प्रधानमन्त्री केपी शर्माओली चैत्र २३ देखि २५ सम्मकोलागि भारत भ्रमणमा गएका छन् । भाषा जे जस्तो राखिएपनि यो भ्रमण भारतको आदेश तामेली मात्र हो । किनकि नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी हुनु पूर्व नै भारतले ओलीको भ्रमणको घोषणा गरिसकेको थियो । उनको भारत भ्रमणवारे नेपाली जनमत विभाजित छ ।

ठिक वा वेठिक भन्दापनि उनी भारत गएर के गर्दैछन मुख्य कुरा हो । संसदलाई ओलीले गराएको जानकारी अनुसार पुराना योजनाको कार्यान्वयन र भारत नेपाल सम्वन्धको सुदृढीकरण उनका दुई मुख्य एजेन्डा हुने छन । अरु कुरा नखुलाए पनि उनले पञ्चेस्वर ,अपर कर्णाली र अरुण तेस्रोको कार्यान्वयन वारे खुला कुरा गरेका छन । अरुण तेस्रोको त दिल्ली वाटै संयुक्त सिल्यान्यास गरिने कुरा सार्वजनिक नै भएको छ । आज यिनै विषयमा केही कुरा गरौं ।

ओली वहुचर्चित राष्ट्रघाती महाकाली सन्धि गराउने खलनायकहरु मध्येका एक खलपात्र हुन । जनताको प्रतिरोधपछि मृत अवस्थामा पुगेको यो योजना पञ्चेस्वर नामाकरण गरेर व्युताउने अर्का खलपात्र हुन पुष्पकमल दाहाल । स्मरणीय छ यसैको कारण एमाले फुट्यो र यसको विरुद्ध नेपाली जनताले धेरै रगत र पसिना वगाए । महाकालीमा हाम्रो पानीको अधिकार खोसिएकोछ, अवैध टनकपुर योजनालाई वैधानिकता दिइएको छ जसले हाम्रो भुभाग अतिक्रमण गरेकोछ र समय सकिएको शारदा वाँधलाई वैधानिकता दिइको छ । ओली यही राष्ट्रघाती सन्धी कार्यान्वयन गर्न दिल्ली गएका छन् ।

ओलीले कार्यान्वयन गर्न चाहेको दोस्रो योजना हो अपर कर्णाली । भारतको नियन्त्रणवाट वचेको एकमात्र नदी कर्णाली माथि भारतीय प्रभुत्व कायम गराउन ४,१०० मेघावाट क्षमताको योजना ३०० मेघावाटमा सिमित गरेर काँग्रेस एमाले र माओवादी केन्द्रले कमिसन खाएर जिएमआरलाई अपर कर्णाली बेचे । जुन योजना सस्तो छ र नेपाललाई आत्मनिर्भर वनाउन सक्दछ । देशभक्त नेपालीहरुले त्यसको विरुद्ध संघर्ष गरिरहेकै छन् । ओली त्यसैको कार्यान्वयन गर्न दिल्ली गएका छन् ।

अरुण तेस्रो दुवै प्रधानमन्त्रीले दिल्लीवाटै सिलान्यास गर्नेकुरा सार्वजनिक भएको छ । एमाले अरुणतेस्रो भारतलाई सुम्पने मुख्य अपराधी हो । यो योजना २०५० मै एसियाली विकास बैंकको ऋण सहयोगमा नेपालले बनाउन लागेको थियो । एमाले महासचिव माधव कुमार नेपालले एडिबिलाई पत्र लेखेर ऋण रोके । २०५१ को एमाले सरकारले यो योजना खारेज ग¥यो । त्यसपछि महाकाली सन्धि गरायो । जब अरुणतेस्रो भारतलाई जिम्मा लगाउने अवसर जुटयो यी तीनै पार्टी एक भए ।

अरुण तेस्रो सस्तो योजना हो जुन नेपाल आफैले बनाउन सक्दछ । ९०० मेघावाट क्षमताको यो योजनाको लागत एकसय पाँच अरव भनिएको छ । जवकी १२०० मेघावाट क्षमताको बुढी गण्डकी को लागत दुई सय साठी अरव भनिएकोछ । बुढी गण्डकी आफै वनाउने ,जुन अत्यन्त महगो छ र बिशेषज्ञका अनुसार बन्नै कठिन छ । तर संभाव्य र सहज योजना चाही भारतलाई दिने ।

यी तीनैे योजनावाट उत्पादीत विजुली भारतले लैजान्छ ।ओली यही काम गर्न दिल्ली गएका छन् । यदी यी तीन योजना भारतको हातमा सुम्पने हो भने नेपालका सवै नदीहरुमाथि भारतीय प्रभुत्व कायम हुनेछ । अब देशको रक्षा गर्ने की भारतीय गुलाम हुने फैसला गर्ने दिन आएको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ४ पार्टीहरु यसको विरुद्ध सडकमा उत्रँदै छन । तपाई के गर्नु हुन्छ ?

कट्टेल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुन् । यो आलेख उनको फेसबुक पेजबाट लिइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार