तरीको तिलाठीमा भारतले बाँधेको बाँध भत्काउन जाँदा नेपाली नागरिक देवनारायण यादवमाथि कुटपिट भएको थियो । नेपाल सरकारले भारतले गरेको यस्तो मिचाहा प्रवृत्तिको विरोध गर्दैन । बरु सत्तामा पुग्न भारतीय समर्थन खोज्दै भारतकै शरणमा पुग्छन् ।

धौलीगंगा बाँध

धौलीगंगा बाँध भारतले अवैध रुपमा बनाएको बाँध हो । भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनाएको धौलीगंगा बाँध भारतको अर्को मनपरीको नमुना हो । यसले नेपालको दार्चुला जिल्लामा अहिले पनि वर्षामा सकस बनाउँछ । सो बाँधबाट पानी छोड्दा २०७० असार १ गते दार्चुला जिल्ला सदरमुका खलंगामा बगाएको थियो ।

गिरिजापुरी बाँध

विसं २०४० सालमा नेपाल भारत सीमाबाट १० किलोमिटर दक्षिण कोठिया घाट नजिक भारतले कर्णाली ९ को घाघरा नदिमा गिरिजापुरी बाँध एकतर्फी रुपमा निर्माण गर्यो ।  भारतले वर्षायाममा गिरिजापुरी बाँधको ढोका थुन्ने गरेको कारण नेपालबाट भारत प्रवेश गर्ने कर्णाली, गेरुवा, मोहना कनरी, कान्द्रा, खुटिया, पथरैया, काँडालगायतका नदिहरूको पानीको बहावमा अवरोध सिर्जना हुने गरेको छ । जसको कारण कैलालीको दक्षिण पूर्वमा अवस्थित साविक फूलबारी, पवेरा, हसुलिया, रतनपुर, खैलाड, लालबोझी भजनी गाविसहरू बर्सेनि डुबानमा पर्दै आएका छन्  । २०६५ सालको वर्षायाममा भारतले गिरिजापुरी बाँधको ढोका नखोल्दा कैलालीमा १२ जनाको मृत्यु भएको थियो भने १२७७९ घर डुबानमा परेका थिए ।

लक्ष्मणपुर बाँध 

नेपालबाट बग्ने पश्चिम राप्ती नदीमा सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८५ मा भारतले एकलौटी रुपमा लक्ष्मणपुर बाँध निर्माण गरेको हो । बाँध २८४ मिटर लामो, ५५ मिटर अग्लो र ७ मिटर चौडाइ तथा १७ वटा ढोका छन् । दुवै देशको सहमतिमा बनाएका बाँधको चाबी भारतीयको हातमा छ भने उसकै मनोमानीमा बनेका यस्ता अवैध बाँधको कारण नेपालको जमिन पुरै डुवानमा पर्ने गरेको छ ।

कलकलवा तटबन्ध

लक्ष्मणपुर बाँधसँगै जोडेर विसं २०५६ सालमा भारतले २२५ किमि लामो ५ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्यो । उक्त बाँध बनाउन नेपालसँग कुनै सम्झौता थिएन । यसले नेपालबाट भारत प्रवेश गर्ने राप्ती, गन्धेली, सोतिया र डुरुवा नालाको निकास अवरुद्ध हुन्छ । यसले बाँकेका बेतहनी, बनकट्टी, फत्तेपुर, गंगापुर, काँलाफाँटा, नरैनापुर, पुरैना गाविसहरू हरेक वर्षायाममा डुबानमा  पर्दै आएका छन् ।  २०६५ सालको साउनमा आएको भीषण वर्षाको कारण यस क्षेत्रका ९ वटा गाविस डुबानमा पर्दा ६ हजार हेक्टर जमीनमा लगाइएको धानबाली डुबाएको थियो । हजारौं जनता त्यसबाट प्रभावित भएका थिए ।

२०५७ सालको वर्षायाममा मात्रै लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको कारण त्यस क्षेत्रका १७२३ परिवारका ८ हजार बढी बासिन्दा विचल्लीमा परेका थिए । २०६० सालमा डुबानको कारण २४१२ बिगाह जमीनमा लगाएको अन्नबाली नष्ट भएको थियो । यतिबेला भारतले बाँकेको हिरमिनिया गाविसको पारिपट्टी सीमा सडक निर्माण सुरु गर्यो । नेपालको तर्फबाट बोल्ने कोही भएन । बाँकेको डुबान समस्याले नेपालगञ्ज उपमहानगरपालिकाका सीमावर्ती वडाहरूलाई थप डुबानमा पारेको छ ।

कोइलाबास तटबन्ध

नेपाल भारत सीमास्तम्भ ३७ देखि २० मिटरको दूरीमा भारतले दाङको सीमा क्षेत्रमा पर्ने दाराखोलामा कोइलाबास बाँधको निर्माण गरेको  छ । ५० मिटर  लम्बाइ रहेको बाँधको उचाइ २ मिटर  रहेको छ । बाँधबाट जाने नहरको भाग नेपाली भूभागमा समेत पारिएको छ । कोइलाबास बाँध निर्माण गरी भारतले उत्तरप्रदेशको राप्ती र इन्दिना नहरमा नयाँ नहरमार्फत पानी पु¥याई सिंचाइमा उपयोग गर्दै आएको छ । बाँधको कारण ३ हजारभन्दा बढी नेपाली नागरिक बर्सेनि प्रभावित हुँदै आएका छन् ।

महलीसागर बाँध

विसं २०५९ मा भारतले कपिलवस्तुको सीमा क्षेत्रमा एकतर्फी रुपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको थियो । यस बाँधले सुख्खा मौसममा १९१ हेक्टर जमीन डुवाउने गरेको छ । बाँध तथा तटबन्धको कारण कपिलवस्तु जिल्लाको बदौली, भगवानपुर, लोहरौली, नदवा, मुडिला, रंगपुर, भैसाहिया, कडजवा, रमपुरवा, पर्सीहिया गाविस प्रभावित हुँदै आएका छन् । रुपन्देहीको मर्चवार क्षेत्र नजिक भारतद्वारा एकतर्फी रुपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधको कारण रुपन्देही जिल्लाका ८ गाविस थुमुवा, पिप्रहवा, रायपुर, भगवानपुर, रोहिणीहवा, करौता, बेतकुइया र भदौली प्रभावित छन् । १८ वटा गाउँहरूले बर्सेनि डुबान समस्या झेल्दै आएका छन् । त्यहाँका बासिन्दाहरू राज्यले र यहाँका नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै आक्रोश पोख्ने गरेका छन् ।

डण्डा फरेना बाँध

डण्डाफरेना तटबन्ध रुपन्देहीकै  सिद्धार्थनगर नगरपालिकामा पर्दछ । यो सिद्धार्थनगर नगरपालिका २ देखि दक्षिण नेपाल भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डण्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डण्डा फरेना तटबन्ध लगेर जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधको कारण ३ किमिमात्र निर्माण गरिएको थियो । तर यस्ता विरोध त्यहीका स्थानीयले गरेकोबाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न ।

लालबकैया तटबन्ध 

२०६० सालमा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गर्यो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो ।  यस तटबन्धको कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक वर्ष डुबानमा पर्दै आएको छ ।

बैरगनिया तटबन्ध

रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा वि.सं. २०३७ सालमा नेपालको सहमतिविना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो  १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदीको प्राकृतिक बहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरूलाई डुबानमा पार्दै आएको छ ।

बागमती तटबन्ध

यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८.२५ किलोमिटर र बाँया किनारामा १८.२५ किलोमिटरको लामो तटबन्ध निर्माण  गरेको छ । करिब १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धको कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ ।

कमला तटबन्ध

कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदीको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धको कारण हरेक वर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरूका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

सिराहा तटबन्ध

सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर लम्बाइ २० फिट चौडाइमा फैलिएको छ ।

खाँडो तटबन्ध

भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदीमा निर्माण गरिएको खाँडो बाँध छ ।

कुनौली तटबन्ध

यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो  । यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरूलाई डुबानमा पार्दै आएको छ ।

लुना बाँध

यो बाँध मोरङ जिल्लाको बक्राह नदीमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदीमा आफ्नो भूभागतिर बनाएको छ । यसरी भारतले तराईका हरेक जिल्लामा पर्ने सीमा नदीमा बाँँध बाधेर नेपालको तराई डुवानमा पारेको छ । हरेक वर्षामा यसैगरी डुवानमा पर्ने नेपालको तराईको बारेमा न त राज्यले दीर्घकालीन समाधानको प्रयास गरेको देखिन्छ न तराईकै नेताले यो विषयमा आवाज उठाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार