सन् १९४९ मा नयाँ चीन स्थापनापछि केही चिनियाँ नेताहरू विश्वव्यापी रूपमा लोकप्रिय भएका छन्। उनीहरू शासक हुनुका साथै बलियो विचारधाराका हिमायती भएकाले पनि विश्वसमुदायको समीक्षाको घेरामा रहिरहेका छन्।

जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङ (माओ च तुङ), तङ स्याउ फिङ (देङ स्याओ पिङ) र अहिले आएर सी चिनफिङलाई महान विचारक नेताहरूको सूचीमा राख्न थालिएको छ। त्यसका अलावा चीनमा नयाँ विचार स्थापित गर्ने नेताहरूको सूचीबाट ज्याङ जेमिन (च्याङ च मिन) र हु जिन्ताओ (हु चिन्थाउ) लाई पनि अलग्याउन सकिँदैन। तर उनीहरूको विचारलाई माओ र सीको जत्तिकै महत्व दिएर पार्टीको विधानमै उल्लेख गरिएको छैन।
यी नेताहरूले ‘चिनियाँ माटो अनुकूल मौलिक विचारधारा स्थापित गरेर नयाँ चीनलाई विश्वमञ्चमा डोर्याउन योगदान गरेको’ भनेर चीनमा गर्व गरिन्छ। माओले मार्क्सवाद लेनिनवादलाई पनि मिलाएर चिनियाँ क्रान्तिको एउटा युग पार गरे भने पछिल्लो पुस्ताका सी चिनफिङले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको अवधारणा प्रस्तुत गरे, जुन चिनियाँ नागरिकले आत्मसात गरेका छन् भने विश्व समुदायले पनि निकै उत्सुकतापूर्वक हेरेको छ।
१. माओ च तुङका विचार
नयाँ चीन स्थापनाका प्रवर्तक माओले कम्युनिष्ट पार्टी र जनवादी चीनको सुरूवात गरेका हुन्। सन् १९४९ मा अध्यक्ष बनेका उनी मृत्युपूर्व सन् १९७६ सम्म पार्टी अध्यक्ष थिए। उनले चीनलाई एउटा मार्गदर्शन गराउनका लागि केही सिद्धान्त प्रतिपादन गरे। यसबाट तीन आधारभूत पहल निर्माण भए। तथ्यबाट सत्यको खोजी, सामूहिक लाइन र स्वतन्त्रता यसले अनुकरण गरेका पहल थिए।
नयाँ प्रजातान्त्रिक क्रान्तिको सिद्धान्त
समाजवादी क्रान्ति र समाजवादी निर्माणको सिद्धान्त
क्रान्तिकारी सेना निर्माण र सैन्य रणनीतिको सिद्धान्त
नीति तथा रणनीतिको सिद्धान्त
आदर्शवादी तथा राजनीतिक र साँस्कृतिक कार्यभारको सिद्धान्त
पार्टी निर्माणको सिद्धान्त
अन्तर्राष्ट्रिय रणनीति तथा कूटनीतिक कार्यको सिद्धान्त
विचार पद्धति तथा कार्य विधिको सिद्धान्त
२. तङ स्याउ फिङको आधुनिकीकरणका सिद्धान्त
माओपछिका सर्वाधिक लोकप्रिय नेताको रूपमा तङलाई लिन सकिन्छ। सन् १९७६ मा साँस्कृतिक क्रान्तिपछि उनले सर्वमान्य नेताको रूपमा नेतृत्व लिएका थिए। उनले नै चीनलाई आधुनिक समाजको रूपमा रूपान्तरण गरे। उनको नीतिले चीनमा वैदेशिक लगानीको बाटो खुल्यो भने चीन विश्वका लागि खुल्दै गयो। तङ स्याउ फिङ सिद्धान्तका मुख्य कुराः
औद्योगिक आधुनिकीकरण
कृषि आधुनिकीकरण
राष्ट्रिय प्रतिरक्षा आधुनिकीकरण
वैज्ञानिक तथा प्राविधिक आधुनिकीकरण
३. तीन प्रतिनिधित्वका प्रतिपादक च्याङ च मिन
सन् १९९३ देखि २००३ सम्म राष्ट्रपति बनेका च्याङ च मिन् तीन प्रतिनिधित्वका प्रतिपादक हुन्। च्याङ च मिनले सन् २००० मा पहिलोपटक क्वाङतोङ प्रान्तमा यी विचार प्रस्तुत गरेका थिए। पार्टीको ऐतिहासिक अनुभवका आधारमा नयाँ परिस्थितिसँगको अनुकूलन र नयाँ कार्यभार सम्हाल्नका लागि उनले यस्तो खालको विचार अघि सारेका थिए। जसलाई चिनियाँमा सान् क ताइ पियाओ भनिन्छ। त्यसले चिनियाँ कम्युनिष्ट पार्टी केवल जनताका लागि मरिमेटेर काम गर्नेछ भन्ने कुरालाई प्रोत्साहन गरेको देखिन्छ। ती यसप्रकार छन्ः
विकासका आवश्यकता अनुरूप चिनियाँ कम्युनिष्ट पार्टीबाट उन्नत उत्पादक शक्तिको प्रतिनिधित्व
चिनियाँ कम्युनिष्ट पार्टीको चिनियाँ अग्रगामी सँस्कृतिको दिशा निर्देशकको रूपमा प्रतिनिधित्व
चिनियाँ जनताको आधारभूत आवश्यकताको चिनियाँ कम्युनिष्ट पार्टीको निरन्तर प्रतिनिधित्व
४. हु जिनताओको वैज्ञानिक विकासको अवधारणा
सन् २००३ देखि २०१३ सम्म चीनको राष्ट्रपति बनेका हुको दृष्टिकोणमा चीनले वैज्ञानिक आविष्कारलाई प्राथमिकता दिन थालेको हो। चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनमा उनले पार्टीको निर्देशक सिद्धान्तमा वैज्ञानिक मार्गचित्र प्रस्तुत गरे। चीनको दीर्घकालीन आधुनिकीकरणका लागि वैज्ञानिक आविष्कारमा उनले जोड दिए।
५. सी चिनफिङ विचारधारा
सी चिन फिङको विचारधारालाई चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले केही दिनअघि मात्र अनुमोदन गरेको छ। ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ लाई पार्टीको निर्देशक सिद्धान्तको रूपमा राखिएपछि सीलाई चिनियाँ कम्युनिस्ट पार्टीमा माओ र तङपछिको शक्तिशाली नेता ठानिएको छ।
मंगलबार समापन भएको कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ अवलम्बन गर्ने निर्णय गरेपछि चीनमा सी माओपछिकै शक्तिशाली नेता बनेका छन्।
यसअघि माओ, देङ, ज्याङ र हुको नाम लिइन्थ्यो भने सीको उदयपछि माओ, देङ र सीको विचारलाई बढी महत्व दिन थालियो। अहिले आएर माओपछि सीको विचारलाई बढी महत्व दिइएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा माओपछि देङ र अहिले आएर सीको विचारधार समेटिएपनि बीचका राष्ट्रपतिहरू ज्याङ जेमिन र हु जिन्ताओको विचार चाहीँ पार्टी विधानमा राखिएको छैन। त्यसैले प्रमुख नेताहरूले उनीहरूको विचारलाई पनि विकास गर्दै लैजाने बताएपनि त्यसले धेरै महत्व पाएको छैन।
लम्साल चीनबाट नेपालखबरका लागि लेख्नछन् ।







