
क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौति चक्रव्यूहहरुलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिष्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टीले आफ्ना झण्डै ७० वर्षका समयहरुमा थुप्रै संघर्ष, बलिदान र आंशिक सुधारका बीचबाट आफूलाई ईतिहास र आफ्नै शिक्षाहरुबाट प्रशिक्षित गर्दै अगाडि बढिरहेको छ । राजनीति विज्ञान त्यसमा पनि क्रान्तिद्वारा राजनीतिक विज्ञानको सफलताका लागि विचार, क्रान्तिकारी कार्यदिशाका अतिरिक्त क्रान्तिका तीन ज्यादुगरी हतियार र व्यापक जनसंगठन अनिवार्य हुन्छ । यसका साथै कुशल, निडर र दृढ नेतृत्वको अभावमा क्रान्तिकारी पार्र्टीले राज्यसत्ता प्राप्तिको लक्ष्यमा आफूलाई सफल तुल्याउन सक्दैन । नेपाली कम्युनिष्ट आन्दोलनमा नेतृत्व, विचार र कार्य दिशाको यसको निर्माण र प्रयोगको सन्दर्भमा नै ठूला ठूला संघर्षहरु र फुटहरु हुने गरेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहास थुप्रै संघर्षका वीर गाथाहरुले भरिएको छ । ती सम्पूर्ण संघर्षको समुच्यमा २०५२–०६२-०६३ सम्मको जनयुद्धलाई लिन सकिन्छ । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनाको लागि सञ्चालन गरिएको जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा मात्रै होइन नेपालको एकीकरण प्रक्रियामा पृथ्वीनारायण शाहले सञ्चालन गरेको लामो युद्धपछिको सबैभन्दा ठूलो विद्रोह र क्रान्ति थियो । देशको झन्डै ८०% भूभागमा जनसत्ताको स्थापना, हजारौं जनमुक्ति सेना, लाखांै कार्यकर्ता तथा जनमिलिसियाहरुको परिचालन, सम्पूर्ण उत्पीडित जनवर्गहरुको स्थानीय सत्ता र सेनामा सहभागिता तथा एक हदसम्म अन्तर्राष्ट्रिय आकर्षण (विदेशी नागरिकहरुको पनि आंशिक सहभागिता र समर्थन)ले महान जनयुद्धको उच्च गरिमालाई स्पष्ट गर्दछ । माथि उल्लेख गरिएझै कुशल, निडर र दृढ नेतृत्वको अभावमा विजयको सन्निकट पुगेको जनयुद्ध आज प्रतिक्रान्तिमा बदलिन पुगेको छ ।
सर्वहारावर्गको पहिलो राज्यसत्ता पेरिस कम्यून १८७१ मे मा थियर शाषक वर्ग र जर्मनी सेनाको संयुक्त हमलाका कारण पराजित हुन प¥यो । १ लाख कम्युनार्डहरुको बलिदान, ४० हजारको गिरफ्तारी र जेलका बीचबाट पराजित हुन पुगेको पेरिस कम्युनले हारेर पनि विश्व जित्न सर्वहारा वर्गलाई निरन्तर दिशा निर्देशन गरिरहेको छ, शोभियत संघ लगायत पूर्वी युरोपका प्रतिक्रान्तिहरु तथा युद्धरत पार्टीहरु मुख्यतः पेरुमा नेतृत्वको गिरफ्तारी पश्चात भएको सत्ता र संघर्षको विसर्जन तथा नेपालमा नेतृत्वको गद्दारीका कारण पैदा भएको प्रतिक्रान्ति पछिल्लो विश्व कम्युनिष्ट आन्दोलनका लागि नकारात्मक आयामहरु हुन्, तथापि यसले उत्पीडित वर्गलाई राज्यसत्तामाथि विजय हासिल गर्नका लागि थप शिक्षा प्रदान गरेको छ । नेपाली जनयुद्धका तत्कालीन नायकहरुमा आएको विचलनका बिरुद्ध पार्र्टी भित्र सञ्चालन गरिएको ६ वर्ष लामो विचारधारात्मक संघर्षमा नेतृत्वको रुपान्तरणको सम्भावना नदेखिए पछि २०६९ असारमा सम्बन्ध विच्छेद, क. किरणको नेतृत्वमा पार्र्टी पुनः स्थापना र करिव दुई वर्षको क. किरणसँगको विचार धारात्मक संघर्ष र पुनःसम्बन्ध विच्छेद गरी २०७१ मंसीर ८ गते क. विप्लवको नेतृत्वमा पार्र्टी पुनःस्थापना अगाडि बढ्यो । तत्कालीन अवस्थामा पार्र्टी विभाजनका विभिन्न आरोपहरु खेप्नु परेपनि आज दुनियाँले देख्ने गरी सावित भएको छ कि पार्र्टीमा लामो विचारधारात्मक संघर्ष (त्यसको उद्देश्य मूल नेतृत्वलाई रुपान्तरण गर्नु थियो ।) सहित सम्बन्ध विच्छेद गर्दै पार्टीको क्रान्तिकारी विचार, आदर्श र मूल्यहरुको रक्षा गर्दै पुनः क्रान्ति सु–संगत गर्ने आवश्यकता र अभिभारा पुरा गर्ने महान उद्देश्य अन्र्तनिहित रहेको छ । यहाँ पार्र्टीको पुनःस्थापना यताका उपलब्धीहरुको संक्षिप्त चर्चा गरिनेछ ।
प्रथमः नयाँ दर्शनको खोज–अध्ययन–अनुसन्धानः– यो तथ्य स्पष्ट छ कि क्रान्तिकारी पार्र्टीले आफ्ना उद्देश्यहरु हासिल गर्न परम्परागत विचार र दर्शनबाट सम्भव हुँदैन । यसका लागि निरन्तर खोज, अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ । किनकि क्रान्तिको पुनरावृति होइन विकास हुन्छ भन्ने मान्यताको प्रयोग नै मालेमाको मूल आत्मा हो । यसरी हेर्दा हाम्रो पार्र्टीले खोजबाट निष्कर्ष निकालेको
पहिलोः “माक्र्सले संश्लेषण गर्नु भएको दार्शनिकहरुले संसारको व्याख्या मात्र गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो ।” भनेका छन् अबको दुनियाँमा बदल्ने मात्रले पुग्दैन त्यसको “रक्षा र विकास” अनिवार्य हुन गएको छ । घट्नाक्रमहरुले नै साबित गरेका छन् कि सोभियतसंघ पूर्वी युरोप हुँदै विश्वव्यापि रुपमा भूगोलका हिसाबले एक तिहाई जनसंख्याका हिसाबले आधा भूभागमा स्थापना गरिएका समाजवादी सत्ताहरुमा प्रतिक्रान्ति हुन पुगेका छन् । त्यहाँ समाजवादी सत्ताको रक्षा गर्न सकिएन तसर्थ अबका क्रान्तिकारीहरुले वस्तुको रुपान्तरणसँगै त्यसको रक्षा र निरन्तर विकासमा ध्यान दिनु पर्दछ ।
दोस्रोः विपरीतहरुको एकत्व सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी नियमलाई विकास गर्नुः दार्शिनिकहरुले वस्तुको विकास नै विपरीतहरुको एकता हो भनेकाछन् । त्यो सही हो तर सो मामिला सम्पूर्ण क्षेत्रमा सोलोडोलो प्रयोग हुन सक्दैन । त्यसमा पनि मुख्यतः क्रान्तिकारी राजनीतिक पार्टीमा चल्ने दुईलार्ईन संघर्ष र विपरीतहरुको एकत्व फरक–फरक पक्षहरु हुन् । ईतिहासका शिक्षाहरु तथा विगत पार्टीमा सञ्चालन गरिएका हाम्रा आफ्नै अनुभवहरुले स्पष्ट गरेका छन् कि आज क्रान्तिका नायक भनिएका व्यक्तिहरु कहाँ छन् ? यो राजनीतिक मामिला मात्र नभएर दर्शनसँग पनि अन्र्तसम्बन्धित रहेको विषय हो ।
तेस्रोः– समाज विज्ञानमा नयाँ विकास गर्ने विषयसँग सम्बन्धित छ । जस्तो कि प्रकृति विज्ञानको विकासले माक्र्सवादको पुष्टि र विकास गर्दछ । त्यसैले द्वन्द्वात्मक भौतिकवाद विरोधिहरुले प्रकृति विज्ञानको आविष्कारलाई खण्डन गर्ने कुचेष्टा गर्दछन् । उनीहरु तर्क गर्दछन् कि विज्ञान प्रविधि र सूचना–सञ्चारको विकासले पदार्थ लोप भएको छ । कम्प्युटरमा लेख्दा उत्पन्न हुने अक्षर तरंगहरु पदार्थ होइनन् । यसका साथै समाजमा विज्ञानमा भइरहेको भूमण्डलीकरण र प्रविधिको विकासका कारण क्रान्ति असम्भव छ । यस प्रकारको तर्कले केवल दास मानसिकतालाई मात्र व्यक्त गर्दछ । यसका विरुद्ध समाज विज्ञानमा द्वन्द्वात्मक भौतिकवादको विकास आवश्यक छ । हाम्रो पार्टीको नेतृत्व क. विप्लवद्वारा खोज गरिएका यी दार्शनिक विषयहरुले अन्तर्राष्ट्रिय रुपमा बहस ल्याउनेछ र थप विकसित हँुदै जानेछ ।
द्वितीयः नयाँ कार्यदिशाको निर्माण र प्रयोगः नेपाली कम्युनिष्ट आन्दोलनमा कार्यदिशाका बारेमा ठूला–ठूला बहसहरु हुने गरेका छन् । त्यसमा पनि मुख्यतः अक्टोवर समाजवादी क्रान्ति अर्थात् सशस्त्र बिद्रोहको मोडेल र चिनियाँ जनावादी क्रान्ति अर्थात् दीर्घकालीन जनयुद्धको मोडेल । यी दुबै मोडलका अतिरिक्त जनसंघर्षको मोडेल पनि छलफलमा आउने गरेको पाइन्छ तर मुख्यतः चिनियाँ मोडेललाई नै नेपाली कम्युनिष्ट आन्दोलनमा बढी पछ्याईएको पाईन्छ, तर आजको दुनियाँमा विज्ञान–प्रविधि र सूचना–सञ्चारको क्षेत्रमा आएको भूमण्डलीकरण ईतिहासका क्रान्ति र प्रतिक्रान्तिहरुका शिक्षा र नेपाली समाजको अन्तरविरोध र विशेषतालाई मध्य नजर गरी नयाँ कार्यदिशा “एकीकृत जनक्रान्ति” को निर्माण र प्रयोग गरिएको छ । समाज विकासको प्रक्रियासँगै राजनैतिक कार्यदिशाको पनि विकास गर्न सक्ने पार्र्टीले मात्र आफ्नो विरोधीहरुमाथि श्रेष्ठमा हासिल गर्न सक्दछ । अन्यथा जतिसकै पवित्र भावना राखे पनि परिस्थितिले त्यसलाई दास सावित गर्ने कुरा हुन्छ । हाम्रो पार्र्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषणको विशेषताहरु निम्नानुसार रहेका छन् ।
१. नगर समाजको विकास
२. नयाँ श्रमिक वर्गको विकास
३. विज्ञान प्रविधिको विकास
४. दलाल पूँजीवादको चरित्र
५. उत्पीडित वर्ग, जाति क्षेत्र, लिङ्ग र समुदायको बसोबास
६. राष्ट्रवादी शक्ति
७. भूपरिवेष्ठित मुलुक ।
आज हामीले नयाँ कार्यदिशाको निर्माण र प्रयोग गरिरहँदा क.माओले १९७१ मा चिनियाँ १० वटा ठूला संघर्षहरुको सार खिच्दै प्रान्तीय भ्रमणको दौरानमा भनेका थिए “राजनैतिक कार्यदिशा सही या गलत हुनुले सम्पूर्ण कुराको निर्धारण गर्दछ ।” भन्ने कुरालाई गहिरो गरी मनन् गरेका छौं ।
तृतीयःसंगठनात्मक दृष्टिलेः महान जनयुद्धको नेतृत्व, ठूला–ठूला बलिदानको बीचबाट विकसित भएको पार्टीमा भएको दुई–दुई पटकको विभाजन, सम्बन्धविच्छेद र पुनर्गठन गर्नु विचारधारात्मक रुपले सही भए पनि भावनात्मक कोणबाट हेर्दा निकै दुःखदायी विषय हो । थुपै्र चुनौतिहरु, आशंका र विश्वासका बीचबाट पार्टीको विकास प्रक्रिया अगाडि बढेकोछ । दोश्रो पटकको सम्बन्धविच्छेदको लगतै दाङ्गमा सम्पन्न राष्ट्रिय सम्मेलनमा देश भित्रका सम्पूर्ण जिल्ला, विभिन्न जवसमोर्चा तथा विभागहरुका साथै अन्तर्राष्ट्रिय विभाग अन्र्तगतका विभिन्न देशमा क्रियाशील पार्टी संगठनहरुको उपस्थिति थियो । राष्ट्रिय सम्मेलन सम्पन्न भएको दुई वर्ष अर्थात् २०७३ फागुनमा ८ औं महाधिवेशनद्वारा विचार, दर्शन राजनीतिक, आर्थिक र सांस्कृतिक सम्पूर्ण क्षेत्रमा नयाँ संश्लेषणसहित पार्टी अगाडि बढिरहेको छ ।
आजसम्म पुग्दा पार्टी देशव्यापी स्थानीय स्तरसम्म पुगेको छ । भण्डै ३ दर्जन जन वर्गीय संगठनहरु तथा राष्ट्रिय मोर्चाहरु क्रियाशील छन् । केन्दियस्तरमा दर्जनौं विभागहरु, जनसत्ताको केन्द्रिय तहदेखि स्थानीय तहसम्म सभा तथा अधिवेशन मार्फत कार्यकारी कमिटीहरु बनेका छन् । यसरी हेर्दा आज पार्टी देशव्यापी रुपमा विभिन्न अवयवसहित विकसित र सुदृढ हुँदै गइरहेको छ ।
चतुर्थःसंघर्षका दृष्टिलेः हाम्रो पार्र्टीको पुनःस्थापना यता राष्ट्रियता, जनतन्त्र जनजीवीका तथा महंगी र भ्रष्टाचारका विरुद्ध संघर्ष सञ्चालन गर्दै आईरहेको छ । यस सन्दर्भमा लिपुलेक प्रकरण, सुकुम्बासी प्रकरण, कथित संविधान निर्माण, भ्रष्टाचार र महंगीका विरुद्ध आयोजना गरिएका नेपालबन्दका कार्यक्रमहरु उल्लेखनीय जनसमर्थनसहित सम्पन्न भएका छन् । भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण, एनसेल प्रकरण, दलालीकरणका विरुद्ध प्रतिरोध र भण्डाफोर, अपर कर्णाली, अरुण–३, प्रचण्डद्वारा गरिएको २५ बुँदे सहमति, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भारतीय हवाई सेना राख्ने सहमतिका बिरुद्ध संघर्ष आदि राष्ट्रिय महत्वका संघर्षहरु रहेकाछन् ।
यसका साथै मृत्यु शैयामा पुगेको संसदीय व्यवस्थालाई पुनः स्थापित गर्ने उद्देश्यमा आधारित २ वटा कथित निर्वाचनहरु स्थानीय तथा संघ र प्रदेशको निर्वाचनका दौरानमा भएका संघर्षहरु निकै उल्लेखनीय छन् । दुबै निर्वाचनका दौरानमा दमन र प्रतिरोधको श्रृङखलाले नयाँ उचाई हासिल गरिको छ । स्थानीय निर्वाचन खारेजीका दौरानमा कमरेड धनरुप बटाला र क.सनराइज को वीरतापूर्ण शाहदत, दर्जनौं घाइते तथा हजारौं नेता, कार्यकर्ता गिरफ्तार गरिए भने संघ तथा प्रदेश निर्वाचनका सन्दर्भमा पनि हजारांै नेता कार्यकर्ताहरुको गिरफ्तारीका बीचमा दमन र प्रतिरोधका नयाँ श्रृखलाहरु कायम गरिएका छन् । यसका साथै दुई तिहाई बहुमतको संसदीय कम्युनिष्ट सरकारका केन्द्रिय तथा स्थानीय राष्ट्र र जनविरोधी क्रियाकलापको भण्डाफोर र प्रतिरोध संघर्षका दौरानमा पार्टी स्थायी समिति सदस्यहरु कमरेडहरु प्रकाण्ड र सुदर्शन, सल्लाहकार समितिका अध्यक्ष कमरेड असारे काका लगायत डेढ दर्जन केन्द्रिय नेतृत्व तथा सयौं अन्य नेता, कार्यकर्ताको गिरफ्तारी र अनेक षड्यन्त्रका बिरुद्ध गरिएका नेपाल बन्द लगायतका कार्यक्रमहरुको सन्दर्भ विशेष उल्लेखनीय रहेका छन् । राष्ट्रिय स्वाधीनता, समानता, समृद्धि र शान्तिको पक्षधर नेता, कार्यकर्ताको गिरफ्तार गरी जेलमा सडाएर क्रान्तिलाई रोक्ने उनीहरुका दिवा सपना जनताको प्रतिरोध कानून व्यवसायीहरुको सहयोग तथा विभिन्न राजनैतिक पार्टी, बुद्धिजीवि, लेखकहरुको सहयोग उल्लेखनीय रहन पुगेको छ । जन–प्रतिरोध तथा जेल–हिरासतको मोर्चाको संयुक्त संघर्षद्वारा हासिल गरिएको विजयका कारण पार्टी नयाँ ढंगले स्थापित हुन पुगेको छ ।
पञ्चमः वैकल्पिक सत्ताको रुपमा स्थापितः आज देशमा आफूलाई कम्युनिष्ट बताउने संसदीय कम्युनिष्टहरुले सरकारको नेतृत्व गरेकाछन् । उनीहरुले कथित निर्वाचनका दौरानमा राष्ट्र र जनताको पक्षमा जे जति प्रतिबद्धता जाहेर गरेका थिए ती सम्पूर्ण जनतालाई झुक्याउन गरिएका प्रपञ्चहरु थिए । हामीले आम जनतालाई भ्रममा नपर्न र कथित निर्वाचनको प्रतिरोध गर्न आव्हान पनि गरेका थियौं आज पुष्टि भएको छ कि दलाल संसदीय व्यवस्थाको चरित्र । आगामी दिनमा यो कुरा अरु बढेर जाने निश्चित छ । किनकि यो व्यवस्था भनेको सीमित दलाल पूँजीपति वर्गको संरक्षण गर्नु बाहेक केही हुन सक्दैन । आज राष्ट्रियताको समस्या बढेर गएको छ । दिनदहाडै सीमा मिचिएका छन् । भ्रष्टाचार बढेकोछ । महंगीका कारण जनतालाई बाच्न मुश्किल परेकोछ । सामाजिक सुरक्षा दिनानुदिन संकटतर्फ बढिरहेको छ । यस प्रकारका समस्याहरुले आम जनतामा निराशा छाएको छ । हामीले स्पष्ट रुपमा भनेका छांै कि संसदीय व्यवस्थाको वकल्प भनेको वैज्ञानिक समाजवादी सत्ता हो । वैज्ञानिक समाजवादी सत्ताका लागि एकीकृत जनक्रान्ति आजको आवश्यकता हो । आज हाम्रो यही नारा र कार्यक्रमको वरिपरि देश केन्द्रित हुन पुगेको छ । उत्पीडित जनवर्गहरुका अतिरिक्त राष्ट्रवादी शक्तिहरु, विभिन्न परिवर्तनकामी शक्तिहरु हाम्रो पार्र्टीमा धु्रविकरण हुने र सहयोग गर्ने प्रक्रिया तीव्र बनेकोछ । यो एउटा सकारात्मक पक्ष हो । यसका अतिरिक्त सत्ताको साधनको रुपमा क्रियाशील जनपरिषद्हरुले आमजनवर्गहरुलाई सत्ताको प्रत्याभूत गराउँदैछ । त्यसैले हाम्रो पार्टी एउटा वैकल्पिक शक्तिको रुपमा उदाईरहेको छ ।
आजको आवश्यकताः शक्तिशाली कम्युनिष्ट पार्टीः हाम्रो निष्कर्ष छ कि कम्युनिष्ट पार्टी असल र क्रान्तिकारी हुनुपर्दछ । असल मात्र भएर पुग्दैन त्यसको क्रान्तिकारी चरित्र नभएसम्म कम्युनिष्ट पार्टीले आफूलाई शक्तिशाली कम्युनिष्ट पार्टीमा रुपान्तरण गर्न सक्दैन जबसम्म शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुँदैन तबसम्म त्यसले राज्यसत्तामाथि आफ्नो श्रेष्ठता हासिल गर्न सक्दैन । त्यसैले एउटा शक्तिशाली कम्युनिष्ट पार्टी जसले राष्ट्र र जनविरोधी संसदीय व्यवस्थालाई खरानी बनाउन र वैज्ञानिक समाजवादी सत्ताको स्थापना र त्यसको सञ्चालन गर्न सक्ने क्षमता राख्न सकोस । त्यस प्रकारको शक्तिशाली कम्युनिष्ट पार्र्टी कसरी निर्माण गर्न सकिएला त ? त्यसका लागि निम्न शर्तहरु आवश्यक छन् ।
क) पार्टीका विचार, राजनीति र महाधिवेशनका निष्कर्षहरुको अध्ययनः यो कुरा मा जानकारी राख्न सक्नु पर्दछ कि “ज्ञान विनाको व्यवहार अन्धो हुन्छ भने व्यवहार विनाको ज्ञान लंगडो हुन्छ ।” लेनिनको यो भनाई एउटा क्रान्तिकारी कम्युनिष्ट पार्र्टीका लागि जहिले र जहाँ भएपनि त्यति कै महत्व रहेको र रहनेछ । हाम्रा सम्पूर्ण तहका पार्र्टी समितिहरुले अध्ययनमा जोड लगाउनु पर्दछ अध्ययन गर्नुको तात्पर्य ज्ञान हासिल गर्नु हो । ज्ञान विना कुनै पनि क्रान्तिकारी संघर्षको नेतृत्व गर्नु असंभव छ । ज्ञान व्यवहारबाट अर्थात् वर्ग संघर्षबाट प्राप्त हुन्छ र संश्लेषण गरिएको ज्ञान फेरि व्यवहार अर्थात् वर्ग संघर्षतर्फ फर्काउनु पर्दछ । ज्ञान सिद्धान्तका दृष्टिले पनि ज्ञान र व्यवहारको समुच्यनै समाजको परिवर्तन हो । हाम्रा संशलेषणहरु तथा विचार राजनीतिका बारेमा व्यवस्थित अध्ययनका लागि स्कुलहरु खोल्नु पर्दछ र त्यहाँ अध्ययन गर्ने हुनुपर्दछ । त्यसमा पनि मुख्य अध्ययन भनेको स्वअध्ययन नै हो । क. माओको भाषामा “स्वअध्ययन नै हाम्रो विश्व विद्यालय हो ।” भन्ने कुराको गहिरो आत्मसात गर्दै सबै तहका पार्टी समितिहरुले पार्र्टीका समग्र विचार र निष्कर्षहरुको जानकारी राख्नु पर्दछ ।
ख) उच्च क्रान्तिकारी मनोवल र गतिशील चरित्रः सबै स्तरका पार्टी समितिहरुमा क्रियाशील नेता, कार्यकर्ताहरुसँग उच्च क्रान्तिकारी मनोबल हुनै पर्दछ । आजको दुनियाँमा जो उच्च मनोबलले लैश छ, उसैले आफ्नो विरोधी तथा प्रतिष्पर्धीका विरुद्ध श्रेष्ठता कायम गर्न सक्दछ । क्रान्तिमा मृत्यु, जेल, सर्वस्वहरण घाइते, अपांङ्ग, पारिवारिक समस्याहरु आउन सक्छन् ती सम्पूर्ण अवरोधहरु क्रान्तिकारीहरुका लागि सामान्य कुरा हुन् भन्ने बुझाइराख्ने कुरा सबै स्तरका अग्रभागमा कार्यरत नेता, कार्यकर्ताहरुले बुझ्नु पर्दछ । यस प्रकारको चुनौती र अवरोध झेल्न नसक्ने नेता, कार्यकर्ताहरु पृष्ठभाग अर्थात् सहयोगी भूमिकामा रहनु पर्दछ । यसका साथै त्यससँग गतिशील चरित्रलाई जोड्न पर्दछ । क्रान्ति अनिवार्य पक्रिया हो भै हाल्छ भन्नु, क्रान्ति अरु कसैले गरोस् परिवर्तन मलाई पनि आवश्यक छ भन्ने चेतनाले अन्ततः यथास्थिति र पुच्छरवादमा पु¥याउँछ । त्यसैले क. माओले भनेझै “क्रान्ति कसले शुरु गर्ने ? आफैले, कहाँ बाट शुरु गर्ने ? जहाँ छौं त्यहीबाट, कहिले शुरु गर्ने ? आजैबाट भन्ने स्प्रिट अर्थात् गतिशीलतालाई सबै स्तरका पार्टी समितिमा कार्यरत नेता, कार्यकर्ताले आत्मसात गर्नु पर्दछ ।
ग) आर्थिक समस्यालाई हल गर्नुः एउटा क्रान्तिकारी पार्र्टीका सम्पूर्ण समतिहिरुले आर्थिक समस्याका सन्दर्भमा निम्न कुरामा ध्यानदिनु पर्दछ । (अ) आज विश्वव्यापी रुपमा भइरहेको युद्ध तथा अन्तरविरोधहरुको केन्द्रमा अर्थ नै रहेको छ । विगतमा भएका प्रथम र द्वितीय विश्वयुद्ध, साम्राज्यवादको उदय र उपनिवेशको निर्माण पनि आर्थिककै कारण भएका थिए ।
(आ) सोभियत संघ र पूर्वी यूरोप हुँदै विश्वव्यापी रुपमा समाजवादी सत्तामा भएको प्रतिक्रान्तिको सार कुरापनि आर्थिक नै रहेकोछ । इतिहासका यी शिक्षा तथा चिनियाँ कम्युनिष्ट पार्टीमा देखापरेको लु साओची संशोधनवादी विचार उत्पादन वृद्धि र आर्थिक क्रान्तिका सन्दर्भमा क. माओले एयष्तिष्अक ष्ल ऋयmmबलम को संश्लेषण गर्नु भयो र सर्वहारा साँस्कृतिक क्रान्तिको शुत्रपात गर्नु भयो । (इ) आज पूर्वी यूरोपका कम्युनिष्ट पार्टीहरु कमजोर हुनुमा एउटा कारण अर्थकै रहेको छ । राज्यद्वारा किसान–मजदूर तथा युवाहरुलाई दिएको सुविधाका कारण त्यहाँ पार्र्टी कमजोर हुन पुगेको हो । (ई) आज हाम्रो अर्थ विश्लेषण सही छ तर तत्कालीन दृष्टीले हाम्रो दोहोरो सम्बन्ध निजी (परिवार), सामुहिक (पार्टी–संगठन) हुँदा अन्र्तविरोध सिर्जना भएको छ । यसलाई हल गर्ने तरिकाले सोच्नु पर्दछ । अन्यथा हाम्रो विकास केवल सापेक्षित मात्र हुनेछ । आज पार्टीलाई हजारौं हजार पूर्णकालीन कार्यकर्ताको खाँचोछ तर हाम्रो आर्थिक समस्याका कारण थुप्रै क्रान्तिकारी नेता, कार्यकर्ताहरु आफ्नो परिवारमा सीमिति हुनु परेको छ । (उ) सबै स्तरका पार्टी समितिहरुले अनिवार्य कोषहरु खडा गर्नु पर्दछ । एउटा क्रान्तिकारी पार्टीका लागि आर्थिक एउटा महत्वपूर्ण पक्ष हो । क.माओले आधार इलाकामा नोट प्रकाशन गर्नु, आज सिरिया, इराक, लगायतका मुलुकहरुमा विद्र्रोहीहरुले विभिन्न खनिज सामाग्रीहरु माथि कब्जा जमाउनुले यसको महत्व स्पष्ट हुुन्छ ।
घ) ठूलो संख्यामा नेता, कार्यकर्ताहरुको उत्पादन र परिचालनः क्रान्तिका लागी क्रान्तिकारी विचारका साथै ठूलो भौतिक शक्तिको खाँचो पर्र्दछ । किनकि क्रान्तिकारी विचार र कार्यदशाको प्रयोग गर्ने माध्यम भनेको संगठन हो । जुन नेता, कार्यकताहरु माथिदेखि तलसम्म विभिन्न पार्टी समिति मा क्रियाशील रहेका हुन्छन् । क्रान्तिकारी पार्र्टीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फौजी र गैरफौजी कानूनी र गैरकानूनी तथा संगठनात्मक क्षेत्र र विभागीय क्षेत्रका साथै साँस्कृतिक साहित्यिक क्षेत्रमा कामगर्नका लागि उल्लेखनीय कार्यकर्ताको खाँचो पर्दछ । त्यसका लागि सबै स्तरका पार्टी समितिहरुले योजनाबद्ध पहलदमी लिन आवश्यक छ ।
ङ) निरन्तर रुपमा शुद्धिकरण र सुदृढिकरण अभियान सञ्चालनः पार्टी एकचोटी क्रान्तिकारी हुँदैमा पुग्दैन । त्यो निरन्तर क्रान्तिकारीकरण गरिरहनु पर्दछ । प्रतिक्रियावादी तथा दलाल सत्ताको प्रतिबिम्ब पार्टीमा निरन्तर रुपमा पैदा भैरहन्छ फलतः पार्टी समितिहरुमा विभिन्न गलत विचार कार्यशैलीहरु विकास हुन पुग्छन् । त्यसको हल विचारधारात्मक रुपले निरन्तर शुद्धिकरण र सुदृढिकरणको विधिबाट गरिनुपर्दछ । यसलाई विभिन्न कार्यविधि मार्फत् अगाडि बढाउनु पर्छ ।
च) वर्गसंघर्षको निरन्तरताः सबैस्तरका पार्टी समितिमा आवद्ध नेता, कार्यकर्ताहरुले वर्ग संघर्षमा भागलिने कुरालाई प्राथमिकतामा राखिनु पर्दछ । त्यो भनेको भनाई र गराईमा एकरुपता पैदा गर्ने महत्वपूर्ण माध्यम पनि हो । जो साँचो अर्थमा भनाई र गराईमा एक रुपता ल्याउन सक्दैन त्यो क्रान्तिकारी हुन सक्दैन अर्थात् सिद्धान्त र व्यवहार बीचको द्वन्द्वात्मक सम्बन्धका बीचबाट नै हामीले आफूलाई परिपक्व बनाउन सक्दछौं र क्रान्तिको जस्तो सुकै प्रतिकुलताहरु पनि पार गर्न सक्दछौं ।
संक्षेपमा क्रान्तिकारी र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका आधारभूत उपायहरु यी नै हुन सक्छन् । क्रान्ति–प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको हाम्रो पार्टीले आफ्नो चार वर्षको गौरवशाली यात्राका दौरानमा उठेका कैयौंं विचारधारात्मक, संगठन, राजनैतिक, आर्थिक र साँस्कृतिक चुनौतिहरुको समाधान र आशंकाहरुलाई विश्वासमा बदल्दै एउटा महान अभियानको नेतृत्व गर्न गईरहेकोछ । यो ऐतिहासिक अभिभारा पुरा गर्नका लागि एकताबद्ध भई अगाडि बढांै । पार्टी पुनःस्थापना दिवस भव्य रुपले मनाऔं । पार्टी पुनःस्थापना दिवस अमर रहोस् ।







