
२०६८ चैत २८ गतेको राती नेपाली सेना एकाएक जनमुक्ति सेनाका ब्यारेकहरूमा छि¥यो । नेपाली सेनाले अघोषित जनसेनालाई नियन्त्रणमा लिने प्रयास ग¥यो ।
जनसेना त्यसको विरोधमा उत्रियो । कैयौँ शिविरमा नेपाली सेनालाई घन्टौँसम्म छिर्न दिइएन । तर, नेपाली सेनाको त्यो उपस्थिति जब ‘माओवादी पार्टी र नेपाल सरकारको सहमति र निर्देशन’ बमोजिम नै हो भन्ने जानकारी जनसेनाको चेन अफ कमान्डमार्फत् स्पष्ट हुन आइपुग्यो, तब शिविरमा गरिएको विरोधले कुनै अर्थ राखेन । नेपाली सेनाको त्यो उपस्थिति बृहत् शान्ति सम्झौताअन्तर्गत सेना समायोजनसम्बन्धी नीति र भावना विपरीत थियो, तर पनि नतमस्तक जनमुक्ति सेनाले आफ्नो शस्त्रभण्डार नेपाली सेनालाई बुझायो । तर, त्यो यस्तो समय थियो, जुन बेला नेपाल सरकारको नेतृत्व माओवादी पार्टी स्वयम्ले गरिरहेको थियो । वरिष्ठ माओवादी नेता बाबुराम भट्टराई सरकारका प्रधानमन्त्री थिए ।
यसरी नेपाली सेनालाई एकाएक शिविर कब्जा गर्न पठाउनुको उक्त घटनाका पछाडि एउटा ठूलो रहस्यात्मक कारण बताइएको थियो– ‘किरण, विप्लवहरूले कैलालीस्थित सातौँ या सुर्खेतस्थित छैठौँ डिभिजनको हतियार भण्डार कब्जा गर्दैछन् । यदि आजै (२८ गते) क्यान्टोनमेन्ट नेपाली सेनाले नियन्त्रणमा नलिने हो भने त्यो किरण र विप्लवहरूको नियन्त्रणमा जान्छ । त्यसले शान्ति प्रक्रियालाई नै अर्को ठाउँमा पु¥याइदिन सक्छ ।’ क्यान्टोन्मेन्ट कब्जाको उपर्युक्त निर्णय लिनका लागि तत्कालीन माओवादी ‘सुप्रिमो’ प्रचण्डले कांग्रेस र एमालेलगायत नेताहरू सम्मिलित आकस्मिक बैठक बोलाएर भनेका थिए । यद्यपि त्यो कुरालाई पुष्टि हुनेगरी आधिकारिक रूपमा कुनै पनि नेताले बोलेनन् ।
कुनै पनि वहानामा जनसेनालाई धुलिसात् पार्न कसर बाँकी नराख्ने कांग्रेस–एमाले र त्यस्तै अरू प्रतिगामी तत्वहरूका लागि यो त अपार सौगातको घडी बन्न आइपुग्यो । उनीहरूले किञ्चित् त्यो मौकालाई उपयोग गरे । फलस्वरूप नेपाली सेनालाई जनसेनाको ब्यारेक (अस्थायी शिविर) नियन्त्रणमा लिने यो एउटा गतिलो वहाना मिल्यो । शिविर कब्जाको सर्वसम्मत् निर्णय भयो ।
नेपाली सेनाद्वारा हठात् शिविर नियन्त्रणको उक्त कार्य जनमुक्ति सेनाका लागि भने एउटा असह्य विषय बन्यो । एकातिर सेना समायोजनसम्बन्धी अनावश्यक उल्झनहरू थोपरिँदै थिए, त्यसमाथि नेपाली सेना लगाएर गरिएको त्यो नियन्त्रणमा आफ्नै पार्टीको समेत निर्देशनले उनीहरूलाई गहिरो अपमानबोध भयो । नेपाल सरकार र आफ्नै मातृपार्टीको समेत त्यो अविश्वास जनसेनाका लागि गहिरो पीडाको विषय थियो तर पनि परिस्थिति यस्तो थिएन कि पार्टी निर्णयका विरुद्ध जनसेनाले विद्रोह गरोस् । किनकि, एकातिर यसअघि नै करिब पाँच हजार माथिको सङ्ख्याले स्वेच्छिक अवकास रोजेर शिविर छोडिसकेको थियो भने बाँकी भएकाहरूमा पनि कमान्डर र सदस्यबीच भ्रष्टाचारको विषयले चर्को अविश्वास र विभाजन थियो । माओवादी आन्दोलनमा कुनै बेला भन्ने गरिएको ‘प्रतिक्रान्ति रोक्ने एक्काईसौँ शताब्दीको सेना’ अब आफैँ ‘प्रतिक्रान्ति’ को एउटा भयङ्कर खतरनाक भुँमरीमा पुरिँदै थियो ।
आफ्नै पार्टी र नेपाल सरकारको यसखाले निर्णयबाट निकै चिढिएका जनसेनाको तल्लो तहका कमान्डर र सदस्यहरू त्यसको साटो शिविरमा भएको भ्रष्टाचारका विरुद्ध कमान्डरहरूमाथि पोखिन सुरु गरे । जनसेनाका सदस्य र तल्लो तहका कमान्डरहरूबाट तिनका ठूला कमान्डरहरू क्रमशः घेराबन्दीमा पर्न थाले । ‘सेना समायोजनका नाममा आफ्नै पार्टीले समेत आफूहरूलाई अपमान गरेको र शिविरका कमान्डरहरूले भ्रष्टाचार गरेको’ भन्ने उनीहरूको आरोपमा देशभरिकै शिविरहरूमा विरोधको धुँवा फैलियो । विरोध क्रमशः आक्रोश र तोडफोडमा प्रकट हुन थाल्यो । कमान्डरहरूले त्यति सजिलै उक्त आक्रोशलाई शान्त पार्न सक्ने स्थिति त्यँहाँ थिएन । तर, जनसेनाको त्यो असन्तुष्टि विद्रोह भने थिएन । केवल विरोध मात्र थियो ।
समायोजनका लागि मापदण्ड पहिला प्रचार गरिएको जस्तो या नेताहरूले आश्वासन दिए जस्तो थिएन । त्यो आधारभूत रूपले नेपाली सेनामा भर्ती थियो । शिविरका प्रमुख कमान्डरहरूले गरेको करोडौँको हिनामिना, जहाँ जनसेनाका प्रत्येक व्यक्तिहरू स्वयम् त्यसका भुक्तभोगी थिए, त्यसमाथि थपिएको नेपाली सेनाको त्यो बलजफती, यसको योगमा शिविरभित्र विरोधको स्थिति स्वतः अनियन्त्रित बन्दै जान थाल्यो । परिणामस्वरूप कैयौँ शिविरहरूमा ठूला कमान्डरका घर र गाडीहरू जलाइए । धेरैजसो उनीहरू शिविर छोडेर भाग्न बाध्य भए ।
जनमुक्ति सेनाको शिविर नेपाली सेनाद्वारा कब्जाको त्यो घटना नै जनमुक्ति सेना विघटनको अन्तिम घोषणा बन्न पुग्यो । जनसेनाको बचेखुचेको सम्पूर्ण अस्तित्व समाप्त हुन गयो । जनसेनाको कुनै ‘चेन अफ कमान्ड’ या ‘चेन अफ युनिट’ भन्ने त्यहाँ अब रहेन । शिविरको चौघेरा नेपाली सेनाको ‘रुल एन्ड रेगुलेसन’ मा चल्न सुरु ग¥यो ।
जनसेनाको शिविरभित्रका अवशेषहरू जो जनयुद्धसँग सम्बन्धित थिए, ती सबै एकएक गरी तोड्न सुरु गरिए । शिविरका मुख्य गेटहरूमा जनसेनाको नाम फेरियो । झन्डा फेरियो । शिविर वरपर जनसेनाको नाममा बनाइएका कैयौँ गेटसमेत भत्काइए । ब्यारेकभित्रका सालिकहरू तोडिए । जनयुद्ध र जनसेनाको नामोनिशाना सबै चकनाचुर पारियो ।
शान्तिप्रक्रियाको उल्लासपूर्ण सुरुआत, क्यान्टोनमेन्टको पट्यारलाग्दो जीवन, समायोजनको झिनो आशा र भयावह अन्तिम परिणाम । एउटा अकल्पित घटना शृङ्खलाले जनसेनाका प्रत्येक व्यक्तिहरूको मन र मस्तिष्कमा चसचस्ती घोचिरहेको थियो, चिमोटिरहेको थियो ।
जुनबेला जनसेनाका शिविरहरू स्थापना गरिएका थिए, जनसेनामा कम्ती उत्साह थिएन । कम्ती जाँगर थिएन । पार्टी र कमान्डरहरूप्रति कम विश्वास थिएन । सुरु–सुरुका दिनमा शिविरमा खाने गाँस र बस्ने बासले कैयौँ महिना सताउँदा पनि अहँ कोही कसैले कमान्डर र पार्टीलाई धारेहात लगाउँदैनथे । उनीहरू भन्थे– यो हाम्रो कर्तव्य हो । पार्टी र आन्दोलनप्रतिको प्रतिबद्धता हो । तर, आज उनीहरूले नै आफ्ना कमान्डरहरू लखेटिरहेका थिए । कमान्डरहरू बस्ने घरमा आगो जलाइरहेका थिए । कमान्डरहरूलाई भ्रष्टाचारी करार गरिरहेका थिए । शान्तिप्रक्रियाका प्रत्येक दिन, महिना र वर्षहरू कसरी ‘शकुनी पासा’ बन्दै गइरहेका थिए, अधिकांशलाई त्यसको थाहा पत्तो थिएन । त्यसकै परिणाम आज उनीहरू भोग्दै थिए ।
जनसेनाको गठनका सुरुआती दिनहरूमा पकेट खर्च भनेर पचास, एकसय पचास, तीन सय, पाँच सय हँुदै क्यान्टोनमेन्टमा छिरिसकेपछि उनीहरूको मासिक पकेट खर्च ६ हजार (राज्यले दिनेगरी) भइसकेको थियो । तर, क्यान्टोनमेन्ट अभावको माकुरेजालोबाट कहिल्यै माथि उठेन । जनसेनाका सदस्यहरू कहिलेकाहीँ दिक्दार हुन्थे, उदास हुन्थे । उनीहरूका लागि क्यान्टोनमेन्टको जीवन सा¥है पट्यारलाग्दो भइरहेको थियो । उनीहरूले आफ्ना कमान्डरलाई भन्ने गर्थे, “कमान्डर कमरेड हिजो सय पचासको पकेट खर्च हुँदा अभावको कहिल्यै महसुस भएन, अचेल ६ हजार हुँदा पनि अभावले सताइरहन्छ किन हो हँ ? यो जीवन कहिलेसम्म ? पार्टी नेता, कार्यकर्ता सबै घर–घर फर्किसके । हामी पनि घर फर्कने नै हो या अझै कतै विद्रोह भन्ने कुरा जीवित छ ?” यसको जवाफ दिन–प्रतिदिन अनुत्तरित बन्दै गइरहेको थियो ।
‘हतियारसहित समायोजन । कमान्डसहित समायोजन । युनिटवाइज समायोजन । यो हाम्रो बटम लाइन हो । यदि यसो नहुने भयो भने त्यहीँनिर पार्टीले विद्रोहको अपील गर्छ । जनसेनाले त्यसमा ज्यान दिएर मद्दत गर्नुपर्छ । कदाचित् समायोजन सम्मानजनक भयो भने त्यसमा सहभागी भएर देश र जनताको रक्षाका लागि राष्ट्रिय दायित्व पूरा गर्न पनि तयार रहनुहोला ।’ कमान्डरहरूले बाँडेको त्यो सपना अब सम्पूर्ण रूपले चकनाचुर भइसकेको थियो ।
क्यान्टोनमेन्टको सेतो बाकस हेर्दा उनीहरूलाई त्यसले गिज्याएझैँ लाग्थ्यो । त्यही सेतो बाकस जहाँ एकएक गरेर हतियारहरू जब तालाबन्दी गरिँदा खैरेसाहेबहरूले उनीहरूलाई सोधेका थिए, “तपार्इंहरूलाई कुनै दुःख लागेन हतियार तालाबन्दी गरिँदा ? अरू देशमा त विद्रोहीहरू धुरुधुरु रोएको पनि देखेका छौँ हामीले ।” त्यसको जवाफमा जनसेनाका व्यक्तिहरू छाती फुलाएर भन्ने गर्थे, “शान्ति, समृद्धि र अग्रगमनका लागि यो हाम्रो प्रतिबद्धता हो । यो पार्टीको आदेश हो । हो, यदि शान्ति भएन, समृद्धि र अग्रगमन भएन भने हामी फेरि यो बन्दुक उठाउँछौँ । त्यतिबेला हाम्रो पार्टीले आदेश गर्छ । यो सेतो बाकस क्षणभरमै तोडिन्छ ।”
तर, आज जनसेनाको कोही पनि कमान्डर या सिपाहीले त्यो हतियारबारे चिन्ता गरिरहेको थिएन, जसलाई उसले आफ्नै शरीरका चोक्टाहरू लुछेर बलिदान गरी प्राप्त गरेको थियो । जनसेनाको अब कुनै पार्टी थिएन, जसले उनीहरूलाई त्यो सेतो बाकस तोड्ने आदेश देओस् ? उनीहरूको कुनै कमान्डर थिएन, जसले त्यसको जोडदार नेतृत्व गरोस् । उल्टो त्यही पार्टी र तिनै कमान्डरहरूले हतियार भण्डारको चाबी नेपाली सेनालाई बुझाउन निर्देशन गरिरहेका थिए । शान्ति, समृद्धि, अग्रगमन त्यो सुन्दा पनि उनीहरूको टाउको रनन्न भएर आउँथ्यो ।
एउटा सानो सङ्ख्याबाहेक सबैजसोको ध्याउन्न शिविरबाट छिटो बाहिर निस्किने नै थियो । तल्लो तहका जनसेनाहरू आ–आफ्ना गच्छेअनुसारका पोका–पन्तुरा बोकेर पूर्व–पश्चिम, उत्तर–दक्षिण बसको बाटो कुरिरहेका हुन्थे । अलि माथिल्लो तहका केही पहँुचवालाहरू भने शिविरका गाडीहरू लुछाचुँडी गरेर सकेजति सामान त्यसमा कोचेर धुलो पुत्ताउँदै कुद्थे । घाइतेहरू खोच्याङ्–खोच्याङ् ओहोर–दोहोर गरिरहेका हुन्थे । अहँ, कोही कसैले उनीहरूलाई सोध्दैनथे ।
हिजोको त्यो वर्गीय नाता, त्यो भावना जहाँ एक मर्दा उसका लागि अर्को मर्न तम्सिन्थ्यो । के त्यो सपना थियो या सद्दे ? छुट्याउनै मुस्किल भइरहेको थियो । विगतको त्यो आदर्श गल्र्यामगुर्लुम ढलेको थियो । यस्तो लाग्थ्यो– उनीहरू कुनै स्वतन्त्रताका सिपाही थिएनन् । ती कुनै क्रान्तिका योद्धाहरू थिएनन् । ती त बरु खेतालाहरू थिए, मालिकका । जसले गच्छेअनुसारको दाम खल्तीमा राखेर आ–आफ्ना घर फर्किरहेका थिए, दृश्य यस्तै यस्तै थियो ।
वास्तवमा यो एक भयानक परिघटना थियो । एउटा अकल्पनीय परिदृश्य थियो । जहाँ, जनसेनालाई एक–एक गरेर छिन्नभिन्न पारिँदै थियो । क्यान्टोनमेन्टको विघटन गरिँदै थियो । दस बर्से महान् जनयुद्धको निर्मम अवसान हँुदै थियो ।
‘दिमागमा विद्रोह, मुखमा चुनाव’ शान्तिप्रक्रियाको सुरुआतमा माओवादी पार्टीको यो एक आम नारा थियो । साना–ठूला नेताहरूले भन्थे, “कमरेड अध्यक्षले भन्नुभएको छ, उनीहरू (संसद्वादी दल र उनका विदेशी पोषकहरू) ले चुनाव गर्ने भए भने हामी चुनाव हुन दिँदैनौँ । हामीले चुनाव गर्ने भए उनीहरू चुनाव हुन दिँदैनन् । तब त विद्रोह अनिवार्य छ । कमरेडहरू हामी त्यसका लागि हरदम तयार हुनुपर्छ ।”
त्यो भन्दाभन्दै चुनाव सम्पन्न भयो । माओवादी संविधानसभामा पहिलो पार्टी पनि भयो । नेताहरूका भाका अलि फेरिए । उनीहरूले भन्न थाले, “कमरेड अध्यक्षले भन्नुभएको छ, चुनाव त भयो तर उनीहरूले संविधान लेख्न दिँदैनन् किनकि उनीहरूको संविधान हामी मान्दैनौँ, हाम्रो संविधान उनीहरूले मान्दैनन् । त्यसकारण उनीहरूको संविधान हामी लेख्दैनौँ, हामीले हाम्रो संविधान लेख्न थाले उनीहरूले लेख्न दिँदैनन् । हो, विद्रोह त्यहीँनेर हुन्छ ।”
क्यान्टोनमेन्टको सकसलाई बुझेजस्तै गरेर जनसेनाको सुप्रिमो आफैँ भन्ने गर्थे, “कमरेडहरू, क्यान्टोनमेन्ट महाभारत युद्धको गुप्तबासजस्तै हो । हामीले दस वर्षको वनबास खेपेर आइसक्यौँ । यसलाई गुप्तबास सम्झिनुस् । हामीले हाम्रा प्रतिबद्धताहरू बिर्सेका छैनौँ । तपाईंहरू विश्वास र धैर्यतापूर्वक बस्नुस् । क्यान्टोनमेन्ट जगेडा शक्ति हो । बाहिर वाईसीएलको २१ डिभिजन बनाउने हो । यो सात डिभिजनले अन्तिम धक्का मात्र दिने हो किनकि हामीले भने जस्तो ‘युनिटवाइज’ र ‘हतियारसहितको समायोजन’ उनीहरूले मान्दैनन् । त्यो हाम्रो ‘बटम लाइन’ हो । यसबाहेकको कुनै पनि ‘मोडालिटी’ मा हामी जाँदैनौँ । हेर्नुहोला, विद्रोह त्यहीँनेर हुन्छ । हामीले विद्रोह गर्नैपर्छ ।”
तर, अन्तिममा क्यान्टोनमेन्टको दर्दनाक विघटनले ती सम्पूर्ण अभिव्यक्तिहरू केवल बकवास र झुट सावित गरिरहेको थियो । अझ त जनसेना विघटनको नेतृत्वबाहिरको कुनै शक्तिले नगरेर जनसेनाकै सुप्रिमो, पार्टीका अध्यक्ष प्रचण्ड र माओवादी पार्टीको तर्फबाट नेपाल सरकारको नेतृत्व गरिरहेका वरिष्ठ तथा विद्वान् नेता बाबुरामले गरिरहेका थिए । संसद्वादी दलहरू तिनका नन्दीभृङ्गी त हुने नै भए ।
चलाउनेकाे प्रकाशित हुँदै गरेकाे किताव जनयुद्ध र जनमुक्ति सेना, संक्षिप्त सिंवालाेकन काे एक अंश ।







