तपाईं रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकाको सिकागोका मेयर राहम इमानुएलमध्ये कसलाई बढी विश्वास गर्नुहुन्छ ? रुसले सन् २०१८ संस्करणको विश्वकप आयोजना गरिरहँदा पुटिनले विश्वको ध्यान आकर्षित गरेका छन् ।

सन् २०२६ मा विश्वकप आयोजना गर्ने पालो उत्तर अमेरिकाको भागमा पार्नेछ । तर, सिकागोलाई विश्वकप आयोजक सहर बन्ने कुनै इच्छा नरहेको जानकारी इमानुएलले अमेरिकी फुटबल महासंघ र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई दिएका छन् ।

क्यानडा र मेक्सिकोले समान १०–१० खेल आयोजना गर्नेछन् र बाँकी ६० खेल संयुक्त राज्य अमेरिकाले आयोजना गर्नुपर्ने हुन्छ । यस्तो अवसरका बीच अमेरिकाको तेस्रो ठूलो सहर किन उक्किन खोजिरहेको छ ?

रुसको खर्च कति ?

विश्वस्तरीय खेलकुद आयोजना गर्नुकोे अर्थ बझ्न जरुरी छ । सन् २०१४ को हिउँदे ओलम्पिक्स आयोजनाका लागि पुटिन सरकारले ५१–७० अर्ब अमेरिकी डलर खर्च गरेको थियो । जारी विश्वकप आयोजनाका लागि रुसले कम्तीमा १४ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

सेन्ट पिटरवर्गसहित सात नयाँ रंगशाला बनाउन रुसले बजेट निकासा गरेको थियो । सेन्ट पिटरवर्ग रंगशाला निर्माणका लागि मात्रै रुसले लगभग १ अर्ब ७० करोड अमेरिकी डलर खर्च ग-यो ।

यसैगरी, पाँचवटा अन्य भेन्यु निर्माणका लागि पनि बजेट छुट्याएको थियो । रुसले खर्च गरेको उक्त बजेटमा प्रशिक्षण सुविधा, आवास, अन्य पूर्वाधार निर्माण र सुरक्षा खर्चलगायत अन्य खर्च जोडिएको छैन ।

विश्वकप र सिकागो

सिकागोले सन् १९९४ को वल्र्डकपको उद्घाटन समारोह र पहिलो खेल आयोजना गरेको थियो । तर, अहिले वल्र्डकपलाई लिएर नितान्त भिन्न मनस्थिति बनाएको छ ।

इमानुएलका प्रवक्ता म्याट म्याकग्राथले एक विज्ञप्ति जारी गर्दै फिफाले सिकागो सहर र करदाताहरूसँग जोडिएका विविध मुद्दामा आश्वस्त पार्न नसकेको दाबी गरेका छन् । फिफाले सम्झौताप्रतिकूल विभिन्न माग राखेको आरोप म्याकग्राथले गरे ।

उनका अनुसार खेलका लागि फिफाले सिकागोको सोल्जर फिल्ड हुनुपर्ने माग राखेको थियो । सिकागो वेयर्स फुटबल टोलीको घरेलु क्षेत्र हो । तर, यो घरेलु प्रतिस्पर्धा हुनु दुई महिनाअघि नै प्रयोगका लागि अयोग्य बनेको छ ।

यसैबीच, इमानुएलको भनाइमा करदाताका लागि अनिश्चितता निम्तिएको र संवादका लागि फिफा अनिच्छुक तथा लचिलो हुन नसकेकाले सिकागोमा भावी विश्वकप खेल खेलाउने इच्छा नभएको तर्क दिएका छन् । विश्वकप खेलहरू सिकागोको स्वार्थअनुरूप नभएको दाबी उनले गरेका छन् ।

करमा प्रतिबन्ध

यसैगरी, विश्वकप आयोजना गर्ने एउटा सहरले हप्तामा दुईदेखि ६ वटा खेल खेलाउने गर्छन् । फुटबल टोलीका लागि प्रशिक्षण सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । साथै, यस्ता सहरले विभिन्न थरीका क्रियाकलापका लागि ठूलो मात्रामा कर छुट दिनुपर्ने हुन्छ ।

वास्तवमा, विश्वकप आयोजनाका लागि सम्बन्धित सहरले गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि आम्दानीमाथि कर लगाउन प्रतिबन्ध लगाइन्छ ।

अन्तरमहादेशीय फुटबल परिसंघ, सेवा प्रदायक, आयोजक देशको प्रसारण संस्था र फिफा सदस्य संगठन तथा ठेकेदारमाथिको कुनै पनि क्रियाकलापमा कर लगाउन नपाउने व्यवस्था फिफाले गरेको छ ।

फिफाको चातुर्यपूर्ण भाषा

फिफाका अनुसार विश्वकपले विश्वभरका मानिसको ध्यान आयोजक देशमाथि खिचेको हुन्छ । यसले गर्दा सम्बन्धित देशको खेलकुद तथा सार्वजनिक पूर्वाधार निर्माण गर्ने अवसर विश्वकपले दिने तर्क फिफाको छ ।

यति मात्र होइन, विश्वकप आयोजना गर्न पाउने अवसरकै कारण देशको मध्य तथा दीर्घकालीन सामाजिक–आर्थिक फाइदा र समग्र आर्थिक विकास गर्ने अवसर मिल्न सक्ने फिफाको भनाइ छ । तर, फिफाले बढो चातुर्यपूर्ण भाषाको प्रयोग गरेको छ ।

विश्वकप आयोजना गर्न पाउनुलाई पूर्वाधार विकासका लागि महत्वपूर्ण आर्थिक लगानी गर्ने ‘अवसर’ प्राप्त हुनु भन्ने तर्क मात्र फिफाले गरेको देखिन्छ ।

यसैगरी, आर्थिक विकास पनि ‘हुन सक्ने’ भन्ने भाषा प्रयोग गरेको छ । तर, बौद्धिक प्रमाणका अनुसार विश्वकप आयोजक देश वा सहरका लागि बिरलै मात्र फाइदा पु-याउँछ । फिफाले सार्वजनिकस्तरमा आफ्नो तर्कलाई पुष्टि गर्न खोजेजस्तो फाइदा हुन सक्ने अवस्था देखिन्न ।

उदाहरणका लागि, यो वर्षको विश्वकप आयोजनाका लागि रुसले १४ अर्बभन्दा बढी अमेरिकी डलर लगानी गरेको छ । तर, टिकट बिक्री, अन्तर्राष्ट्रिय प्रसारण अधिकार र प्रायोजनबाट हुने सम्पूर्ण आम्दानी सीधै फिफालाई नै जान्छ ।

यसरी हेर्दा, रुसले नयाँ सातवटा रंगशाला र साजसज्जा गरिएका पाँचवटा स्थल जोड्नेछ । तर, विश्वकप समाप्त भइसकेपछि यस्ता रंगशाला र स्थलको उपयोगिता तथा प्रयोग बन्द प्रायः हुनेछ ।

यस्तो अवस्थामा, प्रयोगविहीन भए पनि यिनको संरक्षण र सुव्यवस्थाका लागि हरेक वर्ष दसौँ लाख अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।

आयोजकलाई बेफाइदा

यसकारण, झट्ट हेर्दा विश्वकपले नयाँ सुविधा प्राप्त गर्ने अवसर उपलब्ध गराएजस्तो देखिन्छ । तर, अहिले पनि विश्वकपमा भएको लगानी र तामझाम रुसको पक्षमा छैन ।

इतिहासलाई नै हेर्ने हो भने विश्वकपले न रुसको अन्तर्राष्ट्रिय लगानी तथा व्यापार बढाउँछ, न पर्यटन उद्योगलाई बढावा दिन्छ । यसैगरी, शारीरिक स्वास्थ्यप्रति जनताका प्रतिबद्धतालाई पनि यसले प्रभाव पार्न सक्छ । यसरी, हेर्दा विश्वकप आयोजना गर्नुलाई रुसले राष्ट्रिय गौरवको विषय त बनाएको छ ।

तर, आफ्नो देशमा रहेका यावत् समस्याका पहाडलाई छायामा पार्दै विश्वकप आयोजना गर्नुले आयोजक राष्ट्रको वास्तविक हित कत्तिको गर्न सक्छ भन्ने अहिलेको प्रश्न हो ।

विश्वकप आयोजना गरे पनि, नगरे पनि पेट्रोलियम पदार्थको मूल्यमा अस्थिरता आइरहेको छ । यस्तैमा, सन् ०१४ मा क्रिमियालाई नियन्त्रणमा लिएसँगै अन्तर्राष्ट्रियस्तरबाट लाग्दै आएको प्रतिबन्ध जारी नै हुनेछ ।

रुसी नागरिकको जीवनस्तर खस्कँदै जानेछ । यसकारण तपाईं कसको विश्वास गर्नुहुन्छ ? मचाहिँ इमानुएलको तर्कमा सहमत छु ।

(एन्ड्रू जिम्बलिस्ट अमेरिकाको स्मिथ कलेजका प्राध्यापक हुन् । उनले ‘सर्कस म्याक्सियम : द इकोनोमिक ग्याम्बल बिहाइन्ड महोस्टिङ द ओलम्पिक्स एन्ड वल्र्डकप’ नामक पुस्तक लेखेका छन्)

नयाँ पत्रिकाले प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा गरेकाे नेपाली अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार