राजेन्द्र स्थापित

खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख अध्यक्ष र प्रधानमन्त्रीमात्रै होइनन्, गायक पनि हुन् ।

गितार र हार्माेनियम बजाएर गीत गाउन रुचाउने प्रम ओली पहिले जनवादी गीत गाउँथे, अहिले धनवादी । झापाली विद्रोही हुँदा उनी निराशा, आक्रोश र क्रान्तिका गीत गाउँथे । सत्तासीन शासक हुँदा खुसी, विकास, समृद्धि र समाजवादका श्लोक ।

गायक प्रम ओलीसँग गीत–संगीतबारे अनेक सैद्धान्तिक ज्ञान पनि रहेछ । उनले फिल्मको सिक्वेल बनेझैं गीतको पनि दोस्रो, तेस्रो भाग बनाउन सकिने उपाय सुझाएर गीत–संगीत फाँटमा नयाँ योगदान दिएको व्याख्या आउन सक्छ अब । जनताका गीत गाउने कलाकार रामेश दाइलाई सम्मान गर्ने क्रममा ओलीबाट व्यक्त भनाइ उल्लेखनीय छ । उनले गुरु–गम्भीर मुद्रामा भनेका छन्, ‘गाउँ–गाउँबाट उठ…२–३ बन्दै जाओस्, किनभने हामी सधैं उठ्नुपर्छ, जाग्नुपर्छ । हिजो बेग्लै कारणले, आज बेग्लै कारणले उठ्नुपर्छ । जोसँग जे छ, त्यही लिएर राष्ट्र निर्माणमा जुट्नुपर्छ । भोक र जाडोले अब कोही मर्ने छैन । तपाईंहरूले अब निराशाका गीत गाउनुपर्ने छैन ।’

यसरी उनले गीत–संगीतको उद्देश्यबारे पनि निर्देशित गरेका छन् : लेखक–कलाकारहरू, अब भोक र जाडोले कोही पनि नमर्ने खालको राष्ट्र निर्माण जुट † जनता जगाएर सत्तासीन भएपछि मोनोरेल र पानीजहाजको सपना बाँड्दै हिँडेका ओलीका बोली र नीतिमा शासकीय विरासत देखिन्छ । राष्ट्र निर्माणको भावावेशपूर्ण भाषण गर्ने शासकहरूका बोली र नीतिमा ‘राष्ट्र’भित्र भोका–नांगा पर्छन् कि पर्दैनन्, तीस वर्षसम्म विकास र समृद्धिको शाही घोषणा र राजकीय आचरण हेरे छर्लंग हुन्छ ।

कुर्सीको मात नै कस्तो हुन्छ भने टुकुचा खोलो पार गर्दै सिंहदरबार बैठकमा जाँदै गर्दा पनि सात समुद्र पार गरेको भान हुन्छ, जुन खुसफहमी मनोदशा हो । त्यसैले शासकहरूलाई आफू सत्तामा आसिनमा भएपछि राष्ट्र धेरै फेरिएको वा फेर्न सकिने खुसफहमी हुनु अनौठो होइन । र उनीहरूले भ्रमको अवस्था कायमै राख्न सत्ता–स्वार्थका लागि खुसफहमी फैलाउनु पनि अचम्मको कुरा होइन । उनीहरू ससाना ज्यानमारा खाल्डो पुर्न नसके पनि, जीवन नै मास्ने धुलोसमेत बढार्न नसके पनि सोम शर्माको शैलीमा रेल र पानीजहाजका सपना देखाएर जनमानसलाई रनभुल्लमा पार्न वा सुखी र खुसी अनुभूत भएको भान पार्न खप्पिस हुन्छन् नै ।

एक चिन्तक र विश्लेषकको भाषामा विकास र समृद्धिको नारा पनि धर्मजस्तै नशा हो, जसले अमानवीय जीवनमा आनन्द, खुसी र सुखको भ्रान्त मनोदशा पैदा गरिरहन्छ । तर हिंसा र अमानवीयता उत्पादन– पुन: उत्पादन गर्ने उत्पीडनकारी संरचना तथा मालिक–दासको जस्तो सम्बन्ध सिर्जना गरिरहने शक्ति–सम्बन्ध विरुद्ध संघर्ष गरेका लेखक–कलाकारलाई पनि शासकीय खुसफहमीमा मज्जा आउनु भनेको स्वाभाविक पक्ष होइन ।

ओलीले राष्ट्रवादी अवतार ग्रहण गर्दै सुख र समृद्धिको सपना बाँडेपछि धेरैजसो लेखक–कलाकारमा खुसफहमीको मनस्थिति निर्माण भएको र उनी नै देशका तारणहारको रूपमा बुझ्ने–बुझाउने भाष्यको जगजगी भएकोमा कुनै शंका छैन । यस्तो भाष्य र मनस्थितिले कुन संरचना र सम्बन्धका कारण लाखौंलाख नेपाली युवा सयौँ वर्षदेखि स्वदेश छाड्न र अरूको देश स्याहार्न विवश भए भन्ने प्रश्न गर्दैन । कस्तो पुँजी, कसको तन्त्र, कस्तो नेतृत्व, कस्तो प्रक्रिया र पद्धति, कसको स्वार्थ र हितका लागि उनीहरूलाई स्वदेश फर्काउने अनि कस्तो विकास र समृद्धि निर्माण गर्ने भन्ने विश्लेषण पनि गर्दैन ।

राज्यसत्ताको संरचना र शक्ति–सम्बन्धसमेत फेर्न नपर्ने राजनीतिक क्रान्ति गरेका नेताहरूले सम्भ्रान्त वर्गसँग गर्दै आएको सम्झौता र तिनका हक–हित–स्वार्थको पक्षपोषणको विस्तारको रूपमा हुने विकास र समृद्धिले भोकानांगा उत्पीडितको हित गर्ने कुनै ग्यारेन्टी छैन ।

अनेक रक्तपात, बलिदान र नाराबाजीपछि पनि भोकानांगा उत्पीडितको हितमा एक पाइला नचाल्ने र राजनीतिशास्त्री टी. लुइस ब्राउनको भाषामा ‘क्रान्तिको स्वाङ’ देखाएपछि अब विकास र समृद्धिको चटक देखाउने राजनीतिक नेतृत्वसामु हाम्रा लेखक–कलाकारले एउटामात्रै प्रश्न सोध्ने हिम्मत गरे पनि पुग्छ : यहाँहरूको विकास र समृद्धियुक्त समाजवादको नाराले भोकाहरूको पेट कसरी भरिन्छ, कुन संरचनामा नांगाहरूको आङ ढाक्छ, कुन पद्धति र प्रक्रियामा रोगीहरूलाई निको पारिन्छ, विकासको मूल फुटाएको पञ्चायती नेपालभन्दा ‘समृद्ध समाजवादी नेपाल’ कुन अर्थमा न्यायपूर्ण हुन्छ ?

कवि विमल निभाको भाकामा भन्दा शब्दको खेल चलिरहेको बेला हिजोका प्रतिरोधी गीत राष्ट्रगानमा, विगतमा विरोधमा उठेका हात नाराबाजी र तालीमा रूपान्तरण हुने खतरा बढ्दो छ । त्यसैले रामेश दाइले निराशा र मोहभंगको अवस्थाबारे ‘पारिजात दिदीसँगका ती दिनहरू’मा उद्धृत विचार सम्झनलायक छ ।

पारिजातले २०४६ सालपछिको संसदीय प्रजातन्त्रसँग क्रुद्ध र रुष्ट हुँदै भनेकी थिइन्, ‘व्यर्थ भयो रामेश, तिमी–हामीले जीवन होमेर ल्याएको प्रजातन्त्र । ताईबाट उम्केको माछो भुंग्रोमा पर्‍यो । धिक्कार, देशको भाग्य । अब फेरि अर्काे आन्दोलन उठ्नुपर्छ, देशमा ।’

स्थापित कान्तिपुर दैनिकका नियमित स्तम्भकार हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार