यही चैत १२ गते साँझ मैले फेसबुकमार्फत् माओवादी केन्द्रसँग सम्बन्ध–विच्छेद गरेको व्यहोरा सार्वजनिक रुपमा घोषणा गरें । ततपश्चात यो वा त्यो कोणबाट अनेकौं ताता–चिसा टीका–टिप्पणीहरू सुरू भएका छन् ।

केही निशाचरहरू मेरा विरूद्ध भ्रम छर्न सक्रिय भएका छन् भन्ने पनि सुनेको छु । मेरा समकालीन सहयोद्धाहरू, सहयात्रीहरू, आफन्तजन तथा समर्थक–शुभचिन्तकहरू सबै–सबैले यतिबेला आश्चर्य, पीडा र चिन्तामिश्रित स्वरमा एकैखाले प्रश्न सोधिरहेका छन्– ‘किन, त्यस्तो अप्रिय निर्णय ? के भयो खासमा ?’

विषयहरूलाई म यसप्रकार स्पष्ट पार्न चाहन्छु:

१) पार्टी त्याग्ने निर्णय मैले कुनै क्षणिक भावावेगमा आएर गरेको निर्णय होइन । धेरै लामो समयसम्म अत्यन्त धीरतापूर्वक र गम्भीरतापूर्वक सोंच-विचार गरेर मात्र म उक्त निर्णयमा पुगेको हुँ, भलै निर्णय लिँदाका वखत मलाई मेरो आफ्नो मुटु चुँडिएको अनुभूति भयो ।

२) पार्टी परित्यागको मेरो यो निर्णयको अर्थ राजनीतिको परित्याग भने कदाचित होइन । राजनीतिबाट भागेर यो दुनियाँमा मैले जाने कुनै ठाउँ देखेको छैन । म राजनीतिबाट पृथक बस्न सक्दिनँ, बस्दिनँ । जिन्दगी राजनीतिले खायो, जिन्दगीले ममाथि अनेक राजनीति गर्‍यो, म राजनीतिलाई नै जिन्दगी बनाइदिन्छु ।

३) मेरो यस निर्णयका बारेमा पार्टीको माथिल्लो नेतृत्व मौन छ । क. अजित, क. सरल सहयात्री, क. जयलगायत बीचका केही साथीहरूले निर्णय फिर्ता लिन र सम्वाद थाल्नका लागि विशेष आग्रह गर्नुभएको छ । तर, मैले घोषित रुपमै पार्टी परित्याग गरिसकेको छु । म अब सम्वादको आवश्यकता र औचित्य दुबै देख्दिनँ । म अघि बढिसकेको छु, म फेरि पछाडि फर्कने पक्षमा छैन ।

४) यतिबेला मौसमी राजनीति गर्नेहरू अलिक हौसिएका छन् । नक्कली सामान बेचेर मुनाफा कुम्ल्याउन पोख्त पसलेहरू गाउँबाट भर्खर बजार झरेका ग्राहकलाई जसरी घेरा हाल्छन् त्यसरी नै मलाई घेरा हालिरहेका छन्- ‘यहाँलाई कोटीकोटी स्वागत छ । आउनुस् हजुर हाम्रोमा आउनुस्, पसल जम्मै तपाईंलाई भो, मन परेको चीज छानी-छानी लिनुस् ।’

गल्लाहरूले मेरो छाती नाप्न खोजेका छन् । तर, म यी कुनै पनि गल्लाहरूको चङ्गुलमा फस्दिनँ । आफ्नो माओवादी पहिचान गुमाएर म पसलेका कुनै पनि पासोमा पर्दिनँ । म केही समय स्वतन्त्र माओवादी भएर रहन्छु, बस्छु ।

५ ) यो दिलीपले पार्टीसँग सम्बन्ध–विच्छेद गर्नुका असली कारण:

केही बलिया- बाङ्गा, लुच्चा-बदमासहरूले मेरो आन्दोलनको चिना लुकाउने कुचेष्टा गरेका छन् । मेरो मनभित्र एउटा घाउ पाकिरहेको छ । म मेरो घाउ चिरफार गर्ने अनुमति चाहन्छु ।

कम्युनिस्ट आन्दोलनमा मैले ०४६/०४७ सालतिरबाट पाइला हालेको हुँ । म आँबुखैरेनीको एउटा नीजि विद्यालयमा पढाउँथें । आँबुखैरेनीमा छँदा ने.क.पा. (मशाल) का नेता बालकृष्ण श्रेष्ठसँग मेरो चिनजान भयो र उहाँले मलाई आन्दोलनमा डोर्‍याउनुभयो ।

अखिल नेपाल युवक संघ र क. प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन ने.क. पा. (मशाल ) हुँदै यहाँसम्म आइपुग्दा मैले कम्युनिस्ट आन्दोलनमा लगभग तीन दशकको समयावधि बिताएको छु ।

म ०४८/०४९ सालदेखि नै गण्डकी सांस्कृतिक संगमको नेतृत्वमा रहेँ र सक्रिय रुपमा तनहुँ, कास्की, स्याङ्जा, लमजुङ र पर्वतलगायत जिल्लाहरूमा जिल्लास्तरदेखि स्थानीयस्तरसम्मका विभिन्न सांस्कृतिक टिम निर्माण गर्ने, प्रशिक्षण चलाउने र कार्यक्रम प्रस्तुत गर्ने काममा मरेर लागिपरें ।

त्यतिबेलाका सडकआन्दोलनहरूमा कहिल्यै गयल भइनँ, सधैं अग्रपंक्तिमा रहेर लडें र सधैं प्रशासनको आँखाको मुख्य तारो बन्न पुगेँ ।

जनयुद्धको तयारीको अन्तिम चरणमा आइपुग्दा माओवादी भनेर खुल्न चाहने हामी सीमित साथीहरू मात्रै थियौं । एकथरी साथीहरू ‘जनयुद्धका लागि बेला भएको छैन’ भनेर हामीसँग अलग भैसकेका थिए । ‘जनयुद्ध गर्नुपर्छ’ भन्नेमध्ये पनि कतिपय लाखापाखा लागिसकेका थिए, दुलो पसिसकेका थिए। मेरा लागि जबस,मोर्चा संगठनतिरको जिम्मेवारी सहायक र पार्टी तथा लडाकू दस्ताको जिम्मेवारी प्रधान हुन पुगेको थियो । जिल्लामा घोषित रुपमा हामी ४ जना साथीहरू पूर्णकालीन थियौं:  क. इन्द्रमोहन सिग्देल, क. हरिबहादुर चुमान, क. गोकर्ण पण्डित र म । जिल्ला सेक्रेटरी क. इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो, लडाकु दस्ताको कमान्डर म थिएँ, सहायक कमान्डर क. गोकर्ण पण्डित । क. गोकर्ण पण्डित (थर्पु बजारका युवाहरूले राखिदिएको प्यारो नाम : गुरिल्ला ) जो सहिद हुनुभो, क. श्रीराम घिमिरे, जसको आजसम्म कुनै अत्तोपत्तो छैन, क. वीरेन्द्र श्रेष्ठ, मलगायत हामी केही साथीहरू एकछिन नसुती रातभरि भित्तेलेखन गर्थ्यौं, पोस्टर टाँस्थ्यौं, पम्प्लेट छर्थ्यौ, गाउँ-बस्तीहरूमा मशाल दन्काउँथ्यौं । हाम्रा गतिविधि प्रशासनका लागि निकै ठूलो टाउको दुखाइको विषय बनेको थियो ।

०५२ सालको माघ महिनामै मलाई गृहमन्त्रीको ठाडो निर्देशनमा जिल्ला प्रशासनले ‘देख्नासाथ गोली चलाउनू’ भन्ने आदेशसहितको वारेन्ट जारी गर्‍यो । हाम्रा लागि ओछ्यान हालेर न्यानोसँग घरमा बास बस्ने दिन सकिए, जङ्गलका चमेरे-ओढार र खरबारीका चिसा कान्लाहरूमा स्याउला ओछ्याएर रात काट्नुपर्ने स्थिति पैदा भयो।

म भूमिगत भएपछि जनयुद्धकालमा मेरो परिवारमा वृद्धावस्थाका बाबा-आमा र नाबालक छोराछोरीउपर राज्य पक्षले गरेको अमानवीय र पाशविक दुर्व्यवहार कम्ता कहाली लाग्दो छैन । छोरी पूजाले बन्दूकको मोहरीमा बसेर प्रवेशिका परीक्षा दिइन् । हतियारधारी सुरक्षाकर्मीले दश वर्षको उमेरमा छोरो पावेललाई आँखामा कालो पट्टी बाँधेर बजार डुलाए ।

छिमेकी र बाटो हिँड्ने बटुवाले समेत ‘दिलीपलाई चिन्दिनँ’ भन्दा नि चुटाइ खाए, ‘चिन्छु’ भन्दा नि चुटाइ खाए ।

जनयुद्धकालीन आन्दोलनमा हामीले भोगेको सास्तीको वर्णन गर्नतर्फ लाग्ने हो भने त्यसले एउटा युग खान्छ । हामीले भोगेको जिन्दगी केही मान्छेको कल्पनाभन्दा धेरै बाहिर छ ।

बजारमा म मरेको हल्ला धेरै पटक चल्यो । तर, यो आन्दोलनमा मलाई शिशाको गोलीले भने छोएन। एक अर्थमा त म आन्दोलनले पुरस्कार स्वरूप दिएको नाफाको जिन्दगी बाँचिरहेछु ।

अर्को अर्थमा म यातनाको जीवन यापन गरिरहेछु ।मेरा पुराना मुद्दाका मिसिल श्रद्धेय अधिवक्ता दाजु फणिन्द्र बहादुर पाण्डेका दराजमा आज पनि सुरक्षित छन् । मैले सार्वजनिक अपराध, आगलागी र ज्यान मार्ने उद्योग, ज्यान-डाँका, मानहानी अथवा अपहेलनाजस्ता दर्जनौं मुद्धाहरू खेपें, जेल परें । मैले ६०-७० पटकभन्दा बढी हिरासतको चरम यातना भोगें । त्यतिबेलाको यातनाले ग्रसित मेरो शरीर आज पनि चलाउनै नमिल्ने गरी दुख्छ । मेरो मेरूदण्डको स्पाइनल कर्ड यातनाले बाङ्गिएको छ, मेरो मुन्टो दोब्रिएको छ । चिकित्सकले मलाई ‘घोप्टो परेर लेखपढ पनि नगर्नू’ भन्ने सल्लाह दिएका छन् । अहिले विशेष गरी जाडो याममा मलाई मेरो मुन्टोले घरीघरी दुख दिइरहन्छ । मलाई मुर्छा पार्ने गरी मेरा शरीरका हरेक मांशपेशी चसक्क-चसक्क चस्कन्छ । र, आज मलाई त्यो घाउभन्दा पनि अर्को घाउ अझ बेस्मारी दुख्छ ।

मेरो दुर्भाग्य, अन्तिम अवस्थामा मैले आफ्नो बाबुको मुख देख्न पाइनँ । बाबु बित्नुभयो भन्ने खबर मैले ४-५ महिनापछि मात्रै पाएँ । खबर सुनाउनेले मलाई त्यतिबेला बाबा बित्नुभएको खबर र ‘सेनाले घरगोठ जम्मै आगो लगाए रे’ भन्ने खबर सँगै सुनाए । पछि आमाले सुनाउनुभो- ‘तिम्रो बाबा तिमीलाई हरेक दिन सम्झनुहुन्थ्यो– ‘मेरो प्यान्टुले–मेरो प्यान्टुले’ भनेरै उहाँले प्राण त्याग्नुभो ।’

संविधान सभाको पहिलो निर्वाचनपछि आमा फेरी नराम्ररी क्यान्सरको बिरामी हुनुभो । म आमाको एक्लो छोरो, आमालाई कालको मुखमा त्यसै एक्लै अलपत्र छोडेर हिँड्न सकिनँ, मेरो कर्तव्यले दिएन । म घरबार त्यागेर देश-जनताका लागि क्रान्ति गर्न हिँडेको र सत्ता कब्जा गर्न भनेर भर्खर गाउँबाट सहर पसेको एउटा बुङ्गो माओवादी, खल्तीमा फुटेको कौडी थिएन, जसोतसो सर-सापट गरेर आमाको उपचारमा जुटें। मरो दुर्भाग्य भनुँ बाबाको पालामा नपाए पनि आमाको पालामा उपचारको औसर पाएँ, सौभाग्य भनुँ लाख प्रयत्न गरेर पनि मैले आमालाई बचाउन सकिनँ । लगभग डेढ बर्षपछि मलाई टुहुरो बनाएर उहाँ बित्नुभयो । र, त्यही मौका छोपेर दमौली र पोखराका सुविधासम्पन्न डेराहरूमा ‘सक्रिय’ जीवन यापन गरिरहेका महाशयहरूले ममाथि आक्रमण सुरू गरे- ‘दिलीप निष्क्रिय बस्यो ।’

पार्टी एकताका नाममा गणितीय खेल सुरु भएपछि र पार्टीभित्र दुई लाइन सङ्घर्षको अंश मुद्दाले प्रवेश पाएपछि पार्टी बिभिन्न गुट-उपगुटमा बाँडियो र अन्नतः टुक्रा-टुक्रा भएर फुट्यो । स्वभावैले मैले कसैको दौराको फेरो समाइनँ । मसँग त्यताकाहरू यताको भनेर तर्सिए, यताकाहरू फेरि त्यताको भनेर तर्सिए । र, मलाई ओझेलमा पार्नका खातिर चटकेहरूले उदेकलाग्दा चटक प्रदर्शन गर्न पुगे ।

पार्टी एकतापछि आन्दोलनमा रङ-रङका मान्छेहरूले प्रवेश पाइसकेका थिए। ‘दिलीप मारियो’ भनेर मेरा परिवारका सदस्यहरूलाई जानाजान आतङ्कित पार्ने बदमास मानव -तस्करहरू चुइगम पड्काउँदै अतिथिका रूपमा मञ्चमा आशन ग्रहण गरिसकेका थिए। दोश्रो सम्विधान सभाको निर्वाचनसम्म आइपुग्दा ‘पञ्चायतकालीन मण्डले’ भनेर चिनिएका र पहिलो चुनावमा हाम्रा बिरुद्ध गतिलै षडयन्त्र गरेका व्यक्तिलाई समेत रातारात पार्टीको उमेदवारका रुपमा प्रस्तुत गरिसकिएको थियो। म जिल्लामा स्क्वाड कमाण्डर छँदा गण्डक ब्युरो इन्चार्ज क. देव गुरुङको प्रत्यक्ष निर्देशनमा एकजना ‘ठूलाघरे’ लाई हामीले भौतिक कारबाही गर्न गएका थियौ र प्राविधिक कारणवश त्यो कारवाहीमा हामी असफल भएका थियौं । ती ‘ठूलाघरे’ पनि पार्टीको केन्द्रीय सदस्य भएर जिल्ला भित्रिसकेका थिए।

क. तारासिं वि.क. ‘दर्शन’ को भाषामा भन्नुपर्दा पार्टी हेर्दा-हेर्दै ‘बहुराष्ट्रिय कम्पनी’ मा परिणत भयो । पार्टीलाई एशिया र विश्वकै ठूलो पार्टी बनाउने घोंक हालियो । भएभरको घसेल्टा-मसेल्टा सोहोरेर दशौं हजारको केन्द्रीय समिति बनाइयो । कस्तो यो विडम्बना दिलीप नाम गरेको यो जन्तु त्यो घसेल्टा-मसेल्टाभित्र पनि अटाएन ।

बर्षौंदेखिको हाम्रो लगानीमाथि यहाँ राष्ट्रिय स्तरमै ‘अप्रिल फूल’ मनाउने काम भयो । ममाथि स्थानीय स्तरमा समेत पटक – पटक अपमानजनक व्यवहार भए । तर, पार्टी नेतृत्व पङ्क्तिले यस विषयमा मौन-धारण सिवाय केही गर्न सकेन। मैले चैत्र १३ गते नै लेखिसकेको छु र पुनः त्यसलाई दोहोर्‍याएँ- ‘यहाँ हाम्रो इतिहास मेट्ने घोर षडयन्त्र भयो । हाम्रो लगानीको कदर भएन, उल्टो हामीलाई उपहासको पात्र बनाउन खोजियो । हामीलाई अछुत बनाइयो, पीडा र अपमान लादियो । र, मैले त्यो पार्टीसँग सम्पूर्ण रुपले सम्बन्ध–विच्छेद गर्न पुगेँ ।’

म ‘दिलीप एक सत्य,जगत सारा मित्थ्या’ भनिरहेको छैन, भन्दिनँ । मैलेभन्दा कैयौं गुणा बढी त्याग गर्ने र मैलेभन्दा सयौँ गुणा बढी अपमान भोग्ने हजारौं श्रध्देय कमरेडहरू यो आन्दोलनमा हुनुहुन्छ । मैले भन्न चाहेको यत्ति हो कि यहाँ ‘सर्वहारा’ आवरणमा अभिजातहरूले हाम्रो सपनाको खुलेयाम हत्या गरे ।

र, अन्त्यमा एउटा गीत नाइकेहरूलाई-

म भन्दिनँ तिमीलाई, आकाशका तारा टिपी लेऊ
मलाई मेरा सहिदका, सपनाको पाण्डुलिपि देऊ ।

सत्य–सत्य निसाफ गर, भविष्यको हिसाब गर
वर्तमान कबोल गर, इतिहासको मोल नगर
जनताको रगत र पसिनाको मिसिसिपी देऊ ।

म मान्दिनँ स्वस्थानीका, काल्पनिक प्रेमकथा
म सुन्दिनँ मरेपछि, स्वर्ग तर्ने भागवत
गरिबको सत्ययुग, थापनाको तिथिमिति देऊ ।

न्युजकाेशेली अनलाइनमा प्रकाशित लेखकाे सम्पादित अंशहरू । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार