अप्रत्याशित रुपमा कथित वामपन्थी ध्रुवीकरणकाे नाममा यही असाेज १७ गते काठमाडौं काे राष्ट्रिय सभा गृहमा नेपाली राजनीतिकाे एउटा कला हिनविहीन नाटक मंचन गरियो । नेपालको वाम राजनीतिभित्र घुसेका उत्तर , दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुदै पार्टी एकता सम्मको यात्रा तय गर्ने भनी गरिएको ६ बुदे तमसुकभित्रकाे उद्देश्य र रहस्य निम्न रहेका छन् :

१) पहिलो, याे गठबन्धन नेपालमा एकीकृत जनक्रान्तिमार्फत देश वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्न थालेपछि यसलाई असफल पार्न र कथित कम्युनिस्ट एकता र ध्रुवीकरणकाे नाममा जनता र क्रान्तिकारीबीच भ्रम सृजना गर्न देशी विदेशी शक्तिको डिजाइनमा तयार पारिएको क्रान्ति विराेधी हत्कण्डा हाे ।
२) दाेस्राे, याे गठबन्धन हामीले विगतदेखि नै भन्दै अाएकाे र परिस्थितिले पनि धकेलेकाे सत्य के हाे भने एउटै देशमा समान कार्यदिशा र विचार भएका पार्टीहरु एउटै उद्देश्य र लयमा टिक्न सक्दैनन् र अन्ततः तिनीहरु एक अर्कामा विलय हुन्छन् । क्रान्ति छाेडिसकेपछि माअाेवादी केन्द्र र एमाले काे अवस्था पनि त्यस्तै हाे र बाबुराम प्रचण्डको विलय एमालेमा हुनु थियाे भयाे । याे स्वभाविक पनि हाे ।
३) तेस्रो, याे गठबन्धन देश र जनताको चाहना र अावश्यकतामा भन्दा पनि यही दलाल संसदीय ब्यवस्थाभित्र शक्ति जम्मा गर्ने र चुनाव जित्नेसंग मात्रै सीमित छ र त्याे कुरा कथित ६ बुँदेमा र केपी, बाबुराम र पुष्पकमलकाे भनाइमा पनि अभिब्यक्त भएकोले याे एकता र गठबन्धन नेपाली श्रमजीवी जनताको लागि कागलाई बेल पाक्याे हर्ष न बिस्मात जस्तै भएको छ ।
४) चाैथाे, याे गठबन्धन केपी ले भनेको जस्तो नेपाली जनताको चाहना र अावश्यकता, पुष्पकमलले भनेको जस्तो निरन्तरतामा क्रमभंगता र बाबुरामले भनेको जस्ताे अावश्यकता र अाकस्मिकता जे भने पनि विचार र प्रवुत्तिकाे दृष्टिले हेर्दा याे संयाेग र स्वभाविक छ । यसले संशोधनवादी गठबन्धनलाई एक ठाउँमा ल्याएको छ र कथित क्रान्तिकारी अावरणलाई च्यातेकाे छ ।
५) पाँचौ, याे गठबन्धनले नेपालकाे राजनीतिलाई तत्कालका लागि तीन धारा र त्यसपछि दुई धारामा विभाजन गर्ने छ । तत्काल, एउटा कांग्रेस काे नेतृत्वमा कठाेर पुँजीवादी धारा, अर्को एमालेकाे नेतृत्वमा सुधारवादी संसदीय वामधारा र अर्को एउटा सच्चा कम्युनिस्टहरुकाे क्रान्तिकारी समाजवादी धारा कायम हुनेछ भने दीर्घकालीन रुपमा एउटा यथास्थितिवादी पुँजीवादी धारा र अर्को क्रान्तिकारी वैज्ञानिक समाजवादी धारा कायम हुनेछ । यसले देशलाई क्षणिक संकटमा लगेता पनि अन्तत वैज्ञानिक समाजवादी धाराले विजय हासिल गर्ने छ र सबै खाले संकटको समाधान गर्ने छ ।
६) तर यति हुँदा हुँदै पनि एकता र सहकार्यको सामान्य मापदण्ड पनि पूरा नगरि जसरी वाम ध्रुवीकरणकाे हठात घाेषणा गरियो, यसको पर्दा पछाडि ठुलो रहस्य लुकेको सहजै अनुमान गर्न सकिन्छ । याे एक प्रकारले सामान्य नजरबाट हेर्दा अवान्छित, अप्रत्याशित, अनैतिक र अपवित्र जस्तो देखिनुकाे कारण, मुल्यहिनकाे राजनीतिक गठबन्धनमा कांग्रेससँग सरकारमा बसेको माके, प्रतिपक्षमा बसेकाे एमाले र कम्युनिस्ट झण्डा फालेर हिडेका बाबुराम अनि अन्य गैर कम्युनिस्ट चिन्तनका शक्ति सामेल हुनु र त्यसको काउन्टरमा कांग्रेसले अर्को कथित प्रजातान्त्रिक गठबन्धन हठान बनाउन खाेज्नुले यसको पुष्टि गर्छ ।
यसले यस्तो पनि संकेत गर्छ कि फुटाउने र जुटाउने शक्ति एउटै छ र त्यसले कथित सहमतिको राजनीति र कथित संविधानकाे उलंघन गराउदै कथित दलाल सरकार र सदनको बिघटन गरि गैरराजनीतिक सरकार बन्ने, कथित संघीय र प्रान्तीय चुनाव पनि वरपर हुने र देशमा ठुलो वैदेशिक चलखेल हुने संभावना पनि देखिन्छ । यदि यस्तो भयो भने पनि दलाल संसदीय ब्यवस्थाकाे स्वभाबिक परिणाम मान्नु पर्ने हुन्छ र बरु त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाकाे मार्गमा अघि बढ्नु पर्छ ।
बाहिरी शक्तिको भरमा तयार भएका चाहे कथित वाम हुन् या चाहे कथित प्रजातान्त्रिक गठबन्धन हाेउन्, ती सबै निकट भविश्यमै तासको महल जसरी ढल्ने छन् भने क्रान्तिकारीहरुबीच बलियो एकता र ध्रुवीकरण अगाडि बढ्ने छ । सबैलाई चेतना भया ।







