७० वर्षदेखि नेपालको राजनीतिक आन्दोलनले आफ्नो कोर्ष पूरा गर्न सकेन । किन ? प्रष्ट छ– नेपालका लोभी र असफल नेताहरुका कारण ।

००७ सालदेखि नेपाली जनताले ०७३ सम्म पटक पटक संघर्ष गरे तर संघर्षको परिणाम केही नेताहरुको माथि (कुर्सी)मा व्यवस्थापन हुने तर जनताको व्यवस्थापन कहिल्यै नहुने ।
जसका कारण आन्दोलन आजसम्म पनि जारी छ ।
००७ सालदेखि ०१७ को बीचमा नेपाली कांग्रेसले तीनपटकसम्म हतियारबद्ध आन्दोलन गर्यो । तर कांग्रेसको आन्दोलनले आफ्नो गन्तव्य पूरा गर्नै सकेन । कारण थियो– कांग्रेसले दिल्ली र राजासँग सम्झौता गर्यो र आफ्ना केही थान नेताहरुको सत्तामा भागबन्डाको व्यवस्थापनसहित । त्यो आन्दोलन अन्ततः त्यही बेला तुहिन पुग्यो ।
कांग्रेले धोका दियो भनेर तत्कालीन माले (अहिलेको एमाले) ले ०२७–२८ तिर झापामा वर्गशत्रु खत्तम अभियान संचालन गर्यो । त्यो आन्दोलन पनि बीचमै तुहिएर गयो ।
नेपालको राजनीतिक इतिहासमा ०५२ देखि दश वर्षसम्म चलेको माओवादी जनयुद्ध सबैभन्दा ठूलो उथपुथलकारी आन्दोलन थियो ।
स्थानीय जनसत्ता संचालन गर्दै केन्द्रीय जनसरकार संचालनको उत्कर्षमा पुगेको तत्कालीन माओवादी नेतृत्व प्रचण्ड र बाबुरामले ठूलो विश्वासघात गर्दै जसका विरुद्ध लडिएको थियो, त्यही व्यवस्थामा आत्मसमर्पण गर्न आइपुगे ।
दशौं हजार पूर्णकालीन नेता–कार्यकर्ता, हजारौं जनमुक्ति सेनाको फर्मेसन, नेपालको ७५ प्रतिशत भू–भाग नियन्त्रमा लिएको क्रान्तिकारी शक्तिलाई प्रचण्ड र बाबुरामले सनकको भरमा उही संसदीय व्यवस्थामा फर्काएर नेपालको इतिहासमा कांग्रेस र एमालेले गरेको विश्वासघातभन्दा ठूलो घात गरे ।
प्रतिक्रियावादी संसदीय व्यवस्थालाई उल्टाएर नयाँ जनवादी व्यवस्था निर्माण गरेर समाजवादहुँदै साम्यवाद पुग्ने तत्कालीन नेकपा माओवादीको निर्णयलाई उल्टाएर प्रचण्ड र बाबुरामले चुनवाङबाट शान्तिप्रक्रियामा आउँदा आत्मसमर्पणको बाटो अंगाले ।
प्रचण्ड–बाबुरामले सम्झौता र आत्मसमर्पणको बाटो समाएपछि नेत्र विक्रम चन्द विप्लवले क्रान्तिकारी विप्लव (विद्रोह) को झण्डा समाए ।
त्यही विद्रोहको बाटो अहिले कथित संसदीय चुनाव खारेज (बहिष्कार) अभियानमा प्रकट भएको छ ।
कांग्रेस र एमालेले ठानेका थिए कि प्रचण्ड र बाबुरामहरुको एउटा ठूलो पंक्तिलाई यही संसदीय व्यवस्थाभित्र एडजस्टमेन्ट (व्यवस्थापन) गरेपछि माओवादी आन्दोलन कोल्याप्स हुनेछ । सधै नेपालमा संसदवादको राज हुनेछ भनेर ।
त्यो असंभव थियो । माओवादीका केही नेताहरुलाई किनेर या मोलमोलाई गरेर यही पूरानो व्यवस्थाभित्र आत्मसमर्पण गराएपछि सबै ठीक हुन्छ भनेर संसदवादीहरुले जे सोचेका थिए, त्यसको परिणाम ठीक उल्टो आयो । त्यो स्वभाविक पनि थियो ।
२०–२५ वर्षको बीचमा जसरी संसदीय व्यवस्था असफल भएर नेपाल विश्वको सबैभन्दा दरिद्र मुलक बन्न पुग्यो । त्यसलाई बदलेर नेपालको हावापानी र मौलिकतामा नयाँ व्यवस्था निर्माण गरेर जाने भन्ने जुन तत्कालीन माओवादी पार्टीको नीति थियो त्यसलाई निरन्तरता दिइरहेका छन् अहिले नेत्र विक्रम चन्द विप्लव ।
अहिले संसदीय चुनावका विरुद्ध देशव्यापी जुन विद्रोह र लाल आतंक पैदा भइरहेको छ त्यो त्यसैको परिणाम मात्र हो ।
संसारबाट असफल भइसकेको बुर्जुवा संसदीय व्यवस्था नेपालमा जर्बजस्ती लाद्न खोज्दा नेपाल झन् झन् पछि पर्दै गयो ।
७० लाख नेपाली युवालाई विदेशमा पठाएर ती युवाहरुको पसिनाबाट जम्मा हुने रेमिट्यान्सले चलेको यो संसदीय व्यवस्थालाई मिल्काउन नेपाली जनता तयार छन् भन्ने संकेत अहिलेको चुनावमा देखिएका घटनाक्रमलाई हेरे मात्र पुग्छ ।
नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि लुट मच्चाउने यो संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी जनताले लाल आतंक सिर्जना गरिरहेका छन् । त्यसलाई नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव विप्लव ले नेतृत्व गरिरहेका छन् ।
अहिले देशमा देखा परिरहेको लाल आतंक त्यसैको ट्रेलर मात्र हो । पूरा दृश्य आउन त बाँकी नै छ ।







