‘भारतको प्रभाव नेपालको आन्तरिक राजनीतिमा कमजोर भयो’ । जिम्मेवार भारतीयहरू अचेल यस्तै भन्दैछन् । भारतको विदेश सचिवबाट अवकाश प्राप्त पदाधिकारीदेखि पूर्व सैनिक जेनरल, नेपाल विज्ञ भनिने विद्वान, आम सञ्चार माध्यम समेत ‘नेपाल भारतको हातबाट फुस्केको’ बिलौना गर्दैछन् ।

नेपालमा भारतीय हैकम

नेपाली राजनीतिमा भारत कमजोर भयो भनेर यति खेर भारतीयहरूले भन्नु, यस अघि नेपालमा भारतको ‘हैकम’ थियो भन्ने अर्थ लाग्छ । झण्डै तीन दशक यता, खास गरी वि. स. २०४६ सालको राजनीतिक परिवर्तन पछि, नेपालको आन्तरिक राजनीतिमा भारतले प्रभावशाली रूपमा काम गर्दै आएको यथार्थलाई नकार्न सकिन्न ।

२०४६ सालको परिवर्तन, २०५२ मा आरम्भ गराइएको ध्वंसात्मक हिंसाको श्रृङ्खला, २०६२ को दिल्ली सम्झौता, २०६३ को परिवर्तन, सबै भारतको स्वार्थ अनुरुप दिल्लीका शासकहरूकै निर्देशनमा भएका थिए । यो सत्यलाई सार्वजनिक रूपमा उपलब्ध जानकारी, तथ्य र आधारहरूले प्रमाणित गरिसकेका छन् ।

भारतकै चाहना अनुसार, उसकै निर्देशनमा नेपालमा ‘धर्म निरपेक्ष, संघीय, लोकतान्त्रिक, गणतन्त्र’ स्थापना गराइयो । दुई पटक संविधान सभाको चुनाव गराएर ‘जनताको संविधान’ बनाइयो । र ‘नयाँ नेपाल’ को संविधान अनुरुप यो मुलुक ‘स्थायित्व र विकासको बाटोमा द्रुत गतिमा’ अघि बढिराखेको दावी नेपाली राजनीतिक दल तथा तिनका नेताले गरिराखेका छन् ।

लेखक ।

उनीहरूकै चाहना र स्वार्थ अनुसार नेपालको राजनीति तथा सत्ता चलिराखेको छ । तै पनि भारतीयहरू नेपालमा हाम्रो प्रभाव खस्कियो भन्दैछन् । किन ? भारत कमजोर भयो भनेको के हो ? अस्ति सम्म यहाँको राजनीतिमा मनलागी गरिराखेको भारतको हैसियत अहिले कसरी कमजोर भयो ? कसले बनायो भारतलाई कमजोर ? यसको परिणाम के हुनेछ ?

यी यस्ता प्रश्न हुन् जसको जवाफ सार्वजनिक रूपमा उपलब्ध तथ्य, जानकारी, सूचनाहरूले दिइराखेका छन् । छरिएर रहेका अनेक बिन्दूहरूलाई उपयुक्त ढंगले जोडेर एउटा सग्लो चित्र बनाउँदा यथार्थ स्थिति छर्लङ्ग हुन्छ ।

एउटा छोटो जवाफ, भारतले चाहेको यहाँ नहुने भयो भन्ने हुनसक्छ । त्यसको अर्थ के ?

भारतले चाहे अनुसारको संविधान बनेन नेपालमा । यो एउटा स्थिति हो । २०७२ सालमा संविधान जारी भए देखि अनेक वितण्डा मच्चाउँदै भारतले यो संविधान प्रति असन्तुष्टि मात्र हैन, विरोध जनाउँदै आएको छ ।

नेपालको विदेश नीति सञ्चालन, खास गरी चीन र पश्चिमा मुलुकहरू सँग नेपालको सम्बन्ध सञ्चालनमा भारतको हैकम कमजोर हुँदै गएको छ । पश्चिमा र भारतीयहरू सञ्चार माध्यम मार्फत यसै भन्दैछन् ।

विश्वको एक मात्र हिन्दू राष्ट्र, ९४ प्रतिशत नागरिक ॐकार परिवारका अनुयायी मुलुकलाई धर्म निरपेक्ष बनाउँदा रणनीतिक चाल चल्ने विधर्मीको चलखेल बढ्नु र त्यसको असर छिमेकमा समेत पर्नु स्वभाविक हो ।

अस्ति सम्म भारतीय भूमिमै बसेर, भारतकै दानापानी खाएर, उसकै आदेश–निर्देशमा नेपालमा काम गरिराखेका, उसैले यहाँको सत्तामा पुर्याइदिएका, राजनीतिक दल र तिनका नेताहरूले भारतलाई ‘टेर्न छाडे’। र राष्ट्रवादका नारा उरालेर भारत विरोध बढाउँदैछन्, नेपाली भूमिमा ।

यी केही उदाहरण हुन्, नेपालमा भारतको ‘हैकम’ खस्केको । ‘माइक्रो मेनेजमेण्ट’ भनिने, कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, खोसुवा जस्ता गतिविधिमा सफल रहे पनि नेपालका आधारभूत, संवेदनशील, दूरगामी प्रभाव पार्ने विषयमा भारतले केही गर्न नसक्ने अवस्था सृजना भएको छ ।

कसले पार्यो भारतलाई कमजोर ?

राजनीतिक रूपमा नेपाल भित्र प्रमुख दुई शक्ति छन् । पहिलो शक्ति राजनीतिक दलहरू हुन् । दशकौँ देखि नेपालको राज्य सत्तामा हालिमुहाली गर्दै आएका राजनीतिक दलहरूले भारतको हैकमलाई चुनौति दिएका हुन् ?

यो पृष्ठभूमिमा नेपालका कुनै पनि राजनीतिक दलले भारतलाई चुनौति दिएर उसको हैकमलाई नेपालमा कमजोर पारे भन्ने कल्पना मात्र गर्नु पनि हास्यास्पद ठहरिन्छ ।  र यो यथार्थ लोकतान्त्रिक, क्रान्तिकारी, प्रगतिशील, वामपन्थी, दक्षिणपन्थी, मधेसी, पाहाडे, जनजाति, आदिवासी, जुन सुकै आवरणमा रहेका, सबै दल, समूह, गुटमा लागू हुन्छ ।

दोश्रो, नेपाल राष्ट्रको इतिहासमा राज दरबार (राजा) एउटा शक्तिका रूपमा रहिआएको हो । बेला–बखत् भारतीय शासकहरूलाई समेत चुनौति दिँदै नेपाललाई विश्व मञ्चमा मर्यादित स्थान दिलाउने राज दरबार यति खेर भारतलाई त के, नेपाल भित्रकै कुनै सानो समूह वा गुटलाई समेत प्रभाव पार्न सक्ने हैसियतमा छैन ।

राज दरबारको अस्तित्व भारतले नै समाप्त पारिदिएको हो, ‘नेपाली’ मार्फत । र राजा अब नेपालका अन्य नागरिक सरह जीवन यापन गर्दैछन् । यस्तो स्थितिमा राज दरबार वा राजाले नेपालमा भारतको हैकम कमजोर पारे भन्ने हो भने त्यो स्वेर कल्पना मात्र हुन्छ ।

नेपालमा राजतन्त्र सिध्याइए पछि पासपोर्टको बहानामा नारायणहिटी राज दरबार वरिपरी दैनिक हजारौँ मानिस लाम लगाएर पिसाब गराइयो । ‘मेरा अगाडि नेपालका राजा र राज दरबारको हैसियत त्यही हो, देख्यौ ? तिम्रा राष्ट्रिय एकताको प्रतीक माथि तिम्रै जनताद्वारा पिसाब गराइदिन सक्छु । अब बुझ्यौ ?’ त्यस बेलाको सन्देश लुकेको थिएन । प्रष्ट थियो, कम्तिमा स्वाभिमान नेपाली नागरिकका लागि ।

भारतलाई चुनौति, बडो जटिल छ

राजनीतिक दल र राज दरबार (राजा) दुवै भारतलाई कमजोर पार्न सक्ने हैसियतमा छैनन् । यस सन्दर्भमा अर्को कुनै शक्ति नेपालमा छैन । त्यसो भए कुन हो त्यो शक्ति ?

स्थिति स्पष्ट छ । नेपाली भूमिमा बसेर, नेपालीहरूलाई नै प्रयोग गरेर कुनै बाहिरी शक्तिले भारतलाई तोरीको फूल देखाउन खोज्दैछ । यति कुरा भारतीय शासकहरूले अब चाहिँ बुझेको हुनुपर्छ ।

दक्षिण एशिया मेरो अधिनमा चल्ने प्रभाव क्षेत्र हो भनी ठान्ने दिल्लीलाई दक्षिण एशिया मै आच्छु–आच्छु पार्न सक्ने शक्ति जुन सुकै भए पनि त्यो भारत भन्दा निक्कै बढी शक्तिशाली छ, पक्कै पनि ।

त्यो शक्ति कुन हो ? त्यसले किन यसो गर्दैछ ? उसको उद्देश्य के हो ? के–के गर्दैछ ? कसरी गर्दैछ ? यी सबै रणनीतिक चलखेलको परिणाम र प्रभावले क–कसलाई कहाँ–कहाँ पुर्याउने छ ? यी प्रश्नको जवाफका लागि अर्को छुट्टै विश्लेषण, आलेख आवश्यक पर्नेछ ।

नेपाललाई त नेपालीहरू नै प्रयोग गरेर भारतले खरानी बनाइदिइ सक्यो । र खरानीलाई आगोको डर हुँदैन ।

त्यसैले चिन्ता गर्नु पर्ने, होस् पुर्याउनु पर्ने र सतर्कता अपनाउनु पर्ने पालो अब दिल्लीका शासकहरूको हो । होइन भने नेपालमा भारतको हैकम घटाइदिन सक्नेका लागि लखनउ, पटना मात्र होइन, दिल्ली र कन्या कुमारी पनि टाढा नहुन सक्छ ।

— सहप्राध्यापक गजुरेल अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार