गत अप्रिल ४ मा मार्टिन लुथर किङ जुनियरको हत्या भएको ५० वर्ष पुग्यो । सन् १९६८ मा अ‍ेमेरिकी नागरिक अधिकारकर्मी लुथर किङ सहिद भएको पाँच दशक पुगिसक्दा पनि उनको लडाइँ हालसम्म सान्दर्भिक भएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको युग सुरु भएपछि त्यस्तो सान्दर्भिकता झनै बढी देखिएको हो । अमेरिकी समस्याप्रति उनले दूरदर्शी धारणा राख्दै आएका थिए ।

उनले रंगभेद, सैन्य शासन तथा आर्थिक अनियमितताजस्ता त्रिपक्षीय कुरीतिविरुद्ध बुलन्द आवाज उठाएका थिए । अमेरिकामा व्याप्त रंगभेदी तथा राजीतिक उत्पीडन अन्त्यका लागि आर्थिक तथा राजनीतिक शक्तिमा व्यापक पुनर्वितरण गर्नुपर्ने अडान उनको थियो ।

         डेभिड ए लभ

तर, अमेरिकामा लुथर किङले उठाएका त्रिपक्षीय कुरीति यथावत् छन् । यस प्रकारका अन्तरसम्बन्धित कुरीति विभिन्न रूपमा देख्न सकिन्छ । राष्ट्रपति चुनावका दौरान ट्रम्पले परिवर्तन नचाहने गोराहरूको पक्ष लिए ।

अफ्रिकी मूलका बाराक ओबामा राष्ट्रपतिको रूपमा निर्वाचित हुन कतिपय गोरालाई सपनाझैँ लागेको थियो । राष्ट्र निर्माण गर्ने अभियानमा ओबामाले काला जातिको शक्तिको प्रतिनिधित्व गरे । ह्वाइट हाउसमा केवल गोराका लागि मात्र प्रवेश अधिकार रहने भन्ने धारणालाई समेत ओबामाले परास्त गरिदिए ।

राष्ट्र निर्माणको उनको अभियान गोरा जातिका लागि पनि थियो । आउँदा केही दशकमा अन्य रंगका मानिसको बहुल्य हुने निश्चित छ । अहिले अमेरिकामा जन्मिने शिशुमा खैरा र काला रंग भएकाको संख्या आधा पुगिसकेको छ ।

अमेरिकी प्रशासनमा काला जातिको प्रवेश भएपछि एकथरी गोरा अमेरिकीहरू क्रोधित भएका थिए । चुनावका क्रममा ट्रम्पले तिनै गोरा अमेरिकीसमक्ष नागरिक अधिकारको युगअघिको समयमा अमेरिकालाई फर्काउने बाचा गरेका थिए ।

खैर, उनले बाचा गरेझैैँ अमेरिकालाई पुरानो युगमा फर्काउनु असम्भाव प्रायः छ । ट्रम्पले हिंसा निम्त्याउने नीति अँगालेमा मात्र उनको दुष्प्रयास सम्भव होला । यसका लागि उनले कि त काला जातिको मतदान अधिकार हनन गर्ने, उनीहरूविरुद्ध प्रहरी दमन गर्ने तथा जेल हाल्ने आँट गर्नुपर्ने हुन्छ कि त दक्षिण अमेरिकी क्षेत्रका आप्रवासी तथा मुसलमानलाई देश निकाला गर्ने वा यात्रा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ ।

 

सैन्य प्रयोजनका लागि खर्च गर्नेभन्दा सामाजिक कल्याणका कार्यक्रममा बजेट खर्च गर्नुपर्ने अडान लुथर किङले लिएका थिए । वर्तमान समाजमा मानिसभन्दा कम्प्युटर तथा सम्पत्तिको अधिकारलाई महत्व दिइएको छ । वास्तवमा लुथर किङले सहादत पाएको ५० वर्षपछि पनि उनले उठाएका रंगभेद, सैन्य शासन तथा आर्थिक अनियमितताजस्ता त्रिपक्षीय समस्याको निराकरणका लागि अझै पनि धेरै गर्न बाँकी छ ।

 

गोरा जातिले आफू उच्चकोटीको मानव भएको भावना राखेकाले नै रंगभेदको समस्या बढेको बुझाइ लुथर किङको थियो । सेतो छाला भएकै कारण आफू पहिलो हुनुपर्ने भन्ने जस्ता भावनाको अन्त्य हुनुपर्ने कथन उनको थियो ।

तर, ट्रम्पले गोरा जातिको श्रेष्ठतालाई बढावा दिने उपाय अँगाल्न थालेका छन् । गोरा राष्ट्रवादलाई पश्रय दिने क्रममा गोरा मानिसलाई ‘धेरै राम्रा मानिस’को संज्ञा दिएका छन् । अमेरिकामा भएका गम्भीर घरेलु आक्रमण गोरा सर्वश्रेष्ठतावादीहरूकै कारण भएका हुन् । गएको एक दशकभित्र भएका अतिवादसम्बद्ध हत्यामध्ये ७१ प्रतिशत गोरा सर्वश्रेष्ठवाद कारक तत्व भनेको छ ।

मार्टिन लुथर किङ जुनियरले हत्या हुनु ठीक एक वर्षअघि सन् १९६७ अप्रिल ४ तारिखका दिन चलिरहेको भियतनाम युद्धबारे मुख खोले । ‘हाल विश्वमा भएका हिंसाको मुख्य जड अमेरिका भएको’ टिप्पणी उनले आफ्नो भाषणमा व्यक्त गरे । वास्तवमा लुथर किंगको कथन यथार्थ साबित भएको छ ।

सन् २०१८ मा सैन्य प्रयोजनका लागि अमेरिकाले संघीय बजेटको ५४ प्रतिशत बजेट अर्थात् ७ खर्ब अमेरिकी डलर खर्च गर्दै छ । विश्वको ५ प्रतिशतभन्दा कम जनसंख्या अमेरिकाको छ, तर प्रतिव्यक्ति हतियार बोक्ने देशमा सबैभन्दा अगाडि छ ।

यसैगरी, विकसित देशमध्येमा बन्दुकजन्य हतियारको प्रयोगबाट हुने हत्याको घटनामा पनि अमेरिका सबैभन्दा अगाडि छ । हालै मात्र स्टेफन क्लार्क नामक कालाजातिका एकजना निशस्त्र युवालाई क्यालिफोर्निया प्रहरीले गोली हानी हत्या ग-यो । कम्तीमा २० राउन्ड गोली क्लार्कमाथि प्राहार गरियो ।

यसैगरी, सन् २०१६ मा एल्टोन स्टेर्लिङ नामक अर्का काला जातिका युवालाई लुसियाना अवस्थित बाटोन रग नामक प्रहरीले गोली हानी हत्या गरे । उक्त घटनाको व्यापक विरोध भएपछि उनीमाथि निर्दोष मानिसको हत्या आरोपको मुद्दा लगाइयो । तर, अदालतले उनलाई सफाइ दियो अमेरिका हिंसामोह देशभित्र मात्र सीमित छैन ।

विदेशी देशमा हिंसा भड्काउने कार्यमा पनि उत्तिकै उद्यत छ । उदाहरणका लागि अमेरिकी सरकारले इजराइलमाथिको सैन्य सहयोगका लागि अरबौँ डलर उपलब्ध गराउँदै आएको छ । अर्कोतर्फ सो रकम प्रयोगबाट इजराइलले प्यालेस्टिनी भूमि तथा प्यालेस्टिनी नागरिकलाई नियन्त्रणमा लिन प्रयोग गरेको छ ।

यसप्रकारबाट प्यालेस्टिनी नागरिकको मानवअधिकार हनन गरिएको छ । झन्डै ३० हजार प्यालेस्टिनी नागरिकले गाजा सीमा क्षेत्रमा हालै गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा इजराइली रक्षा बलले गोलाबारुद बर्सायो । जसका कारण १८ जनाको ज्यान जानुका साथै १७ सयभन्दा बढी घाइते भए ।

विश्वको सबैभन्दा ठूलो सैन्य बल र अर्थतन्त्र अमेरिकाको भए पनि विकसित राष्ट्रमध्ये सबैभन्दा बढी असमानता र गरिबी पनि अमेरिकामै छ । ४ करोड अमेरिकी नागरिक गरिबीको रेखामुनि बाँचिरहेका छन् । आर्थिक मन्दीअघिको समय हाराहारीमा असमानता रेखा परेको स्थिति छ ।

 

गोरा जातिले आफू उच्चकोटीको मानव भएको भावना राखेकाले नै रंगभेदको समस्या बढेको बुझाइ लुथर किङको थियो । सेतो छाला भएकै कारण आफू पहिलो हुनुपर्ने भावनाको अन्त्य हुनुपर्ने कथन उनको थियो ।

 

अमेरिकाको जम्मा जनसंख्यामध्ये उच्च आर्थिक हैसियतमा रहेका १ प्रतिशत अमेरिकीसँग न्यून आर्थिक हैसियत भएका ९० प्रतिशत अमेरिकीको समग्र सम्पत्तिभन्दा बढी सम्पत्ति छ । पुँजीवादले अमेरिकामा प्रगति ल्याउँछ भन्नु केबल झुटो कहानी भएको तर्क उही वेला लुथर किङले गरेका थिए ।

काला जातिलाई दास बनाएर तथा गरिबमाथिको शोषणका कारण अमेरिकामा पुँजीवाद भित्रिएको दाबी उनको थियो । शोषण गरिएका गरिबमा देशभित्रका तथा बाहिरका श्वेत तथा अश्वेतसम्म थिए ।

हालका रिपब्लिकनद्वारा नियन्त्रित सरकारले सबैभन्दा धनी अमेरिकी तथा ठूला कम्पनीलाई व्यापक कर छुट दिएको छ । यसले गर्दा भ्रष्टाचारले पश्रय पाएको छ र जनताका आवश्यकता पूरा हुन सकेका छैनन् । पछिल्लो पटक बन्दुक नियन्त्रणका लागि भएका अभियान, लैंगिक उत्पीडनविरुद्ध भएको ‘मिटु’ अभियानलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

मार्टिन लुथर किङ जुनियरको विचारमा अमेरिकामा व्यापक क्रान्ति ल्याउन जरुरी थियो । परिवर्तनका लागि निष्पक्षीय न्याय, आर्थिक समानता तथा जनतामुखी नीति ल्याउनुपर्नेमा उनको जोड थियो । सैन्य प्रयोजनका लागि खर्च गर्नेभन्दा समाजिक कल्याणका कार्यमा बजेट खर्च गर्नुपर्ने अडान लुथर किङले लिएका थिए ।

वस्तुमुखी समाजबाट मानवमुखी समाज बनाउने कार्यमा सहभागी भएर मात्र समाजका कुरीति तथा विकृति हटाउन सकिने विश्वास उनको थियो । वर्तमान समाजमा मानिसभन्दा कम्प्युटर तथा सम्पत्तिको अधिकारलाई महत्व दिइएको छ ।

वास्तवमा, लुथर किङले सहादत पाएको ५० वर्षपछि पनि उनले उठाएका रंगभेद, सैन्य शासन तथा आर्थिक अनियमितता जस्ता त्रिपक्षीय समस्याको निराकरणका लागि अझै पनि धेरै गर्न बाँकी छ ।

(डेभिड ए लभ अमेरिकाका स्वतन्त्र पत्रकार तथा समालोचक हुन्, अलजजिरा डट कमबाट ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार