विसं २००७ कात्तिक २५ गते राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसको जनमुक्ति सेनाले सशस्त्र विद्रोह गरेको थियो । जनमुक्ति सेनाका संस्थापक योद्धामध्येका श्यामबहादुर तामाङ सम्भवतः एक मात्र जीवित पात्र हुन् । जनमुक्ति सेनाको रक्षादल हुँदै उनी नेपाल प्रहरीमा प्रवेश गरी एसपीसम्म पुगेर अवकाश प्राप्त गरे । हाल ८८ वर्षीय तामाङले ६८ वर्षअघिको त्यो क्रान्तिको स्मरण गरेका छन् । उनले सोे सशस्त्र विद्रोहको नालीबेली नयाँ पत्रिकाका रोहेज खतिवडालाई सुनाएका छन् ।

००७ साल कात्तिक २५ गते रातिदेखि राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसको जनमुक्ति सेनाले सशस्त्र विद्रोह सुरु गर्यो । त्यो दिन भाइटीका थियो । सेनाले भैरहवा, वीरगन्ज र विराटनगरमा एकसाथ आक्रमण गर्यो । विराटनगरमा क्रान्तिको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नु भएको थियो । वीरगन्जमा मेजर पूर्णसिंह खवास हाम्रो प्रमुख कमान्डर हुनुहुन्थ्यो भने त्यसमा ज्ञानबहादुर सुब्बा र कप्तान थीरबम मल्ल हाम्रो नेतृत्वमा हुनुहुन्थ्यो ।
भैरहवामा चाहिँ डा. केआई सिंहले नेतृत्व गर्नुभएको थियो । जनमुक्ति सेनामा लाग्नुअघि म भारतको खर्साङमा हाइस्कुल पढ्थेँ । दार्जिलिङ, खर्साङ क्षेत्रमा गणेशमान सिंह, पुष्पलाललगायत नेताहरू आइरहनुहुन्थ्यो । नेताहरू आएका वेला हामी नेपालबाट पुगेका विद्यार्थीलाई भेला गरी राजनीतिक भाषण दिनुहुन्थ्यो । नेपालमा क्रान्ति किन आवश्यक छ, किन राणाशासन अन्त्य गर्नुपर्छ र कसरी यसविरुद्ध आन्दोलन गर्न सकिन्छ भन्ने विषयमा उहाँहरूको भाषण केन्द्रित हुन्थ्यो ।
निर्मल लामा मभन्दा एक ब्याच सिनियर हुनुुहुन्थ्यो । उहाँ स्कुल पढ्दैदेखि चलाख र अध्ययनशील हुनुहुन्थ्यो । माक्र्सवाद, क्रान्ति र प्रजातन्त्रबारे विभिन्न पुस्तक ल्याएर पढ्नुहुन्थ्यो र हामीलाई पनि दिनुहुन्थ्यो । हामी स्कुलको होमवर्क गर्न छोडेर ती पुस्तक पढ्थ्यौं । कहिले त रातभरि पढेर बिहान यत्तिकै स्कुल जान्थ्यौँ । हाई स्कुलपछि उनै लामामार्फत कांग्रेसी नेताहरूसँग परिचय भयो । अनि म जनमुक्ति सेनामा भर्ना भएँ । कांग्रेसमा केही नेता गान्धीको जस्तो अहिंसात्मक आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा थिए । बिपीबाबु भने सशस्त्र क्रान्तिको पक्षमा हुनुहुन्थ्यो । अहिंसात्मक आन्दोलनका भरमा राणाले सत्ता छोड्दैनन् र यसका लागि सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्ने उहाँको विचार थियो ।
सन् १९५० को अप्रिल २३ मा कलकत्तामा सुवर्णशमशेरको टाइगर सिनेमा हलमा कांग्रेसको अधिवेशन थियो । त्यसवेला म पनि त्यहीँ थिएँ । मलाई यसपछि कांग्रेसको कार्यालयमा बस्ने काम दिइयो । म बैठकको माइन्युट लेख्ने, विभिन्न ठाउँमा भएका पार्टीका गतिविधिको रेकर्ड राख्ने काम गर्थें । त्यसैबीच, जनमुक्ति सेना गठन गर्ने र सशस्त्र क्रान्ति सुरु गर्ने कुरा भयो ।
कलकत्तामा मेजर पूर्णसिंह खवास, ज्ञानबहादुर सुब्बा, कप्तान थीरबम मल्ललगायत नेताको बैठक बस्यो र जनमुक्ति सेना गठन भयो । मैले वीरगन्ज मोर्चामा काम गर्ने कुरा भयो । हामीसँग जम्माजम्मी तीन–चारवटा बाह्र बोरको बन्दुक र केही पटाका बनाउने बारुदलगायतका हतियार मात्र थिए हामीले कुनै तालिम लिएका थिएनौँ । ब्रिटिस सेनामा काम गरेर अवकाश पाएका वा बिदामा आएका सैनिकका भरमा सेना गठन गरिएको थियो ।
मेरा कमान्डरहरू मेजर पूर्णसिंह खवास र ज्ञानबहादुर सुब्बासँग ब्रिटिस सेनामा काम गरेको र भारतको स्वतन्त्रतामा भाग लिएको अनुभव थियो । हामी सियालदह स्टेसनबाट ट्रेनमा करिब तीन सयको फौज वीरगन्ज गयौँ । लक्ष्मीपूजाका दिन साँझ ४ बजे सियालदह स्टेसनबाट हिँड्यौँ ।
भाइटीकाको राति ८–९ बजे रक्सौल आइपुग्यौँ । रक्सौल स्टेसनमा राणाका सिआइडी हुने भएकाले स्टेसनबाट १०–१२ किलोमिटर पार गरेपछि ट्रेन रोक्ने योजनामा थियौँ हामी । योजनाअनुसार ट्रेन रोक्याैँ र सबैले कालो कपडा पहिरियौँ । कालो कमिज र कालै पेन्टमा थियौँ हामी । हाम्रो गेटअप देखेर ट्रेनका यात्रु रोइकराई गर्न थाले । उनीहरूले हामीलाई लुटेरा ठानेछन् ।
हाम्रा नेताहरूले केही बेर युद्धको निर्देशन दिए । जोसिलो हुनुपर्यो, बरु अलिअलि रक्सी खानुपर्यो भनेर निर्देशन दिएको सम्झना छ । हामीले रक्सी पनि खायौँ । दुई–चार बोतलले सय, डेढ सयलाई पुग्यो । रक्सीको बोतलको ढकनीले एकजनालाई एक ढकनी बाँडिएको थियो । जाडोको दिनमा एक बिर्को रक्सीले हामीलाई छुँदा पनि छोएन ।
हामीलाई त्यहाँबाट बाटो देखाउनका लागि दुई–तीनजना कांग्रेसका युवक आएका थिए । हाम्रो पहिलो योजना वीरगन्जको ब्यारेक कब्जा गर्ने थियो । थीरबम मल्लको दोस्रो टोलीले बडाहाकिम र उनको घर कब्जा गर्यो । हाम्रा गाइडले राति धेरै घुमाए । ११ बजे राति नै वीरगन्ज पुगेर कब्जा गर्ने योजना थियो, उनीहरूले घुमाउँदाघुमाउँदा बिहान भाले बास्ने समयमा मात्र वीरगन्ज पुर्याए । एकछिन गोली हानाहान गर्दा उज्यालो भइहाल्यो । उनीहरूसँग अटोमेटिक हतियार थिए, हामीसँग राम्ररी नपड्किने बन्दुक र पटका मात्र थिए । बन्दुकले १२ मिटरभन्दा बढी हान्न सक्दैनथ्यो ।
बन्दुक तीन–चारवटा मात्र थिए, मैले एउटा चुप्पी बोकेको थिएँ । हाम्रा साथी तेजबहादुर क्षेत्रीलाई छातीमै गोली लाग्यो । उनी हाम्रो लडाइँका पहिलो सहिद हुन् । तर, उनीहरूले झन्डा उठाए, लडाइँमा हामी विजयी भयौँ । त्यहाँ विजयी भएपछि हामीले धेरै हतियार कब्जा गर्यौँ । जितपछि हामीलाई आँट अझ बढेर आयो । यसरी हामीले भाइटीकाको राति वीरगन्ज कब्जा गर्यौँ ।
वीरगन्ज कब्जा गर्ने क्रममा कप्तान थीरबम मल्लले पनि सहादत प्राप्त गरे । उनलाई बडाहाकिमलाई कब्जा गर्ने जिम्मवारी दिइएको थियो । हामीले सेनाको ब्यारेक हानिरहेको वेला उनले बडाहाकिमलाई कब्जामा लिएका थिए । तर, बडाहाकिमको बडिगार्डले चलाएको गोली लागेर उनको मृत्यु भयो । भैरहवा, विराटनगर र वीरगन्जमध्ये सबैभन्दा शक्तिशाली समूह हाम्रै थियो । वीरगन्ज जितिसकेपछि रातारात हिँडेर चन्द्रागिरि आइपुग्नुपर्ने थियो ।
१२ गते राति काठमाडौं हान्ने योजना थियो । हाम्रा कमान्डर थीरबम वीरगन्जमै सहिद भइसकेका थिए । उनको मृत्युका कारण हाम्रा सारा कार्यक्रम फेल भए । त्यसपछि अब गुरिल्ला वार गर्नुपर्छ भनेर हाम्रा कमान्डरले हामीलाई ठोरीमा लग्ने भए । राणाका सेना हामीलाई पछ्याउँदै आए । ठोरी खोँचमा छ, त्यसैले हामी डाँडामा बस्ने र राणाका सेनालाई एम्बुसमा पार्ने योजना बनायौँ । ठोरीमा पनि भयंकर भिडन्त भयो । त्यहाँ गुरिल्ला वार भएको थियो । हाम्रा साथी कमान्डरलाई घोडाबाट झारेर उनीहरूको हतियार ल्याउनसमेत सफल भए । केही बेरको हानाहानपछि उनीहरूको भागाभाग भयो । त्यसपछि हामीले चितवनको गढी कब्जा गर्यौँ, त्यहाँको हतियार पनि ल्यायौँ ।
हाम्रो टोलीमध्ये आधा भैरहवातर्फ लागेको थियो, बाँकी हामी विराटनगरतर्फ लाग्यौँ । विराटनगरमा पहिलो आक्रमणमा जनमुक्ति सेना पछि हट्न बाध्य भएको थियो । रेलमा बरौनी, कटिहार, जोगबनी हुँदै हामी विराटनगर गएका थियौँ । वीरगन्ज र चितवन कब्जा भएपछि जम्मा भएको हतियार पनि साथै लिएर गएका थियौँ । हामीले साथमा अटोमेटिक हतियार पनि ल्याएका थियौँ । बरौनीमा प्रहरीले हाम्रो हतियार समातेछ ।
साथीहरूले प्रहरीलाई घोक्राएर बाहिर निकालेछन् । हामी तीनजना म, याकथुम्बा र पूर्ण सिंह फस्र्ट क्लासमा बसेका थियौँ । प्रहरीलाई बाहिर निकालेपछि हाम्रोमा ल्याएर अटोमेटिक हतियार राखे । एकछिनपछि पुनः प्रहरी आयो, तर हतियार भेट्टाएन । हतियार हामीसँग आइसकेको थियो । जति खोज्दा पनि नभेटेपछि प्रहरीले कटिहारमा फोन गरेछ । कटिहारमा प्रहरीले हाम्रा साथीहरूको हुलमा पसेर धुमधामसँग हतियार खोजेछ, तर हतियार कसै गर्दा पनि फेला परेन ।
हामी फस्र्ट क्लासमा टिटीले खोल्न खोज्दा पनि नसक्ने गरी ढोका डबल लक गरेर बसेका थियौँ । एकछिनपछि गाडी छुट्यो । हामी धेरै दिनको अनिँदो थियौँ, ट्रेनबाट ओर्लिने ठाउँ आइपुगेको थाहै पाएनौँ । ढोकामा ड्याङड्याङ मार्तोलले हिर्काउँदा पनि डबल लक गरेको हाम्रो ढोका खुलेनछ । दुईजना कमान्डर मस्त निद्रामा थिए । ब्युँझेर मैले बोलाउँदा पनि सुरुमा सुनेनन् । यसो बाहिर हेरेको त गिरिजाप्रसाद कोइराला ठिंग उभिएर बसिरहेका रहेछन् । उनका साथमा अरू साथीहरू पनि थिए । त्यसपछि हामी हतारहतार उत्रियौँ ।
त्यसपछि हामीले बोर्डरको निर्धारित स्थानको ठूलो हलमा बसेर योजना बनायौँ । भोलिपल्ट हाम्रा कमान्डर र नेताहरू भएर विराटनगर बजारको रेकी गरे । बोर्डरबाट विराटनगर बजार पाँच किलोमिटर पनि थिएन । त्यो पाँच किलोमिटरभित्र जुट, कटनलगायतका ठुल्ठूला मिल थिए । करिब १६ हजार मजदुरले त्यहाँ काम गर्थे । छेउछाउका ससाना चौकीहरू जनमुक्ति सेनाले सजिलै कब्जा गर्यो । हाम्रो फौजले बडाहाकिमको घर भने कब्जामा लिन सकेन । किनभने, बडाहाकिमको घर क्याम्पको बीचमा थियो । वरपर १० फुट अग्लो पर्खाल लगाइएको ।
पर्खालमा बालुवाको बोरासहितको सेन्ट्री राखेको । एलएमजी, ब्रेनगन बोकेर सेना बसेको, राइफल कति–कति । वरपर बत्ती बालिदिएको । बत्ती बालेपछि राति पनि आक्रमण गर्न नसक्ने । वरपर जंगल पनि थिएन । आएको देखेर परैबाट सेनाले गोली चलाइहाल्ने । भित्र एक महिना डेढ, दुई सयजनालाई खान पुग्ने रासन जम्मा गरेको थियो । भित्र पानी प्रशस्तै थियो । त्यसैले हाम्रो फौजले बडाहाकिमको क्याम्प कब्जा गर्न सकेको थिएन ।
हामीले धेरै दिनसम्म घेरेर राख्यौँ । तर, घेरेर मात्रै भएन । क्याम्प कब्जा नगरी त नहुने नै थियो । अब के गर्ने त भन्ने भयो । फौजकै कसैले ट्यांक बनाउने जुक्ति निकाल्यो । त्यहाँ एकजना त्रिलोचन भन्ने मारवाडीको ठूलो खेती रहेछ । उसले खेतीका लागि ल्याएको ट्र्याक्ट्ररलाई ट्यांक बनाउने भन्ने सल्लाह भयो । त्यसवेलाको ट्र्याक्टरमा अहिलेजस्तो टायर हुँदैनथ्यो, चेन हुन्थ्यो । फौजमा बर्मामा हतियार बनाउने काम गरेका मिस्त्री थिए, फत्तेबहादुर नेपाली । उनले ट्यांक बनाउन जानेका रहेछन् । ट्र्याक्टरमाथि कारखानाका फलामका पाता जोडेर उनले ट्यांक बनाए । ट्यांक भित्र मान्छे बस्न मिल्ने र बाहिर गोली हान्न मिल्ने गरी बनाइएको थियो ।
गोरमणि सिंह भन्ने एकजना मणिपुरका मानिसले ट्यांक चलाएका थिए । भित्र ब्रेन गन चलाउने एकजना र एकजना गोली भर्ने मान्छे थिए । ट्यांक छुट्ने वेला बिपीबाबु, गिरिजाबाबु सबै आउनुभएको थियो । सबैले गजबको ट्यांक तयार भएछ भने । अब ट्यांक लगेर हान्ने भएपछि गोरमणिले ट्यांक चलाउन थाले ।
बीचमा कुवा रहेछ, कुवामा ट्यांक अड्कियो । हामी हेरिरहेका छौँ, ट्यांक त कुद्दैन । न अगाडि जान्छ, न पछाडि । गोरमणिले प्रयास गरिरहेका छन्, यता क्रसफायर भइरहेको छ । ट्यांकमा सेनाले हानेको गोली लागिरहेको छ । हाम्रो पनि भित्रबाट गोली चलाइरहेका छन् । अब के होला त भनेजस्तो भयो । तर, एकैछिनमा गोरमणिले ट्यांक त्यहाँबाट निकाले । त्यसपछि पर्खालको एकापट्टि लगेर बेस्सरी ठोक्काए, आधा पर्खाल ग्वार्लाम्म ढल्यो । बडाहाकिमको भान्साघर एक धक्का दिनासाथ ढल्यो ।
यसपछि हाम्रो फौजले पनि आक्रमण सुरु गर्यो । अर्कोपट्टिको सेनाको भागाभाग भयो । नेपाली सेनाको रेडियो पनि थियो । तारिणीप्रसाद कोइराला कटन मिलको गेस्ट हाउसमा बसेर त्यहाँको सबै वृत्तान्त सुनाइरहेका थिए । नेपाली सेना यताबाट पनि भाग्यो, उताबाट पनि भाग्यो, जनमुक्ति सेना यसरी अघि बढिरहेको छ भनेर उनले भनिरहेका थिए । यसपछि बडाहाकिमको घर पनि कब्जा भयो ।
म र ज्ञानबहादुर सुब्बा बडाहाकिमको घरभित्र पस्यौँ । बडाहाकिम कतै छैनन् । घरमा पनि पिन ड्रप साइलेन्स थियो । १०–१२ जनाको परिवार बस्ने घरमा एकजना पनि छैन । अनि ज्ञानबहादुरले जोडले कराएर बडाहाकिमलाई आत्मसर्मपण गर, हामीले खोजतलास गर्दा भेट्यौँ भने छोड्दैनौँ भने । त्यसपछि त उनको परिवारै बाहिर निस्कियो ।
पूरै परिवार ट्वाइलेटको सानो कोठामा च्यापिएर बसेका रहेछन् । बडाहाकिम उत्तमविक्रम राणा बाहिर निस्किए । बाहिर निस्किनेबित्तिकै दुई हात माथि उठाएर उनी कराए, ‘नेपाली कांग्रेस जिन्दावाद, श्री ५ महाराजधिराज सरकारकी जय !’ बडाहाकिमका एकजना जवान छोरा भने भाग्ने क्रममा हाम्रो फौजले गोली चलाउँदा मारिए ।
विराटनगर कब्जा गर्ने क्रममा गोले काइँला, दलबहादुर, रणबहादुर, डा. कुलदीप झा, तारापत चटर्जी र दिलीप घोष गरी ६ जनाले सहादत पाए । झा, चटर्जी र घोष भारतीय नागरिक हुन् । राज्यले अहिलेसम्म उनीहरूलाई सहिद घोषणा गरेको छैन । देशमा यति धेरै सहिद घोषणा गर्दासमेत राज्यले उनीहरूलाई सम्झिन आवश्यक ठानेको छैन । विराटनगर कब्जापछि हाम्रो फौज पहाडतिर लाग्यो । पहाडमा नारदमुनि थुलुङ, रामप्रसाद राईलगायतले क्रान्तिमा काम गर्नुभएको थियो । प्रतिक्रान्ति भएर उहाँहरू पक्राउ पनि पर्नुभयो । फेरि जनमुक्ति सेनाले कब्जा गरेपछि उहाँहरू मुक्त हुनुभयो ।
भैरहवाको फौज पनि सबै ठाउँ कब्जा गर्दै धादिङ आइपुगेको थियो । जनमुक्ति सेनामा अब काठमाडौं कसरी कब्जा गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो । राजा त्रिभुवन परिवारसहित दिल्ली पुगिसकेका थिए । यता, राणा प्रधानमन्त्री मोहनशमशेर आत्तिइसकेका थिए । १२ जनवरीमा मोहनशमशेरले एकतर्फी रूपमा युद्धविराम घोषणा गरे ।
राजाले पनि दिल्लीबाट मोहनशमशेरको युद्धविराम घोषणालाई समर्थन गरे । १६ तारिखमा कांग्रेसले पनि युद्धविराम गर्यो । त्यसअघि जनवरी १२ मा गोरखपुरमा कांग्रेसले आफ्ना कार्यकर्तालाई बोलाएको थियो ।
गोरखपुर पुग्नै समय लाग्यो । यसैबीच गोरखपुरका ‘डिस्ट्रिक्ट म्याजेस्टी’ले बिपीबाबुलाई तत्काल वार्ताटोलीको नाम दिन र सकेसम्म चाँडो दिल्ली हिँड्नु भनेर खबर गरे । नेहरूको खबर आएपछि बिपीबाबुहरू वार्ताका लागि दिल्ली जानुपर्ने भयो । भारत र राजाले समेत मोहनशमशेरको युद्धविरामलाई समर्थन गरेपछि कांग्रेस दबाबमा परेको थियो । नेताहरू दिल्ली गएपछि गोरखपुर भेला हुन सकेन । उता, नेहरूले तीन पक्षबीच सहमति गराए । यसरी ००७ साल फागुन ७ गते क्रान्ति सफल भएको थियो ।
कांग्रेसका अहिलेका नेता–कार्यकर्ता र अहिलेको पुस्तालाई यो कुरा सुन्दा कथाजस्तो लाग्ला । यो क्रान्ति कांग्रेस र खासगरी जनमुक्ति सेनाले गरेको गौरवमय काम हो, जसले नेपाली समाजलाई खुलापन र प्रजातन्त्रतर्फ अगाडि बढायो । आज जनमुक्ति सेनामा काम गरेका प्रायः सबै मानिस बितिसके । तैपनि राज्यले जनमुक्ति सेनामा काम गरेका व्यक्ति, सहादत प्राप्त गरेका व्यक्ति र तिनका परिवारलाई सम्मान गर्न अझै कन्जुस्याइँ गरिरहेको छ ।







