उत्तर कोरियाले गत आइतबार आफ्नो स्थापनाको ७०औँ वार्षिक उत्सव मनायो । तर, यसपटक वार्षिक उत्सव अघिल्ला वर्षभन्दा फरक रह्यो । यस उत्सव दौरान उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रदर्शनमा राखेन ।केवल सैन्य शक्ति प्रदर्शन गर्यो । रिपोर्टअनुसार सैन्य शक्ति प्रदर्शनमा १२ हजारभन्दा बढी सैनिक सम्मिलित थिए ।
आश्चर्यजनक रूपमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलविनै उत्तर कोरियाले मनाएको ७०औँ वार्षिक उत्सवले केही महत्वपूर्ण सन्देश दिएको छ ।
सर्वप्रथमतः सैन्य शक्ति प्रदर्शनले देशले हासिल गरेको उपलब्धिलाई चित्रित गर्छ । वार्षिक उत्सव दौरान भएको शक्ति प्रदर्शनले देशवासीको आत्मबल बढाउनुका साथै एकताको सन्देश पनि दिन्छ । वार्षिक उत्सवका क्रममा उत्तर कोरियाली कम्युनिस्ट पार्टीको स्थायी समितिका अध्यक्ष किम योङ नामले उत्तर कोरियाले ७० वर्षभित्र हात पारेको उपलब्धिको सम्झना गरे ।

उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको नेतृत्वले आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा हासिल गरेका उपलब्धिमाथि जोड दिएका थिए । यद्यपि, किम जोङ उनले सैनिक शक्ति प्रदर्शनलाई यसपटक सम्बोधन गरेनन् । उनको प्रतिनिधित्व गर्दै बोलेका किम योङ नामले उत्तर कोरियाको आर्थिक विकास लक्ष्यबारे चर्चा गरे ।
तर, परमाणु हतियारबारे कुनै चर्चा गरेनन् । यसर्थ, यस अवसरलाई उत्तर कोरियाली नेतृत्वले पुराना नीति परिवर्तन गर्ने तथा नयाँ नीतिबारे घोषणा गर्ने अवसरका रूपमा सदुपयोग गरेको देखिन्छ । वास्तवमा अमेरिका–उत्तर कोरिया सम्बन्धमा गतिरोध उत्पन्न भएको अहिलेको परिवेशबीच उत्तर कोरियाको यस वार्षिक उत्सवले सकारात्मक सन्देश दिएको छ ।
गत अगस्टमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको भ्रमण गर्ने मिति तय भएको थियो । तर, परमाणु निःशस्त्रीकरणका लागि उत्तर कोरियाले पर्याप्त प्रगति नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पोम्पेओको भ्रमण रद्द गराए । प्रत्युत्तरमा उत्तर कोरियाको आधिकारिक पत्रिकाले ट्रम्पको कदमलाई द्वैध चरित्रको संज्ञा दिँदै आक्रोश पोखेको थियो ।
उत्तर कोरियासँग अमेरिकाका मुख्य सहरलाई निसाना बनाएर मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल भएकाले कोरियाली प्रयाद्वीपको शान्तिप्रक्रिया प्रभावित भएको विश्लेषण हुँदै आएका छन् । तर, यसपटक उत्तर कोरियाले वार्षिकोत्सव दौरान यस्ता मिसाइल प्रदर्शनमा नराख्नुले दुइटा स्पष्ट सन्देश दिएको छ ।
पहिलो त, उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल विकासको विरोध गर्ने चीनलगायत मुलुकको भावनालाई उत्तर कोरियाले सम्मान गरेको छ । चीनले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल प्रक्षेपणको विरोध गर्दै उसलाई संवादको बाटो अँगाल्न बारम्बार सुझाव दिँदै आएको छ । यसैगरी, यस वार्षिकोत्सवमार्फत उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई आफूले ब्यालेस्टिक मिसाइलको विकास स्थगित गरेको तथा अमेरिकासँग वार्तामा बस्न चाहेको सन्देश दिएको छ ।
उत्तर कोरियाको यस्तो सन्देशले यही सेप्टेम्बर १८–२० सम्म उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच हुने शिखर वार्ताका लागि समेत सकारात्मक सन्देश दिएको छ ।
(लेखक चीनको रेन्मिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामिला विषयका सहप्राध्यापक हुन्)
ग्लोबल टाइम्सबाट







