
घटनाको पृष्ठभूमी :
ब्यास २ दार्चुला मालघाटमा महाकाली नदीमा स्थानीय युवक जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षा निकाय एसएसबीका सुरक्षाकर्मी तुइनको डोरी फुकाली दिएपछि जयसिंह धामी महाकाली नदीमा खसी बेपत्ता भएको घटनाका सम्बन्धमा बिभिन्न सञ्चार माध्यमबाट जानकारी भएपछि जनअधिकार अभियान नेपालको गम्भिररुपमा ध्यानाकर्षण भयो । जनअधिकार अभियान नेपालले २०७८।०४।१६ मा आकस्मिक निर्णय गरी स्थलगत निरिक्षण गरी घटनाको बारेमा सत्य तथ्य बुझि प्राप्त सत्य बिवरण सार्वजनिक गर्न आवश्यक देखिएकोले सो कार्यको लागि जनअधिकार अभियान नेपालका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु अधिवक्ता सन्तोष कोइराला र मानवअधिकारकर्मी ललित बि.क. घटनास्थल पुगी प्राप्त तथ्यहरुका आधारमा अध्ययन छानबिन गरी घटनाका सम्बन्धमा तयार पारिएको प्रस्तुत प्रारम्भिक प्रतिवेदन सार संक्षेप सार्वजनिक गरिएको छ ।
जनअभधिकार अभियान छानबिन अध्ययन टोलीले २०७८।०४।२० देखि २०७८।०४।२४ सम्म स्थलगत निरिक्षण छानबिन अध्ययन गर्यो । अध्ययन टोली दार्चुला जिल्लाको ब्यास गाँउपालिका वडा नम्बर २ घटनास्थल मालघाट, स्थानिय निकाय ब्यास गाँउपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला, सुदुरपश्चिम प्रदेश अन्तरिक मामला तथा कानून मन्त्रालय, प्रदेश उद्धोग बाणिज्य तथा पर्यटन मन्त्रालय, सुदुरपश्चिम प्रदेश कैलाली र भारतको धार्चुला तिकरमघाट समेत पुगी बिस्तृत रुपमा घटनाका बारेमा सोधपुछ छानबिन गर्यो । पीडित जयसिंह धामीका परिवार, आफन्त, देख्ने सुन्ने, सरोकारवालाहरुसँग प्रत्यक्ष भेट गरी घटना सम्बन्धि सोधपुछ, आवश्यकता अनुसार लिखित, मौखिक, फोटो, अडियो भिडियो आदि तरिकाहरु अपनाई सो आधारमा यो प्रारम्भिक प्रतिवेदन तयार पारि सार्वजनिक गरिएकोछ ।
घटनाको तथ्य:
दार्चुला जिल्लाको ब्यास गाँउपालिका वडा नम्बर २ बस्ने दलि धामीको छोरा वर्ष ३३ का जयसिंह धामीले नेपालीभूमी मालघाट र भारतीय भूमी गास्कु पाङ्गला जोड्ने तुइन तरी भारतीय भुमी धार्चुला हुदै नेपाल तर्फ दार्चुलाको सदरमुकाम खलंगा आइ, खलंगाबाट काठमाडौं जाने योजना बनाइ, मिति २०७८।०४।१५ गते शुक्रबार बिहान करिब ९:१५ बजे तिर जयसिंह धामीले तुइन तर्न भनी तुइनमा चढेपछि पारी (भारतीय भुभागमा) पुग्नै लाग्दा, करिब २/३ मिटर जति बाँकी हुदा भारतीय एसएसबीका २ जना सुरक्षाकर्मी अघिपछि गर्दै आए, ती मध्ये अगाडि आएको एकजनाले तुइनको डोरी फुकालिदिए । यो दृश्य नेपाली भुभाग (वारी) बाट स्थानीयले स्पष्टसँग देखे । तुइन डोरी (तार) फुकाले पछि तार लत्रिदै नदीमा पर्यो, जयसिंह धामी पनी महाकाली नदीमा खसे । नदीको बहाव बढी थियो । प्रत्यक्षदर्शीले हेर्दाहेर्दै हारगुहार गर्दागर्दै जयसिंह धामीलाई महाकाली नदीले डुबायो र बेपत्ता पार्यो । जयसिंह धामीलाई बगाए पछि भारतीय एसएसबीका ती २ जना सुरक्षाकर्मीहरु त्याहाँबाट तत्काल भागी गए ।
प्रत्यक्षदर्शीको भनाई: घटना सम्बन्धमा प्रत्यक्ष दर्शी सरोकारवाला पिडित परिवार र स्थानीयबासीको भनाई यसप्रकार रहेको थियो –
प्रत्यक्षदर्शी कल्याण सिंह धामी (टेलिफोन संवाद): २०७८।०४।१५ शुक्रबार बिहान करिब ९ बजे म जयसिहं धामी सँगै थिए । उनी र हामी तुइन तर्ने क्रममा थियौं । म नेपाली भूमीमा २० वर्ष देखी तुइन तार्ने काम गरिरहेको छु । सो दिन नेपाली नागरिकहरु जयसिहं धामी सहित तुइन तर्नको लागि आउनु भएको थियो । जयसिहं धामी भन्दा पहिले ४ जनाले नदि पार गरीसक्नुभएको थियो । पाँचो व्यक्तिको रुपमा जयसिहंधामी तुइन तर्ने क्रममा पारी पुग्न करिब २/ ३ मिटर बाँकी रहदा १ जना अगाडि र १ जना पछाडि भारतीय सुरक्षाकर्मी आए । वारी बाट देख्दा बाँधिएको तार घुमाएको जस्तो देखियो । त्यसको लगतै तुइन तार लत्रियो । नदिको बहाव बढी भएको कारणले उनलाई पानीले हुत्याइहाल्यो र उनी महाकालीमा बगे । हामीले हार गुहार गर्यौं, गाउँले हरु बोलायौं तर उनलाई भेटाउन सकिएन । जयसिहं धामी बगे पश्चात पारीपटीका भारतीय सुरक्षाकर्मी भागे । अहिले मलाई भारतीय क्षेत्रमा खतरा रहेको छ।
२. सुकुन्द्र सिहं धामी (प्र . अ रानीस्थान आधारभुत विद्यालय व्यास २) को भनाई :
तुइन काटिएको नकाटिएको थाहा छैन। हामी घटना घटेको थाहापाएको आधा घण्टामा घटनास्थल पुगेका थियौं। जयसिहं धामीलाई नदीको धेरै परसम्म खोज्ने प्रयास गर्यौं तर भेट्न सकिएन । तुइन काटिएपश्चात यहाँ नुन तेल लगायत खाद्यान्न अभाव र संकट थपिएको छ । वडा नं. ३ का अध्यक्ष उपेन्द्र सिहं धामी एसएसबी क्याम्प पुगेको र एस एस बी ले तुइन भएको ठाउँमा कसैलाई ड्युटी नपठाएको दाबी गरेको, तुइन खोल्ने एस एस बी का जवानहरुको अन्यन्त्र सरुवा भैसकेको जानकारी पाएको छु ।हाम्रो गाउँमा २१ गते विप्लव नेतृत्वका ने क पा का कार्यकर्ताले भारतीय भूमि हुँदै घाट निरक्षण गर्न आएका सरकारी प्रतिनिधि विरुद्ध नारा जुलुस गरे । जनता सहित सरकारी टोलीको प्रतिरोध गरे राष्ट्रियताको सवालमा नेपालको समस्या बुझ्न भारतीय भूमि प्रयोग गरी सरकारी छानबिन समितिले झारा टार्न खोजेको बुझियो ।ने क पा का नेता हरुले रु ८०००।– पिडित परिवारलाई आर्थिक सहयोग समेत गरे । तर आजसम्म स्थानीय निकाय र सरकार बाट केही सहयोग भएको छैन ।
३. मदन सिंह धामी (स्थानीय व्यवसायी) को भनाई :
जयसिंह धामीको यो घटनामा बेपत्ता हुनु दुखद कुरा हो । तर यस्तै हो भने यो घटना बारम्बार दोहोरिन्छ। भारतीय ज्यादति बढीनै छ । यहाँबाट भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा पैदल हिडियो भने पनि ४ घण्टामा पुगिन्छ भने नेपालको बाटो प्रयोग गरी खलङ्गा जादाँ कम्तिमा २ दिन लाग्छ । अबको केहीदिनमा बैकल्पिक व्यवस्था नहुने हो भने यो गाउँमा खाद्यान्न संकट हुन्छ । किनभने नेपालबाट ढूवानी सम्भव छैन भारतसँगको आवत जावतको विकल्प छैन । कि त सरकारले हेलिकप्टर मार्फत राहतको प्रबन्ध गराउनु पर्छ ।
४. जयसिहं धामीका भाई नरेन्द्र धामी : मेरा दाई जयसिंह धामी यहाँबाट भारतीय बाटो हुँदै काठमाण्डौं सम्म गई वैदेशिक रोजगारीकालागि ठाउँ खोज्ने र फर्कदा आउन लागेको गौरा पर्वको लागि घरायसी सामान केही लत्ता कपडा समेत किनिल्याउने सन्दर्भमा उक्त दिन उता गएका हुन् । भारतीय दादागिरी बढी नै छ । हामीलाई व्यवसायिक कारोबार खाद्यान्न खरिदका लागि पारी गस्कुपाङ्ला या धारचुला नगई सुखै छैन । विगतमा पनि उनिहरुले पहिला पहिला पनि हाम्रा सामानहरु जफत गर्ने, महाकालिमा बगाईदिने, सामान लिलाम गरिदिने हातपात गर्ने त्यो त सामान्य नै थियो । विगत देखी निरन्तरनै थियो यहाँबाट पारिसम्म झोलुङ्गे पुल बनाउन भनी सिलान्यास त भयो बन्न सकेन । ठेकदार धनबहादुर कुँवर भन्ने सुनेको हो साढे २ वर्ष भयो । अत्तोपत्तो छैन । हामी विकट वस्तिमा छौ हाम्रो सिमाको सुरक्षाको विषय जटिल छ । वस्तिमा सुरक्षाको विषय उस्तै छ । सरकारसँग तपाइहरुले सिमा सुरक्षाको विषयमा र छिटो पुल निर्माणमा ध्यानाकर्षण गराइदिनुपर्यो । दार्चुला टिंकर सडक आजभन्दा १२ वर्ष अगाडिदेखि शुरु भएको तर ४० किलोमिटर पनि ट्रयाक खोलिएको छैन । राजनीतिक प्रभाव गलत भयो त्यसको सिकार हामी भयौं। आजका दिनसम्म यो घटनाको मुचुल्का तयार पारेको औपचारिक जानकारी पाएको छैन । सुनसेरा चौकी र धुम्लिङ चौकीको प्रतिनिधि आए तर मुचुल्का बनाएनन् । उल्टो भारत बलियो छ हामी त निरिह छौं भनेर स्थानीय सँग प्रतिक्रिया दिएछन् ।
५. दलि धामी (जयसिहं धामीको बुबा) को भनाई:
विगत देखि यो समस्या छ । हामी केही बुझ्दैनौ तपाइहरुले बुझ्नुभएकै छ मेरो चेलो त गयो गयो तर २ देशलाई हल्लाएर गयो ।यसको मतलब अब यो समस्या नदोहोरियोस् । मेरो यहि प्राथना छ । मेरा बुहारी ५ वर्षको नाती डेनियल धामी र १३ महिनाकी नातिनी मेलिना धामीको रोजि रोटी शिक्षा र स्वास्थ्यको लागि सरकारसँग पहलकदमी गरिदिनुहोस् ।
६. पूर्णा जोशी (नेता सुदुरपश्चिम) को भनाई:
यो घटनाको विषयमा सामाजिक संजालबाट थाहा पाए । तत्कालै संघमा गृहमन्त्रीज्यूलाई पटक पटक सम्पर्क गर्दा फोन रिसिभ गर्नुभएन साथै कुनै रेस्पोन्स गर्नु भएन । गृह सचिवसँग समेत सम्पर्क हुन सकेन । गृह मन्त्रीको सचिवालाय बाट समेत कुनै रेस्पोन्स आएन । प्रदेश सरकारलाई एक शब्द समेत नसोधी छानबीन समिति गठन भएछ । प्रदेशको अस्तित्व स्वीकार गर्न केन्द्र सरकारले चाहेन । सिमाको सुरक्षाको मामला नेपाल सरकारको हो । सो विषयमा हामीले केही गर्न सक्ने अवस्था छैन । सत्य तथ्य छानबीन गर्न छानबीन समितका सदस्य प्रदेशका नेपाल प्रहरी सुदरपश्चिम डी आइ जी लाई मैले अनुरोध गरेको छु । मैले निर्देशन गर्न मिल्दैन । हामीले अहिले प्रदेश सरकारको अस्तित्व खोजेका छौं । विगतका असमान सन्धि सम्झौता समेत पुनरावलोकन गर्नुपर्ने ठाउँमा समेत पुग्न सकिन्छ । केन्द्र सरकारको ध्यानआकर्षण होस् ।
७. ज्योत्सना भट्ट जोशी (सहायक प्र जि अ दार्चुला) : म छानबिन समितिको सदस्य समेत छु । अनुसन्धानको विषय छानबीन समितिको प्रतिवेदन नआउन्जेल केही भन्न मिलेन। यति भन्छु की राज्यको उपस्थिति कमजोर छ । म नैतिक रुपमा मेरो जिम्मा लिन्छु।
८. सुदुर पश्चिम प्रदेशका नेता मानबहादुर धामीको भनाई:
तपाईहरु घटनास्थलमा पुग्नुभएछ । धन्यवाद । छानबीन समितिको संयोजक नै दार्चुलाको पूर्व सिडिओ हुनुहुन्छ । प्रतिवेदन सकारात्मक आउला । प्रदेश सरकार उदासिनता भएको होइन । बोल्ने बेला आएको छैन । हाम्रो माथि अर्को सरकार छ । केही संवैधानिक बाध्यता छन् । प्रदेश सरकार निरिह भएको होइन । आफ्नो क्षेत्राधिकार भित्रका गतिविधी नियन्त्रण गर्न दुई देशीय सहमति सन्धी सम्झौताहरु भएका छन् सोही अनुरुप हुने हो । हामीले संघीय सरकार माथि हस्तक्षेप गर्न मिल्दैन ।हामीले बोल्दा त्यसको अन्तराष्ट्रीय प्रभाव के हुने भन्ने विषय छ । छानबीन समितिको प्रतिवेदन आएपछि मात्र औपचारिक धारणा बनाउछौं । औपचारिक भेटघाट गर्ने अवस्था छैन । अनौपचारिक रुपमा मैले उत्तरप्रदेशका मुख्यमन्त्री पुष्करसिहं धामीलाई पनि सम्पर्क गरेको छु । घटना दुखदायी हो । एस एस बीको चरम लापरवाही छदैछ । यो त सांकेतिक घटना मात्रै हो । बेलैमा समस्या हल नगर्ने हो भने थप जटिल हुन जान्छ । कानुनी जटिलता प्रशस्त छन् । तुइन किन के लागी कसरी यि कुरा त छदैछ ।तर व्यवहारिक पाटो पनि हेर्नुपर्दछ । घटना दोहोरिन नदिन र पीडित परिवारलाई राहत व्यवस्थापन कसरी गर्ने जनतालाई कसरी सहजीकरण गर्ने अहिले यो जटिलता छ ।
९. ग्याल्बो सिंह बोहोरा सांसद प्रदेश (क)दार्चुला को भनाई:
यो पिडाको विषय हो । म सामाजिक क्षेत्र हुँदै राजनीतिमा आए । मलाइ राजनीतिक ज्ञान बल्ल आउदैछ । राजनीति भोटको आधरमा हुदो रहेछ यसमा बजेटको कुरो पनि आयो । प्रष्ट भन्नुपर्दा विकासको लागि लगानी अरबौंमा चाहिने तर परिणाम स्वरुप आउने भोट कम हुने अनि जनता पछाडी पर्ने हेर्नुहोस् यो सिधा राजनीतिक प्रभाव हो । राजनीतिक दलले समयानुसार आफ्नो अनुकुलतामा व्याख्या गर्दा यो समस्या आयो । मालघाट गस्कु पङ्गला जोड्ने झोलुङ्गे पुल मैलेनै शिलान्यास गरेको हुँ । तर वर्तमान अवस्थाको कोभिड र अन्तराष्ट्रीय सिमाको विषय पनि भएकोले काम हुन सकेन ।इतिहास हेर्नुहोस जब कालापानी लिपुलेक लिम्पियाधुराको कुरा आउँछ तब यो क्षेत्रका हाम्रा जनताले दु ख पाउछन् । यो विषय राजनीतिका लागि मात्रै इस्यु नबनाइयोस् । खुलेरै भन्छु नेपालको बाटो सम्पन्न गर्न भारत चाहादैन । सिस्टम बाट देश चल्या छैन । संघ प्रदेश स्थानिय सरकार एकले अर्कोलाई देखाएर पन्छिने काम भयो ।भारत सरकारले तुइन काट भनेको थिएन होला तर भारतीय सुरक्षाकर्मीको नियत राम्रो भएन । महाकाली करिडोर र दार्चुला टिंकर सडक खण्ड जोडेर काम गर्न लागेपछि समस्या भयो । समग्रमा भन्ने हो भने त्यहाँ राजनीतिक पूर्वाग्रहीपन देखियो ।
१०. धिरण सिंह बुढाथोकी वडा अध्यक्ष वडा नं २ व्यास गाउँपालिका, दार्चुला (टेलिफोन संवाद): प्रत्यक्षदर्शीको भनाई अनुसार एस एस बीको २ जना जवानहरुले तुइनको तारलाई फुस्काइदिए । उनको झोला नेपाल तिरै रहेछ । नेपाल तिर रहेका उनका साथीहरुले थाम्न सकेनन् बचाउन पनि सकेनन् । गाउँपालिका को तर्फबाट वडा सदस्य नरेन्द्रसिहं धामी मार्फत रु २५०००।– किरिया खर्च बापत हिजो मात्र दिएका छौं । म जिल्लामा बसेर समन्वय गर्नुपरेकाले गाउँ जान सकेको छैन।
११. भरत मल्ल जिल्ला नेता दार्चुलाको भनाई: भारतीय तर्फबाट सुनियोजित रुपमा घटाइएको घटना हो । यो घटना नेपाल र नेपाली माथिको साम्राज्यवादी आतंकको चरम पराकाष्ठा पनि हो । समयमै सत्य तथ्य छानबीन गरी दोषी माथि कारवाही होस् । दुइ देशीय सिमा समस्या समाधान होस् ।







