
ब्लादिमिर इल्यिच लेनिन मजदूरवर्गका महान नेता, शिक्षक र मानवइतिहासमै विश्वमा सफल क्रान्ति गरेर पहिलोपटक मजदूरवर्गको राज्य स्थापनागर्ने महान नेता थिए । उनको नेतृत्वमा सोभियतसंघमा पहिलो समाजवादी राज्यको स्थापना भएको थियो । यस समाजवादी क्रान्तिले शोषण र उत्पीडनबाट मुक्त श्रमजीवि जनताले आफ्नै बलमा अनेकौँ चमत्कार गर्न सक्छन् भन्ने साबित गरे ।
लेनिनको जन्म २२ अप्रैल १८७०मा रुसको सिम्बीस्र्कमा भएको थियो । उनका पिता शिक्षा विभागमा अफीसर थिए । त्यतिबेला निरङकुश जारशाहीको शासन थियो र मजदूर र किसानहरु अवर्णनीय शोषण र उत्पीडनमा थिए । अर्कोतर्फ पूँजीपतिहरु र जारशाहीका हाकिमहरु भोगविलासमा डूबेका थिए । लेनिनका दाजू अलेक्जेन्डर जारशाही विरुद्धको एउटा गुप्त क्रान्तिकारी संगठनका सदस्य थिए । उनले जारको हत्यागर्ने प्रयास गरे, तर सफल हुनसकेनन् र पक्राउ परे । यस अभियोगमा अलेक्जेन्डरलाई फाँसीको सजाय दिइयो । यसै आरोपमा लेनिनकी दिदी आन्नालाई पनि गिरफ्तार गरेर कारवासमा हालियो । लेनिन त्यतिबेला १३ वर्षका थिए । यी घटनाहरुले उनको कलिलो मनोमस्तिष्कमा निरङकुश जारशाही विरुद्ध गहिरो घृणा र आक्रोश भरी दियो । तर उनको सोँच दाजू अलेक्जेन्डरभन्दा भिन्न थियो । उनले दाजूले झैँ जनताबाट अलग्गिएर गुप्त हिंसात्मक संगठनबाट रुसी जनताको मुक्ति सम्भव देखेनन् ।
लेनिन कानून विषयका छात्र थिए । अध्ययनको क्रममा उनले जारशाहीविरोधी गतिविधिमा भागलिन थाले । यसै क्रममा उनले माक्र्स र एङ्गल्सका रचनाहरुबाट परिचित हुने मौका पाए । त्यतिबेलाका रुसी क्रान्तिकारी विचारक प्लेखानोभको नेतृत्वमा रहेको श्रमिक मुक्ति दलमा उनि सामेल भए । त्यसपछि उनि त्यतिबेला रुसको सबैभन्दा ठूलो औद्योगिकशहर सेन्ट पीटर्सबर्गमा आएर श्रमिकहरुको बीचमा संगठन निर्माणगर्न थाले । लेनिनको विशिष्टता के थियो भने सबैभन्दा पहिले उनले रुसी क्रान्तिमा व्याप्त गलत विचारहरुको विरुद्ध संघर्ष चलाए र क्रान्तिकारीविचारलाई स्थापित गरे । मजदूरहरुले केवल तलबवृद्धि र केही सुविधाहरुको संघर्षमा मात्र सीमित रहनु हुन्न भन्ने विचार उनले अत्यन्त तार्किकता तथा तथ्यात्मकरुपमा प्रस्तुत गरे । यी सुधारात्मक संघर्षहरुको साटो श्रमिकहरुले आफ्नो नेतृत्वमा सत्ता निर्माणगर्ने संघर्षमा जुट्नु पर्ने राजनैतिक धारणा उनले सारे, जस्को व्यापक प्रभाव प¥यो ।
लेनिनको विचारमा श्रमिकहरुको सत्ता निर्माणको निम्ती उनिहरुसंग एउटा क्रान्तिकारीपार्टीको आवश्यकता पर्छ । एउटा क्रान्तिकारीपार्टीको मूख्य आधार पूर्णतः क्रान्तिप्रति समर्पित कार्यकर्ता मात्र हुनसक्छन् । यस्ता कार्यकर्तालाई उनले पेशेवर क्रान्तिकारी भने । एउटा क्रान्तिकारीपार्टीको निर्माण तथा क्रान्तिकारीविचारलाई जनतामा स्थापितगर्न एउटा क्रान्तिकारी पत्रिका जरुरी हुनेपनि उनले भने । उनको विचारमा एउटा क्रान्तिकारीपार्टी पूर्णरुपमा खुलाभएर कामगर्न नसक्ने, र एउटा खास चरणमा पूँजीवादी सरकारले यसलाई समाप्त गर्नसक्ने भएकोले यस्तो पार्टीको केन्द्रिय ढाँचा गोप्य हुनु पर्छ । लेनिनले आफ्नो प्रसिद्धकृति ‘के गर्ने’मा सर्वहारावर्गको नयाँ किसिमको कान्तिकारीपार्टीका सांगठनिक सिद्धान्तहरु प्रस्तुत गरे र यसका विविध पक्षहरुको विकासमा जीवनभरी सक्रिय रहे ।
लेनिनले आफ्ना विश्लेषणहरुबाट पूँजीवादको सबैभन्दा उच्च अवस्था साम्राज्यवाद भएको तथा सर्वहारा क्रान्तिहरुले साम्राज्यवादी युगको अन्त गरीदिने निष्कर्ष प्रस्तुत गरे । उनको विश्लेषण अनुसार ठुला पुँजीवादी देशहरुले गरिब र पछिपरेका देशहरुलाई लूटेर त्यसको एउटा हिस्साबाट आफ्ना देशका मजदूरहरुलाई केही सुविधा दिएका छन्, त्यसैले इङ्गल्यान्ड, जर्मनी र फ्रान्सका मजदूरहरु अभिजात्यमजदूरमा परिणत भएका छन्, र त्यसैले उनिहरुको निम्ती क्रान्ति अर्थहीन जस्तो भएको छ । यस्तै मजदूरबीच लालझन्डा बोकेको संशोधनवादी पार्र्टीहरुको आधार छ । यहाँ उल्लेखनीय छ बेलायतमा अहिले नवउदारवादी पूँजीवादको नेतृत्व गरिरहेको लेबरपार्टी ९जो कि त सत्ताधारी हुन्छ कि प्रमुख प्रतिपक्ष० कुनैबेला लालझन्डा बोक्ने पार्टी नै थियो, र उसले अहिलेपनि पार्टीको आधार मजदूरहरुमा रहेको दावी गर्छ । लेनिनको यस धारणामा विकास कतिसम्म भएको छ भने समयसंगै विश्व अर्थराजनीतिक मञ्चमा साम्राज्यवादको बढदैगएको प्रभावको कारण यी संशोधनवादी लालझन्डाबाल राजनीतिकशक्तिहरुले अब विकसित देशमात्र होइन विकासशील र अविकसितदेशको मजदूरआन्दोलनमा समेत भ्रम सिर्जना गरिरहेका छन् । यसको सटिक उदाहरण हामीले हाम्रो देश नेपाल र वरिपरीको देशमा नै हेर्न सक्छौँ । तर यति हुँदाहुँदैपनि गरीब र पछिपरेका देशहरुमा साम्राज्यवादविरोधी चेतना र घृणा अन्य क्षेत्रको भन्दा बढी रहेको पनि यथार्थ नै हो । लेनिनले भनेका थिए – पछिपरेका देशहरुमा साम्राज्यवादको साङ्गलो कमजोर हुनेगर्छ । आफ्ना यसै विश्लेषणको कारण उनले गरीबदेशहरुमा नै क्रान्तिको सम्भावना बलियो देखेका थिए ।
लेनिनले आफ्ना यिनै सिद्धान्तको आधारमा रुसमा सर्वहाराक्रान्ति सफल गरेर समाजवादी राज्यसत्ताको निर्माण गरे । क्रान्तिको सफलतासंगै उनले रातारात जग्गामाथी जमिन्दारहरुको स्वामित्वलाई मुआबिजा बिना खारेज गर्ने र ती जग्गाहरु खेतीगर्न किसानहरु निःशूल्क दिने आदेश जारी गरे । मजदूरहरुको यस नयाँराज्यमा खेतीगर्ने किसानहरु लगानमुक्त थिए र खनिज संशाधन, जंगल र जलाशयहरु जनताका सार्वजनिक सम्पत्ति थिए । सबै कारखानाहरु राज्यका सम्पत्ति थिए भने विदेशी कर्जाहरु जफत गरिएको थियो ।
लेनिनको नेतृत्वमा मजदूरवर्गको राज्यको स्थापना भएपछि विश्वभरीका पूँजीपतिहरु आत्तिए । यो सफल भएमा उनिहरुको देशका मजदूरहरु पनि प्रेरित हुने तथा उनिहरुको दुनियाँका सम्पदा लुट्ने योजना असफल हुने भय उनिहरुमा उत्पन्न भयो । त्यसैले उनिहरुले सोभियतसंघलाई असफलगर्न तथा नष्टगर्न अनेक षडयन्त्र र युद्धका निहुँहरु खोज्न थाले । उनिहरुले सोभियतसंघमा प्रतिक्रान्ति जन्माउन तथा रगतको खोलो बगाउन जारकालीन सेनाका जनरलहरु देनिकिन, कोल्चाक, व्राङ्गेल, पेतल्यूरा लगायतलाई फौज र हातहतियार दिएर पठाए । चारैतिर छरिएका यी श्वेत गार्ड दस्ताहरु तथा प्रतिकान्तिकारी समूहहरुले ठाउँ–ठाउँमा मारकाट मच्चाउन थाले । यस्तैबेला अठार देशका सेनाहरुले एकैपटक रुसमाथी हमला गरे । यी लुटेराहरुलाई के विश्वास थियो भने मजदूरहरु राज्यसत्ता चलाउन अनुभवहीन छन्, चलाउन सक्दैनन्, त्यसैले यो समाजवादीसत्ता केही दिनमै समाप्त हुनेछ । तर लेनिनलाई मजदूरहरुमाथी अटूट विश्वास थियो । उनले यस समाजवादी राज्यको रक्षाको निम्ती देशका सबै मजदूर र उत्पीडित समुदायहरुलाई अपील गरे र कम्युनिस्टपार्टीको नेतृत्वमा रुसका मजदूरहरु तथा अन्य उत्पीडितवर्गका जनताहरु समाजवादको रक्षामा जुटे । सन् १९१७ देखी १९२१ सम्म रुसमा गृहयुद्ध चल्यो र अन्ततः प्रतिकियावादी षडयन्त्र पूर्णतः पराजित भयो । त्यसपछि लेनिनको नेतृत्वमा रुसमा समाजवादी निर्माणको प्रक्रिया तिव्रताका साथ शुरु भयो । सन् १९१८मा प्रतिक्रियावादीहरुको एउटा महिला एजेन्टले लेनिनको हत्या गर्न उनीमाथी गोली प्रहार गरिन् । उनि यसमा गम्भीर घाइते भएपनि बाँच्न सफल भए । केही हप्ताको विश्रामपछि उनि नियमित काम त फर्के, तर त्यसपछि पूर्णरुपमा कहिल्यै स्वस्थ्य हुनसकेनन् । २१ जनवरी १९२४का दिन उनको मृत्यु भयो । उनको मृत्युपछि उनले शुरु गरेको समाजवादी निर्माणको काम जोसेफ स्टालिनले अगाडी बढाए ।
पछि समाजवादको माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई र अनुभवलाई चीनमा माओ त्से तुङ्गले नयाँ चरणमा विकास गरे । मालेवादमा माओले गरेको वैचारिक, राजनैतिक, साँठनिक, साँस्कृतिक तथा फौजी दृृष्टिकोणको विकासपछि यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको रुपमा सम्बोधित गरिन्छ । यद्यपि विश्वमा कयौँ माक्र्सवादीहरुले माओवादलाई स्व्ीकार्दैनन् । कयौँले माओका योगदान अहिले विचारधारामात्र रहेको, यो वादको रुपमा विकास गरी नसकेको भन्छन् । तरपनि अहिले विश्वभरीका सर्वहारावादी तथा साम्राज्यवादविरोधी शक्तिहरुलाई उत्पीडितवर्ग र समुदायहरुको मुक्तिसंघर्षमा मालेमा विचारहरुले निरन्तर प्रेरित गरीरहेको छ ।
लेनिन सर्वहारा अधिनायकत्वको विचारमा दृढ कार्यकर्तामा आधारित क्रान्तिकारीपार्टीका पक्षधर थिए, जस्ले जनतामा सर्वहाराक्रान्तिको निरन्तर प्रचारमात्र गर्दैन, हरसम्भव प्रयासबाट क्रान्तिकारीसंकट सृजना गर्ने प्रयत्नहरुपनि गरी रहन्छ । लेनिन जीवनभरी दक्षिणपन्थी अवसरवाद तथा संशोधनवादको विरुद्ध संघर्षरत् रहे । उनको विचारको एउटा विशिष्टता सर्वहाराक्रान्तिको पक्षमा सम्झौताविहीन निरन्तर संघर्षपनि हो । लेनिनले क्रान्तिलाई विज्ञानको साथै कलापनि भनेका थिए । उनको विचारमा एउटा सर्वहारावादीको कार्यकौशल (ट्याक्टिक्स) गोप्य रहेपनि ध्येय(रणनीति) हमेशा खुला हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा उल्टो छ । छ भने ध्येय नै गोप्य छ र कार्यकौशल खुला छ । जतिबेला सबै दक्षिण–दक्षिण हुँदै गइरहेको छ, नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वहारा अधिनायकत्वबारे दृढतापूर्वक पक्षधरताको आवश्यकता छ ।
महान लेनिनलाई लाल सलाम !







