
जनयुद्ध सुरु गर्नु ठीक एक वर्षअघि २०५१ को फागुनमा गोरखामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बसेको थियो । ४ दिनसम्म बसेको बैठकले महान् जनयुद्धमा जाने ऐतिहासिक निर्णय ग¥यो । साथै बैठकले ऐतिहासिक जनयुद्धको पहिलो योजना तय गर्नुका साथै जनयुद्धका लागि सबै किसिमका तयारीमा जोड दियो ।
गोरखा बैठकपछि ०५२ असारमा बसेको केन्द्रीय समितिको बैठकले वैचारिक, राजनीतिक, सांगठनिक तयारीका साथै फौजी र गैरफौजी तयारीमा पनि उत्तिकै गंभीरतापूर्वक लाग्यो । यसै क्रममा पार्टीका तर्फबाट ७ बुँदे प्रतिबद्धता व्यक्त गरियो ।
त्यही ७ बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा भनिएको छ, ‘जनयुद्धको थालनीको हाम्रो यो योजना राज्यसत्ता बाहेक अरु सबैथोक भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो …..।’ त्यसैको अर्को ३ बुँदामा भनिएको छ, ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं जनतालाई अपराध हुने कुरामा हामी दृढ छौं ।’
ठीक ०५२ फागुन १ मा नेकपा माओवादीले जनयुद्धको घोषणा ग¥यो । फागुन १ गते जारी गरिएको पार्टीको पहिलो पर्चामा भनिएको छ, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।’ फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका तीनवटा प्रहरी चौकीमा एकैरात माओवादी छापामारहरुद्धारा आक्रमण गरियो । आक्रमणपछि रोल्पाको होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी छापमारहरुको कब्जामा आयो ।
माओवादी जनयुद्धले १० वर्षको छोटो समयमा तीव्र छलाङको गति लियो । १० वर्षको छोटो अवधि भन्नाले ०५२ देखि ०६२ सम्मको अवधि हो । जहाँकि चीनमा माओले २० देखि २२ वर्षको लामो समय पार गरेर सन् १९४९ मा क्रान्ति सम्पन्न गर्नु परेको थियो । तर माओवादीले नेपालमा छोटो अवधिमा ठूला उपलव्धि हासिल ग¥यो । यो बीचमा माओवादीले वैचारिक र राजनीतिक विकाससँगै फौजी क्षेत्रमा पनि उत्तिकै मात्रामा तीव्र छलाङ हान्यो ।
विचारको क्षेत्रमा नेपालका माओवादीले माओको दीर्घकालीन जनयुद्धको बाटो अपनाएर जनयुद्ध आरम्भ गरेको हो । जहाँकि विश्वमा सर्वहारा क्रान्तिका दुईवटा मोडल थिए, रुसको शहरी विद्रोह र चीनको दीर्घकालीन जनयुद्ध । माओवादीले ०५७ मा पुगेर प्रचण्डपथको विकास गर्दै गाउँ र शहरलाई संयोजन गरेर जाने फ्युजनको सिद्धान्त विकास गर्न पुग्यो । त्यस बाहेक ०५७ देखि ०६१ को बीचमा माओवादीले विचारका अरु कयौं क्षेत्रमा विकास ग¥यो ।
राजनीतिको क्षेत्रमा माओवादीले स्थानीय सत्ता निर्माण गर्दै ७ वर्षको बीचमा केन्द्रीय जनसरकारको निर्माण समेत गर्न पुग्यो । ०५७ देखि स्थानीय सत्ता निर्माणको थालनी गरेको पार्टीले ०५८ मा पुग्दा जिल्ला जनसरकार घोषणा ग¥यो । त्यसको एक वर्षपछि बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय सरकारको प्रारुप संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणा समेत गरियो । यो राजनीतिको क्षेत्रमा गरेको निकै ठूलो उपलव्धि थियो ।
अनि फौजी क्षेत्रमा छापामार युद्धबाट सुरु गरेको माओवादी जनयुद्धमा सेनाको प्रारम्भिक स्वरुप जनमिलिशिया थियो । ०५२ देखि ०५८ को बीचमा माओवादीले जनमिलिशियाबाट स्क्वायड, स्क्वायडबाट प्लाटुनकम्पनीहुँदै बटालियन स्तरको जनसेना निर्माण गरेर पार्टीले फौजी संरचनामा तीव्र विकास ग¥यो । ०५८ को मंसीरमा विधिवत जनमुक्ति सेना नेपालको घोषणा समेत गरी प्रचण्डलाई सर्वोच्च कमाण्डर समेत बनायो । पछि ०५८ देखि ०६२ सम्म आउँदा माओवादीले बटालियनदेखि बिगे्रडहुँदै डिभिजनसम्मको फौजी संरचनाको विकास ग¥यो । यो चीनमा माओको निधनपछि कुनै पनि क्रान्तिकारी कम्युनिस्टहरुले यति ठूलो स्केलमा सेना निर्माण गर्न सकेका थिएनन् ।
यसरी हेर्दा दश वर्षको माओवादी जनयुद्ध नेपालको ००७ सालदेखि ०५२ सम्मको अवधिमा यति ठूलो राजनीतिक क्रान्ति र आन्दोलन कुनै पक्षबाट हुन सकेको थिएन । माओवादी आन्दोलन मात्र यस्तो आन्दोलन थियो जसले नेपालको कुनै पनि क्षेत्रलाई नसमेटेको होस् । गाउँदेखि शहर, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण सबैतिर माओवादी आन्दोलनको कुनै न कुनै क्षेत्रमा प्रभाव रह्यो ।
माओवादीले दश वर्षे जनयुद्धमा वर्गीय आन्दोलनलाई मात्र जोड दिएन, उसले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय आन्दोलनलाई एकैसाथ गोलबन्द गरेर समग्र आन्दोलनको रुपमा विकास ग¥यो । दश वर्षमा कुनै क्षेत्र छुटेन । यति ठूलो विराट रुप लिएको माओवादी जनयुद्ध ०६२-६३ को समयपछि उही पूरानो ठाउँमा पुगेर अल्झिन पुग्यो । त्यो पूरानो ठाउँ भन्नाले सुधारिएको संसदीय व्यवस्था थियो । जहाँ कि त्यही संसदीय व्यवस्थाका विरुद्ध माओवादीले त्यति लामो आन्दोलन गरेको थियो ।
निश्चय पनि दश वर्षे जनयुद्धको जगमा उठेको ०६२÷६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । तर दश वर्षे जनयुद्धको लक्ष्य त्यो वुर्जुवा गणतन्त्र मात्र थिएन । त्यसको न्युनतम लक्ष्य नयाँ जनवादी गणतन्त्र थियो । जहाँ कि कम्युनिस्टहरुको अधिकतम लक्ष्य भनेको समाजवादहुँदै साम्यवादसम्म पुग्ने हो । तर नेपालको दश वर्षे लामो माओवादी आन्दोलन हाँकेको मूल नेतृत्व नयाँ जनवादी गणतन्त्र पूरा नहुँदै वुर्जुवा गणन्त्रको अंशगत लक्ष्यमा सीमित हुन पुग्यो । यहीनेर ठूलो कमजोरी देखा प¥यो ।
यसरी १० वर्षे जनयुद्धको लक्ष्यमा माओवादी आन्दोलन हाँकेको पार्टीको मूल नेतृत्वदेखि ठूलो पंक्ति आज पूरानो व्यवस्थामा फर्किदा जनयुद्धका सारा उपलव्धि गुम्न पुगेको स्थिति छ । त्यसैको परिणाम माओवादी आन्दोलन धेरै समूहमा विभाजित छ । यो बेला माओवादी वृतमा यत्रतत्र प्रश्नहरु छन्, के दश वर्षे लामो जनयुद्धको लक्ष्य त्यही वुर्जुवा गणतन्त्र मात्र थियो त ? घुमीफिरी त्यही संसदीय व्यवस्थामा आउनु थियो भने त्यति लामो आन्दोलन किन गर्नु प¥यो ? किन दश हजार भन्दा बढी मान्छेले बलिदान गर्नु प¥यो ?
ती प्रश्नहरुको जबाफ दिने लक्ष्यसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्माण भएको छ । यो पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट जनयुद्धको लक्ष्य कुनै पनि हालतमा पूरा गर्ने उद्घोष गरेको छ ।
लेखक नेपाल कम्युनिस्ट पार्टीसँग सम्वद्ध छन् ।







