चीन नयाँ युगमा प्रवेश गरेको उद्घोषका साथ चिनियाँ विशेषताको समाजवादी मोडेललाई अझ विकसित गर्दै सन् २०२१ मा आमरूपमा चिनियाँ भूमिबाट गरिबी उन्मूलन गर्ने र सन् २०४९ सम्ममा चीनले आफ्नो संस्कृति र सभ्यताको पुनर्जागरण गर्दै आर्थिक, सामाजिक र सामरिक क्षेत्रमा आफ्नो पूर्ण वर्चश्व राख्ने संकल्पका साथ एक साता (अक्टोबर १८ देखि २४ सम्म) लामो चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कांग्रेस बेइजिङमा सम्पन्न भएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले तीसबर्से लामो कार्ययोजना प्रस्तुत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नयाँ विचारधारासमेत प्रवेश गराउन सफल भएका छन् ।खासगरी सी नेतृत्वमा आएपछि आर्थिक र विदेश नीतिमा आमूल परिवर्तन गरे । देङ सियाओ पिङको रक्षात्मक विदेश नीतिलाई अफेन्सिभ÷प्रोएक्टिभ विदेश नीतिमा परिवर्तन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको भूमिकालाई सशक्त बनाए । उनले ग्रेट पावरको परिभाषा बदल्दै नयाँ अवधारणा अघि सारे, जसअनुसार उनका अग्रज जियाङ जमिन र हु जिन्ताओले अवलम्बन गरेको विदेश नीतिमा व्यापक फेरबदल गरी पश्चिमा शक्ति राष्ट्रहरू खासगरी युरोपेली देशलाई सीले आफ्नो विदेशी नीतिको केन्द्रमा राखेनन् ।

सन् २००८ को आर्थिक मन्दीपश्चात् युरोपेली देशहरू कमजोर बनेर उनीहरूले आफ्नो प्रमुख भूमिका विश्व अर्थतन्त्रमा गुमाउँदै गए । झट्ट हेर्दा सीले बहुध्रुवीय नीति अंगीकार गरेको देखिए पनि सत्तामा आएपछि उनले दुईपक्षीय विदेश नीतिलाई प्राथमिकतामा राखे । अमेरिकासँगको सम्बन्धलाई पनि उनले पुनः परिभाषित गर्ने प्रयास गरे । सीले उनका अग्रजले भन्दा फरक ढंगबाट अमेरिकासँग सम्बन्ध अगाडि बढाए ।

सी सत्तामा आउनुअगाडि चीनले दोस्रो र तेस्रो लेबल अथवा परोक्ष कूटनीतिमार्फत अमेरिकासँग संवाद गर्दथ्यो भने सीले प्रत्यक्ष संवाद वा फस्ट ट्र्याक डिप्लोमेसीको प्रयोग गरेर अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गरेका छन् । खासगरी अमेरिकासँग सन्तुलित विदेशी नीति कायम गर्दै सहअस्तित्व र द्विपक्षीय लाभका विषय अगाडि बढाउँदै द्विपक्षीय द्वन्द्व न्यून पार्ने काम गरेका छन् । सीले उन्नाइसौं राष्ट्रिय महाधिवेशनमा चीन ‘थ्युसिडाइड्स ट्र्याप’ मा नफस्ने उद्घोष गरे ।

थ्युसिडाइड्स ट्र्यापले स्थापित शक्तिशाली राष्ट्र जहिले पनि उदीयमान शक्ति राष्ट्रसँग सशंकित हुन्छ जसले गर्दा दुई देशका बीचमा युद्ध अपरिहार्य हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्छ, तर सी यो विचारलाई चीन र अमेरिकाको सन्दर्भमा विफल पार्दै शान्तिपूर्ण विकास र सम्बन्ध अगाडि बढाउन चाहन्छन् ।सीले प्रतिपादन गरेको नयाँ ग्रेट पावर नीतिअन्तर्गत पारस्परिक विश्वास, शान्ति र विन विन (जित-जित) जस्ता अवधारणा पर्छन् ।

सीले परम्परावादी पश्चिमा शक्तिकेन्द्रको अवधारणा परिवर्तन गर्दै अब नयाँ उदीयमान शक्ति राष्ट्रको संगठन ब्रिक्स (ब्राजिल, इन्डिया, रूस, दक्षिण अफ्रिका, चीन) लाई केन्द्रमा राख्ने प्रयास गरेका छन् अथवा पश्चिमी शक्तिकेन्द्रको विकल्पका रूपमा ब्रिक्सलाई अगाडि बढाउन खोजेको देखिन्छ । यसरी विश्वको स्थापित पावर डाइनामिक्सलाई उल्ट्याउने प्रयास सीकै नेतृत्वमा भइरहेको अनुभूति गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको आर्थिक कूटनीति हो । आज विश्वमा भएको अमेरिकी डलरको प्रभुत्व नतोडेसम्म चीन विश्वको एक नम्बर शक्ति बन्न नसक्ने राष्ट्रपति सीले बुझेको हुनुपर्छ । खासगरी अहिले अमेरिका र चीनको लडाइँ भनेको ऊर्जा अथवा खाडी मुलुकमा भएको तेलको लागि भइरहेको छ । विश्वको सम्पूर्ण ऊर्जा मध्य अमेरिका र चीनले मात्र सत्तरी प्रतिशतभन्दा बढी उपभोग गर्छन् ।

तेलको नियन्त्रण गर्ने निकाय भनेको ओपेक हो र दोस्रो विश्वयुद्धपश्चात् ओपेकसँग आबद्ध देशहरूले तेलको बिक्री गर्दा अमेरिकी डलरमा मात्र गर्ने सहमति गरेका छन् । जसले गर्दा विश्व बजारमा अमेरिकी डलर स्थापित हुन सहज भएको छ । दोस्रो पक्ष भनेको अरब मुलुकमा भएको तेल जलमार्ग हुँदै चीनको भूमिमा आपूर्ति हुन्छ, तर धेरैजसो समुद्री मार्ग अमेरिकाको नियन्त्रणमा छन् । यसले गर्दा अमेरिकाको सम्बन्ध चीनसँग बिग्रियो भने अमेरिकाले चीनमा हुने तेलको आपूर्तिलाई ठप्प पार्न सक्छ र चीनसँग ६ महिनालाई भन्दा बढी पुग्ने भण्डारण क्षमता पनि छैन ।

यही विषयलाई ध्यानमा राखेर चीनका राष्ट्रपति सीले ‘एक बाटो एक क्षेत्र’ नामक नयाँ विदेश नीति ल्याएका छन् । सन् २०१३ मा ल्याइएको यो नीतिलाई हालको उन्नाइसौं महाधिवेशनले पुनः प्राथमिकतामा राखेको छ र सो नीतिलाई सशक्त ढंगबाट अगाडि बढाउन खोजेको छ । एक बाटो एक क्षेत्र नीतिअन्तर्गत चीनले एसिया, युरोप र अफ्रिकालाई जल र थलमार्गमार्फत जोड्ने योजना बनाएको छ, खासगरी थलमार्गले मध्य एसिया, युरोप र अफ्रिकालाई जोड्ने र अमेरिकाले कब्जा गरेको जलमार्गको सट्टा आफ्नै जलमार्ग निर्माण गर्ने हेतुले काम सुरु गरिसकेको छ र यसमार्फत अमेरिकी घेराबन्दी तोड्ने प्रयास गरिरहेको छ ।

चीनको नयाँ नीतिले चीनलाई विश्वको आर्थिक केन्द्रको रूपमा विकास गर्र्दैछ र विश्वलाई थलमार्गमार्फत जोड्दैछ, जसले गर्दा चीन चाँडै विश्वको व्यापारिक केन्द्र बन्दैछ । चीनको यो नीति सफल भएमा विश्वको आर्थिक, राजनीतिक र सामरिक शक्तिको केन्द्र पश्चिम खासगरी युरोप र अमेरिकाबाट सरेर एसियामा विशेषत चीनमा स्थापित हुनेछ । त्यसैले अबको विश्वको केन्द्र पश्चिम बन्ने कि पूर्व वा अमेरिका बन्ने कि चीन भन्ने विषय अहिलेको अहम् सवाल हो ।

यही विषयलाई मध्यनजर राखेर चीनले पञ्चशीलमा आधारित सहअस्तित्व, पारस्परिक सहयोग र अहस्तक्षेपकारी नीति अवलम्बन गरेको देखिन्छ । चीन सतर्कतापूर्व अगाडि बढेको देखिन्छ र भिडन्तको पक्षमा देखिँदैन ।सीले अमेरिकी अर्थतन्त्रको घेराबन्दीबाट मुक्त रहन नयाँ घरायसी आर्थिक नीति ल्याएका छन्, जसअनुसार चीनले अब निर्यातमा केन्द्रित आर्थिक नीतिबाट आन्तरिक उपभोगमा आधारित आर्थिक नीतिमा निर्भर रहने निर्णय गरेको छ।

सीले प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेका छन् । खासगरी वातावरणीय परिवर्तनले ल्याएको प्रभावको बारेमा सी चिन्तित देखिन्छन् र उनले पेरिस एग्रिमेन्टलाई हुबहु पालना गर्ने घोषणा गरे, तर अमेरिका भने उक्त एग्रिमेन्टबाट पछि हट्यो । सीले सन् २०२० सम्म चीनमा उत्पादित कार्बनको चालीसदेखि पैंतालीस प्रतिशत कटौती गर्ने घोषण गरेर विश्वलाई प्रदूषणमुक्त गर्ने अभियानको थालनी गरे, जसले गर्दा आज युरोपेली देश पनि अमेरिकासँग टाढिएर चीनसँग नजिकिन पुगेका छन् ।

सीले चीनको सुधार मात्र हैन, पश्चिमको विकल्पको रूपमा पनि नयाँ सिद्धान्त प्रतिपादन गरेका छन् । उनले अमेरिकी ड्रिमभन्दा माथि उठेर चिनियाँ ड्रिमको परिकल्पना गरेका छन् । चिनियाँ ड्रिम (सपना) अमेरिकी ड्रिमजस्तो व्यक्तिकेन्द्रित नभई जनताको सामूहिक उत्थानमा विश्वास राख्छ । यसले चिनियाँ जनताको पुनर्जागरणको परिकल्पना गर्छ, तर चीनको पुनर्जागरणलाई केन्द्रमा राख्दैन । यो चीनको सत्ता, आर्थिक समृद्धि र सामरिक शक्तिमा मात्र सीमित छैन, बरु यसले चीनको संस्कृति र सभ्यताको पुनर्जागरणमा विश्वास गर्छ । यसको अर्थ हुन्छ- चीन सन् २०४९ सम्ममा आर्थिक र सामरिक रूपले मात्र होइन, संस्कृति र सभ्यताको हिसाबले विश्वमा प्रभाव जमाउन चाहन्छ ।

पश्चिमी देशहरूको मूल्यमान्यताको विकल्पमा सीले नयाँ अवधारणा अघि सारेका छन्, जसअनुसार चीनले व्यक्तिवादको सट्टा सामूहिकता, द्विपक्षीय प्रतिस्पर्धाको सट्टा सामाजिक सद्भाव र प्रभुत्वको सट्टा सहअस्तित्वलाई प्राथमिकतामा राखेको पाइन्छ । पश्चिमाहरूले तयार पारेको विदेशी सहयोगमा आधारित विदेश नीतिको सट्टा पारस्परिक सहयोग, विश्वास, मेहनत र प्रत्यक्ष सम्पर्कमा आधारित नीतिको प्रार्दुभाव गरे सीले । धनी र गरिब राष्ट्रको सम्बन्ध मालिक र हलीजस्तो हुने र शोषणको सम्बन्धबाट अघि बढ्ने प्रणालीको चीनले अन्त्य गर्न चाहेको देखिन्छ ।

सीले देङ सियाओ पिङको खुलापन र आर्थिक उदारीकरणले पार्टीभित्र ल्याएको व्याप्त भ्रष्टाचारविरुद्ध लडेर चिनियाँ कम्युनिस्ट पार्टीको पुनर्निर्माण गर्ने काम गरे । उनले पार्टीमा संलग्न भ्रष्ट नेतालाई कारबाही गरेर सयौंको संख्यालाई जेल चलानसमेत गरे । यस घटनालाई कतिपय विश्लेषकहरू चिनियाँ कम्युनिस्ट पार्टीभित्रको दुई गुटबीचको अन्तरकलहको रूपमा लिने गर्छन् । खासगरी चिनियाँ कम्युनिस्ट पार्टी सांघाई समूह र बेइजिङ समूह गरेर दुई गुटमा लामो समयदेखि विभक्त छ ।

वर्तमान राष्ट्रपति सांघाई समूहको प्रतिनिधित्व गर्छन् र उनले आफ्नो गुटको वर्चश्व कायम राख्न बेइजिङ गुटका धेरै नेतालाई भ्रष्टाचारको आरोपमा फसाएर कारबाही गरेर आफ्नो पकड सत्तामा बलियो बनाएको भन्ने कतिपय राजनीतिक विश्लेषकको ठहर छ । बो सीलाई चीनका एक शक्तिशाली नेता थिए र उनी सीका प्रतिस्पर्धी पनि थिए र बो सीलाई भ्रष्टचारको मुद्दामा फसाएर आजीवन काराबासमा पठाएर आफू मजबुत भएको हुनसक्ने अनुमान कतिपय विद्वान्हरूले गरेका छन् ।

जे भए पनि सीले एउटा साहसिक कदम चालेर पार्टीभित्रको व्याप्त भ्रष्टाचार उन्मूलन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीलाई नयाँ जीवन दिने काम गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा भएको अनुशासनको खडेरीको अन्त्य गर्दै नब्बेको दशकपछि राजनीतिक रूपबाट समाप्त हुन लागेको पार्र्टीलाई सही मार्गमा ल्याएका छन् । यसरी सीले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै चीनलाई गरिबीबाट मुक्त गरेर नयाँ युगमा प्रवेश गराएका छन् । सीले चीनको प्रधान अन्तरविरोधको पनि नयाँ परिभाषा गरेका छन् ।

सीका अनुसार चीनमा अहिले जनताको समृद्धिप्रतिको तीव्र चाहना र असन्तुलित विकासका बीचमा प्रमुख अन्तरविरोध छ । चीनमा अहिले पनि धनी र गरिबका बीचमा ठूलो खाडल छ भने भेगीय हिसाबले पनि पूर्वी भाग र पश्चिमी भागको बीचमा ठूलो अन्तर छ । चीनको पूर्वी भाग समृद्ध छ भने पश्चिमी भाग तुलनात्मक रूपमा कमजोर । त्यसैले सीले सन् २०३५ सम्ममा धनी र गरिबबीचको दूरी साँघुरो पार्ने प्रतिबद्धता गरेका छन् ।

सीले २०१२ मा सत्तामा आएपछि पेरिफेरियल डिप्लोमेसी (छिमेकीहरूमा केन्द्रित कूटनीति) को नयाँ अवधारणा ल्याएका छन् । चीनको वरिपरि चौधवटा देशसँग सीमा जोडिएको छ र सीमा जोडिएका देशहरूको आर्थिक समृद्धि भएन भने पश्चिमा मुलुकहरूले खेल्ने मैदान पाउने र छिमेकी देशहरूको भूमि प्रयोग गरेर चीनलाई घेराबन्दी गरेर कमजोर पार्न सक्ने सम्भावनाको चीनले राम्रो आकलन गरेर नयाँ नीति ल्याएको हुनुपर्छ । चीनको नयाँ नीति अथवा छिमेकीलाई प्राथमिकतामा राख्ने नीतिको नेपालले भरमग्दुर फाइदा लिन सक्छ । चीन नेपालमा प्रचुर लगानी गरेर दक्षिण एसियामा नेपाल हुँदै प्रवेश चाहन्छ भने अर्कोतर्फ नेपाल आर्थिक, राजनीतिक र सामरिक रूपमा बलियो भए मात्र तिब्बत सुरक्षित हुन सक्छ भन्ने चिनियाँ बुझाइ हुनुपर्छ ।

चीनले ‘एक बाटो एक क्षेत्र’ नीतिअन्तर्गत गत मे १२ मा नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चीन अहिले नेपलामा राजनीतिक स्थिरताको पर्खाइमा छ । नेपालमा राजनीतिक स्थिरता नभएमा लगानी डुब्ने डरले चीन खुलेर नेपालमा लगानी गर्ने पक्षमा देखिँदैन । त्यसैले नेपाल अब दुई पार्टी पद्धतिमा वा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा प्रवेश गर्न जरुरी छ, अन्यथा हामीले सोचेजस्तो चिनियाँ लगानी भित्याउन सक्ने छैनौं । चीनसँग हामीले उत्तर-दक्षिण राजमार्ग अरू थप गर्न सक्नेछौं र चीन तिब्बत नेपाल आर्थिक कोरिडोर सञ्चालन गर्न उत्सुक देखिन्छ । तर दुःखको कुरा, काठमाडौं तातोपानी नाका जोड्ने सडक वर्षौंदेखि बन्द छ ।

चीनले भूकम्पको कारण देखाएर नाका बन्द गरेको भनिए पनि यथार्थमा तिब्बती शरणार्थीको बसोवास तातोपानी क्षेत्रमा बढेपछि सुरक्षाको कारण देखाइ चीनले सो नाका बन्द गरेको सहज अनुमान गर्न सकिन्छ । यो विषयमा नेपालका राजनीतिक दल र सरकार गम्भीर हुन जरुरी छ, अन्यथा तातोपानी नाका मात्र होइन चीनले अरू नाका पनि नखोल्न सक्छ र चीनमा प्रवाह भएको समृद्धिको नेपालले फाइदा लिने चाहना अधुरो रहन सक्छ ।

अन्त्यमा, चीनको नयाँ नेतृत्वको नयाँ विचारले अमेरिकी प्रभुत्व अन्त्य गर्दै एसियाकेन्द्रित अर्थतन्त्र विकास गर्दै समानतामा आधारित विश्व समाज निर्माण भएमा सीको चिनियाँ विशेषतामा आधारित समाजवादको पूर्ण सफलता भएको मानिनेछ । नेपालले पनि राजनीतिक स्थिरता कायम गर्दै सन्तुलित परराष्ट्र नीतिमार्फत चीनसँग हातेमालो गर्दै समृद्धिको नयाँ ढोकाहरू खोल्न सक्छ ।

-शर्मा त्रिविका प्राध्यापक हुन्, अन्नपूर्णबाट ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार