पुँजीवादी मिडियाहरुले ख्रुश्चेभको उदय र सोभियत संघको विघटनसँगै विश्वमा ’अक्टोवर क्रान्तिको’ औचित्य पनि सकिएको भन्दै गला फाटुन्जेल धुंवाधार प्रचार गरिरहेका छन् । तर, सन् १९१७ को अक्टोवरमा सम्पन्न अक्टोवार क्रान्तिको जाज्वल्यमान इतिहास र आन्दोलनलाई पुँजीवादी खुफियाहरुले असफल पार्न हरतरहको विधि अपनाए पनि यसको महत्व झन बढ्दै गइरहेको छ ।

युरोपकै मुटुमा कार्ल मार्क्स र फ्रेडरिक एङेल्स जन्मिए । युरोपबाटै समाजवादी आन्दोलनको बिगुल विश्वभरी घन्कियो । सोभियत युनियनमा लेनिनले अक्टोबर क्रान्ति गरेपछि समाजवादी आन्दोलनको उचार्इ झन् चुलियो । लेनिनले सोभियत युनियनकाे समाजवादी व्यवस्था हाँकुन्जेल विश्वभरका पुँजीवादीहरुको निद हरायो । सन् १९१७ को अक्टोबर क्रान्तिले ल्याएको समाजवादी लहरलाई रोक्न अनेकन घुसपैठहरु भए र सन् ९० को दशकतिर आइपुग्दा सोभियत युनियन छिन्नभिन्न पारिए पनि अहिले फेरि अक्टोवर क्रान्तिको पक्षमा युरोपका चर्चित शहरका सडक, गल्ली र चोकचोकमा जताततै घनिभूत छलफल र बहसहरु भैराखेका छन् । गगनभेदी नाराजुलुस, हडताल, सभा सम्मेलन हरेक हप्ता जसो भैरहेका समाचारहरु हेडलाइन बन्छन् । पुँजीवादले सरलक्कै संसार निल्न खोजे पनि समाजवादी आन्दोलनको सिँह्वालोकन गर्नको लागि विश्वभरबाट अक्टोबर क्रान्तिको महत्वलाई उजागर गर्दै र जुर्मुराउदै अगाडि बढ्न थालेका छन् ।
गौरवशाली महत्व बोकेको अक्टोबर क्रान्तिले १०० वर्ष पार गरेको अवसरमा आईएलपिएस (इन्टरन्यासनल लिग अफ पिपल्स स्ट्रगल्स)ले नेदरल्याण्डको आम्सटर्रडाममा एक भब्य सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा विश्वका २२ देशबाट वैज्ञानिक समाजवादमा आबद्ध राजनीतिक पार्टीका नेताहरु, डाक्टर, प्राध्यापक, जोशिला युवा, जिज्ञाशु महिला तथा पत्रकारहरुको जमघट रहेको थियो ।
सेप्टेम्बर महिनाको १६ र १७ मा बेल्जियमको वर्कस पार्टीले समुन्द्री किनारमा रहेको रमणीय शहर नजिकैको शहर व्रेदेनमा समाजवादी विचार र आन्दोलन प्रति ऐक्यबद्धता जनाउन एक भव्य फेस्टिवलको आयोजना गरेको थियो । उक्त फेस्टिवलमा १२ हजार जनसमुदायले सहभागिता जनाएका थिए । बेल्जियमका प्राय सबै समाचार माध्यमहरुले त्यो सचेत जमघटलाई प्रमुख स्थान दिएर महत्वका साथ प्रसारण गरेका थिए । हाम्रो मोर्चाले पनि उक्त कार्यक्रममा सहभगिता जनाएको थियो । त्यहा पनि युरोप, ल्याटिन अमेरिका, मध्यपूर्व र एशिया लगायत सबैजसो महादेशका शुभेक्छुक, समर्थकहरुको सहभगिता थियो ।

सहभागीमध्ये फिलिपिन्स कम्युनिष्ट पार्टीका अग्रजहरुको टीम नै आएका थिए । उनीहरुले सेप्टेम्वर २३ र २४ मा आम्सटरडाममा आयोजना गरिएको सम्मेलनमा निम्ता गरेका थिए । हुनत आयोजक संगठनले सम्बन्धित सबैलाई अधिकारिक पत्रचार पहिले नै गरिसकेको थियो । अग्रजहरुको टिमले आत्मियताका साथ गरेको निम्ताले थप उर्जा थपियो र नेपाली जनप्रगतिशील मोर्चा, युरोपको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष विष्णु भुजेल, उपाध्यक्ष बदन योङ्गहाङ्ग र मैले उक्त सम्मेलनमा भाग लियौं । पहिलो दिन हामी पुग्दा पुग्दा फिलिपिन्स कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष जोसे मारिया सिसन र रसियन नेतृ इरिणा मालेन्कोले ‘किनोट स्पिच’ माथि छलफल चलाइरहेका थिए । एकदमै अनुशासित, व्यवस्थित, उत्सुक र शान्त वातावरणमा ध्यानपूर्वक प्रस्तुति सुन्दै थिए सहभागीहरु । हामी पनि छलफलमा सहभागी भयौं। हलमा चिया, कफी, पिउनको लागि तातो र चिसो पानी लगायत फलफुल मिश्रित पानीको यथेष्ट व्यवस्थापन । मध्यान्तर र सााझ मेस (सामुहिक खानपिन) को लागि भेज र नन भेजको परिकार । असाध्यै हार्दिक र निकटता ब्यक्त गर्ने सहयोगी र व्यवस्थापकहरु । त्यहाको बातावरण हेर्दा अति व्यस्त दिनचर्याबाट उर्जाशील हुन विशेष स्थानमा पुगे जस्तो भान हुन्थ्यो । सम्मेलनको पहिलो दिन सिसन, इरिणा र माले दल जर्मनीका पूर्व अध्यक्ष स्टेफन एङेलको ‘किनोट स्पिच’ मा आउँदा दिनमा पनि अक्टोबर क्रान्तिको जस्तै अर्को विश्व क्रान्तिमा छलाङ बन्न सक्छ कि सक्दैन ? विश्वमा यस्को महत्व र चासो अझ ब्यापक हुँदै छ वा छैन ? यो क्रान्तिको उपलब्धिलाई संरक्षण गर्दै नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ कि सकिदैन ? साम्राज्यवादीको चंगुलबाट उम्कन अक्टोबर क्रान्तिको उपादेयता के छ ? भन्ने प्रश्नहरुमा ब्यापक छलफल, प्रश्नोत्तर र बहस भएका थिए ।
पहिलो दिन बहसको तेश्रो चरण ब्रेक लगत्तै हरेक देशका पार्टीको विशेष नारा भन्ने र सबैले ऐक्यबद्धता जनाउने कार्यक्रम थियो । सबै देशकाले आफ्नो पार्टीको तर्फवाट नारा लगाउन पर्ने नियम बनाए । हाम्रो पालोमा बिष्णु भुजेलले ‘नेपालमा क्रान्ति निरन्तर जारी छ, नयाँ तरिकाबाट क्रान्ति अगाडि बढ्दै छ । १० वर्षे जनयुद्धले हासिल गरेका उपलब्धिहरुको रक्षा गर्दै पुन क्रान्तिको उभार उर्लदैछ । ब्यापक रुपमा जनताको समर्थन र सहयोग जुटाउदै क्रान्तिले गति लिदैछ । यसकाे नेतृत्व कमरेड विप्लवले गर्नुभएको छ । यसको राजनैतिक कार्यदिशा एकीकृत जनक्रान्तप हो’ भनेर प्रष्ट्याए । र, एकीकृत जनक्रान्ति-जिन्दावादलाई अर्थ्याउदै साथ दिन अनुरोध गरेपछि सबैले मुठी उठाएर जोशका साथ एकीकृत जनक्रान्ति जिन्दावाद भन्दै नारा घन्काए । यो क्षण हाम्रो लागि गौरवमय अनुभुति रह्यो । पहिलो दिनको कार्यक्रमको अन्तिममा विभिन्न देशका सांस्कृतिक झलक प्रस्तुत गर्नु पर्ने थियो । हामीले माइला लामाको ‘खोज्दछन मेरा यी आाखाहरु’ स्लाइड देखाएका थियौ । यो शहिदहरुको सम्मान र सम्झनामा निर्माण भएको भिडियो हो भनेर छोटो प्रस्तुति पछि देखाइएको उक्त भिडियोले हललाई स्तव्ध वनाएको थियो । करिव नब्बे वर्षको हाराहारीमा रहेका कमरेड शिसनले बसिरहेको कुर्सीबाट उठेर भित्तामा आड लगाई उक्त भिडियो हेरेका थिए ।
सम्मेलनको दोश्रो दिन प्रोफेसर फ्रेड एङ्स्टले ‘सुधारवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ भन्ने विषयमा कार्यपत्र पेश गरेका थिए ।उनले चीनको अहिलेको आर्थिक अवस्था, विश्वमा यसको प्रभाव, राजनीतिक परिवर्तन र माओले चलाएको सांस्कृतिक क्रान्तिकाे बारेमा प्रष्ट पारेका थिए । रेड पार्टी नर्वेका पेर गुनार स्कोटानले हामी विश्वको सबैभन्दा धनी देशको नागरिक भए पनि पुँजीवादी राज्य व्यवस्थाले सबैलाई न्याय नदिएको र साम्राज्यवादी देश अमेरिकाको आर्थिक, सैनिक निगरानीले सिङो युरोप हैरान भएको उल्लेख गरेका थिए । साम्रज्यवादी दादागिरीले सिङ्गो विश्वभरका जनता अक्रान्त भएका छन् । यस्तो समयमा अक्टोबर क्रान्तिको महत्व अझै बढेको राय ब्यक्त गरेका थिए । नेपाल र नेपाली क्रान्तिको विषयले प्रवेश पाएपछि हलमा जो जति देशका प्रतिनिधिहरुसँग हामीले भेटघाट र छलफल गर्यौ । ती सबैले ‘प्रचन्ड र बाबुरामले क्रान्तिलाई धोका दिएको, हजारौं सहिदको सपनामा कुठाराघात गरेको, महान् जनयुद्दको मर्मलाई संसदीय व्यवस्थामा लगेर ब्यापार गरेको र क्रान्तिको धज्जी उडाएको’ तिक्त आक्रोस पोखेका थिए । त्यहा उपस्थित प्रतिनिधिहरुलाई नेपालको क्रान्तिले धोका खाएको, असफल भएको भन्ने टिप्पणीमा एकीकृत जनक्रान्तिले छिट्टै गुणात्मक फड्को मार्ने र तपाईंहरुको नेपाली क्रान्तिप्रतिको अन्तरराष्ट्रिय प्रतिबद्धता, चासो, चिन्ताबारे पार्टीलाई जानकारी गराउने बाचा हामीले गरेका थियौं ।

सोही अवसरमा विशेष अतिथीको तर्फवाट नेडरल्याण्ड्सस्थित भेनेजुयलाका राजदूत एल्भारो एनरिक संचेज कोर्डेरोले युरोपकै एक मुख्य शहरमा यतिधेरै समाजवादी क्रान्तिमा प्रतिबद्ध कमरेडहरु जमघट हुनुहुन्छ भन्ने मैले सोचेकै थिएन । तपाईंहरुको यो उपस्थितिले म असाध्यै उत्साहित छु । भेनेजुयलाले अक्टोबर क्रान्तिको महत्वलाई बुझेर नै समाजवादी आन्दोलन जारी राखेको छ तर साम्राज्यवादी अमेरिका र पुँजीवादका ऐजेरुले हरेक कोणबाट घेराबन्दी गरेकोले हामीले सोचेको सफलता पाइरहेका छैनौ । क्रान्ति र समाजवादलाई लक्षमा पुर्याउन खोज्ने जुनसुकै देश बहु आयामिक हुनु पर्दो रहेछ भन्ने बुझेका छौ र तपाईंहरुमा पनि यो अनुभव बााड्न चाहन्छु । विश्वभरबाट यसरी नै प्रतिबद्ध हात र साथहरु जुटिरहनु पर्छ हामी सफल हुन्छौ भनेका थिए ।
कार्यक्रममा छलफल सत्रको अन्तिम वक्ताको रुपमा मोर्चाका अध्यक्ष विष्णु भुजेलले मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा उनले अक्टोवर क्रान्तिको महत्वको बारेमा धेरै चर्चा गरे । राम्रो भयो । वर्तमानमा त्यसवाट शिक्षा लिएर क्रान्ति अगाडि बढाउने कुरामा भने छलफल कम भएको हो कि भन्ने टिप्पणी गरे । उनले नेपालको बारेमा चर्चा गर्दै समाजवादी क्रान्ति कसरी विघटन हुन्छ भन्ने कुरा पछिल्लो समयमा नेपालको अवस्थालाई अध्ययन गरे पनि पुग्ने दावी गरेका थिए । महासचिव विप्लवले नेतृत्व गरेको नेकपाले नेपालको वर्तमान अवस्था, विश्व साम्राज्यवादले विकास गरेको चरित्र, पार्टी भित्रको अन्तर्रविरोधलाई हल गर्ने पद्धतिमा विकास, वैज्ञानिक समाजवादको रुपरेखा र नेपालमा नयाँ जनवादी क्रान्तिहुँदै समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अगाडि बढेकोले यो विषयमा गहन अध्ययन, अनुसन्धान, समर्थन र ऐक्यवद्धता जाहेर गर्न आग्रह गरेका थिए । मन्तव्यको क्रममा उनले नेकपाको अहिलेको राजनैतिक,सांगठनिक अवस्थाको पनि चर्चा गरेका थिए । नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हजारौको संख्या उपस्थित भएर ‘अक्टोबर क्रान्तिको एक शताब्दी’ धुमधामका साथ मनाउदै छन् भनेर जानकारी गराएका थिए ।
यो दुई दिने भब्य ‘पिपल्स कन्फेरेन्स’ कार्यक्रमलाई अाइएलपिएसका महासचिव म्याल्कोम गुयले संचालन गरेका थिए । उनले कार्यक्रमको निमण्त्रणालाई स्वीकारेर आएका २२ देशका ८० प्रतिनिधिहरु सबैलाई धन्यवाद र आभार ब्यक्त गर्दै अर्को वर्षको ग्रिष्मकालीन सम्मेलनबारे जानकारी गराए । अन्तमा अन्तरराष्ट्रिय गीत गाउदै सामुहिक तस्वीर खिचायौ ।र, २०१८ जुलाई २६(२८ मेक्सिको सिटीमा भेट्ने बाचाका साथ अवस्मरणीय अनुभव संगालेर हामी बेल्जियम फर्कियौ ।
लेखक नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका कोषाध्यक्ष हुन् ।) १४ अक्टोवर २०१७