
बहुसंख्यक अमेरिकी जनताको इच्छाविपरीत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका अतिवादी नीतिगत एजेन्डा के हुने भन्नेमा यतिवेला ट्रम्पको राष्ट्रपति पद नाटकीय रूपमा केन्द्रित भएको छ । ट्रम्पले उठाएका अतिवादी एजेन्डालाई अहिलेसम्म अमेरिकी जनताले स्विकारेका छैनन् ।
हालै सम्पन्न मध्यावधि निर्वाचन परिणामले पनि जनमत उनको पक्षमा छैन भन्ने वास्तविकतालाई स्पष्ट पारेको छ । अझ, ट्रम्पको बढ्दो निराशाले मनोवैज्ञानिक रूपमा उनलाई ठूलो धक्का दिन सक्छ, जसका कारण अमेरिकी प्रजातन्त्र र सम्पूर्ण विश्वकै लागि ट्रम्पले विध्वंसात्मक परिणाम भित्र्याउन सक्छन् । ट्रम्पले ल्याएका कुनै पनि अतिवादी नीतिगत विचारले जनसमर्थन पाएका छैनन् ।गतवर्ष रिपब्लिकनको समर्थनमा आएको कर्पोरेट कर कटौती प्रस्तावले व्यापक जनविरोधको सामना गर्नुप-यो ।
ट्रम्पबाट आएका सुलभ स्वास्थ्य सेवा ऐन अर्थात् ओबामा केयर खारेज गर्ने प्रयास, मेक्सिकोसँग जोडिएको सीमामा पर्खाला बनाउने प्रस्ताव, इरान परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय, चीन, युरोपलगायतलाई लक्षित गरी ल्याइएको कर योजनालाई अमेरिकी जनताले समर्थन गरेका छैनन् । यसैगरी, ट्रम्पले खनिज इन्धनको प्रयोगलाई निरन्तर प्रोत्साहन गरिरहँदा अमेरिकी जनताले भने नवीकरणीय ऊर्जामा लगानी गर्नुपर्ने आवाज उठाइरहेका छन् । साथै, पेरिस जलवायु परिवर्तन सम्झौताको पक्षमा अमेरिका उभिनुपर्ने अपेक्षा पनि अमेरिकी जनताको छ ।
ट्रम्पका तीन उपाय
आफ्ना अतिवादी एजेन्डालाई जबर्जस्ती लागू गर्न ट्रम्पले तीनवटा प्रयास गरेको देखिन्छ । पहिलो, बलियो प्रतिपक्षलाई बेवास्ता गर्दै नयाँ कनुन तथा व्यवस्था पारित गर्न कंग्रेसका दुवै सदनमा रहेका बहुसंख्यक रिपब्लिकन सांसदमा भर पर्ने । उनको यस्तो प्रयास एकपटक भने सफल भयो । रिपब्लिकन दाताहरूको दबाबबीच सन् २०१७ मा ट्रम्पले ल्याएको कर्पोरेट कर कटौती प्रस्ताव कंग्रेसमा भएको बहुमतको बलमा पारित भएको थियो । तर, ओबामा केयर खारेज गर्ने प्रस्तावमाथि भने तीनजना रिपब्लिकन सिनेटरले समर्थन नगरेकाले उनको प्रयास असफल भएको थियो । दोस्रो उपायका रूपमा कंग्रेसलाई छल्दै ट्रम्पले अध्यादेशको प्रयोग गर्ने प्रयास गरेका छन् ।
अध्यादेश ल्याउने उनको प्रयासमाथि अदालतले बारम्बार हस्तक्षेप गरेको छ । हालै मात्र मध्यावधि निर्वाचनको मुखमा ट्रम्प प्रशासनले ल्याएको ‘किस्टोन एक्सएल पाइपलाइन प्रोजेक्ट’लाई वातावरणविद्हरूले व्यापक विरोध गरेपछि संघीय जिल्ला अदालतले सो प्रोजेक्टलाई रोकेको छ । अदालतले सो प्रोजेक्ट सञ्चालन गर्नुपर्ने औचित्यबारे स्पष्टिकरण सोध्दा ट्रम्प प्रशासनले अदालतसामु चित्तबुझ्दो जवाफ दिन सकेको थिएन ।
ट्रम्पले बारम्बार पदको बलमा खतरनाक कदम चालेको अवस्थामा अदालतले उनको कदमलाई पछाडि धकेल्दै आएको छ । तेस्रो उपायका रूपमा ट्रम्पले आफ्नो पक्षमा जनमत आकर्षित गर्न -यालीको व्यापक प्रयोग गर्दै आएका छन् । यद्यपि, उनले आयोजना गरेका बारम्बारका -यालीका बाबजुद पनि प्रशासन सम्हालेयता ट्रम्पको लोकप्रियता ‘अपु्रभल रेटिङ’ निरन्तर गिर्दाे छ । विपक्षीलाई लक्षित गरी ‘-यालीमा प्रयोग हुने अपशब्द र अशिष्टताका कारण पनि उनको लोकप्रियता गिरेको छ । हाल ट्रम्पको ‘डिसअप्रुभल रेटिङ’ ५४ प्रतिशत पुगेको छ भने अप्रुभल रेटिङ केबल ४० प्रतिशत छ । ट्रम्पका लागि बलियो अप्रुभल रेटिङ करिब २५ प्रतिशत मात्र छ । यसको अर्थ ट्रम्पको कदममा दिगो जनसमर्थन देखिएको छैन ।
मध्यावधि निर्वाचनको झड्का
ट्रम्पकै शब्दमा भन्नुपर्दा उनको राष्ट्रपति पदका लागि जनमत संग्रहसरह रहेको मध्यावधि निर्वाचनमा कंग्रेसको दुवै सदन र सिनेटका लागि उठेका डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन प्रतिस्पर्धीलाई पछारेका छन् । कंग्रेस सदनतर्फ डेमोक्रेटले देशभरिबाट ५ करोड ३३ लाख १४ हजार १ सय ५९ मत पाए भने रिपब्लिकनले ४ करोड ८४ लाख ३९ हजार ८ सय १० मत पाएका छन् ।
सिनेटतर्फ डमोक्रेटले ४ करोड ७५ लाख ३७ हजार ६ सय ९९ मत प्राप्त गर्दा रिपब्लिकनले मात्र ३ करोड ४२ लाख ८० हजार ९ सय ९० मत हासिल ग-यो । सन् ०१४, ०१६ र ०१८ मा भएका निर्वाचनमा दुवै पार्टीले पाएको जम्मा मतको हिसाब गर्ने हो भने डेमोक्रेटिक सिनेट उम्मेदवारले रिपब्लिकन सिनेट उम्मेदवारभन्दा लगभग १२ करोड बढी मत हासिल गरेका छन् । मध्यावधि निर्वाचन परिणामलाई ट्रम्पले कंग्रेस सदनबाट अलोकप्रिय कानुनी व्यवस्था पारित गर्न अब सक्षम हुने सम्भावना देखिन्न । अन्य पार्टीले पनि समर्थन गरेको नीति मात्र उनी पारित गर्न सक्ने छन् ।
बढ्दो राजनीतिक व्यवधान, कर छली र व्यापारिक सम्झौतामाथिको सम्भावित अनुसन्धान र मध्यावधि निर्वाचनबाट ऊर्जावान् राजनीतिक प्रतिपक्षका कारण ट्रम्पको शक्ति कमजोर हुने देखिन्छ
ट्रम्पले बारम्बार पदको बलमा खतरनाक कदम चालेको अवस्थामा अदालतले उनको कदमलाई पछाडि धकेल्दै आएको छ
घट्दो लोकप्रियता
आर्थिक दृष्टिकोणबाट हेर्दा आउँदा दिनमा ट्रम्पको व्यापार नीतिको लोकप्रियता पनि घट्दै जानेछ । कर्पोरेट कर कटौती र विश्व व्यापार नीतिमा देखिएको अनिश्चितताले व्यापार लगानीमा गरेको असर र बजेट घाटा तथा ब्याजदर वृद्धिका कारण ट्रम्पको व्यापार नीतिले अलोकप्रियता पाउने देखिन्छ । राष्ट्रिय सुरक्षाको झुटो औचित्यलाई देखाएर विदेशी वस्तुको आयातमा लगाइएको करवृद्धि योजना राजनीतिक तवरबाट र सम्भवतः अदालतबाट समेत चुनौती आउन सक्छ ।
यद्यपि, अझै पनि संघीय अदालतमा रुढिवादी न्यायाधीश नियुक्त गर्न ट्रम्प सफल हुनेछन् र सम्भवतः सिनेटमा रिपब्लिकनको बहुमत पु-याउन सफल पनि हुनेछन् । युद्ध र शान्तिसँग जोडिएका मुद्दामाथि उनले बल र धम्कीको प्रयोग गर्नेछन्, जुन दोस्रो विश्वयुद्धयताको अमेरिकी राजनीतिक व्यवस्थाको समस्या नै हो । जनसमर्थन अभाव नुहुँदा पनि अघिल्ला अमेरिकी राष्ट्रपतिले झैँ ट्रम्पले पनि मध्यपूर्व र अफ्रिकामा अमेरिका सम्मिलित युद्धलाई निरन्तरता दिने सम्भावना यथावतै छ ।
ट्रम्पको कमजोर पकड
आउँदा महिनामा शक्तिमा ट्रम्पको पकड अझ कमजोर हुँदै जाने अन्य धेरै कारण छन् । कंग्रेसमा डेमोक्रेट्सको पकड हुनासाथ ट्रम्प स्वयंको कर तथा व्यक्तिगत व्यावसायिक सम्झौतामाथि छानबिन सुरु हुनेछ । ट्रम्पले गम्भीर कर छली गरेको बलियो तथ्य हालै मात्र द न्युयोर्क टाइम्सले प्रकाशित गरिसकेको छ । यसैगरी, उनका परिवार सदस्यले राष्ट्रपति पदबाट फाइदा उठाएका थुप्रै आधार बाहिर आएका छन् । यस्तो स्थितिमा उनीमाथि छानबिन हुँदा अमेरिकी राजनीतिमा ठूलो राजनीतिक हलचल पैदा हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
सबैभन्दा महत्वपूर्ण पक्ष त के हो भने ट्रम्प अतिवादी राजनीतिकर्ता मात्र होइनन् । लेखक इयान ह्युग्सले ट्रम्पलाई ‘घृणा, पागलपन र अहंकारले भरिएको अव्यवस्थित दिमाग’को संज्ञा दिएका छन् । ट्रम्पलाई धेरै नजिकबाट नियालिरहेका दुईजना पर्यवेक्षकका अनुसार ट्रम्पको शक्ति निरन्तर कमजोर बन्दै जानेछ । बढ्दो राजनीतिक व्यवधान, कर छली र व्यापारिक सम्झौतामाथिको सम्भावित अनुसन्धान र मध्यावधि निर्वाचनबाट ऊर्जावान् रानतीतिक प्रतिपक्षका कारण ट्रम्पको शक्ति कमजोर हुने विश्लेषण पर्यवेक्षकले समेत गरेका छन् ।
खतरनाक आगामी दिन
यति मात्र होइन, आगामी दिन अमेरिका र सम्पूर्ण विश्वका लागि खतरानाक सावित हुन सक्छन् । एकातर्फ, ट्रम्पको राजनीतिक पकड कमजोर हुनु अनि अर्कातर्फ उनका अगाडि व्यवधान बढ्दै जाँदाको अवस्थामा उनको दिमागी अस्थिरताले झनै ठूलो खतरा निम्त्याउनेछ । ट्रम्पको क्रोधले विस्फोटक रूप लिन सक्छ । परिणामस्वरूप, शक्तिमाथिको पुनः पकड जमाउन उनले युद्ध चलाउन वा संकटकालीन शक्तिको सहारा लिनेसम्मको प्रयास गर्न सक्छन् । अझै पनि हामीले ट्रम्प पूर्ण रूपमा क्रोधित भएको देखेका छैनौँ, तर तिकडम गर्ने उनको ठाउँ सकिएपछि त्यो पनि छिटै देख्नेछौँ । यो स्थितिमा भविष्य कस्तो हुने भन्ने अमेरिकी संवैधानिक व्यवस्थाले खेल्ने भूमिकामा भर पर्नेछ ।
(लेखक अमेरिकाको कोलम्बिया विश्वविद्यालयको दिगो विकास, स्वास्थ्य नीति तथा व्यवस्थापन विषयका प्राध्यापक हुन्)
नयाँ पत्रिकाले प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा तयार पारेकाे सामाग्री ।







