०६० साल साउन ३२ गते सिङ्गो देश नै रोइरहेको थियो। देश यो कारणले रोइरहेको थियो कि रामेछाप लगायत देशका विभिन्न ठाउँबाट जम्मा भएका लाल योद्धाहरुको सामुहिक हत्याले रोइरहेको थियो। ०६० साल साउन ३२ गते रामेछाप जिल्लाको दोरम्बामा दुई जनालाई कार्यक्रम स्थलमा र तत्कालीन जन सरकार प्रमुख बाबुराम तामाङ कमरेड पुष्प सहित १९ जनालाई आँखामा पट्टी बाँधी दोरम्बाबाट १ किलोमीटर टाढा डाँडा कटेरीको जंगलमा लगेर सामुहिक हत्या गरि कथित भिडन्तमा मारेको झुट समाचार आयो।

जो भिडन्तमा नभइ बिभत्स हत्या गरिएको थियो। तत्कालीन सरकार पक्ष र तत्कालीन बिद्रोही पक्षबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको थियो।यता दोरम्बामा सामान्य सुरक्षा मात्र अपनाएर पार्टीको आन्तरिक कार्यक्रम चल्दै थियो। दोरम्बा कै स्थानीय सुराकीको आधारमा मन्थलीबाट राममणि पोख्रेल मेजरको नेतृत्वमा आएको शाही जल्लादहरुले कार्यक्रम स्थल पुरै घेराउ गरिसकेको थियो। पहिलो फाएर सेन्ट्री बस्नेलाई खोल्यो। तत्कालीन जिल्ला सेक्रेटरी कमरेड ललित लगायत केही कमरेडहरु घेरा तोडेर बाँच्न सफल भए भने अन्यलाई कालो पट्टी बाँधेर लगे ।

त्यतिबेला दोरम्बा बजार अन्धकारमय भएको थियो। पुरै सन्नाटा छाएको थियो।बादल घुम्टो उघारेर हेर्न सकेको थिएन।चराचुरुङ्गीहरु काने खुशी गर्दै बिलौना गरिरहेका थिए। सर्वसाधारण जनतालाई बाहिर ननिस्कन उर्दी जारी गरिरहेको थियो।  १९ जनालाई एउटै डोरीले बाँधेको थियो। कसैले बोल्न सक्ने आँट थिएन।किसानहरू बारीको भित्ताबाट लुकी लुकी हेरिरहेका थिए भने वर्ग दुश्मन खुशी मनाइरहेका थिए। केही समयपछि डाँडा कटेरी युद्धमय भयो र रगतको आहाल जम्यो। सामुहिक हत्यापश्चात् सबै लाशलार्इ जङ्गलमा फालेर रक्त पिपासुहरु खुसियाली मनाउदै फर्के। त्यसको तीन दिनपछि केही मान्छेहरु आएर लासलाई पहिचान गरेर सामुहिक दाहसंस्कार गरियो।

दोरम्बा घटना राष्ट्रिय रूपमा मात्र होइन, अन्तरास्ट्रिय रूपमा पनि चर्चा भयो तर दोषीमाथि कारबाही गर्ने कुनै पहल नै गरिएन।तत्कालीन विद्रोही पक्षको नेतृत्व गर्ने मान्छेहरु नै पटकपटक सरकारको जिम्मेवार पदमा आसिन भएपनि कारबाही गर्न तयार भएनन् ।दोरम्बाको डाँडा कटेरीले बगाएको रगतले दुई दुई पटकसम्म प्रधानमन्त्री भएको पुष्प कमल दाहालले यो बिभत्स हत्याको बारेमा एक शब्द बोल्न चाहेनन् । हुँदा हुँदै क्रान्तिको बाटो समेत भुलेर आफ्नो बचाउतिर लागे। जनयुद्धको सबै घाउ चोट बिर्सेर दोरम्बा लगायत देशै भरिको सहिदको सपनालाई लात हान्दै पुष्प कमलहरु एमालेमा विलय भएको धेरै समय बितेको छैन।

अहिले कथित कम्युनिस्टको नाम राखी दोस्रो तहको अध्यक्ष भैइ खाका दाहाल ०७५ साल साउन ३१ गते दलबलसहित दोरम्बा गाउँ पालिकाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रूपमा आउने कार्यक्रम रहेछ। मध्याह्न १२:०० बजे आउने भनिएता पनि प्रचण्डको हेलिकप्टर १:०० बजे मात्र काभ्रेको आकाश हुँदै दोरम्बा आइपुगे। हामी प्रचण्डको अवतरण सङ्गै बिरोध गर्ने तयारीका साथ तयारी गर्दै थियौं । प्रचण्ड चढेको हेलिकप्टरले सहिद स्मारकलाई तीन फनका लगायो।त्यसरी फनका मारिरहँदा सहिदहरुको छातिमाथी टेके झै लाग्थ्यो। यता कार्यक्रम स्थलमा आसेपासेहरु धर्तीबाट के के न निस्कन लागेको जस्तो चिच्याइरहेका थिए । दस मिनेट जतिपछि हेली पुन आकाशमा उड्यो र दोरम्बाको सेनाको ब्यारेकमा अवतरण गर्‍यो ।

मनमनै सोचेँ त्यो ब्यारेकमा म कार्यरत भएको भए प्रचण्ड ओर्लने बित्तिकै फायर खोल्थे झै लाग्थ्यो।मनभरी आक्रोश बोक्दै हामी महान् सहिदहरुको सपना पुरा गर्ने अठोटका साथ सहिदहरुको सम्मान स्वरूप एक मिनेट मौन धारण गरि मनभरी आक्रोश बोक्दै कार्यक्रम स्थल देख्ने स्थानमा लाग्यौं । समयको चापले या आयोजकलाई हतार भएर हो प्रचण्ड उपस्थिति हुनुभन्दा अगाडि नै सहिद परिवार र अन्य अतिथिलाई आसन ग्रहण गर्दै थियो।कोही कोही सहिद परिवारहरुको नाम दस पटक सम्म उच्चारण गरिरहेको स्पष्ट सुनिन्थ्यो।दलबलसहित प्रचण्ड कार्यक्रम स्थलमा आइपुगेको थियो ।प्रचण्ड त्यसरी आउँदा सहिदहरुले गिज्याए झैँ लाग्थ्यो ।मनले नमानी नमानी उपस्थित भएकाहरुले खादाले स्वागत गरिरहेको दृश्य रोमाञ्चक देखिन्थ्यो।

प्रचण्डको आसन ग्रहणसङ्गै स्वागत मन्तव्य राखियो ।त्यसपछि मौन धारण गरियो।हाम्रो योजना मौन धारण गर्नेबेला नै गर्ने भन्ने थियो । एकैचोटि स्वागत मन्तव्य राख्दा मौन धारण नै नगर्ने हो कि के हो भन्दै हामी एकाअर्कालाई हेराहेर गर्‍यौ ।  स्वागत मन्तव्य सकेपछि कार्यक्रम संचालकले त्रुटि भएको भन्दै मौन धारण गर्न सबैलाई आग्रह गरियो।हामी यहीँ मौका पर्खी रहेका थियौं । समय सुरु भनेर पाँच सेकेन्ड पनि बित्न नपाउदै सबै कमरेडहरुको हातहातमा कालो झण्डासहित प्रचण्ड विरुद्ध गगन भेदी नाराहरु लगायाे। नारा सुनेपछि मौन धारणले सन्नाटा छाएको कार्यक्रम स्थलमा तीस मिनेट मै खैलाबैला मच्चियो।मस्त निन्द्रामा कसैले डिस्ट्र्ब गरेर निन्द्रा भंग भए झै भयो।

कार्यक्रम संचालकले हतारहतारमा धन्यवाद भन्न भ्याए।हामी भने ‘दलाल प्रचण्ड मुर्दावाद ! लाल भुमिमा लाल गद्दारहरुलाइ बहिष्कार गरौं ! एकीकृत जनक्रान्ति जिन्दावाद ! महान सहिदहरु लाल सलाम !’ भन्दै सुरक्षित स्थान तर्फ हाम्रो रक्तिम पाइलाहरु अगाडि बढायौँ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार