भ्लादिमिर लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिले समकालीन विश्वका कयौं मुल्य मान्यतालाई उल्टाउँदै विश्व मानचित्रमा नयाँ इतिहास कायम गर्न पुग्यो ।

कार्लमाक्सदेखि वर्नस्टीन, प्लेखानोभदेखि ट्रटस्की र लेनिन आफैको भविष्यवाणीलाई समेत अक्टोबर क्रान्तिले उल्टाइदिएर नयाँ समाज र इतिहासको निर्माण गर्न पुग्यो ।

सर्वहारा क्रान्ति कस्तो देशमा कसरी हुन्छ भन्ने प्रश्नमा कार्लमाक्र्सको भनाई र भविष्यवाणी अक्टोबर क्रान्तिको भन्दा विपरित थियो ।

माक्र्सको भनाई थियो कि विकसित पुँजीवादी देशमा छिटो समाजवादी क्रान्ति हुनेछ । माक्र्सको जोड थियो जहाँ पुँजीको विकास हुन्छ, त्यहाँ मजदुर वर्गको पनि विकास हुन्छ र त्यहाँ तुरुन्त सर्वहारा क्रान्ति हुन्छ ।

तर त्यो भएन । किनकि पुँजीवादको विकास भएको पहिलो देश बेलायत थियो । त्यसपछि फ्रान्स, जर्मन, इटालीहुँदै अरु विकसित पुँजीवादी देशहरु थिए । यी देशमा चाँडै सर्वहारा क्रान्ति हुने माक्र्सको विश्लेषण थियो । तर भएन ।

बरु बेलायत, फ्रान्स, जर्मन र इटालीभन्दा कयौं गुणा पिछडिएको रुसमा सन् १९१९ को अक्टोबर २४ मा समाजवादी क्रान्ति हुन पुग्यो । यसकारण यहाँनेर माक्र्सको विश्लेषण र भविष्यवाणीले फेल खायो ।

उसो भए माक्र्स बेठीक थिए त ? थिएनन् । कहिलेकाँही समाज र परिस्थितिबारे विद्धान, राजनीतिज्ञ र भविष्यवेत्ताहरुले गरेका कयौं विश्लेषण र भविष्यवाणीले मेल नखाएका कयौं र अनगिन्ती उदाहरणहरु छन् ।

त्यसैगरी माक्र्सको कम्युनिस्ट सिद्धान्तलाई अवैज्ञानिक भन्दै वर्नस्टीन, प्लेखानोभ र ट्रटस्कीहरुले त्यो बेला सर्वहारा क्रान्ति हुन नसक्ने तर्क र विश्लेषणहरु गरेका थिए । वर्नस्टीनले त समाजको चक्र क्रमश अगाडि बढ्ने भन्दै आमुल परिवर्तनको विरोध गर्ने गरेका थिए । उनले आमुल

क्रान्तिकारी बाटो होइन विस्तारै क्रान्ति हुने विकासवादी सिद्धान्तको विकास नै गरेका थिए ।

यता रुसमा प्लेखानोभले पनि सशस्त्र क्रान्तिको अपरिहार्यतामाथि प्रश्न उठाउँदै रुसी अक्टोबर समाजवादी क्रान्तिको विरोध गरेका थिए । प्लेखानोभ वास्तवमा रुसका पहिलो माक्र्सवादी गुरु थिए । तर उनी पछि अक्टोबर क्रान्तिको विरुद्धमा देखा परे ।

अनि ट्रटस्कीले त झन् रुसमा तत्काल समाजवादी क्रान्ति पनि नहुने र क्रान्ति भइहाले नटिक्ने विश्लेषण र भविष्यवाणी गरे । बरु उनले स्थायी क्रान्तिको सिद्धान्त प्रतिपादन गरेर एउटा मात्र देशमा समाजवादी क्रान्ति हुन नसक्ने भन्दै विश्वव्यापी सर्वहारा क्रान्ति गरेर समाजवाद ल्याउने तर्कहरु अगाडि सारे ।

तर यी सबै विश्लेषण र भविष्यवाणीलाई फेल खुवाउदै लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भइछाड्यो ।

यता लेनिलले गरेको एउटा विश्लेषण र भविष्यवाणी पनि फेल हुन पुगेको छ । खासगरी उनले सन् १९१७ को फरवरी पुँजीवादी क्रान्तिभन्दा एक महिनाअघि गरेको विश्लेषणभन्दा नयाँ र भिन्न ढंगले रुसमा अक्टोबर क्राीन्त हुन पुग्यो ।

जहाँ कि लेनिनले सन् १९१७ को जनवरीमा अमेरिकी मजदुरहरुलाई लेखिएको एक पत्रमा अब आफु र आफ्नो पुस्ताले सर्वहारा क्रान्तिको स्वाद चाख्न पनि नपाउने भो र देख्न पनि नपाउने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर,  लेनिनले त्यसको एक महिनापछि सन् १९१७ को फरवरीमा भएको पुँजीवादी क्रान्तिपछि अक्टोबर क्रान्तिको तयारीलाई युद्धस्तरमा जोड दिन्छन्।

त्यसैकाे जाेडमा अक्टाेबर क्रान्ति मुलतः ७ महिनाकाे तयारीमा गरिएकाे क्रान्ति थियाे ।

यसमा एकातिर लेनिनको विश्लेषण र चिन्ताले फेल खान्छ भने अर्कोतिर लेनिनको रणकौशल र परिस्थितिलाई कतिसम्म आफ्नो नियन्त्रणमा लिन सक्छन् भन्ने क्षमता प्रष्ट रुपमा देख्न सकिन्छ ।

यसबाहेक लेनिनले आफैले गरेका कयौं विश्लेषण र भविष्यवाणी पूरा भएनन् । तर परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएर क्रान्ति गर्न सक्ने अद्भुत क्षमता लेनिनले अक्टाबेर क्रान्तिमा प्रयोग गर्न सके ।

वास्तवमा अक्टोबर क्रान्ति ७ महिनाको तयारी र मेहनतमा भएको परिणाम थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार