जनयुद्ध थालनीको करिब पाँच वर्ष पछि माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७ माघ–फागुन) सम्पन्न भयो । सम्मेलनले पार्टीको राजनीतिक तथा सैन्य कार्यदिशामा केही नयाँ परिभाषा अघि बढायो । संविधान सभाको निर्वाचन, सर्वपक्षीय गोलमेच सम्मेलन र अन्तरिम सरकार गठनको राजनीतिक कार्यक्रम तथा ‘दीर्घकालीन जनयुद्धमा सशस्त्र विद्रोहको फ्युजन’ को फौजी कार्यक्रम सम्मेलनले पारित ग¥यो ।

माओवादी पार्टीको राजनीतिक कार्यक्रमले दरबारसँगको निकटतालाई स्पष्ट सङ्केत गरिरहेको थियो । दरबारसँग अनौपचारिक वार्ताका हल्लाहरू राजनीतिक बजारमा यदाकदा गाइँगुइँ भइरहेका थिए । पार्टी भित्र समेत नेताहरूले ‘राजाले सिंहानुकको भूमिकामा बस्न तयार भए दरबारसँग सहकार्य हुन सक्ने’ प्रशिक्षण सुरु गरिसकेका थिए । यस बीच २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास हुने गरी नारायणहिटी दरबारमा नृशंस हत्या काण्ड भयो । दरबार हत्या काण्डले देशको राजनीतिक वातावरणमा निकै ठुलो हलचल ल्याईदियो । दरबार हत्याकाण्ड पश्चात् गठित सरकारसँग वार्ताको प्रक्रिया (२०५७ साउन) समेत सुरु भयो । तीन चरणसम्म जारी वार्ता भने निष्कर्ष विहीन भयो । पुरानो सत्ताले देशभरि सेना परिचालनको अन्तिम तयारी गरिरहेको थियो । त्यसो त राप्तीलाई केन्द्र विन्दु बनाएर यस अघि नै कथित ‘एकीकृत आन्तरिक सुरक्षा तथा विकास योजना’ (विवेक शाह, मैले देखेको दरबार पृ. ६३) अन्तर्गत सेना परिचालनको रणनीति तय भई सकेको थियो ।

यही पृष्ठभूमिमा जनयुद्धको सातौँ योजना तय भयो । पहिलो पटक नेपाली सेना माथि आक्रमण गरियो । दाङ कारवाहीले त्यसको नेतृत्व ग¥यो । उता सोलुखुम्बुमा भएको हमलामा भने शाही सेनाको ब्यारेक कब्जा हुन सकेन । त्यस अन्तर्गतको स्याङ्जा कारवाही प्रहरी शक्तिका विरुद्ध मात्र थियो ।

“मूलतः दुश्मनले जनदमन र षड्यन्त्रका भयानक शृङ्खला तयार गरेको अवस्थामा तत्काल प्रतिरोधमा अगाडि बढ्नु भन्दा अर्को उपयुक्त विकल्प थिएन । त्यही सन्दर्भमा पार्टी केन्द्रले वार्तालाई स्थगित गरी देशव्यापी धक्कामूलक कारवाही गर्ने योजना बनायो ।

पार्टी केन्द्रको योजना अनुसार देशभरि ३ वटा सदरमुकाम आक्रमण गर्ने र अन्य साना–ठुला फौजी तथा गैर–फौजी कारवाही गर्ने कार्यक्रम बनाइयो । त्यही अनुरूप पश्चिमाञ्चल क्षेत्रीय ब्युरो अन्तर्गत दाङ जिल्लाको सदरमुकाम आक्रमण गरी पुरै कब्जा गर्ने, सेनाको ब्यारेक माथि आक्रमण गर्ने र सेनासँगको भिडन्त सचेत ढङ्गबाट सुरु गर्ने कार्यक्रम बन्यो ।” –नन्द किशोर पुन ‘पासाङ’, इतिहासका रक्तिम पाइला, पुस्तक पृ. १२२)

२०५८ मङ्सिर ८ गते धक्कापुर्ण हमलाको मिति तय भई सकेको थियो । देशभरि साना ठुला सयौँ कारवाहीको योजना बनेका थिए । मुख्य कारवाहीका रूपमा दाङको अञ्चल सदरमुकाम घोराही कब्जा रहेको थियो । उता मध्य कमान्ड अन्तगर्तको स्याङ्जा र पूर्वी कमान्ड अन्तर्गतको सोलु सदरमुकाम पनि आक्रमणको निशानामा थिए । दाङको हमला ऐतिहासिक र भव्य रूपले सफल भयो । स्याङ्जा मुकाम हमला पनि शानदार सफल भयो तर सोलुखुम्बुको सदरमुकाम सल्लेरी कारवाही भने निर्धारित समयमा हुन सकेन । दुई दिन पछि गरिएको सोलु सल्लेरी कारवाही पनि सफल नै भयो तर त्यहाँ रहेको नेपाली सेनाको क्याम्प भने कब्जा हुन सकेन ।

नेपाली सेनाले दाङको पराजयलाई ‘इन्टेलिजेन्सको असफलता र असावधानी’ (विवेक कुमार शाह, पूर्व सैनिक सचिव तथा नेपाली सेनाका रथी, मैले देखेको दरबार, पृ. १२१) बताए पनि एउटा व्यवस्थित किल्लाबन्दी र अत्याधुनिक हतियार विरुद्धको यो लडाइँमा जनसेनाले आफ्नो अदम्य साहस र युद्ध कौशलको भरपुर प्रयोगबाट विजय हासिल गरेको थियो । लडाइँका क्रममा ७ जना प्रहरी र मेजर सहित १४ जना शाही सैनिकको मृत्यु भयो । जनमुक्ति सेनातर्फ ७ जना योद्धाहरूको क्षति भयो । शाही सेनाका विरुद्ध पहिलो पहलकदमीपूर्ण यस आक्रमणमा सेनाका सयौँ अत्याधुनिक हतियारहरू कब्जा भए । ५ थान ८१ एमएम मोर्टार, ३ थान टुइन्च, ३ थान रकेट लञ्चर, २ थान जिपिएमजी, २ थान वेस्ट स्नाइपर, १४ थान एलएमजी, ४८ थान एसएमजी सहित सयौँको सङ्ख्यामा एसएलआर तथा थ्रिनटथ्रि राइफल कब्जा गरिए । बम, गोलीहरू लगायत कैयौँ ट्रक युद्ध सामाग्री समेत कब्जा भयो ।

दाङ जिल्ला राप्ती अञ्चलको सदरमुकाम थियो । माओवादी प्रमुख आधार इलाका पनि राप्ती नै थियो । माओवादी दमन गर्न शाही नेपाली सेनाले दाङलाई आधार शिविरको रूपमा उपयोग गर्ने गरी आफ्नो तयारी गरिरहेको थियो । त्यही उद्देश्य सहित दाङमा शाही नेपाली सेनाको गुल्म राखिएको थियो । त्यसलाई माओवादीले रणनीतिक रूपमा हेरिरहेको थियो । जब शाही नेपाली सेनामाथि आक्रमण गर्ने पार्टीको योजना तय भयो माओवादीले दाङलाई नै आफ्नो निशाना रोजे । त्यसका साथै हतियार र जनशक्ति पश्चिम क्षेत्रमा सापेक्षित रूपले देशभरिकै ठुलो स्तरमा थियो । आधार इलाकाबाट सबै भन्दा नजिकको क्याम्प पनि दाङ नै थियो ।

दाङको पार्टी र जनसमर्थन माओवादी पार्टीका लागि अनुकूल थिए । यी सबै पक्षहरूको विश्लेषण सहित दाङ हमलाको योजना तय गरिएको थियो । त्यसैगरी मध्य कमान्डका लागि स्याङ्जा र पूर्वी कमान्डका लागि सल्लेरी पनि जनशक्तिको केन्द्रीकरण र योजनाको कार्यान्वयनका लागि अनुकूल भएकोले निशाना छनौट गरिएका थिए ।

उता त्यही दिनमा गरिएको स्याङ्जा सदरमुकाम हमला जनसेना तर्फ बिना कुनै क्षति सदरमुकाम माथिको ऐतिहासिक सफल हमला बन्यो । सल्लेरीको हमला भने त्यो दिन हुन सकेन । कारवाहीको लागि नजिकै पुगि सकेको बेला जनसेनाको एक जना सदस्यले ग्रिनेड विष्फोटको दुर्घटना गरिदिँदा निर्धारित योजना रद्द गरियो । दुई दिन पछि अर्थात् मङ्सिर १० गते गरिएको सल्लेरी हमलामा सेनाको ब्यारेक बाहेक सम्पुर्ण सदरमुकाम जनसेनाले कब्जा गर्न सफल भयो । कारवाहीमा १४ जना जनसेनाको क्षति भयो । विगत सम्पूर्ण लडाइँहरूको संश्लेषण सहितको यी आक्रमणहरूमा जनमुक्ति सेना द्वारा कुशल युद्ध क्षमताको प्रदर्शन गरियो । जनमुक्ति सेनाको यो एक व्यवस्थित र बृहत् हमला थियो । यी ठुला कारवाहीको मद्दतीमा देशैभरि अन्य थुप्रै साना र प्रचारात्मक कारवाहीहरू भएका थिए ।

दाङ हमला जनमुक्ति सेनाको स्थायी बटालियनको नेतृत्वमा भएको थियो । साथमा केही स्वतन्त्र कम्पनी र सहायक शक्ति अन्तर्गतका प्लाटुनहरूको सहभागितामा थियो । करिब हजारौँको जनमुक्ति सेनालाई परिचालन गरी सिङ्गो सहरलाई नै नियन्त्रणमा लिने गरी गरिएको यस कारवाहीले जनमुक्ति सेनाको सैन्य श्रेष्ठतालाई नयाँ उचाइमा प्रमाणित ग¥यो । स्याङ्जा र सोलु सल्लेरी कारवाहीमा स्थायी कम्पनीको नेतृत्व रहेको थियो । यी सबै कारवाहीको नेतृत्वमा दाङ हमला नै रह्यो ।

माओवादी पार्टीले नेपाली सेनामाथि सुरुमै यस प्रकारको हमला नगरेको भए या सफलता नलिएको भए जनयुद्धको गति पक्कै पनि फरक हुने थियो । अतः दाङ हमला फौजी रूपमा निकै ठुलो मोड सावित भयो । स्याङ्जा र सल्लेरीले त्यसलाई मद्दत गरे ।

चलाउनेकाे प्रकाशित हुँदै गरेकाे किताव जनयुद्ध र जनमुक्ति सेना, संक्षिप्त सिंवालाेकन काे एक अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार