माओवादीहरु जनयुद्धमा फर्किदैछन् । छापामार युद्धमा जाँदैछन् । आजकल हाम्रो बारेमा खुब चर्चा गरिने विषय बनेको छ ।

पत्र–पत्रिका, रेडियो सबैतिर यो प्रचार गरिँदैछ । हाम्रो बारेमा यो प्रचार सुन्दा लेनिनले वोल्सेभिक पार्टीलाई सम्झौता विरोधीको आरोप लाग्ने गरेको टिप्पणी मजाको लाग्ने गर्छ ।

रुसमा वोल्सेभिक पार्टीले क्रान्तिमा जोड दिदा सम्झौता विरोधीको आरोप लगाइन्थ्यो । त्यस सन्दर्भमा लेनिनले भन्नु भएको छ, ‘वोल्सेभिकको बारेमा औसत मान्छेहरुको आम धारणा आरोप थोपर्दै गर्दाको यो छ कि वोल्सेभिक कसैसँग कहिल्यै सम्झौता गर्न तयार छैनन् ।

क्रान्तिकारी सर्वहारावर्गको पार्टी हुनुको नाताले यस प्रकारको धारणा हाम्रो लागि प्रशंसापूर्ण छ । यस कारणले कि यसले यो सिद्ध गर्दछ कि हाम्रो दुश्मन सम्मले समाजवाद तथा क्रातिका आधारभूत सिद्धान्तप्रति हाम्रो वफादारीलाई स्वीकार गर्नका लागि विवस छ ।

तर जे भए पनि सत्य कुरा भन्नुपर्छ यो धारणा सत्यसँग मिल्दैन । ‘सम्झौता प्रायः संघर्षरत पार्टीमाथि परिस्थितिद्वारा अनिवार्य रुपले थोपरिदिन्छ’ । लेनिनले क्रान्तिकारीहरुले सम्झौता गर्नु परे पनि आफ्नो वर्ग, पार्टी उद्देश्य र लक्ष्यलाई नोक्सान नपुग्ने गरी गर्नु पर्नेमा हमेशा जोड दिनु भएको छ ।

उहाँले थप यो जोड दिनु भयो कि वोल्सेभिकहरुले सम्झौता गर्दैनन् भन्ने गलत प्रचार भए पनि त्यसभित्रको राम्रो पाटो भन्दा वोल्सेभिकको वर्ग वफादारीप्रति दुश्मन पनि कायल छ ।

हामीहरुको हकमा जनयुद्ध या छापामार युद्ध आजैबाट सुरु गर्दैछन्, जंगल पस्दैछन् भन्ने कुरा गलत र उत्तेजनात्मक प्रचार हो ।

परन्तु लेनिनले भने जस्तै मान्ने हो भने त्यस भित्र सच्चाई के छ भने माओवादी जनता र राष्ट्रको हितप्रति वफादार र निष्ठावान छ भन्ने कुरा प्रति माओवादी विरोधी र विपक्षीहरु पनि विश्वस्त छन् ।

माओवादीहरु जनयुद्ध र छापामार युद्धमा जान्छन् तर जनताको प्रस्तावहरुमा लेनदेन गर्ने पक्षमा छैनन् ।

जगजाहेर छ, हामी माओवादीले छापामार युद्धमा गइहाल्छौं भनेर भनेका छैनौं तर, हामीले के मात्र भनेका छौं भने जनयुद्धले प्रस्तुत गरेका र जनताले स्वीकार गरेका किसान, मजदूर, दलित, महिला, जनजाति, जनमुक्ति सेनाका प्रस्तावहरु मान्न र ती प्रस्तावहरुलाई कार्यन्वयनसम्म लैजान संसदवादी राजी होउन ।

अन्यथा, हामी विस्तृत शान्ति सम्झौता उलङ्घन भएको मान्छौं । यो भन्नु नै छापामार युद्धको कुरा गर्नु होइन । तर, संसदवादी, प्रतिगामी र संशोधनवादी –अवसरवादीहरु हल्ला गर्दछन्, ‘नयाँ माओवादीहरुले अहिले रोजेको बाटो छापामार युद्ध नै हो ।’

अधिकारको संघर्षलाई छापामार युद्ध नै बुझ्छन् र माओवादीलाई त्यसको बाहक ठान्दछन् भने हामी दुःखी हुनु पर्ने केही ठान्दैनौं ।
यो साँचो हो कि हामीलाई संसदवादी र प्रचण्ड–बाबुराम मिलेर ठग्न खोजेकै हुन् । उनीहरुले गणतन्त्र र संघीयताका डंका ठोकेर जनयुद्धका प्रस्तावहरुलाई फोहरको टोकरीमा मिल्काउन खोजेकै हुन ।

त्यो जालसाजी र ठगी धन्दा थियो । हामी माओवादीले त्यसलाई पर्दाफास गरिदियौं । जनता र कार्यकर्तामा प्रस्ट राखी दियौं कि, ‘यो जनतालाई धोका सिवाय केही होइन ।’ कार्यकर्ता र जनताले पनि यो बुझ्दै आए ।

परिणाम संसदवादी र संशोधनवादीहरुको छलिधन्दा असफल हुने भयो । उनीहरुले गरेको बदमासी यथार्थमा परिणत भएपछि, खासगरी सच्चाई जनताले थाहाँ पाउदा आम जनताका सामु नाङ्गेझार हुने भए ।

तत्पश्चात यी जालीहरुले क्रान्तिकारी माओवादीबारे प्रचार गर्न थाले, ‘माओवादीले हतियार लुकाएको छ, हतियार जम्मा पार्दैछ, छापामार युद्धमा फर्किदैछ ।’ आदि आदि ।

हामीले लेनिनबाट सिकेर के भन्नैपर्छ भने, ‘क्रान्तिकारी माओवादीहरु सामन्यतः जनयुद्ध र छापामार युद्धमा तत्काल नै जाँदै छैनन् । तयारी पनि गरिसकेका छैनन् तर यसको मतलव हामी कहिल्यै पनि, कसै गरी पनि जाने छैनौ त ? यस्तो चाँही होइन ।’

जनताले अधिकार मागेका छन् । संसदवादी र प्रचण्ड–बाबुराम दिन चाँहदैनन्, जनता अधिकारको निम्ति संघर्षमा आउँदछन् । सत्ताले दमन गर्छ, देशले मुक्तिको आशा गर्छ तर पूरानो सत्ताले देशै धरौटी राख्न खोज्छ अनि जनताले के गर्ने, टेबुलबाट कुरा नसुन्ने र गुलाम हुने स्थितिमा कुन बाटो पकड्ने ?

अनि त्यसवेला जनताको प्रतिनिधि र नेतृत्वदायी पार्टी हुनुको नाताले क्रान्तिकारी माओवादीले के गर्ने ? चुपचाप पुच्छर छोपेर हिँड्ने या दमन, उत्पीडनमा आउने सत्ता र शासनको मुकाविला गर्ने ? त्यसवेला छापामार युद्ध नै उत्तम विकल्प बन्न आइपुग्यो भने के गर्ने ?
हाम्रो विचारमा जनताको अधिकार र नेपालको राष्ट्रिय सार्वभौमिकताको लागि जनयुद्ध वा छापामार युद्ध लड्नु परेछ भने पनि त्यो जनताकै रोजाई र फैसला हुनेछ । त्यसलाई माओवादी पार्टीले सिरोपर गर्ने छ ।

जनताहरुले युद्ध लड्नु के खराब मात्र हुन्छ र ? हाम्रो विचारमा युद्ध कुनै पनि पार्टी नागरिक र वर्गले रहरले लड्दैन । त्यसका पछाडि केही वाध्यात्मक र अपरिहार्य पक्षहरु हुन्छन् ।

जव युद्ध वाध्यकारी र अपरिहार्य बन्छ तव युद्ध कसैले नचाहे पनि भइहाल्छ । जति भ्रम, आतंक र त्रास फिजाए पनि युद्ध भइछाड्छ । हेर्नुस, जनता माथि खराब शासन लाद्नु ठीक होइन । जनतालाई वेवास्ता गर्दै २÷४ जनाले मात्र भुडी पल्टाएर खान थाल्नु सही होइन ।

अधिकार सुनिश्चित गर्ने मागलाई अपराध ठान्नु भयानक भूल हो । जव शासन सत्ताले गल्ती गर्न थाल्दछ र उल्टो दमन गर्न थाल्छ अनि सशस्त्र युद्ध लड्नु कसरी गल्ती हुन्छ ? युद्ध त सही मात्र होइन अधिकारमा बदलिन्छ । त्यो न्यायपूर्ण हुन जान्छ ।

के प्रजातन्त्रका डंका ठोक्ने शक्ति पार्टी र नेताहरु युद्ध भन्दा बाहिरको बाटोबाट यहाँ पुगेका छन् त ? के एउटा पनि त्यस्तो इतिहास छ, जसले युद्धबिनाको मुक्ति र स्वतन्त्रतालाई खण्डन गर्दछ ?

के अमेरिका दुई दुई पटकका युद्ध लडेर मात्र मुक्त भएको होइन ? चीन, भारत सबै युद्धबाट गुज्रिएर मात्र आजको स्थानमा पुगेको होइनन ? आजै पनि हेरौं अमेरिका, यूरोप, भारतले सहयोग गरेका कैयौं देश र पार्टीहरु भिषण युद्धमा छन् ।

केही देशहरुले ती युद्धहरुलाई गलत भन्न सक्छन् । के तिनीहरुले आफुसँग भएका अत्याधुनिक हतियारमा आगो हाल्न सक्छन् ? कदापी सक्दैनन् ।

नेपालमै पनि कांग्रेसले तीन पटक युद्धको नेतृत्व गर्यो । अनि हामीलाई अहिले युद्धवादीको आरोप लगाएर पन्छिन मिल्छ ? प्रचण्ड–बाबुरामको त के कुरा गर्ने सहिदको रगतका दाग नै मेटिएका छैनन् । यिनीहरुले लाज सरम पचाएर युद्धको विरोध गर्न मिल्छ ? यो त हदै अनैतिक कुरा हो ।

हामीले नेपालका बुद्धिजीवी, राजनीतिक कार्यकर्ता आदीलाई भन्नु पर्ने भएको छ, महानुभावहरु नेपाली नागरिकहरुलाई सत्तासिन सामन्त, दलाल पुँजीवादी वर्ग, विदेशी एजेन्ट र आत्मसमर्पणवादी दलालहरु मिलेर अस्वभाविक ढङ्गले युद्धको त्रास र आतंक फैलाएर जनताका अधिकारहरु खोस्न र रोक्न खोज्दैछन् ।

यहाँ युद्धको चिन्ता भन्दा जनयुद्धले स्थापित गरेका जनताका प्रस्तावहरुको सुनिश्चितता गर्ने चिन्ता हो । हामीले युद्धको भन्दा जनता र राष्ट्रको मामिलालाई माथि राखेका छौं ।

हामीले युद्धको विरोध भन्दा युद्धको बहानामा सत्तामा टिकिरहने साथै जनता र राष्ट्रलाई कजाइ रहने सर्वसत्तावादी मनोप्रवृतिको विरुद्ध विद्रोह गर्नु पर्छ भनेका छौैं । के यो कुरा गर्नु युद्धवादी हुन्छ त ? बिल्कुल हुन सक्दैन ।

क्रान्तिकारी माओवादीहरु युद्ध चाहँदैनन् तर जनता र राष्ट्रको खातिर युद्ध लड्नु परे पिठ फर्काएर, बाटो काट्ेर हिडने छैनन् ।

जनताको मुक्ति र क्रान्तिको निम्ति हामी माओवादीहरु दशकौ वर्ष लड्न तयार हुनेछौ तर आत्मसमर्पण कुनै हालतमा हामीलाई स्वीकार्य हुनेछैन । शासकहरुको बुद्धि सुल्टो भए ।

केही वर्षअघि कम्युनिस्ट आउटलुकमा प्रकाशित लेख सान्दर्भिक ठानेर प्रकाशित गरेका छाैं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार