
सन् १९९२ मा फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य र अन्तिम मानव (द इन्ड अफ हिस्ट्री एन्ड द लाष्ट म्यान) नामको पुस्तक प्रकाशति गरे, जुन तत्कालै बेस्टसेलर बन्यो । यसमा उनले निकै ठुलो स्वरमा समाजवाद, साम्यवाद र माक्र्सवादको अन्त्यको साथै बजार अर्थतन्त्र र वुर्जुवा प्रजातन्त्रको निर्णायक विजय भएको दाबी गर्छन् । सोभियत संघको विघटनको अर्थ त्यसपछि एउटा मात्र व्यवस्था संभव छ जुन पुँजीवादी बजार अर्थतन्त्र हो र त्यस अर्थमा इतिहासको अन्त्य भएको छ भन्ने उनको तर्क हो ।
यो विचारलाई बजार अर्थतन्त्रको प्रष्ट सफलताले सुनिश्चित गरे जस्तो देखियो जसलाई लगत्तैका वर्षहरुमा भएको, उच्चतम् नाफा र लगभग बाधा रहित आर्थिक वृद्धिले सुस्पष्ट गर्छ । राजनीतिकर्मीहरु केन्द्रिय बैंकहरु र वाल स्ट्रिट (अमेरिकाको वित्त बजार)का प्रबन्धकहरु अन्तत पूँजीवादी विकासको चक्रिय स्वरुपलाई आफु अनुकुल बनाइयो भन्ने कुरामा विश्वस्त भएका थिए ।
तर इतिहास सजिलै तयार थिएन । त्यसपछि इतिहासको पाङ्ग्रा १८० डिग्री घुमेको छ । फुकुयामाको पुस्तक आएको मात्र सोह्र वर्ष पछाडि २००८ मा भएको संकटले विश्व पुँजीवादको पुरै इमारतलाई पतनको विन्दुमा ल्याइपुर्याएको छ । विश्वलाई १९३० पछिको सवैभन्दा गहिरो संकटमा धकेल्दै यसले अझै आफुलाई रसातलबाट निकाल्नको लगि संघर्ष गरिरहेको छ ।
फुकुयामाका प्रत्येक विश्वस्त पूर्वानुमानहरु विकशित घटनाहरुद्धारा गलत सावित भए । २००८ को संकट भन्दा पहिले वुर्जुवा अर्थशास्त्रीहरुले चक्र उन्मुलन भइसकेको कारणले गर्दा अब कुनै पनि उचतम वृद्धि र गिरावट आउदैन भनेर घमण्ड गर्थे । तिनीहरुले ‘कुशल बजार परिकल्पना’ भन्ने नयाँ आकर्षक सिन्द्धान्त पनि निर्माण गरेका थिए, जसका अनुसार आफु बाहेक बजारले सवै चिज समाधान गर्नेछ ।
वास्तवमा यसमा त्यस्तो कुनै नयाँ विचार छैन । यो फगत से(Jean Baptiste Say) को नियममा भएको पुरानोे विचारको पुनरावृत्ति मात्र हो जसले बजार अर्थतन्त्रमा माग र आपुर्तिले एक अर्कालाई सन्तुलन गर्छन् भन्छ । तसर्थ अति उत्पादनको संकटलाई असंभव चित्रण गर्छ । माक्र्सले त्यो बकवासलाई एक शताब्दी अगाडिनै भत्काइसकेका थिए ।
यो अझ बढि स्पष्ट हुँदै आइरहेको छ कि पूँजीवादले आफ्ना प्रगतिशिल संभावनालाई क्लांत बनाएको छ उद्योग, विज्ञान र प्रविधिलाई विकाश गर्नुको सट्टा यसले निरन्तर रुपमा यसलाई कमजोर बनाइराखेको छ । हामी आर्थिक सुधारको संघारमा छौं भनेर दिइने नियमित आश्वासनहरुलाई अब कसैले पत्ताउदैन । उत्पादक शक्तिहरु स्थिर वा गिर्दाे अवस्थामा छन्, सलाईको बट्टा जस्तै कारखानाहरु बन्द हुदैछन् र दशौलाख कामबाट निकालिएका छन् ।
यी सबै लक्षणहरुले के देखाउछन् भने विश्वस्तरमा उत्पादक शक्तिहरुको विकास निजी सम्पति र राष्ट्र राज्यको साँघुरो दायरा भन्दा अगाडि बढिसक्यो । त्यो नै अहिलेको संकटको आधारभुत कारण हो जसलाई ठ्याकै शाव्दिक अर्थमा पुँजीवादको टाटपल्टाइले देखाएको छ ।
संकटका लक्षणहरु आर्थिक रुपमा, सामाजिक रुपमा र राजनीतिक रुपमा जहाँतही आफसेआफ देखिइराखेका छन् । विशाल चिनिया अर्थतन्त्र जसले विश्व व्यापारलाई बढावा दिनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको छ, त्यो तिब्र गतिबाट ह्रास आइरहेको छ जबकी जापान स्थिर छ । सवै तथाकथित उदाउदा अर्थतन्त्रहरु यो वा त्यो हदसम्म संकटमा छन् । संयुक्त राज्य अमेरिका राजनीतिक र सामाजिक संकटबाट गुज्रिरहको छ जसको आधुनिक समयमा कुनै नजिर छैन ।
आन्द्र महासागरको अर्को भागमा युरापेली पुँजीवाद गम्भीर संकटमा छ । ग्रिसको कष्टले युरोपेली पुँजीवादको रोगी अवस्थाको सुस्पष्ट पुष्टि गर्छ । तर पोर्चुगल र स्पेन पनि राम्रो अवस्थामा छैनन् । र, फ्रान्स र इटाली तिनीहरु भन्दा त्यति पछाडि छैनन् । इयुबाट बाहिरिने निर्णयपश्चात बेलायत जसलाई युरोपको सवैभन्दा स्थिर देशहरु मध्ये एउटा मानिन्थ्यो, आर्थिक संकट, घट्दो पाउन्ड र चिरकालिक राजनीतिक अस्थिरताले यसलाई गिर्दो चक्रमा पुर्याइदिएको छ ।
बुर्जवा अर्थशास्त्रीहरु र राजनीतिकर्मीहरु साथै सबैभन्दा माथि सबै संशोधनवादीहरु यो संकटबाट बाहिर निस्कनका लागि व्यग्रताका साथ पुनरुत्थानका संकेतहरु खोजिरहेका छन् । उनीहरुले व्यापार चक्रको पुर्नवहालीलाई मुक्तिको रुपमा हेर्छन् । मजदुर वर्गका नेताहरु, ट्रेड युनियनका नेताहरु र समाजिक प्रजातन्त्रीवादी नेताहरु यो संकटलाई अस्थाई हो भन्ने कुरामा विश्वास गर्छन् । वर्तमान व्यवस्थामा केन्द्र सुधार गरेर यसलाई समाधान गर्न सकिन्छ भन्ने उनिहरुको परिकल्पना हो ।
तर यो कुनै साधारण संकट होइन, यो अस्थायी पनि होइन । यसले सम्पुर्ण प्रकृयामा आधारभुत मोड आएको स्पष्ट संकेत गर्छ । त्यो विन्दु जहाँ पुँजीवाद ऐतिहासिक अन्तिम घडिमा आइपुगेको छ । यो अवस्थामा गर्न सकिने उत्कृष्ट अपेक्षा भनेको उच्च बेरोजगारी, लामो समयसम्मको मितव्ययिताको नीति, कटौती र गिर्दो जीवनस्तर सहितको कमजोर सुधार नै हो ।
बुर्जुवा विचारधाराको संकट
मार्क्सवाद सुरुमा एउटा दर्शन हो र त्यसपपछि एउटा विश्वदृष्टिकोण हो । मार्क्स–एंगेल्सका दार्शनिक रचनाहरुमा हामीले बन्द दार्शनिक व्यवस्था भन्दा पनि भव्य अन्र्तदृष्टि र सुचकहरुको श्रृङ्खला भेट्टाउछौं । जसले, यदि तिनको विकास गरेको भए, विज्ञानको पद्धतिगत शस्त्रशालामा महत्वपुर्ण योगदान प्रदान गर्न सक्थ्यो । बुर्जुवा विचारधाराको संकट दर्शनको क्षेत्रमा भन्दा स्पष्ट अन्त कतै देखिदैन । यसको सुरुवाती अवस्थामा, जब वुर्जुवाहरु विकासको पक्षमा थिए , यो बुर्जुवा विचारधारा हब्स र लक, कान्ट र हेगेल जस्ता महान् विचारकहरु जन्माउन सफल थियो । तर आफ्नो बुढ्यौली क्षिणताको समयमा बुर्जुवा विचारधार ठुला विचारहरु जन्माउन असक्षम छ । वास्तवमा, यो कुनै नयाँ विचारहरु जन्माउने ल्याकत नै राख्दैैन ।
आधुनिक बुर्जुवाले निर्भिक रुपमा सामान्यीकरण गर्न नसक्ने भएको कारणले गर्दा विचारधाराको वास्तविक अवधारणलाई अस्वीकार गर्छ । यसकारण नै उत्तर आधुनिकतावादीहरुले विचारधाराको अन्त्यको कुरा गर्छन् । तिनीहरुले प्रगतिको अवधारणालाई अश्विकार गर्छन् । किनकी पुँजीवादमा यो भन्दा थप प्रगति सम्भव छैन । एंगेल्सले एक ठाउँमा लेखेका छन् “दर्शन र वास्तविक विश्वको अध्ययनका विचमा ठ्याक्क त्यस्तै सम्बन्ध हुन्छ, जस्तो हस्तमैथुन र मैथुनिक प्रेमका बीचमा हुन्छ ।” आधुनिक बुर्जुवा दर्शनले पछिल्लो भन्दा पनि अघिल्लोलाई रुचाउछ । माक्र्सवादसँग लड्ने सनकमा यसले दर्शनलाई आफ्नो खराब समय, पुरानो, जिर्ण र बन्जर विगततर्फ धकेलिदिएको छ ।
द्वन्द्वात्मक भैतिकवाद भनेको प्रकृति समाज र विचारका कार्यहरुको बुझाइको गतिशिल दृष्टि हो । उन्नाइसौ शताव्दीको पुरानो ढंगको विचार हुनभन्दा धेरै पर असाधारण रुपमा यो प्रकृति र समाजको आधुनिक विचार हो । वस्तुलाई स्थिर, जड , जीवनरहित तरिकाबाट हेर्ने काममा द्वन्द्ववाद टाढै रहन्छ जुन शास्त्रीय भौतिकवादको पुरानो यान्त्रिक विचारधाराको विशेषता थियो । यसले के देखाउँछ भने निश्चित परिस्थितीहरुमा वस्तुहरु आफ्नो विपरित वस्तुहरुमा वदलिन सक्छन् ।
द्वन्द्वात्मक विचार अर्थात साना परिवर्तनहरुको क्रमिक संचय एउटा महत्वपुर्ण विन्दुमा विशाल छलाङमा परिवर्तन हुन्छ भन्ने द्वन्द्घात्मक विचारलाई आधुनिक विशृङ्खलताको सिद्धान्त(chaos theory) र यसका व्युत्पादनहरुले आश्चार्यजनक रुपमा पुष्टि गरेका छन । विशृङ्खलताको सिद्धान्तले लगभग सय वर्षदेखि विज्ञानमा हावी रहेको यान्त्रिक लघुकृत नियतिवादलाई समाप्त गरिदियो । उन्नाइसौं शताव्दीमा नै माक्र्सवादी द्वन्द्ववाद अहिले जे विशृङ्खलताको सिद्धान्तले गणितीय रुपमा व्यक्त गर्छ, त्यसैको पूर्वानुमान थियो । त्यो वस्तुहरुको अन्तरसम्वन्धता, विभिन्न तत्वहरु(पक्षहरु) र प्रकृयाहरुका विचको सम्वन्धको जैविक प्रकृतिको बारेमा हो ।
फेज ट्रान्जिसन् (तरल, ठोस र ग्यासको एक अर्को अवस्थामा हुने परिवर्तनहरु) को अध्ययनले समकालिक भौतिक शास्त्रको महत्वपुर्ण क्षेत्र ओगट्द छ । त्यहाँ यस्ता प्रकृतिका घटनाहरुको असंख्य उदाहरण भेटाउन सकिन्छ । परिमाणबाट गुणात्मकतामा हुने परिवर्तन सर्वव्यापक नियम हो । आफ्नो पुस्तक सर्वव्यापकता९ ग्दष्त्रगष्तथ० मा उत्तर अमेरिकी वैज्ञानिक मार्क बुचानन्ले यसलाई हृदयघात, हिमपहिरो, डँढेलो, जनावारको जनसंख्या घटबढ हुनु, सट्टा बजारको संकट, युद्ध साथै फेसन र कलाको विचारधारमा हुने परिवर्तन जस्ता व्यापक घटनाहरुमा देखाएका छन् । अझै रमाईलो कुरा यि घटनाहरुलाई गणितीय रुपममा पनि देखाउन सकिन्छ, जसलाई शक्तिको नियम भनिन्छ । यी महत्वपुर्ण आविष्कारहरु माक्र्स र एंगेल्सले धेरै पहिला परिकल्पना गरेका थिए । जसले हेगेलको द्वन्द्ववादलाई तर्कपुर्ण रुपमा (भौतिकवादी अर्थमा) स्थापित गरेका थिए । आफ्नो पुस्तक तर्कशास्त्रमा हेगेल लेख्छन्, “सामान्य कारणहरुबाट ठुला प्रभावहरु पर्नु भनेको इतिहासमा सामान्य मजाक भएको छ”। यो बटरफ्लाई इफ्याक्ट(जटिल प्रणालिमा सानो परिवर्तनले पार्न सक्ने ठुलो प्रभाव)को वारेमा सुनिनु भन्दा धेरै पहिलेको कुरा हो । ज्वालामुखि विष्फोट हुनु र भु–कम्प जानु जस्तै क्रान्तिहरु पनि लामो समयसम्म अन्र्तविरोधहरु विस्तारै जम्मा हुँदै र विकसित हुँदै जाँदाका उपज हुन् । अन्तत यो प्रक्रिया निश्चित महत्वपुर्ण विन्दुमा पुग्छ र आकस्मिक छलाङ आउँछ ।
ऐतिहासिक भौतिकवाद
प्रत्येक सामाजिक व्यवस्थाले के विश्वास गर्छ भने यसले मानव जातिका लागि अस्तित्वको एक मात्र सम्भावित प्रतिनिधि हो, अर्थात् यसका सस्ंथाहरु, यसको धर्म, यसको नैतिकता नै बोल्न सकिने अन्तिम शब्दहरु हुन । त्यो भनेको नरभक्षीहरु, इजिप्टका पुजारीहरु, मेरी आन्तोइनो र जार निकोलास् सवैले उत्सुकताका साथ विश्वास गरेका थिए, त्यही नै हो । र फ्रान्सिस् फुकुयामाले हामीलाई विश्वस्त बनाउँदा देखाउन खोजेको कुरा पनि यही नै हो ।
चाल्र्स डार्विनले प्रजातिहरु अपरिवर्तनीय हुँदैनन् र तिनीहरुको विगत, वर्तमान र भविष्य हुन्छ, परिवर्तन र विकास भइरहन्छन् भने जस्तै माक्र्स र एंगेल्सले के व्याख्या गर्छन् भने कुनै एउटा निश्चित सामाजिक व्यवस्था शास्वत रुपमा स्थायी हुने चिज होइनन् । समाज र पकृति बीचको समरुपता अवश्य पनि मिल्दो जुल्दो मात्र हो । तर, इतिहासको सबैंभन्दा सतही परिक्षणले पनि के देखाउँछ भने क्रमिकतावादी व्याख्या आधारहिन छ । प्रकृतिले जस्तै समाजले पनि लामो अन्तरालमको सुस्त र क्रमिक परिवर्तनलाई पहिचान गर्छ । तर, यहाँ पनि यो गतिलाई विष्फोटक विकासहरु–युद्धहरु र क्रान्तिहरु जसमा परिवर्तनको प्रक्रिया अत्याधिक रुपमा तिव्र गतिको हुन्छ । वास्तवमा यी घटनाहरु(युद्ध र क्रान्तिहरु) नै हुन, जसले ऐतिहासिक विकासको मुख्य चालक शक्तिको रुपमा काम गर्छन् ।
क्रान्तिकारी परिवर्तनको मुल कारण एउटा खास अर्थमा सामाजिक व्यवस्था आफ्ना सिमाहरुमा पुगिसकेको छ र पहिले जस्तै उत्पादक शक्तिहरुको विकास गर्न असक्षम छ, भन्ने तथ्य नै हो । माक्र्सवादले शुरुवाती कविला समाज देखि आधुनिक समय सम्मको मानव समाजको विकासको पछाडि लुकेका मुख्य आधारहरको विश्लेषण गरेको छ ।
इतिहासको भौतिकवादी अवधारणाले हामीलाई इतिहास, सम्बन्ध नभएका र पहिले थाहा नभएका घटनाहरुको एउटा श्रृखलाको रुपमा नभई स्पष्ट रुपमा बुझिएको र अन्तरसम्वन्धित प्रक्रियाको अंगको रुपमा बुझ्न हामीलाई सक्षम बनाउछ । यो क्रिया र प्रतिक्रियाहरुको श्रृङ्खला हो, जसले राजनीति, अर्थशास्त्र र सामाजिक विकासको पूर्ण वर्णपटलाई समेट्द छ ।
यी परिघटनाहरुकाबीचको सम्बन्ध जटिल द्वन्द्वात्मक सम्बन्ध हो । प्राय माक्र्सवादलाई ऐतिहासिक विश्लेषणको एउटा पद्धतिको रुपमा व्याग्यात्मक नक्कलमा सिमित गरी बदनाम गराउने प्रयत्नहरु गरिन्छन् । सामान्य तोडमतोड भनेको माक्र्स र एंगेल्सले सम्पुर्ण चिजलाई अर्थशास्त्रमा सिमित गरे भन्ने हो । यस्तो छाप लागेको बेतुकपनालाई माक्र्स र एंगेल्सले धेरै पटक उत्तर दिएका छन् । एंगेल्सले ब्लोचलाई लेखेको तलको पत्रको अंशमा जस्तै इतिहासको द्वन्द्ववादी अवधारणाका अनुसार इतिहासमा अन्तिम निर्धारक तत्व भनेको जीवनको उत्पादन र पूनः उत्पादन हो । यो भन्दा धेरै न त माक्र्सले न त मैले नै पुष्टि गरेका छौं ।
तसर्थ, यदी कसैले यसलाई आर्थिक तत्व नै एक मात्र निर्धारक हो भनेर बंग्याउछन भने उसले उक्त विचारलाई अर्थहिन, अमुर्त र चेतनाहिन वाक्याअंशका रुपमा बदल्यो भनेर बुझ्नु पर्छ ।
कम्युनिष्ट घोषणापत्र
आजको समयमा कसैले पढ्न सक्ने सवैभन्दा आधुनिक र उन्नत पुस्तक कम्युनिष्ट घोषणापत्र हो, जुन सन् १८४८ मा लेखिएको थियो । यो सत्य हो कि यो वा त्यो विवरणहरु परिवर्तन हुन सक्छन् तर आधारभुत रुपमा कम्युनिष्ट घोषणापत्रका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक र तथ्यपुर्ण छन्, जति यो पहिलोपटक लेखिदा थिए । तुलनात्मक रुपमा १५० वर्ष अगाडि लेखिएका बहुसंख्यक किताव कमै मात्रामा ऐतिहासिक रुपले रुचिकर हुन्छन् ।
यसैको दाँजोमा हेर्ने हो भने हाम्रा आधुनिक ‘विज्ञहरु’ तिनिहरुले हिजो मात्र के लेखेका थिए भनेर आज आफैले पढें भने लज्जित हुने स्थिती आउन सक्छ । घोषणापत्रको बारेमा सवैभन्दा बढी प्रभाव पार्ने चिज के हो भन्दा जसरी यसले अत्यन्तै आधारभुत परिघटनाहरुको पुर्वानुमान गरेको छ, त्यसले वर्तमान समयमा विश्वस्तरमा हाम्रो ध्यानाकर्षण गरेको छ । एउटा उदाहरण लिउँ, जुन समयमा माक्र्स र एंगेल्सले लेखिरहेका थिए, त्यसबेला ठुला बहुराष्ट्रिय कम्पननीहरुको विश्व भनेको दुर भविष्यको संगीत थियो । यसका बावजुद उनीहरुले स्वतन्त्र उद्यम र प्रतिस्प्रधाले निश्चित रुपमा पुँजीको केन्द्रिकरण र उत्पादक शक्तिहरुको एकाधिपत्यमा पुर्याउछ भन्ने कुराको व्याख्या गरेका छन् ।
बजारका रक्षकहरुले माक्र्सको यो प्रश्नका आरोपित गल्तीको सवालमा दिएका वक्तव्यहरु बढ्दा स्पष्ट रुपमा हास्यास्पद लाग्छन् । जबकि यो तथ्यगत रुपमा उत्कृष्ट र सही अनुमानहरु मध्येको एउटा थियो । आज यो अकाट्य तथ्यको रुपमा स्थापित भईसकेको छ की माक्र्सले पहिले नै पहिचान गरको पुँजीको केन्द्रीकरणको प्रकृया सम्पन्न भइसकेको छ, भइहेको छ र वास्तवमा पछिल्ला केही दशकहरुको दौरानमा पहिला नपुगेको तहमा पुगिसकेको छ ।
दशकौंसम्म बुर्जुवा समाजशास्त्रीहरुले यी दावीहरुलाई खण्डन गर्ने र समाज अझै समान बन्दैछ र परिणाम स्वरुप वर्गसंघर्ष हाते तान र काठको हलो जस्तै प्रचलनबाट हराउदै छ, भन्ने कुरा प्रमाणित गर्न प्रयत्नहरु गरिराखे । उनीहरु मजदुर वर्ग हराइसक्यो र हामी सबै मध्यम वर्ग हौं भनेर भन्छन् । पुँजीको केन्द्रीकरणको सवालमा भविष्य साना व्यवसायमा छ र सानो चिज सुन्दर हुन्छ भनेर दाबी गर्छन् ।
आज यी दाबीहरु कति व्यङ्ग्यपूर्ण देखिन्छन् । पुरै विश्वको अर्थतन्त्रमा दबदवा राख्ने ठुला कम्पनीहरु दुई सय भन्दा धेरै छैनन् र त्यस्कोे बहुसंख्या अमेरिकामा आधारित छ ।
जम्मा १४७ संस्थानहरुले विश्वको ४० प्रतिशत सम्पतिमाथि स्वामित्व राख्छन् । यी विशाल संस्थानहरु नै विश्व अर्थतन्त्रका वास्तविक शासकहरु हुन् जस्तो वालमार्ट, एप्पल र सेलले संयुक्त रुपमा विश्वका अधिकांश देशहरुले भन्दा बढी पैसा कमाउछन् । विश्वको १० ठुला संस्थानहरुको मुल्य २८५ ट्रिलियन डलर थियो । जुन पिँधका आयरल्याण्ड, इण्डोनेसिया, ईजरायल, कोलम्विया, ग्रिस, दक्षिण अफ्रिका, इराक र भियतनाम लगायतका देशहरुको सम्पति भन्दा धेरै हो ।
लेनिनले विकासको साम्राज्यवादी अवस्थामा आर्थिक शक्ति ठुला बैंकहरुको हातमा केन्द्रित हुन्छ भनेर इंकित गरेका थिए । त्यो विश्लेषणलाई वर्तमान अवस्थाले पूर्णरुपमा पुष्टी गरिसकेको छ । विश्व अर्थतन्त्रलाई वित्तिय पूँजीले आफ्नो प्रभुत्वमा राखेको छ । पूँजीको केन्द्रिकरणको साथसाथै स्थिर रुपमा असमानता पनि बढिरहेको हुन्छ । सवै देशहरुमा राष्ट्रिय आयमा नाफाको अंश किर्तिमानी उच्च विन्दुमा हुन्छ भने ज्यालाको अंश चाँहि किर्तिमानी तल्लो बिन्दुमा हुन्छ । विश्वव्यापी असमानता बढिराखेको छ, विश्वको आधा सम्पती १ प्रतिशत जनसंख्याको हातमा छ ।
मित्तव्ययिताको आवश्यकता छ भनेर प्रवचन दिँदै गर्दा बैंकर्स र पूँजीपतिहरुले अविछिन्न रुपमा आफुलाई धनी बनाउँदै गइराखेका छन् । अमेरिकामा श्रमिकहरूले १० वर्ष पहिले भन्दा एक तिहाईले भन्दा बढी उत्पादन गरिराखेका छन् तर वास्तविक अंकमा ज्याला भने कि स्थिर छ कि त घटेको छ । नाफामा उच्च वृद्धि भईराखेकै छ र धनीहरु श्रमिक वर्गको मुल्यमा अझै धनी बनिराखेका छन् ।
भुमण्डलीकरण
एउटा अर्को चाखलाग्दो उदाहरण भुमण्डलीकरणलाई लिउँ, विश्व बजारको दबावपूर्ण वर्चस्व अहिलेको हाम्रो समाजको अति महत्वपूर्ण अभिव्यक्ति हो र यसलाई हालसालैको अन्वेषण हो भन्ने मानिन्छ । वास्तवमा, भुमण्डलीकरणलाई मार्क्स र एंगेल्सले १५० वर्ष अगाडि पूर्वानुमान र व्याख्या गरेका थिए । महत्वपुर्ण दस्तावेजहरुकोे प्रस्तावनमा भुमण्डलीकरणसम्वन्धी व्याख्या पाईन्छ । आजको समयमा यो विश्लेषण प्रभावकारी रुपमा पुष्टि भएको छ । तथापी जब कम्युनिष्ट घोषणापत्र लेखिएको थियो त्यतिवेला यो परिकल्पनालाई पुष्टी गर्ने कुनै अनुभवसिद्ध तथ्याङ्क थिएन । एक मात्र पूर्ण विकसित पूँजीवादी अर्थतन्त्र बेलायत थियो । फ्रान्स र जर्मनिका शिशु उद्योगहरु उच्च शुल्कको पर्खाल पछाडी आश्रय लिएका थिए । तथाकथित भुमण्डलीकरण राष्ट्रिय बजारको साघुरो सिमा भन्दा पछाडि जान र श्रमको अन्तराष्ट्रिय विभाजनलाई विकास र गतिशील बनाउने पुँजीवादको अनिवार्य प्रवृत्तिका अभिव्यक्ति हो ।
उत्पादनको उचित योजनाको लागि
हाम्रो विश्वको विशाल स्रोतलाई उत्पादनको उचित योजना मार्फत सुसंगत बनाउनु अति आवश्यक परेको छ । पूँजीवाद एउटा अराजक व्यवस्था हो । जुन केहीको सम्पति र शक्ति आर्जन गर्नको लागि शोषण र पृथ्वीको बलत्कार गर्न नयाँ नयाँ बाटोहरुको निरन्तर खोजी र लोभमा आधारित हुन्छ । ठुला कम्पनीहरुले वातावरणप्रति लापरवाहीपूर्ण उदासिनता देखाएका छन् । नाफाका लागि तिनीहरुको उछृङ्खल खोजले ‘रेन फरेष्ट’भु मध्ये रेखा वरिपरिको सदावहार जंगलको विनाश भयो, समुन्द्रलाई विशाक्त बनायो, विरुवा र जनावरका प्रजातिहरुको पूर्ण नष्ट र हामिले फेर्ने स्वासलाई, पिउने पानीलाई र खाने खानालाई त्यो खोजले प्रदुषित गरको छ ।
मानव जातिको विकासका दुई बाधकहरु भनेका एउटा उत्पादनका साधनहरुको व्याक्तिगत स्वामित्व र अर्को बर्बर युगको काम नलाग्ने अवशेष अर्थात राज्य हुन । सभ्यताको प्रगतिको लागि यि वाधकहरुलाई भत्काउनु सर्वहारा वर्गको ऐतिहासिक कार्यभार हो ।
वर्गसंघर्ष
ऐतिहासिक भौतिकवादले हामिलाई के सिकाउछ भने अवस्थाले चेतनाको निर्धारण गर्छ । आदर्शवादीहरुले सधैभरी चेतनालाई सवै मानव जातिको प्रगतिको चालक शक्तिको रुपमा देखाईरहे तर इतिहासको सवैभन्दा सतही अध्ययनले पनि के देखाउछ भने मानव चेतना सधैभरी घटनाहरुको पछाडि रहन प्रवृत्त हुन्छ । क्रान्तिकारी हुनु भन्दा धेरै टाढा यो स्वभाविक र पूर्ण रुपमा अनुदारवादी कुरा हो ।
निर्णयक विश्लेषणमा मार्क्सवादले के व्याख्या गर्छ भने सम्पुर्ण सामाजिक विकासमा महत्वपुर्ण भनेको उत्पादक शक्तिहरुको विकास हो । जहाँ सम्म समाज अगाडि बढिरहेछ त्यसो भन्नुको अर्थ जबसम्म यो उद्योग, कृषि, विज्ञान र प्रविधिको विकास गर्न सक्षम छ जनताको ठुलो संख्याले यसलाई सम्भव देख्छन् । यस्तो अवस्थामा मानिसहरु सामान्यतया वर्तमान समाज, नैतिकता र नियमहरुमाथि प्रश्न गर्दैनन् । अर्कोतर्फ ती प्राकृतिक र अवश्यभावी जस्ता देखिन्छन्, सुर्य उदाउनु र डुब्नु जस्तै प्राकृतिक र अवश्यभावी ।
विगतको समयमा युरोपमा वर्गसंघर्ष इतिहासको कुरा जस्तो देखिन्थ्यो । तर अहिले संचित भएका अन्तरविरोधहरु सतहमा आइरहेका छन् र सवैतिर वर्गसंघर्षको विष्फोटका लागि मार्ग तयार गर्दै छन् । अमेरिकालगायत सबैतिर तुफानी घटनाहरु तयार हुँदै छन् । विषम र आकास्मिक परिवर्तनहरु परिस्थितिमा अन्तरनिहित हुन्छन् ।
जब मार्क्स र एंगेल्सले घोषणापत्र लेखे तिनिहरु क्रमशः २९ र २७ वर्षका दुई युवाहरु थिए । तिनिहरु अन्धकार प्रतिक्रियावादी समयमा लेखिरहेका थिए । मजदुर वर्ग प्रष्ट रुपमा स्थिर थियो । घोषणापत्र आफैमा ब्रसेल्समा लेखिएको थियो । जहाँ यसका लेखकहरुलाई राजनीतिक शरणार्थीको रुपमा भाग्न बाध्य पारिएको थियो । स्पेनमा १९३० देखि १९३७ सम्मको समय अवधिमा जस्तै हामीहरु कठिन समयमा प्रवेश गर्दै छौं । जुन केही समयसम्म रहिरहने छ । त्यहाँ असफलता र पराजयहरु हात पर्ने छन् तर यी अवस्थाहरुमा आम जनताले धेरै छिटो बुझ्ने छन् । अवश्य पनि हामीले अतिरञ्जित बनाउनु हुँदैन कि हामी अहिले आमुल परिवर्तनगामी प्रकृयाको निकै शुरुवातमा छौं । पुँजीवादमाथि प्रश्न गर्ने मानिसहरुको संख्या बढिरहेको छ । तिनीहरु मार्क्सवादका विचारहरुप्रति खुल्ला हुँदैछन, जुन रुपमा पहिला कहिलै भएको थिएन । आउने समयमा क्रान्तिकारीहरुका स–साना समुहहरुमा सिमित रहेका विचारहरु दशौलाख समर्थकहरुले व्यग्रताका साथ पछ्याउने छन् ।
त्यसकारण फुकुयामालाई हामीले यसरी उत्तर दिन सक्छौ, इतिहासको अन्त्य भएको छैन । वास्तवमा यो मुस्किलले शुरु मात्र भएको छ । भविष्यका पुस्ताहरुले हाम्रो वर्तमान सभ्यतालाई हेर्दा लगभग उस्तै व्यवहार देखाउने छन्, जस्तो अहिले हामी नरभक्षिताप्रति राख्दछौं । उच्च स्तरको मानव विकास हासिल गर्नको लागि पूर्वसर्त नै पुँजीवादी अराजकताको अन्त्य हो । र न्यायसंगत साथै उत्पादनको प्रजातान्त्रिक योजनाको स्थापना हो । जसमा पुरुष र महिला आफ्नो जीवन र परिस्थितिलाई आफ्नो वशमा लिन सक्छन् । विज्ञान र प्रविधिको विशाल सम्भावनालाई प्रयोग गर्दै तिनलाई नीजि स्वामित्व र राज्यको घटिया वन्धनबाट मुक्त गर्दै हाम्रो विश्वलाई दमन गर्ने र यसलाई विनाशको डर देखाउने सबै समस्याहरुलाई समाधान गर्न सम्भव हुने छ । वास्तविक मानव इतिहास तबमात्र शुरु हुनेछ जब मानिसले पुँजीवादी दासत्वको अन्त्य गर्नेछन् र स्वतन्त्रताको भुमिमा पहिलो पाईला राख्नेछन् ।
(एलन उड्सद्धारा लिखित ‘ह्वाई वि आर मार्क्ससिस्ट’बाट विष्णु अधिकारीले गरेको भावानुवादको सम्पादित अंश ।)







