सत्ताधारी खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरू अब समाजवादतिर गइन्छ भन्दै छन् । तिनको यो उद्घोष सुन्दा लुब्ध बनियाँले बडो कृपापूर्वक लोककल्याणको घोषणा गरेजस्तो लाग्छ ।

कथित वाम–कम्निस्ट सरकारका शिखर पुरुषहरूको वर्गस्थिति, तिनको जीविका र आर्जनका स्रोतहरू, तिनको जीवनशैली र तिनका सामाजिक सम्बन्धहरू खग्रास पञ्च–मण्डलेहरूका भन्दा किमार्थ फरक छैनन् । यसको अर्थ हो, अब पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाहरूले पनि हामीलाई समाजवादतर्फ लगिदिन बेर छैन ।

पिके र केपी फगत ओठे कम्निस्ट हुन्, कगजी कम्निस्ट हुन्, प्राविधिक कम्निस्ट हुन् । यिनको समाजवादतर्फ जाने उद्घोष लोकलाई लोभ्याउँदै राजनीतिक धन्दा चलाउने छलकारी स्वैरकल्पना हो । हामीले यिनलाई सविनय निवेदन गर्नु राम्रो हुन्छ— सदाझैँ गर्छु भनेर नगर्न समाजवादतर्पm जाने ढोँगी कुरा नगर । कृपा गरी हामीमाथि समाजवादको मायावी लेप लगाइएको अधिनायकवाद लाद्ने आकांक्षा नराख ।

के अनेक बलिदानी आन्दोलनहरू व्यर्थ भएका हुन् ? के सधैँ केवल सत्ताको आवरण फेरिएको र सार यथावत् रहेको हो ? शासनको आसनमा पात्र फेरिएको, प्रवृत्ति पुरानै निरन्तर रहेको हो ? यी प्रश्नको सोझो र छोटो उत्तर सम्भव छैन । मेरो एउटै ज्यानले ६ थान राजा फटायो । यस अर्थमा म धेरै लामो जीवन बाँचेँ । राणा शासनमा जन्मेँ, जन्मेको तीन वर्षपछि त्यो शासन ढल्यो । म त्यसको बाल दर्शक थिएँ । त्रिभुवनको अवसानको म अबोध साक्षी बनेँ । महेन्द्र ढले र उनको पछि लागेर उनको निरंकुश पञ्चायत ढल्यो ।

म यस प्रक्रियाको एक बागी कर्ता र सजग साक्षी बनेँ । त्यसो त म वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रको अवसानको एउटा विद्रोही कर्ता र साक्षी पनि बनेँ । यसरी मेरै जीवनमा ६ थान राजा फाटेर गए । अनेक व्यवस्था फेरिए । तर, कुनै परिवर्तनले पनि उत्पीडनकारी संरचना, कार्यविधि र संस्कृति फेर्ने चेष्टा गरेन । असमान र विभेदकारी शक्ति–सम्बन्धलाई परिवर्तन गर्ने चेष्टा गरेन । परिवर्तनको चक्र एक प्रकारले सिसिफसको निरन्तर दोहोरिने कष्टप्रद किस्साजस्तो भयो । परिवर्तन प्रायः राजा गयो, राजा रह्यो भनेजस्तो भयो । हुँदाहुँदा खड्गप्रसाद ओलीमा आइपुग्दा त सत्तामा टोपीधारी राजाकै उदय भएको ननिको आभास भइरहेछ ।

के सत्ता, संस्कृति र सम्बन्धमा सारभूत परिवर्तन गर्न नयाँ आन्दोलन र नयाँ नायकको उदय हुनेवाला छ ? समाजमा विभेद, वहिष्करण र वञ्चनाको स्थिति रहेसम्म त्यस्तो सम्भावना सधैँ रहन्छ । तर, निकट भविष्यमै परिवर्तनको ठूलो आँधीबेरीको सम्भावना म देख्दिनँ । ठूलो आँधीबेरी, बलिदान र रक्तपातपछि नेपाली समाज थकित अवस्थामा छ ।

आन्दोलनका सहस्र घाउहरू उपचार नगरी त्यत्तिकै छाडिँदा समाजमा आन्दोलनप्रति नै वितृष्णा व्याप्त छ । त्यसैले मेरो विचारमा यो सामाजिक न्यायको बिउ जोगाउने याम हो । कालक्रममा सारभूत परिवर्तन ल्याउने आन्दोलन र त्यो आन्दोलनको नायकको उदय त हुने नै छ ।

संकटकालमा बागी एवं हस्तक्षेपकारी लेखकको संकट ? यो बडो चाखलाग्दो विषय हो । संकटकालमा बागी लेखक उल्टै संकटका स्रष्टा तानाशाहहरूका लागि संकट हो, खतरा हो । मलाई प्रायः सोधिन्छ— संकटकालमा संकटका स्रष्टाहरूका नाम किटेरै प्रहार वा कटाक्ष गर्दा तँ कसरी ज्युँदो रहिस् ? खै, मलाई यकिन थाहा छैन । यसबारे म यति मात्र भन्न सक्छु, ‘सायद म आफ्ना शक्तिहरूको योग र संयोगले ज्युँदो रहेँ ।’

मेरो सत्यनिष्ठा र मेरो शब्द–सामथ्र्य नै मेरो आफ्नै शक्ति हो । तर, मेरो माउ शक्तिचाहिँ भर्खरै नारायणजीले भन्नुभएझैँ देखिने र नदेखिने, चिनिने र नचिनिने सहयात्री तथा शुभचिन्तकहरूको साथ र शुभेच्छा हो । एक्लै त म केही नै होइन । पद, अलंकार र पैसाको शक्तिले युक्त मानिस म होइन । कलम एवं वैचारिक र नैतिक निष्ठा सिवाय शक्तिको स्रोतका रूपमा मसँग छ नै के र ? तरै पनि निरंकुश सत्ताले मलाई नामेट पार्न सकेन । संकटकालमा हुर्मत, सास्ती र यातना त सामान्य कुरा हुन् ।

ओलीराज विमति र आलोचनाप्रति घोर असहिष्णु छ । यो असहिष्णुता क्रमशः अभिव्यक्तिको बन्देजका रूपमा प्रकट हुनेछ । सहजकालमा बागी बन्न सजिलो छ । तर, संकटकालमा बागी बन्नु पलप्रतिपल कालसित आँखा जुधाउँदै हिँड्नु हो । फेरि शासकरूपी कालसँग जुध्ने समय आएको छ । सजग रहौँ ।

(राजधानीमा हालै आयोजित एउटा कार्यक्रममा व्यक्त आफ्ना विचारकाे सम्पादित लेख ) ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार