अहिले कतिपय बुद्धिजीवीहरुलाई पूँजीवादी व्यवस्था नै सबभन्दा उत्तम जनपक्षीय व्यवस्था हो भन्ने भ्रम बढ्न थालेको छ । पूँजीवादी बजार अर्थतन्त्र र पूँजीवादी संसदीय लोकतन्त्र नै संसारको सबभन्दा राम्रो व्यवस्था भएको उनीहरुलाई लाग्दछ र समाजवाद तथा साम्यवादी व्यवस्थाको आवश्यकता र अनिवार्यता छैन भन्ने उनीहरुको दावी रहने गर्दछ । तर यथार्थता यसको ठीकविपरीत रहेको छ ।

विश्वमा हरेक वर्ष करिव ९० लाख मानिसहरु खान नपाएर तथा खानाको कमीले हुने समस्याका कारण मर्ने गर्दछन् भन्ने तथ्यांक छ । प्रत्येक दश सेकेण्डमा एक बालक भोकमरीले गर्दा मर्ने गर्दछ । (mercycorps.org) तर विश्वमा खाद्यान्नको कमी भएर ती बालकहरु र अरु मानिसहरुले खान नपाएका भने होइनन् । विश्वमा अहिले पनि सबै जनतालाई खान पुग्ने भन्दा १७ प्रतिशत बढी खाद्यान्न उत्पादन भइरहेको छ । प्रत्येक दश सेकेण्डमा एक बालक र प्रत्येक वर्ष करिव ९० लाख मानिसहरुलाई भोकै मार्ने अरु कोही नभएर यही पूँजीवादी बजार अर्थतन्त्र र पूँजीवादी लोकतन्त्र नै हो भन्ने कुरा ती पूँजीवाद समर्थक बुद्धिजीवीहरु र दक्षिणपन्थी बुद्धिजीवीहरुले नदेखेझैं गरिरहेका छन् । उनीहरुले ९० लाख मानिसहरु खान नपाएर वर्षेनी मरिरहेको समस्याको समाधान पूँजीवादी लोकतान्त्रिक व्यवस्थाहरु र पूँजीवादी बजार अर्थतन्त्रसहितको नीजि स्वामित्व प्रणालीले किन गर्न सकेन भन्ने प्रश्नको जवाफ दिन चाहँदैनन्, तर पनि पूँजीवादी लोकतन्त्र र पूँजीवादी अर्थतन्त्रको गुणगान गाउन र समाजवाद तथा साम्यवादको विरोध गर्न आफ्नो दिमाग खर्च गरिरहेका छन् ।
गत जनवरी २०१८ मा बेलायतमा केन्द्रीय कार्यालय रहेको संस्था अक्सफामले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०१७ मा विश्वभरिमा बृद्धि भएको कूल सम्पत्तिमध्ये ८२ प्रतिशत सम्पत्ति विश्वका केवल १ प्रतिशत धनीहरुको हातमा गयो भने विश्वका ५० प्रतिशत जनताको हातमा केही पनि गएन । यसले विश्वका मुठ्ठीभर धनीहरु र विशाल गरिबहरुको बीचको असमानता झन् बढाएको पुष्टि गरेको छ । उक्त रिपोर्टमा भनिएअनुसार विश्वका केवल ४२ जना व्यक्तिको कब्जामा विश्वका आधा जनताको बराबर सम्पत्ति रहेको छ । विश्वका केवल ४२ जना पूँजीपतिको हातमा विश्वका ३ अर्ब ७० करोड जनताको सम्पत्ति बराबर रहनु भनेको ख्यालठट्टाको कुरा होइन । महान पूँजीवादी लोकतान्त्रिक देश अमेरिकामा केवल ३ जना पूँजीपतिको हातमा आधा अमेरिकी जनता अर्थात् करिब १६ करोड अमेरिकी जनताको बराबर सम्पत्तिमा कब्जा जमाएको छ ।
पूँजीवादी लोकतन्त्रको किर्तन गाउने कथित विद्वानहरुले यसलाई नै समानता, भातृत्व र महान लोकतन्त्र भन्ने गरेका छन् । सन् २०१७ मा विश्वभरि २०४३ जना डलर अर्वपतिहरु थिए । उनीहरुको सम्पत्तिमा गत एक वर्ष मात्रै ७६२ अर्ब डलर वृद्धि भयो । जसबाट मात्रै पनि विश्वका करोडौं जनताको चरम गरिबी सात पटक निर्मूल गर्न पुग्दछ भन्ने उक्त रिपोर्टमा भनिएको छ । तर ती डलर अर्बपति पूँजीपतिहरुले केवल एक वर्षमा वृद्धि भएको सम्पत्तिको सात भागको एक भागबाट विश्वको चरम अमानवीय गरिवी निर्मूल गर्ने लोकतान्त्रिक चरित्र किन देखाउँदैनन् भन्ने प्रश्नको उत्तर पनि पूँजीवादी लोकतन्त्रका भक्त हनुमान वुद्धिजीवीहरुले दिन सकेका छ्रैनन् ।
एकातिर चरम गरिबी र भोकमरी तथा अर्कोतिर सम्पत्तिको अति केन्द्रीयकरणको कारण पूँजीवादी लोकतन्त्र र पूँजीवादी उत्पादन सम्बन्ध नै हो । पूँजीवादभक्त हनुमान बुद्धिजीवीहरु पूँजीपति वर्ग धनी हुनुको कारण उनीहरुको मेहेनत, लगनशीलता, क्षमता, सीप र जोखिम मोल्ने क्षमता हो भन्ने गर्दछन् । तर अक्सफामको सोही रिपोर्टको पृष्ठ १० मा भनिएको छ कि– पूँजीपति वर्गको सीप, मेहेनत र जोखिम मोल्ने क्षमताले भन्दा बढी एकाधिकार र सरकारसँगको सम्वन्धका कारण पूँजीपतिहरुले सम्पत्ति वृद्धि गरिरहेका छन् । यो संस्था कुनै माक्र्सवादी संस्था नभएर लण्डनमा केन्द्रीय कार्यालय भएको बुर्जुवा सामाजिक संस्था हो । जसले पनि अहिले माक्र्सकै विश्लेषणमा सहमति जनाउन पुगेको छ ।
एक साधारण मजदुरले पूँजीपतिले भन्दा बढी मेहेनत गरेको हुन्छ । तर उसले आफ्नो परिवार पाल्न पुग्ने ज्याला पनि पाउँदैनन् । ती मजदुरले पूँजीपतिले भन्दा बढी जोखिम मोलेर काम गरिरहेको हुन्छन्, आफ्नो ज्यानको वाजी लगाएर काम गरिरहेको हुन्छन्, तर पूँजीपतिले भन्दा ज्यादै थोरै कमाउन सकेको हुन्छ । पूँजीपतिसँग भन्दा उत्पादन गर्ने वास्तविक सीप मजदुरसँगै हुन्छ तर पूँजीपतिसँग पूँजीवादी लोकतान्त्रिक सत्तासँग विशेष सम्बन्ध बनाएर शासन गर्ने र त्यसको आडमा शोषण गरेर कमाउने सीप हुन्छ । जसबाट उनीहरु अर्बपति बनिरहेको हुन्छ । माक्र्सले के भनेका थिए भने पूँजीवादी व्यवस्थामा मजदुरहरुको श्रमबाट वस्तु उत्पादन हुँदा मजदुरहरुलाई उनीहरुको श्रमको वास्तविक मूल्य नदिइकन कम दिएर त्यो रकम पूँजीपतिहरुले आफ्नो मेहेनतको फल नाफा भन्दै शोषण गर्ने गर्दछ, जसले गर्दा वास्तविक उत्पादक मजदुरहरु गरिबीको मारमा पर्दछन् भने सम्पत्तिको केन्द्रीकरण मुठ्ठिभर पूँजीपतिको हातमा हुन जान्छ । जस्तै आइफोन उत्पादन गर्ने फ्याक्ट्रीका मजदुरले प्रतिघण्टा साढे एक डलरमा दैनिक ११ घण्टा काम गर्छन् । जसबाट महिनामा २६८ डलर कमाउँछन् । यसरी मजदुरहरुलाई ज्यादै कम ज्याला दिएर सो कम्पनीले प्रतिआइफोन ७ मोडेललाई केवल २२५ डलरमा उत्पादन गर्दछ । तर बजारमा ६४९ डलरमा बेचेर अर्बौं नाफा कमाइरहेका छन् ।
माक्र्सले सामन्ती अर्थतन्त्र र राजनैतिक व्यवस्थाभन्दा पूँजीवादी अर्थतन्त्र र राजनैतिक व्यवस्था राम्रो तथा प्रगतिशील छ भनेका थिए, जुन सही हो । तर पूँजीवादी अर्थतन्त्र र राजनैतिक व्यवस्थाले सामन्ती शोषक वर्गले भन्दा तीब्र गति र अनुपातमा शोषण गर्ने कुरा पनि यथार्थ हो । पूँजीवादी अर्थतन्त्र र राजनैतिक व्यवस्थाले कार्लमाक्र्स, लेनिन तथा माओको समयभन्दा पनि तीब्र गतिमा समाजवाद तथा साम्यवादका लागि आधार तयार गरिरहेको छ । पूँजीवादी उत्पादक शक्ति यति विकसित भएको छ कि अहिले एकै वर्षको व्यवस्थापनमा विश्वबाट चरम गरिबी, भोकमरी, अशिक्षा आदि सबै हटाउन सकिन्छ । तर पूँजीपतिहरुले संसारभरिका जनताबाट शोषण गरेर कमाएको सम्पत्ति र उत्पादक शक्ति अहिले ती पूँजीपतिहरुले नै विकास र विस्तार गर्नबाट रोकिरहेका छन् । भनाइको अर्थ हो पूँजीवादी उत्पादक शक्तिको विनास ती पूँजीवादी अर्थतन्त्र र पूँजीवादी लोकतन्त्रले नै गरिरहेको छ ।
उदाहरणको लागि अहिले विश्वका औषधि उद्योगहरुले विश्वभरिका जनतालाई चाहिने औषधि सजिलैसँग उत्पादन गर्ने विशाल क्षमता विकास गरिसकेको छ । तर विश्वमा सामान्य औषधि नपाएरै लाखौं मानिसहरु मृत्युको सिकार भइरहेका छन् । तर ती औषधि कम्पनीहरुले चर्को नाफाको लोभमा विश्वका सबैलाई पुग्ने औषधि जानीबुझिकन उत्पादन नगरी बसेका छन् । ती औषधि उद्योगहरुलाई जनताको सम्पत्तिमा रुपान्तरण गरी उत्पादन थाल्ने हो भने संसारका सबैलाई सस्तोमा औषधि उत्पादन गर्न सकिन्छ । तर ती पूँजीपतिका लागि संसारका जनताको स्वास्थ्यभन्दा पनि नाफा ठूलो बनिरहेकोले आफ्ना उद्योगको उत्पादक शक्तिको हत्या गर्दै लाखौं जनताको पनि हत्या गरिरहेका छन् । औषधि, लुगा र खाना जस्ता आधारभूत वस्तु मात्र होइन, विश्वका सबै परिवारलाई नीजि गाडी तीनदेखि पाँच वर्षभित्र उत्पादन गर्न सक्ने क्षमता अहिलेको पूँजीवादी अर्थतन्त्रले विकास गरिसकेको छ ।
अहिले विश्वभरिका सबै जनतालाई पुग्ने गाँस, बास, कपास, शिक्षा स्वास्थ्य आदि लगायतका वस्तु एवम् सेवाहरुको उत्पादन र व्यवस्थापन गर्ने उत्पादक शक्ति अर्थात क्षमता अहिलेको पूँजीवादी अर्थतन्त्र र पूँजीवादी लोकतन्त्रसँग रहेको छ । तर समाजको स्वामित्वमा नभएर मुठ्ठिभर पूँजीपतिहरु (केवल २०४३ जना डलर अर्बपति तथा विश्वका १० हजार प्रमुख शासकहरु) को स्वामित्वमा भएकोले ती उत्पादक शक्तिको विनास भइरहको छ अर्थात् त्यसको पूर्ण उपयोग नगरीकन खेर गइरहेको छ । माक्र्सले भनेझैं समाजवादका लागि भौतिक आधार तयार भइसकेको छ । अब आवश्यकता विश्वव्यापी समाजवादी क्रान्तिको हो ।
अहिले नै क्रान्तिको शुरुवात गर्न नसके पनि क्रान्तिको आवश्यकता र अनिवार्यताको व्यापक प्रचार भने सबैले गर्न पर्दछ, तब मात्र समाजवादको वैचारिक सांगठनिक आधार तयार हुन्छ । तर यतातिर हात बाँधेर बस्ने र सत्ताको स्वाद मात्र लिन खोज्ने वामनेता, कार्यकर्ता तथा बुद्धिजीवीहरुले यसतर्फ ध्यान नदिनु दुःखको कुरा हो । उनीहरुको नियतमा नै शंका गर्नुपर्ने बेला आएको छ ।
श्रेष्ठ दृष्टि साप्ताहिकमा नियमित स्तम्भ लेख्छन् ।







