जव रवि लामिछानेले प्रेस काउन्सिललाई “हत्याराहरू भएको ठाऊँ” भनेर लेखे र त्यो गोविन्द आचार्यहरू खिल वहादुर भण्डारीहरू र संगीता खड्काहरूतिर लक्षित थियो ।

जब राजु थापाले ‘हत्यारा वालकृष्ण ढुङ्गेल जेल मुक्त हुने र रवि लामिछानेहरू जेल पर्ने’ भन्ने प्रकृतिको फेसवुकमा पोष्ट गरे । जब जनयुद्धका कट्टर विरोधीहरू, कट्टर राजावादीहरू, एनआरएनहरू, कम्युनिष्ट विरोधीहरू र दशतिरबाट साम्राज्यवादसँग सालनाल जोडिएकाहरू रवि लामिछानेको पक्षमा खुलेर आए । त्यसपछि नखुलेको आकास खुल्दै खुल्दै आएको देखिन्छ ।
सुरुमा भ्रष्टचार विरोधी गतिविधीका कारणले चर्चामा आएका र लोकप्रियता कमाएका रवि लामिछानेको पक्षमा खुवै जनलहर जस्तो देखिए पनि विस्तारै बादल फाट्दै गएको देखिन्छ । अझै पनि कैयन इमान्दार साथीहरूको रवि मोह टुटिसकेको छैन र तिनीहरू रविलाई यथासक्य छिटो नेपाली नागरिकता लिएर महान् नेपाली भैदिन अपिल गरिरहेका छन् । उनले नेपाली नागरिकता मात्रै लिइदिए अरु कुरामा उनी अव्वल देशभक्त भएको बहस गरिरहेका छन् । तर स्थिति कस्तो देखिन्छ भने रवि लामिछाने लोकप्रिय कामको आवरणमा देशका विरुद्ध गुप्तचरी गर्ने अमेरिकी प्रतिनिधी हुन सक्छन् । उनको पछाडि निकै ठूलो प्रतिकृयावादी गिरोह छ भन्ने कुरा प्रेस काउन्सिलले आवस्यक कदम उठाइसकेपछि पनि उनका पक्षका मानिसहरूले पत्रकारहरूलाई दिएको खतरनाक धम्कीहरूले पुष्टि गरिरहेको छ ।
रवि लामिछाने किन नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिए होलान भनेर पनि सोच्नु पर्ने देखिन्छ । त्यसो त धेरै अरुले पनि यस्तो गरेका छन् ।अरु धेरैले पनि रविले जस्तो गरेका छन् या त्यस्ता मानिस सांसद या मन्त्री भैसकेकोले रवि लामिछानेको ठूलो गल्ती होइन भनेर पनि केही मानिसहरू भनिरहेका छन् ।ती मानिसहरूको सोचाईले विदेशी नागरिकता लिने घटनालाई खास नराम्रो मान्दैन बरु अरुले लिनु हुने रविले लिनु किन नहुने भनेर कुतर्क गर्छ । यहींनेर अर्को प्रश्न आउँछ – देशमा अप्ठेरो परेर विदेश जानेहरूको पनि वर्ग चरित्र छ । जस्तो निम्न मध्ययम वर्ग र श्रमजीवीहरूको ठूलो हिस्सा श्रमिकको रुपमा खास गरेर खाडी मुलुक र भारतमा जान्छ र खास अवधि पछि त्यो फर्केर आउँछ । त्यो वर्गले आफ्नो देशको नागरिकता फ्याँक्ने र अर्को देशको नागरिकता लिनेतिर सोच्दा पनि सोच्दैन । त्यसै गरी मध्ययम र उच्च वर्गका छोराछोरी नेपालमा पाइरहेको जागिर या सुविधा त्यागेर अझ बढी सुविधाको लागि युरोप अमेरिका पस्ने गर्छन् र केही वर्षपछि तिनीहरू उतैको पिआर लिन्छन् र नेपाललाई गाली गर्न थाल्छन् । कति त जनयुद्धकालमा माओवादीका विरुद्ध अपराध गरेका या माओवादी पीडितका नाममा युरोप अमेरिका छिरेका चरम दक्षिणपन्थीहरू पनि छन् ।
रवि लामिछाने र रविन्द्र मिश्रहरू त्यस्तै मानिसहरू हुन् । देशमा शासन सत्ता भ्रष्ट र नालायक बनेर जन विश्वास गुमाएको अवसर पारेर उनीहरू ‘विवेकशील’ नेता बनेर रातारात हिरो बनेर निस्केका छन् र ती ‘विवेकशील’ हरूले राजनीतिप्रति असचेत युवाहरूको ठूलो हिस्सामा भ्रम दिन सफल भएका छन् । यसरी रविन्द्र मिश्र या रवि लामिछानेहरूको प्रतिकृयावादी सारतिर ध्यान नदिएर बाहिर बाहिर देखिने आवरणको आधारमा धारणा बनाउने र होहल्ला गर्ने सतही खाले गैर वैचारिक चटपटे भिडले निर्माण गर्ने तथाकथित विचारले कस्तो समाज बन्छ ? आज रवि लामिछानेको पक्षमा जो जो तरवार बोकेर उभिएका छन्, ती व्यक्ति या संस्थाहरू कि त चरम दक्षिणपन्थी छन कि त भयानक भ्रममा छन् ।
जब जब देशमा शासकहरू नालायक भएर देखा पर्छन्, जब जब क्रान्तिकारी आन्दोलन टुट फुट र विचलनको शिकार भएर क्रान्तिकारीहरू कमजोर भएको अवस्था आउँछ तब तब तरह तरहका नक्कली हिरोहरू जन्मन थाल्छन् । जति बेला रवि लामिछाने नेपाली नागरिकता त्यागेर अमेरिका भाँसिदै थिए, के त्यो समयमा नेपालमा भ्रष्टचार थिएन त ? के आफ्नो जन्मभूमि भ्रष्टचारको नरकमा डुवेको देखेर मातृभूमिका भार हर्न रवि लामिछाने दोश्रो अवतारको रुपमा फेरि नेपाली भएर जन्मेका हुन् त ? के रविन्द्र मिश्रहरू जति बेला बेलायती सरकारी संस्थाको जागिरे बनेर नेपाललाई भारतमा मिसाउँदा के होला भनेर बहस चलाउँदै थिए, त्यो समय नेपालमा भ्रष्टचार थिएन ? जति बेला नेपालका मजदूर किसानका छोराछोरीहरू गणतन्त्रको निम्ति लडिरहेका थिए । जतिवेला गणतन्त्रको लागि लड्नेहरू छात्तीमा गोली थापिरहेका थिए, त्यो समय रवि-रविन्द्रहरू के गरिरहेका थिए ? गरिवका छोराछोरीहरूले लडेर गणतन्त्र ल्याइसकेपछि तिनै योद्धाहरूलाई हत्यारा भन्दै राता रात हिरो बन्ने र योद्धाहरूको भाग खोस्ने रवि-रविन्द्रहरूको चालबाजी नबुझ्ने र तिनीहरूकै पछि पछि भजन किर्तन गाउँदै हिड्ने हो भने देशले ठूलो दुर्घटना व्यहोर्नु पर्ने हुन्छ । जनतामाथि अझै पनि शोषण छ, दमन छ, विभेद छ र उत्पीडन छ ।
जनताले लडेर ल्याएको गणतन्त्र अपहरणमा परेको छ र त्यो आज साम्राज्यवादका दलालहरूको कव्जामा छ । गणतन्त्रको प्रगतिशील सार क्रमश सकिदै छ र यसले प्रतिकृयावादी चरित्र ग्रहण गर्दै छ । अहिलेको भ्रष्टचार, बेरोजगारी , विभेद लगायत कुरेको कारक वर्तमान व्यवस्था हो र यसको समाधान यो व्यवस्थाको अन्त र समाजवादको स्थापना हो । तर रवि-रविन्द्रहरू समाजवादतिर होइन वरु यो व्यवस्थाका कमजोरीहरूलाई देखाएर यो भन्दा राजतन्त्र ठीक भन्न चाहन्छन् र उनीहरूले सक्ने हो भने देशलाई पछाडि फर्काउँन चाहन्छन् । यी सवै कुरा वुझेर पनि उनीहरूको पछाडि मानिसहरू ओइरिन्छन् भने हामीले त्यो प्रतिक्रान्तिका खतरनाक संकेत हो भनेर बुझ्नु पर्छ । यो भन्दा अलग बुझ्ने हो भने देश रवि-रविन्द्रहरूलाई जिम्मा दिनु पर्छ र राजतन्त्रको पुनर्स्थापनाको स्वागतमा तयार भएर बस्नु पर्छ ।के नेपाली समाजको अग्रगामी हिस्सा त्यसो गर्न तयार छ त ? के त्यसो गरेर नेपालका श्रमजीवी तथा उत्पीडित जनताको हित छ त ? अहँ छैन ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जसरी ट्र्याक्टरको विकल्प हलो र हलोको विकल्प कोदालो हुन सक्दैन । जसरी घरको विकल्प ओढार र ओढारको विकल्प रुखको फेद हुन सक्दैन । जसरी विरामीको लागि औषधिको विकल्प विष हुन सक्दैन त्यसै गरी वर्तमान व्यवस्थाका जति सुकै खरावीको विकल्प राजतन्त्रतिर फर्कनु हुन सक्दैन ।
अर्को कुरा नेपालीहरू राज्य चलाउन अयोग्य भए या कोही भ्रष्ट भए भनेर त्यसको विकल्प अर्को उपयुक्त नेपाली नै हुन सक्छ तर त्यसको विकल्प वाँठो छ भनेर भारतीय या अमेरिकी नागरिक हुन सक्दैन । चिनिया या जापानी हुन सक्दैन । हामी नेपालीहरूले विगारेको थिति हामी नेपालीले नै सपार्ने हो । हामीले देशको भ्रष्टचारले बिग्रेको देश सपार्ने जिम्मा अमेरिकी नागरिकलाई या शिक्षा सपार्न जापानीलाई या सिमाना रुँघ्न वेलायतीलाई या हिसाव किताव हेर्न युरोपियनहरूलाई जिम्मा दिन सक्दैनौ। हामीले विदेशीहरूबाट हामीलाई चाहिने कुरा सिक्न सक्छौं तर देशै जिम्मा दिन सक्दैनौं ।
अन्तमा रवि लामिछानेहरूले सवैभन्दा पहिला देशको नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएकोमा देशबासीको नाममा माफी माग्नु पर्यो । उताको नागरिकता त्यागेर यताको लिन प्रकृया थाल्नु पर्यो र पर्खनु परो ।अस्ति नागरिकता त्यागेर भर्खर असार चार गतेबाट उताको छोड्न निवेदन दिएको विदेशी नागरिकले नेपालको बारेमा जथाभावी बोल्ने नैतिक अधिकार छैन । अझ उसलाई भगवान बनाएर सिङ्गो देश नै रविहरूले गर्दा जोगिएको हो भनेर सोच्ने युवाहरूको चिन्तनको दरिद्रता देख्दा दुख लागेर आउँछ ।
– साहित्यकार तथा माओवादी नेता बलराम तिमिल्सिनाको वालबाट ।







