क्रान्तिकारी पत्रकार संगठनको राष्ट्रिय सम्मेलनमा आर्थिक प्रतिबेदन पेश नगरेबापत सम्मान हो कि के हो ? नगरकोटमा जम्मा भएका राष्ट्रिय सम्मेलनका सहभागीहरुले “आर्थिक प्रतिवेदन खै” भनेर सोधे l कोषाध्यक्ष नवराज ढकाल मलिन अनुहार लिएर मौन बसिरहनु भएको थियो l आर्थिक प्रतिबेदन न कोषाध्यक्ष नवराज ढकालले देखाउनुभयो न तात्कालीन पदाधिकारीले कुनै जवाफ दिए l

राष्ट्रिय सम्मेलनमा सांगठानिक एवं आर्थिक प्रतिबेदन पेश गर्नु पर्ने हैन र ? के सांगठानिक प्रतिबेदनले मात्र राष्ट्रिय सम्मेलनको औचित्यता पुरा हुन्छ ? दोश्रो राष्ट्रिय सम्मेलनपछि तेस्रो राष्ट्रिय सम्मेलनसम्म क्रान्तिकारी पत्रकार संगठनको नाममा के कति रकम उठ्यो, कसले के कामका लागि कति रकम खर्च गर्यो ? कुन ठाउँबाट कति रकम उठ्न बाँकी छ ? क्रान्तिकारी पत्रकार संगठनको आर्थिक अवस्था कस्तो छ भन्ने बारे राष्ट्रिय सम्मेलनका सहभागीहरुलाई जानकारी दिन पर्दैन र ? यी प्रश्नका जवाफ दिनु तात्कालीन नेतृत्वको जिम्मेवारी हैन ? त्यसबारे हामीले हलमा प्रश्न उठाएकै थियौं l किन आजसम्म जवाफ आएको छैन ? आज उनी राष्ट्रिय नवराज ढकाललाई तात्कालीन अध्यक्ष प्रभात चलाउनेले सम्मान गरेको फोटो हेर्दा मनभित्र विभिन्न प्रश्नका ओइरोहरु लागिरहेका छन् l

पार्टी र संगठनका नाममा भएका आर्थिक गतिबिधि सम्बन्धित ठाउँमा सार्वजनिक गर्नुको सट्टा आफ्ना गलत गतिविधिहरुलाई लुकाउन माउ पार्टी र संगठनको निर्णय अवज्ञा गर्न किन उत्प्रेरित भइएको छ हँ ?

पार्टीको भातृ संगठन भन्ने पार्टीका कार्यकर्ता वा समर्थक समेत नरहेका र पार्टीले कारवाही गरेका व्यक्तिलाई साेही संगठनमा जिम्मेवारी दिएर कस्तो संगठन बनाउन खोजिएको हो ?  संगठनको पदाधिकारी हुन के योग्यता चाहिन्छ ? धेरै चन्दा उठाएर दिएको हुनुपर्ने हो ? काठमाण्डौ जस्तो ठाउँमा ८/१० लाख रुपियाँ चन्दा उठाएर दिएकै भरमा पदाधिकारी तोकिदिने ? अनि त्यो चन्दा रकम खै भन्दा विभिन्न लान्छना र बहाना गर्ने ?

कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनवादी केन्द्रीयता मान्छन् l पार्टी र संगठनले गरेको निर्णय मान्छन् र कार्यान्वयन पनि गर्छन् l चित्त नबुझेको कुरो आफ्नो पार्टी र संगठनभित्र राख्छन् l यसरी सार्वजनिक रुपमा छताछुल्ल पोखिन्नन l क्रान्तिकारी पत्रकार संगठनकाबारे पार्टी र संगठनले गरेको निर्णय मान्दैनौं भन्नुको अर्थ के हो ? के अब क्रान्तिकारी पत्रकार संगठन एनजीओ/आआईईनजिओको रुपमा अघि बढ्न खोजेको हो ? पार्टी चौतर्फी घेराबन्दीमा परेको बेला पार्टी र संगठनको अहित हुने गरी बिधि र बिधान विपरीत किन र कसको उक्साहटमा के उद्देश्यले यो रडाको मच्चाइएको हो ? यस्तो कार्यमा क-कसको सहयोग छ ? यस्ता क्रियाकलापले कसलाई फाइदा भएको छ ? फलानाको विकल्प हुने सक्दैन भन्ने सोंच परित्याग गरौँ l आवस्यक परे जो कोहीले नेतृत्व गर्न सक्ने गरी नेतृत्वको विकास गरौँ l

पार्टी र संगठनभित्र इतिहास भजाएर वर्तमानमा मोज गर्ने र भविष्यलाई भोजको जोहो गर्ने प्रबृत्ति त्यागौं l क्रान्ति र संघर्षप्रति इमान्दार्पुर्बक लागेको कमरेडको काम र योग्यताको पार्टी र संगठनले सम्मान गरी जिम्मेवारी दिनैपर्छ l तर विगतलाई अघि सारेर पार्टी र संगठनलाई सिध्याउने खेल गर्नेलाई सलाम हैन लात हानुपर्छ l जनयुद्धको कमान्डर प्रचण्ड र बाबुराम दलाल सत्ताको कित्तामा उभिएर क्रान्ति र वर्गबिरुद्ध धावा बोलिरहेका छन् l अस्तिको स्थानीय चुनाबसम्मा मतपेटिकामा घन हान्ने र मतदानस्थलमा बम हान भन्ने बादल आज क्रान्तिकारीहरु मास्ने खेलमा लागेका छन् l के अझै पनि प्रचण्ड, बाबुराम र बादललाई क्रान्तिकारी मानेर सलाम ठोक्ने कि एकजुट भएर प्रतिरोधको बाटोमा अघि बढ्ने ?

पार्टीले प्रकाश दुम्रेको अध्यक्षतामा रहेको केन्द्रीय समिति आधिकारिक भनिसकेको अवस्थामा नयाँ समिति कुन पार्टीको भातृ संगठन हुने हो ? यो गठन गरेर पार्टीलाई दबाब दिन खोजिएको हो भने पनि गलत बाटो अपनाइएको छ l यो विधिले त् पार्टी र संगठनलाई हित गर्दैन ? के साथीहरुले पार्टी र संगठनको अहित चाहनु भएकै हो त् ? यस्तो अबस्थामा साथीहरुले संगठान कब्जा गरेर स्वतन्त्र रुपले एनजीओका रुपमा संगठन चलाउन सक्नुहुन्छ l अर्को कुरा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति फलानो संगठनसंग एकता गर्यो भनेर दुई-चार जनाले आफ्नो स्थान बनाउने बाहेक अरु केही गर्न सक्नुहुन्न l पार्टीका कार्यकर्ता वा समर्थक समेत नरहेका र पार्टीले कारवाही गरेका व्यक्ति समेटेर बनाइएको समितिले दिएको दबाबमा पार्टीले केही साथीहरुका बारेमा पार्टी र संगठनले केही सोंच्न सक्ला, अद्यापि यो सम्भावना छैन, बाँकी साथीहरु त यता न उता हुनुहुनेछ l

संगठन कब्जा गर्ने, आफ्ना निहित स्वार्थ पुरा गर्ने, आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्ने गरी साथीहरुलाई गुमराहमा पार्नुको कारण अब यो भन्दा बढी खुलाउनु पर्दैन l गलतलाई गलत र सहीलाई ठिक भन्न डराउनु पर्दैन l फेरि पनि अन्तमा म के भन्न चाहन्छु भने हरेक क्रान्तिकारीहरुले होस हराउन हुन्न, सबै बेलैमा होसमा आउँ, एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध होउ l झिनामसिना कुरामा नअल्झिउं l व्यक्तिगत स्वार्थ त्यागौं l आपसी मनमुटाब त्यागेर दलाल सत्ताका विरुद्ध एकजुट भएर लडौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार